'संगतो जायते फलम्', बुबा नित्य यही भन्नुहुन्छ। यसैको प्रभाव होला; असल, गुणी व्यक्तिसँग चिनजान गरेको दिन खराब मार्ग हिँड्नबाट जोगिँदैछु भनेर ढुक्क लाग्छ।
अक्षरसँग भुल्ने, विचारको निकटता चाहने भएर हुन सक्छ प्राज्ञ जगतको संवाद मलाई प्रिय लाग्छ। त्यस दिन असमकी स्रष्टा डा. इन्दुप्रभा देवीसँग चिनजान भएको थियो। फेरि पनि थाहा पाएँ म गलत बाटो हिँडेकी छैन किनकि म सज्जनको सम्पर्कमा छु।
बि. बरुवा कलेज, गुवाहाटीमा असमिज विभागकी प्रमुख डा. इन्दुप्रभा एक परिचित स्रष्टा हुन्। त्यो उज्ज्वल व्यक्तित्व मनबाट थोरै पनि बिरानो भएको थिएन।
त्यस्तैमा एक दिन उनको हस्ताक्षरसहित 'प्रिय बहिनी अनिता पन्थीमा सप्रेम उपहार' लेखिएको औपन्यासिक कृति 'अनुहारभित्रको आकाश' प्राप्त हुँदा उनीलाई मेरो सम्झना भएछ भनेर प्रफुल्लित भएँ। उनको स्मृतिमा म पनि रहिछु।
आज म जे छु ठीक छु। जुन बाटोमा हिँडेकी छु, त्यसमा अबाध सन्तुष्ट छु। धन्य हो! सही पथ रोजेकी छु, जसले टाढा र नजिकको भेद मेटाइदिएको छ। साम्प्रदायिक सिमाना मेटाइदिएको छ। एउटै भावनाले चल्ने मानवतादेखि बाँकी अर्को सम्बन्ध यहाँ रहने छैन। त्यसैले त परभूमिका मानिस पनि पारिवारिक सदस्यजस्ता लाग्छन्।
इन्दुप्रभा कथाकार, निबन्धकार, उपन्यासकार र अनुवादक पनि हुन्। माधव कन्दलीकृत असमिया रामायणको अयोध्याकाण्ड उनले नेपालीमा अनुवाद गरेकी छन्।
सपनाको जरो पहिल्याउँदै (२००७), ती पाइलाहरू (२०१२), तवेलामा घोडाहरू (२०१८) कविता संग्रह अनि शब्द शिल्पर कारुकार्य (असमिया निबन्ध संकलन, २०१०) एक सय लिमारिक (हास्य–व्यंग्य मुक्तक संग्रह (२०११), रुद्ध अनिरुद्ध (कथा संग्रह, २०१९) लगायत उनका झण्डै एक दर्जन कृतिहरू पाठक माझ पुगेका छन्।
निकै समय भएछ मैले उपन्यास नपढेको। लगातारजस्तै अरू थोक पढेँ– कथा, कविता, यात्रा, नियात्रा। अनुसन्धानका र इतिहासका, केही कृति पनि पढेँ।
आख्यान मलाई बडो प्रिय लाग्छ। डा. इन्दुप्रभाकृत 'अनुहारभित्रको आकाश' मा बेग्लै अनुभव गर्दैछु। हिँडिरहेको भन्दा फरक मार्ग मोडिँदा पथिक यसरी उत्साहित हुन्छ कि ऊ गन्तव्यमा पुग्न हतारिन्छ। त्यस्तै भयो मलाई पनि उक्त उपन्यासको अन्त्यमा पुग्न।
स्कुल पढ्दा त्यस्तै सात आठ वटा कथाको विद्यार्थी थिएँ हुँला। त्यतिखेर बसन्ती पढेर म धेरै रोएँ। एकान्तमा बसेर अझ रुवाउने कथाको अपेक्षा गर्थें। निकै दिनसम्म भित्रैदेखि म घकल्सिएकी हुन्थेँ। बसन्ती र गगनसिंहलाई आज पनि भुल्न सकेकी छैन। शिलाङेप्रति अझ बढी क्रोध थपिएको छ। त्यस्तै केही पात्रसँग म रुष्ट भएकी छु। मन पर्दैनन् मलाई ती पात्रपात्राहरू जो निर्विवेकी छन्।
त्यसपछि मैले भुल्न सकिनँ सुकरातका पाइलामा मञ्चित अनन्तलाई। उसको अवसादले मलाई एक किसिमको विक्षिप्त नै बनायो। उसको त्यो अमापनीय कष्ट बिर्सिन नसकेर, त्यसैमा एमएको थेसिस गरेकी थिएँ। अनन्तको त्यो असफलता र त्यसले उत्पन्न गरेको अस्थिर मनोवृत्तिले म निराश भएँ, उदास भएँ।
त्यो हाम्रै पुस्ताको यथार्थ भोगाइ थियो। फरक त्यति हो, उपन्यासमा उसको बचाइ अन्त्य भएको छ, हामी यस निमेष पनि जीवितै छौं।
अनुहारभित्रको आकाशले फेरि मलाई त्यस्तै बनायो। नायक डा. राजीव भण्डारी सायद म नै थिएँ। अनन्तको भन्दा उसको भोगाइ अझ आफ्नै लाग्यो। उपन्यासको पात्रपात्राको विषादमा आज आएर म रुन सकेकी छैन। न घाम न पानीको मौसम भएर रुँदिएकी छु।
पठित युवा पुस्ताको मनोदशाले जति मलाई छुन सक्छ त्यति प्रौढ पुस्ता र किशोरलाई निश्चय छुने छैन। उनीहरूको लागि त्यो एउटा घटना मात्र हुनेछ। यता मलाई आफ्नै विकलता लागेको छ। साँच्चै, म त्यही अवसाद भोग्दैछु जस्तो अनुभूत हुन्छ।
उपन्यासमा त्यस्तो अद्भूत घटना केही छैन। अझ भनौं, काल्पनिकता कत्ति पनि छैन। ती वास्तविक पात्रहरू उच्च शिक्षा प्राप्त गरेर, अस्तित्वको लडाइँमा छन्। प्रायः पिएचडी गरेका, पिएचडी गर्दै गरेका छन्।
गुवाहाटी, पल्टनबजार, फाँसीबजार, असम, तेजपुर, ब्रह्मपुत्रको छेउछाउमा ती पात्रहरू विचारका, भावनाका, उद्वेगका, प्रेमका, विछोडका, आशाका, निराशाका वजन बोकेर कुदिरहेका छन्। घरीघरी बिसाउन खोज्छन् यद्यपि त्यो ढाकर मनमै टाँसिन्छ।
लखिमपुर गाउँको, मध्यम परिवारको एउटै मात्र सन्तान डा. राजीव भण्डारीको केन्द्रीयतामा अनेक घटना हुन्छन्। पात्रहरू आउँछन्, जान्छन्। कोही उपन्यासको अन्त्यसम्मै रहन्छन्।
किशोरावस्थाबाट आरम्भ भएको राजीवको जीवन चरित्रमा बेला बेला उसको बालस्मृति पनि मिसिन्छ। अनेक कठोरतासँग भिड्दै ऊ अघि बढ्छ। त्यसै सिलसिलामा डाक्टर हुन्छ।
अझै पनि ऊ स्थायी कर्मचारी हुन सकेको छैन। एउटा कलेजमा पार्ट टाइम शिक्षण गर्छ, ट्युसन पढाउँछ। त्यसरी जेनतेन धानिएको छ। इमान बेच्न ऊ किञ्चित रुचाउँदैन। भद्र छ। स्वाभिमानी छ।
फेरि उसैलाई किसिम किसिमका अभियोग लाग्छन्। समयले बारबार ऊमाथि ठूल्ठूला परीक्षण लिन्छ। घरी उत्तीर्ण हुन्छ, घरी अनुत्तीर्ण। प्रायः अनुत्तीर्ण नै हुन्छ।
यसबीचमा उसलाई नैतिक र भावनात्मक मद्दत गर्ने प्रतीक, परागजस्ता मित्रलाई अनायासै म धन्यवाद दिन पुग्छु। उसको त्यो मित्रता र सहायता यता मलाई आफ्नै लाग्छ। सायद उपन्यासबाट म ती कुराको अभाव पूर्ति गर्दैछु।
उसको जीवनमा प्रेम साट्ने पनि आइरहन्छ। सँगै रुने, सँगै हाँस्ने अपेक्षा राख्छज्। अर्पिता, प्रीति, नम्रता उसलाई धेरै चाहन्छन्। थरीथरीको उबडखाबडले त्यो प्रेम टिक्न दिँदैन। प्रेमिकाहरू पानीका फोकाजस्तै आउँछन्, जान्छन्।
समयले तिनीहरूलाई अर्कोतिर लाग्न बाध्य बनाउँछ। अर्पिता राजीवका मात्रै होइन आज अरू कसैका सामु छैन। ऊ हृदयमा प्रेम भण्डारण गर्दै थिई। त्यस्तैमा एक दिन उसको वीभत्स अन्त्य हुन्छ। त्यो दृश्य राजीवले आज अझै भुल्न सकेको छैन।
राजीव एउटा आदर्श व्यक्ति लाग्छ। ऊ सक्षम छ, सुन्दर छ, लायक छ। सज्जन छ। यति धेरै असल स्वभाव भएर पनि ऊ असहाय छ। आज उसँग एउटै प्रेमिका छैन सुख दुःखमा साथ दिने। ऊ अत्यन्तै एक्लो छ। मनमा अतीव प्रेम भएर पनि ऊ सफल प्रेमी हुन सकेको छैन।
अनेक घातप्रतिघात सहेर एक दिन ऊ दिल्ली विश्वविद्यालयको प्रोफेसर त बन्छ तर अरू दृष्टिले ऊ सम्पूर्णतः दुर्घटित भएको छ। नम्रताको प्रेममा संसार भुल्न चाहेर पनि समयले, परिस्थितिले उसको प्रेम जफत गरिदिन्छ। आमाबाबुको सपना अधुरै रहन्छ। घरबार बसाउने वाञ्छा त्यसै ओइलिएर झर्छ। ऊ सम्पूर्ण रूपले संन्यास भोग्दै हुन्छ। किशोरावस्थाबाट आरम्भ भएको उसको भोगाइ प्रौढावस्थामा निस्सार लाग्न थाल्छ।
युवा मनको विश्लेषण गरिएको हुँदा उपन्यासलाई मनोविज्ञानका दृष्टिले पनि हेर्न सकिन्छ। अस्तित्वको लडाइँ गर्दागर्दै नायक उत्तरार्द्धमा पुगेको छ। आफूले चाहेजस्तो नहुँदा उसको भोगाइ एकदम विसंगत लाग्छ। सिंगो जीवन अर्थपूर्ण बनाउने संकल्पमा, अत्यन्तै महत्त्वपूर्ण समय राजीवले अस्तित्वको महायज्ञमा होमेको छ। दुःखको कुरा, उसले जुन विषयलाई महत्त्व दिएको थियो भरे ती सारा कुरा व्यर्थ लाग्न थाल्छन्।
प्रारम्भमा उसको बचाइलाई अस्तित्ववादी दृष्टिले हेर्न सकिन्छ, विसंगतवादी दृष्टिले पनि। अन्त्यमा शून्यवादी दृष्टिले कृति सम्पूर्णतः अर्थिएको छ।
मान्छेको जीवन अस्तित्व त शून्यकै खेलमा थाहै नपाई समाप्त हुँदो रहेछ यो केवल राजीवको नियति होइन, यावत् प्राणी जगतकै यथार्थ हो। यो सृष्टि रहुन्जेल अस्तित्व, विसंगत र शून्यवाद कहिल्यै अन्त्य हुने छैन। जन्म, मृत्यु र संघर्ष त्यसैको अर्को बुझाइ हो।
मानिसले इच्छा गरेमुताबिक नहुनुमा विसंगतकै देन छ। अझ भनौं, यो अगम्यतामा प्रकृतिकै चलखेल छ जुन कुरा हामीले जान्नु नजान्नुमा कुनै अर्थ रहँदैन। अस्तित्व, विसंगत र शून्यवाद जन्मनु नजन्मनुले पनि किञ्चित अर्थ राख्दैन। यो स्वाभाविक प्रक्रिया हो।
उपन्यासका ती पात्रहरूको दिनचर्याले यही कुरा बताउँछ यद्यपि पाठकले त्यसलाई बोध गर्न सक्नु पर्छ। कति धेरै गरौंला, कहाँ पुगौंला भनेर तिनीहरू अविश्राम खटिएका छन्। अन्त्यमा कहीँ नपुग्दै मृत्यु आउँछ, अर्थात् उनीहरू कहीँ पुग्दैनन्।
त्यो निरन्तर गति लगभग व्यर्थजस्तै लाग्छ। अझ होइन त्यो एउटा भ्रम मात्र रहेछ। राजीवसँग जोडिएका सम्बन्धहरू पनि भ्रम नै हुन्। त्यति हुँदाहुँदै पनि, जान्दाजान्दै पनि फेरि मानिस विवश छ त्यही गर्न।
मृत्यु मात्र एउटा यस्तो सत्य हो, त्यो हेरफेर हुँदैन। समयले त्यसलाई परिवर्तन गर्न सक्दैन।
राजीवको मृत्यु समान त्यो संघर्ष र अप्रकट चुनौतीबाट प्राप्त सारा उपलब्धि भरे निस्सार भएको देख्दा मैले यति कुरा गरेकी हुँ। त्यो असहाय अवस्था अनि त्यो व्यर्थमा यसरी मुटु खान्छ कि उसले गरेको संघर्ष खास केको लागि हो? अनायास एउटा प्रश्न आफैं निर्माण हुन्छ।
उपन्यास लेखनको अभिप्राय भने यो व्यर्थतासँग जोडिएको छैन। शिक्षासँग जोडिएका, पछिल्लो समयका युवा वर्गलाई यसले लक्षित गरेको छ। राजीवको सुरूदेखि अन्तसम्मको भोगाइमा समयको लामो अन्तराल छ। एउटा पुस्ता खर्लप्पै सकिएको छ। अघिल्लो पुस्ताका पात्र एउटै बाँकी रहेका छैनन्। असहाय, उद्देश्यहीन र विस्मृतिको बिमारले प्रायःजसो पात्र पछि गएर निरर्थक जस्तै हुन्छन्।
राजीवको अवस्था त्यस्तै हुन्छ, निस्सार जीवन ऊ भोग्दैछ। उसका बाबु पनि त्यही बिमारले बेअर्थ भएका थिए। त्यस्तै उसका गुरु धरणीधर पनि त्यही विभ्रान्त स्थितिमा थिए। त्यस्तैमा एक दिन मृत्युले उनको उद्धार गर्छ।
राजीव सानो छँदैमा उसकी आमा गइन्। कान्छी आमा पनि असमयै गइन्। उपन्यासमा दुखान्तको गहिरो खाडल छ। मृत्यु छ, बिछोड छ, निराशा छ, बेलाबेला आशाको दीप सल्किन खोज्छ, फेरि त्यसै निमेष बेमौसमी हुरीले झ्याप्प निभाइदिन्छ।
दुःखका अनन्त संयोगहरू छन्। राजीवको यात्रा त्यही विपदको लिकमा कुदिरहेको छ।
घटनाहरूको क्रमिकता र एउटा सग्लो जीवन भोगाइमा अनुहारभित्रको आकाश जीवनीपरक उपन्यासका दृष्टिले पनि मूल्यांकन गर्न सकिन्छ। यसभित्रका कथा–उपकथा, अरोह–अवरोह अनि भेटिनु–छुटिनुजस्ता सबै कुरा उसकै जीवनसँग जोडिएका छन्। हरेक घटना उसकै जीवनका सन्दर्भसँग निकट छन्।
आइरहने र गइरहने ती पात्रहरू उसैका मित्र, आफन्त, गोत्र हुन्छन्। प्रेमिका हुन्छन्, सहपाठी हुन्छन्, छिमेकी हुन्छन्, शिक्षक–शिक्षिका हुन्छन्।
समाजको आन्तरिकता उद्घाटन गरिएको हुँदा समाजपरक र यथार्थपरक अवधारणाले पनि उपन्यास अत्यन्तै नजिक रहेको छ। यो कृति अनेक दृष्टिले हेर्न सकिन्छ। शिक्षित युवा वर्ग बेरोजगार छ। भविष्य अन्योलमा छ। अनुपयोगी शिक्षा विस्तार भइरहेको छ। सक्षमताको कदर छैन।
अयोग्यहरू पैसा खर्च गरेर योग्य ठहरिएका छन्। शैक्षिक संस्थामा समेत पैसाले वर्चस्व कायम गरेको छ। योग्यता–अयोग्यता पैसाले निर्धारण गरेको छ।
असमको लखिमपुर गाउँबाट किशोर राजीव सहर पसेको थियो उच्च शिक्षाको लागि। गीत कविता त्यस्तै केही ऊ लेखिरहन्छ। उद्वेलित मनका भावनालाई साहित्यको रूप दिने गर्छ। यस हिसाबले हेर्दा साहित्य मनोरोगीको भाषा हो। भावावेग शान्त पार्न ऊ लेख्छ।
कुनै कथा पनि अन्तिम कथा होइन,
कुनै गति पनि अन्तिम गति होइन ।
उसको यही कविताबाट आरम्भ हुन्छन् उपन्यासका पृष्ठहरू।
प्रकृतिको नियम पनि यस्तै छैन र? कहीँ, केही पनि अन्तिम छैन। कुनै कथा अन्तिम नभएजस्तै यहाँ कुनै सम्बन्ध पनि अन्तिम नहुँदो रहेछ। त्यही भएर होला राजीवले यो कविता लेखेको।
एउटा भरपर्दो जागिर राजीवले अझै पाएको छैन। राम्रो व्यवस्था मिलेपछि बिहे गर्ने उसको सोच थियो। त्यो सोच मूर्त हुन नपाई समय बेतोडले पर भइदिन्छ, भागिदिन्छ।
एउटा कलेजमा उसले निवेदन दिएको थियो। उसको नाम निस्किने लगभग निश्चित पनि थियो यद्यपि अन्तर्वार्तामा ऊ गएन। त्यो पोस्ट उसले नम्रताको लागि छोडेको थियो। त्यागमा ऊ त्यसरी प्रेम देख्ने गर्छ।
घरमा बाबुआमाको अपेक्षा हुन्छ, छोरो गाउँ फर्किएर आओस्। बिहे गरोस्, घरबार बसाओस्। त्यस्तै घरपायक मिलाएर एउटा पेशामा लागोस्। परन्तु राजीवलाई सहरले तानिरहन्छ। नम्रताको प्रेमले टाढिन दिँदैन।
उपन्यासमा युवा पुस्ताको अवसादसँगै ऊ बाँचेको समय र समाजका कठिनाइ पनि सँगै छन्। विसंगति छ, विकृति छ। भोटरलिस्टबाट नाम हराएका, अझ भनौं एनआरसीमा नाम छुटेका भारतीय नेपालीको पीडा दर्दनाक छ। डिटेन्सन क्याम्पमा ती थुनिएका छन्।
अनुहारभित्रको आकाशमा इन्दुप्रभा एक बौद्धिक सर्जकको रूपमा चिनिएकी छन्। त्यो वैचारिक व्यक्तित्व बेलाबेलै पात्रका माध्यबाट उद्घाटित हुन्छ।
पाउलो कोलोको एलकेमिस्टबाट निकै प्रभावित भएको छ राजीव। अस्थिर मनोवृत्तिले हतासिँदा ऊ फेरि कोलोको भनाइ सम्झिन्छ– म न भूतमा छु न भविष्यमा बस्छु। तिमीले वर्तमानमा ध्यान केन्द्रित गर्यौ भने सधैं सुखी रहनेछौ।
राजीवको मित्र प्रतीक पल्लवीको प्रेम आघातले निराश हुन्छ। बाबुआमाले राखेको बिहेको प्रस्ताव ऊ मान्दैन। एक किसिमले विक्षिप्त भएको छ। उदास देखिन्छ।
त्यस्तैमा एक दिन नैनाको रूप सौन्दर्यले उसको मन बौरिन्छ, प्रेम बस्छ। फेरि ऊ अनन्त आशावादी हुन्छ। जीवनवादी हुन्छ। अस्तित्वको बोध गर्न थाल्छ। प्रेमको महत्त्व उद्बोध गराउनु पनि सायद उपन्यास लेखनको उद्देश्य हुनुपर्छ। प्रेम अभावमा जीवन कसरी दुर्घटित भएको छ। नम्रताको प्रेमबाट विच्छेद भएपछि राजीवले अर्को प्रेम गर्न सक्दैन।
युगौंयुगदेखिको धार्मिक, सांस्कृतिक तथा जातीय र राष्ट्रिय बन्धनलाई अबको समयले क्षतविक्षत बनाएको छ। यो ग्लोबल युग हो। नैनासँगको प्रेम प्रतीकका बाबुआमाले अस्वीकार गर्ने हुन् कि!
राजीवको यस्तो सन्देहमा ऊ भन्छ– दाजुले अमेरिकामा वहीँकी केटी बिहे गर्दा भयो, मैले असमकी जान्ने एउटी शिक्षिकालाई बिहे गर्न के अनर्थ होला?
ठूलो कद भएको; मुखाभरि दाह्रीजुँघा र छाती, पाखुरा, पिँडौलाभरि भुत्लै भुत्ला भएको प्राणजितको स्वरूपले भय उत्पन्न गरेको छ। राजीव उसलाई मन पराउँदैन। ड्रग्सको तस्करी त होइन? ऊ शंका गर्छ। उसले घुस खुवाएर राजीवलाई जागिर मिलाउन सल्लाह दिन्छ। प्राणजितको त्यो प्रस्ताव उसलाई मन पर्दैन। भन्छ– म पैसा खुवाएर नोकरी लिने मान्छे होइन बरु खेती गर्छु घर गएर।
आफूले सोचेजस्तो नहुँदा, किंकर्तव्यविमूढ भएको ऊ अर्को ठाउँमा आफैंलाई प्रश्न गर्छ– के लक्ष्य लिएर हिँडेको छु म? के हुन खोजेको? नोकरी भेट्छु भन्ने पक्का विश्वास राख्न सकिने दिन हुन् यी?
यति पढिसकेर मनले न केरानी हुन मान्छ न पसल खोलेर बस्नै मान्छ। न म धेरैले खालेझैं कुखुराको फार्म खोल्नु न बाटाको ठेकदार बन्नु।
उसको यो अन्योल र अप्ठ्याराहरू पठित युवाको समवेत स्वर हो।
आफूभन्दा कम उमेरका, कम शिक्षित साथीभाइहरू कतै स्थापित भइसकेका छन्। राजीव अझै अनिश्चयमा छ। उसलाई आफ्नै अनुहार अपरिचित लाग्न थालेको धेरै भयो। के उच्च शिक्षित हुनाकै कारण ऊ अन्योलमा परेको हो? शिक्षाको ज्योतिले त झन् मार्ग पहिचान हुनु पर्ने होइन?
उपन्यासको अन्त्यमा नपुग्दासम्म कथा कसरी टुंगिने हो थाहा हुँदैन। राजीवको जस्तै जटिल छ कथाको भविष्य पनि। ऊ गतिशीलता चाहन्छ तर उसको समयले गति लिँदैन।
उसको अनागत कस्तो होला? म छिनछिनमा उसको उज्ज्वल भविष्यको कामना गर्छु। उसँगै म पनि निराश हुन्छु। किनकि यो मेरो पनि कथा हो। त्यस्तै उसको गन्तव्य भन्नु नै कथाको अन्त्य हो।
पाठक त्यो अनिश्चित गन्तव्यमा उत्सुक भइरहन्छ। उसको अस्थायी जागिरको निर्धारित समय सकिँदैछ। घरमा कान्छी आमालाई त्रास भइरहन्छ– आफ्नै मनोखुसीमा छोराले कतै सहरकी युवतीसँग बिहे गर्ने त होइन?
उनको त्यो संशय अनुसारै यता छोरो, नम्रताको प्रेममा अभिभूत भएको छ। उता उसको संकट पनि चुलिएको छ।
नम्रता घरमा एक्ली सन्तान हो। उसका बाबु छैनन्। राजीवलाई बिहेपछि घरज्वाइँ बस्नु पर्ने सर्त राखेकी छे। राजीव ऊ धर्म संकटमा छ। उसको अहमले त्यो शर्त मान्दैन। नम्रतालाई त्याग्न पनि सकेको छैन। उता घरको अपेक्षा अर्कै छ।
गन्तव्य नपहिलिएको निरीह, अनाथ राजीव युवा पुस्ताको एउटा डरलाग्दो उदाहरण हो। वास्तविक चरित्र हो। पछिल्लो समय उसको स्वाभिमानको अपव्याख्या भएको छ। नोकरीको लागि उसले घुस खुवाएको झुट्टो समाचार सामाजिक सञ्जालमा छापिएको छ। बित्थामा पटकपटक उसले अपमान सहनु परेको छ।
विद्यमान समयको जटिल मुद्दामध्ये साइबर अपराध पनि त्यस्तै एउटा हो। उपन्यासले त्यो विषय पनि केही छोएको छ। निर्दोष, निष्कपट भएर पनि राजीव बैरी मुक्त हुन सक्दैन। उसको कुभलो चिताउने पात्र आइरहन्छन्।
अर्को ठाउँमा जागिरको लागि उसले फेरि एउटा अन्तर्वार्ता दिएको थियो। उसको त्यो सम्भावित पोस्टमाथि उसै गरी आँखा लाग्छ। त्यति मात्र होइन उसले चोरीको अभियोग सहनु पर्यो। केहीबेर थुनामा समेत पर्यो। बारबार उसको मानहानि भइरहन्छ तर पनि ऊ डगेको छैन।
कठिनतामाथि कठिनता थपिँदै थियो। त्यो विपद मलाई सह्य भएन। लेखकप्रति म क्रुद्ध भएँ। यति धेरै विवशता उसलाई किन भोगाइयो? अलिकति मुक्तिको सास फेर्न दिनु पर्ने होइन? मानिसको जीवनमा के यति धेरै अन्धकार छाउँछ? प्रातःकालीन उज्योलो किन झर्दैन? रातपछि दिन किन ओर्लिंदैन?
अब उसको जीविका एक किसिमले ठप्प हुन लागेको छ। त्यस्तैमा एक दिन घरबेटीले कोठा छोड्न भनेका छन्। त्यो पनि मेरै अथार्थ हो। यतिखेर मलाई पनि त्यही कोठा छोड्न आदेश आएको छ। म बसेको सहरमा बरु जागिर सहजै पाइएला डेरा पाउन मुश्किल छ।
दूरदराजबाट उच्चशिक्षा लिन आएका अनि त्यस्तै सानोतिनो पेसामा अल्झिएकाहरू काठमाडौंमा अनेक अप्ठ्यारा भोग्न अभ्यस्त छन्। यहाँ हजारौं राजीवहरू छन्। म पनि एउटा त्यस्तै राजीव हुँ।
जसोतसो चल्दैछ यो जिन्दगी। अनुहारभित्रको आकाशले त्यसकारण मलाई ज्यादा छोएको हुनसक्छ तर होइन यसले सबैलाई छुने छ। पाठकको मनलाई विदीर्ण गराउन सक्नु साधारण कलाशिल्पको कुरा होइन।
यस्ता कृतिहरू बिर्सिने हजार प्रयत्न गर्दा पनि बिर्सिन सकिँदैन। मनमा झन् गाढा भएर बस्छ। म यस उपन्यासमा डा. राजीव भण्डारीसँगै छु। उसँग मेरा संवादहरू एकदम मेल खाएका छन्। कतै त्यो राजीव म आफैं त होइन? यस विषयमा एकचोटि लेखक इन्दुप्रभालाई सोध्नु पर्ला!
त्यसपालिको नयाँ साल फेरिँदैछ। थरीथरीको हैरानी भोग्दै, थामिँदै आएको राजीव अनागतप्रति विश्वस्त हुँदै भन्छ– नयाँ वर्ष आउँदैछ। नयाँ घाम उदाउला मेरा लागि पनि। हाम्रा हरेक निमेष अस्थायी छन्, हरेक कुरा अस्थिर छन्। त्यही सोचले ऊ आशावादी छ। उसका विषादका दिन पनि त्यस्तै अस्थायी छन्। यस कुरामा ऊ ढुक्क छ।
त्यस दिन राजीव फेरि उदास हुन्छ स्कुल पढ्दाका धरणीधर गुरुको दुःखद अन्त्यले। आदर्शको प्रतिमूर्ति ढलेसँगै उसको अतीत फेरि बल्झिन्छ। जीवनभर ब्रह्मचारी रहेका गुरुकी प्रेमिका र अघोषित पुत्र वर्णनले कथामा अर्को रहस्य थपेको छ। प्रेमबिना यो संसार अधुरै रहने छ, निश्चय।
धरणीधरको प्रेम कथाले यस्तै कुरा भन्छ। अघोषित प्रेम कथाहरू यहाँ यसरी नै सिर्जिरहन्छन्। साधुसन्त, ब्रह्मचारी भनेका पनि प्रेमका नित्य भोका हुन्छन्। समाजमा लुकेर तिनीहरू प्रेम साट्छन्।
अल्जाइमरले अचेत भएका गुरुको अवस्था कारुणिक लाग्छ। बीचमा देखा परेको पात्र भोला तिनै गुरुको स्याहार सुसारमा खटाइएको छ। उसको उपस्थिति त्यहाँ आवश्यक देखिन्छ। अशिष्ट लाग्छ उसको बोली वचन यद्यपि ऊ निर्दोष निष्कपट छ। उसका बाबुआमा छैनन्। घरद्वार नभएको टुहुरो आश्रयविहीन छ।
धरणीधरप्रति उत्पन्न भएको सहानुभूति अलिकति उसलाई दिन मन लाग्छ।
तीन खण्डमा विभाजित उपन्यासको पहिलो भागभन्दा दोस्रो भाग जटिल लाग्छ कथानकका हिसाबले अनि वैचारिकताको दृष्टिले, संवेदनाको हिसाबले पनि।
पात्रको यथार्थ भोगाइमा केही आदर्शहरू थपिएका छन्। यहाँ आएर कथाको संयोजन जटिल लाग्छ, काल्पनिक लाग्छ। रेखीय ढाँचामा सुरू भएको कथा विच्छेद भई दोस्रो भागमा एक छिन पाठक अल्मलिन्छ। पढ्दै जाँदा कथानकको फेरि भेटिन्छ। अघिदेखिको निरन्तरतामा पाठकले जे सोचेको थियो, त्यो पाउँदैन। कथा मोड्न नयाँ प्लटहरू थपिन्छन्। जुन कुरा पाठकले कल्पनासम्म गरेको हुँदैन।
उपन्यास दुखान्तै दुखान्तले भरिएको छ। विछोड धेरै छ। मिलाप हुनै सक्दैन। गहिरो दर्द छ। यति हुँदा हुँदै पनि जीवनप्रति मोहभाव देखाइएको छ। निरन्तर संघर्ष गर्न सिकाइएको छ।
राजीवको चरित्र स्मरणीय छ। ऊ सहनशील छ। उदार र दूरदर्शी छ। प्राज्ञ जगतसँग निकट छ। उसको दैनन्दिन शिक्षण संस्थासँग जोडिएको छ। शिक्षा क्षेत्र समेत दुराग्रह अनि राजनीतिबाट अछुतो नरहेको प्रसंग आइरहन्छ।
राजीवको भविष्य कता जाने हो? युगयुग नछुट्लाजस्तो उसको र नम्रताको प्रेम कुन तरिकाले अगाडि बढ्ने हो? या नबढ्ने हो? बिहे गरेर नम्रताले उसलाई गुवाहाटीमै बस्नु पर्छ भनेकी छ, जागिरको लागि टाढा नजाऊ, गाउँ पनि नजाऊ भनेकी छ। त्यो कुरा राजीवलाई राम्रो लाग्दैन।
उसकी आमाले नम्रतालाई स्वीकार गर्ने हुन् कि होइनन् त्यहाँ पनि एउटा सन्देह छ।
धेरै विफलता र चोट खाएको राजीवलाई गुवाहाटी बस्ने इच्छा हुँदैन। गाउँ फर्किन पनि सक्दैन। कथाले यसरी बाटो छोडिदिन्छ, ऊ दिल्ली विश्वविद्यालयको प्राध्यापक भएको छ। ऊ कसरी त्यहाँ पुग्यो त्यो देखाइएको छैन।
त्यस बीचमा उसका संघर्षका कथा पाठकले आफैं कल्पना गर्न थाल्छ। त्यसपछि नम्रता कहाँ गई? कोसँग बिहे गरी? त्यो प्रेम कसरी दुई किनारा भयो? यहाँ पाठकलाई आफ्नै प्रेमिका छुटेको तिक्तानुभूति हुन्छ।
धरणीधर गुरुको अवसानपछि पाश्र्वमा रहेको भोलाले फेरि उल्लेख्य मञ्च पाउँछ। उसको उपस्थिति यहाँ नाटकीय लाग्छ। निराश्रित गौण पात्रलाई दोस्रो खण्डमा आएर ठूलो खुसी दिन सक्ने, भरोसायोग्य चरित्रको रूपमा देखाएको छ।
ऊ राजीवका बाबुआमासँग बसेको छ कान्छो छोरोजस्तै भएर। घर व्यवहार सम्हालेको छ। प्रमुख जिम्मेवारी अहिले उसैको काँधमा छ। राजीवको दायित्व उसैले लिएको छ। उसलाई पाएर राजीवका मातापिता प्रसन्न छन्। उसको बिहे पनि भइसकेको छ, सन्तान भएका छन्।
यता अविवाहित राजीवको दुःख सुस्तरी अवसान हुँदै जान्छ तर पनि पाठक उसप्रति सन्तुष्ट हुन सक्दैन। उसका प्रति सदभाव र करुणा उत्पन्न हुन्छ। उसलाई प्रेमको कमी थिएन यद्यपि परिस्थितिले उसलाई प्रेम नपाएको हीन बनाइदिएको छ।
उसको त्यो ऐकान्तिकता मलाई राम्रो लाग्दैन। ऊ एक किसिमले वितरागी भएको छ। परन्तु त्यो हृदय अतीतको उही प्रेमले निर्देशित छ।
नम्रतालाई घात गर्ने दुराशय उसको थिएन। विवशताले त्यो सब भएको छ। अस्तित्वको संग्राममा प्रेम, विवाह, घर, परिवार सम्पूर्ण किचिमिची भएका छन्। बाबुआमाको इच्छा पूरा गर्न असमर्थ सन्तानको रूप उसलाई देखाइएको छ।
ऊ असफल प्रेमी पनि हो। आफूले आफैंलाई ऊ अहिले प्रश्न गर्दैछ– राजु, तँ के हुन सक्थिस्, के भइस्?
तेस्रो खण्डमा मानव जीवनको निस्सारता यसरी देखाएको छ, त्यतिखेर यो जीवन केही होइन भन्न मन लाग्छ। अब दिल्ली नजाने गरी राजीव लखिमपुर गाउँ फर्किएको छ, जीवनको उत्तरार्द्धमा। मनका अनगन्ती कुण्ठाहरू बाबुलाई सुनाउने इच्छा छ– बुबा, अब म तपाईंलाई छोडेर कहीँ जाँदिनँ। दिल्ली पनि जाँदिनँ। तपाईंसँगै रहेर दुःखसुखको बात गर्नु छ।
बाबुलाई आफू घर फर्किएको खुसी देखाउन चाहन्छ। असमयका उमङ्गहरू छताछुल्ल पार्न चाहन्छ। समय निकै भड्किसकेको छ। बाबुले उसलाई चिन्दैनन्। अचेत भएका बाबुलाई भेट्दा ऊ भरंग हुन्छ। त्यतिखेर मेरो मन यसरी फाट्छ कि, स्वयं पात्र भएर आफैंलाई धिक्कार्न थाल्छु।
राजीवले भोग्न बाँकी नै के रह्यो र? आज आएर संसारकै एक्लो भएको छ। बस्, ऊ वर्तमानमा निरूपाय भएर घस्रिएको छ।
उपन्यासका पात्रहरू जब एक्लो हुन्छन्, वेदनाले प्रताडित हुन्छन् तब आफूलाई भुल्न भुलाउन चेसको गोटी चाल्न थाल्छन्। भरे त्यो जिन्दगी पनि चेसको गोटीजस्तै लाग्छ।
हाम्रो बचाइ त्यही खेल रहेछ। खेलुन्जेल यथार्थ लाग्ने, आखिरीमा त्यो सबै मिथ्या हुँदो रहेछ। आफ्नो भोगाइ पनि आफ्नो नहुँदो रहेछ। आफ्नो विचार पनि आफ्नो हुँदो रहेनछ। आफ्नो भन्नु केही नहुँदो रहेछ। स्मृति गुमेपछि अब झन् केही छैन। अतीत पनि बाँकी छैन।
हजार सम्झना गर्दा पनि छोरो नचिनेरै बाबु गए। आफ्नो शिष्य नचिनेरै गुरु धरणीधर गए। राजीवभन्दा कच्चा भोला पनि मृत्युलोक पुगिसकेको छ। बिस्तारै राजीवको स्मृति हराउँदैछ। उसले भोलाको नाति चिन्न छोडेको छ। चेतना लोप भएपछि अतीतले पनि साथ छोड्छ।
उपन्यासमा विश्लेषणका लाागि प्रशस्तै घटना छन्। किशोर, वयस्क, प्रौढ जुनसुकै उमेर समूहलाई छुने, उद्वेलित पार्ने तत्त्वहरू छन्। बौद्धिक अबौद्धिक दुवै थरी पाठकलाई यसले स्वीकार गरेको छ। कृति पढिसकेपछि समय सार्थक भएको अनुभूत हुन्छ ।
राजीवको भोगाइसँगै मनका उकुसमुकुसहरू मैले यहीँ मिसाएँ। विरह पनि यहीँ पोखेँ। व्यवधानहरू यहीँ छोडेँ। परन्तु ऊ जस्तो वितराग अवस्थामा भने म पुगेकी छैन। समयले पुर्याउँछ पुर्याउँदैन त्यो पनि थाहा छैन।
एकचोटि लेखकलाई सोध्न मन छ– मेरो जीवन किन यसरी लेखियो? अरूको गोपनीयता यसरी सार्वजनिक गर्नु उचित हो?
अन्त्यमा पुग्दासम्म राजीव भनेको मै हुँ जस्तो लागिरह्यो। त्यो विकल अवस्था मेरै हो भन्न मन लागिरह्यो। अरू युवा पाठकलाई पनि सायद यस्तै लाग्न बेर छैन।
कृतिभित्र जब पाठकले आफूलाई पाउँछ त्यही हो लेखकको सफलता, कृतिको सार्थकता। अनुहारभित्रको आकाशमा पाठकले आफूअनुसार अर्थ लगाउने छ। जीवनको अन्तिम सार भन्नु केही छैन। राजीवको भोगाइले त्यही कुरा बोध गर्न लगाएको छ।
उपन्यासको सुरुमा मैले आफ्नै कथा पाएँ। बीचमा मेरै संघर्षका, कठिनाइका कुरा पाएँ। अन्तिममा राजीवकै नियतिको कल्पना गरेर उदास भएँ। निश्चय भोलि म पनि त्यस्तै हुने छु। मेरा हरेक उपलब्धि त्यस्तै व्यर्थ हुनेछन्।
त्यसो त मेरो उपलब्धि नै के छ र? सबै भ्रम हो भन्ने जानेर पनि फेरि म प्रत्येक निमेष अहंको, अभिमानको लागि मृत्युसमान कष्टसँग जुद्धैछु। अरूको घात प्रतिघातले मन दुखाउँछु।
आखिर त्यसो होइन। त्यो त मेरै विचार दुखेको थियो, मेरै विचार रोएको थियो। बस्, आत्मा त्यसरी रोएको होइन। उसलाई कुनै तत्त्वले छुँदैन। ऊ निर्विकार छ। पूर्वीय दर्शनले यही भन्छ।
ठूलो विडम्बनाले भरिएको छ नायकको जीवन। हाम्रो अवस्था पनि त्यस्तै छैन र? जीवनभर त्यही नामको लागि उसले कत्रो संकट भोग्नु पर्यो। दुःखको कुरा, आज उसले त्यही नाम बिर्सिएको छ। आफ्नै नाम भुलेपछि जीवनको निस्सारताबारे भन्न बाँकी नै के रह्यो र?
पात्रहरू क्रमशः मृत्युको मुखमा पुगेर पात्रताबाट बाहिरिएका छन्। भोला पनि छैन। त्यो कुरा छिनभरमै बिर्सिएर राजीव पटक पटक उसलाई बोलाउँछ। त्यतिखेर उसको व्यक्तित्वले उसैलाई उपहास गरेको भान हुन्छ।
आफ्नै पहलमा निर्माण भएको 'स्वर्गीय राधाकान्त भण्डारी पथ', स्मारक अभ्युदय अभिनयमञ्च, कीर्तनघरले आज आएर उसैलाई गिज्याइरहेका छन्।
आफ्नै प्रयत्नमा ती संस्थाहरू उद्घाटन भएका हुन् भन्ने कुरा पनि अहिले उसलाई विश्वास लाग्न छोडेको छ।
उपन्यासमा त्यस्तो खड्किने कुरा केही छैन। आलोचना, प्रतिक्रिया दिनु पर्ने म केही देख्दिनँ। कता कति वर्ण विन्यासमा विचलन आएको छ। त्यस्तो धेरै होइन। असमिया भाषाले घरीघरी पठनबोधमा बाधा गर्न खोज्छ तर प्रसंगले कुरा बुझिन्छ।
गहिरो संवेदना पैदा गरेको छ कृतिले। त्यति हुँदाहुँदै पनि राजीवकी कान्छीआमाको अवसान खबरले जति भावुक बनाउनु पर्ने हो, शोकमा जति अभिभूत हुनु पर्ने हो त्यति सन्तप्त स्थिति उत्पन्न गर्न सकेको छैन। जीवनको उत्तरार्द्धमा पनि डा. राजीवलाई सायद म भुल्दिनँ होला। त्यतिखेरको आफ्नो भोगाइमा म उसैको यथार्थ पाउने छु।
पुनश्चः अनुहारभित्रको आकाश युवा पुस्ताको लागि मात्र नभएर, सम्पूर्णको लागि स्वागत योग्य छ। यसमा मानव जीवनकै वास्तविक सत्य उद्घाटन गरिएको छ यद्यपि त्यो मर्म पाठक आफैंले बोध गर्न सक्नु पर्छ।