पारिजातको अन्तिम संस्मरण भनिएको 'भावुकताको सूर्यास्त: अनास्थाको अन्धकार' हातमा पर्यो।
मैले २०४७ सालमा पढ्न थालेकी पारिजात वर्तमानमा एक 'आइकन' हुन्। उनको लेखन प्रत्येक पुस्ताले कसरी बुझ्छ भन्ने चासो रहिरहन्छ, किनभने यदाकदा नेपाली समालोचकहरूले पारिजातको उत्तराधिकारी वा पारिजातको छाया भन्ने पगरी केही महिला लेखकहरूलाई छुस्सछुस्स लगाइदिने गरेका छन्।
पारिजात पढ्ने पछिल्लो पुस्ताका पाठकहरूमध्ये केहीका कुरा सुनेकी छु। यी सबले उक्त संस्मरण पढेर के भन्लान् भन्ने कुतूहल जागेको छ। उनको बहुचर्चित शिरीषको फूल पढेर एक साथीले सोधेकी थिइन् – हामीलाई पारिजातले झुक्याएकी त होइनन् नि है प्रणिका?
यहाँ मैले पारिजातलाई जीवनमा एकपटक मात्र देखेको क्षणको सम्झना सुनाउन चाहन्छु।
म चार-पाँच कक्षामा पढ्थेँ होला। एक हिउँदको शनिबार मलाई मामा कवि वर्तमानले तत्कालीन रत्नराज्य लक्ष्मी क्याम्पसमा हुने 'साहित्य सन्ध्या' मा लैजानुभयो। कविता सुन्दै थिएँ।
यस्तैमा मामाले पछाडितिर हेर्न लगाउँदै भन्नुभयो – ऊ, पारिजात आउनुभयो।
सलले कपाल बेरेकी पारिजात आफ्नो ह्विलचेयरमा मञ्चमा जानुभयो। त्यसपछि मलाई केही याद छैन।
पारिजातका विषयमा प्रकाशित लेखनहरूमध्ये आफूले पढेका, विशेष गरी सन् २०१५ ताका 'पाण्डुलिपि' साहित्यिक पत्रिकामा वन्दना ढकालले पारिजातलाई सम्बोधन गरेर लेखेको 'पारिजातलाई प्रेमपत्र' र त्यही पत्रिकामा आहुतिले लेखेको 'मैले भेटेका नौ बहिनी पारिजात' मा पारिजातसँगको आफ्नो चिनजान र उनको मृत्यु संस्कारको सन्दर्भमा व्यक्तिगत विचार र बुझाइ व्यक्त भएका लेख सम्झेँ।
त्यसैगरी, 'चौकठ समूह' ले आफ्नो ट्वीटर ह्यान्डलबाट पारिजातको 'अब त आफ्नो मर्यादाको बारेमा नबोले पाप लाग्छ' हरफ उद्धृत गरेपछि आएका केही लेखहरूले समय समयमा उद्धृत गरेको यही हरफ सम्झेँ।
२०७७ माघ ३० गते बृहत् नागरिक आन्दोलनले आह्वान गरेको महिला मार्च भद्रकालीमा सभामा परिणत भयो। पहिले नै सल्लाह भएबमोजिम उपस्थित सबैलाई पारिजातको 'मानुषी' कविता सामूहिक वाचन गराएकी थिएँ।
मैले नेपाली साहित्यका विद्यार्थी पापालाई उहाँको पाठ्यक्रमका कथा र निबन्ध पढेर सुनाउनुपर्थ्यो। त्यसै क्रममा हो मैले 'मैले नजन्माएको छोरो' पढेकी। त्यसपछि २०४७ सालमा 'शिरीषको फूल' पढेँ। त्यतिखेर १२–१३ वर्ष उमेरकी मैले कति बुझेँ, अहिले भन्न सक्दिनँ। तर सकम्बरी मेरो मनमा रहेको पात्र थियो। कताकता उसको उचाटपना ममा पनि छ जस्तो लागेको थियो। सके पहिलोचोटि आत्महत्या र विषादलाई रूमानी नजरले हेरेकी थिएँ।
त्यसपछि बिस्तारै उनका पुस्तक 'धुपी, सल्ला र तोरीबारी' र 'महत्ताहीन' पढेँ। किशोरी उमेरमा पढेका ती पुस्तक विकासे रोजगारी छाडेपछि फेरि दोहोर्याएर पढेँ। अहिले उमेर ५० को हाराहारीमा पुग्दै गर्दा फेरि विकासे खेताला हुँदा पनि म घरिघरि उनैको लेखन पढ्दैछु। उनलाई पढेकाहरूको उनीप्रतिको विचार सुन्दैछु, किन?
किनकि यी लेखनप्रतिको मेरो धारणा समयसँगै फरक भएको छ। मलाई प्रत्येकले उनलाई पढेर के सोच्छन् भन्ने खुलदुली लागिरहन्छ। उनका कविताहरूमा महसुस गरिने 'अनसेन्सर्ड' अभिव्यक्तिको चुनौतीले सधैं पुलकित बनाउँछ।
यस्तो अनुभव गरिरहेको पाठकले यो संस्मरण पढ्दा के भेट्यो त?
यो नितान्त वैयक्तिक अनुभव हो जो सायद सार्वजनिक गर्न सकिँदैन तर उनकै गीत 'डुल्न मन लाग्छ मायालु...' का हरफसँग जोडेर हेर्दा पारिजात रूमानी थिइन् भन्न सकिन्छ। भलै त्यो रूमानी सोचमा आफू बाँचेको जीवनको वास्तविकतामा क्षोभ, ग्लानी, आशा, माया र हकका क्षण घुलित छन्।
आफ्नो मनले खाएको मान्छेसँग भेट्ने र कुरा गर्ने लालसा पहिल्याए पनि किन साथबिनाको एकांकी रोजिन्?
यसको उत्तर छैन। पाठक आफैले सोझो उत्तर पाएजस्तो लाग्छ। सायद उनका अरू रचना, विशेष गरी संस्मरणहरू, पढेकालाई थाहा पाएजस्तो लाग्ला तर उत्तर हुनु र नहुनु पनि खासै ठुलो कुरो रहेन।
'अनरिक्विटेड लभ' अर्थात् प्राप्तिको चाह नभएको तर कसैलाई चाहनुको मिठो रूमानी सोचमा अलमलिएको मनोभावको प्रसंग आउँदा मैले उत्तर अमेरिकी कार्टुनिस्ट चार्ल्स श्कुल्जका सिर्जना 'पिनट्स' कमिक शृंखला सम्झेँ।
यसको मुख्य पात्र चार्ली ब्राउन नामको बालकले कहिल्यै पनि आफूलाई मन परेकी, रातो कपाल भएकी सानी बालिकासँग आफ्नो भाव व्यक्त गर्न सक्दैन। ऊ प्रेममा परेको बालकले गर्ने प्रत्येक क्रियाकलाप गर्छ तर आफ्नो चाहको व्यक्तिबाट धेरै पर रहेर।
चार्ल्सले पनि चार्लीको प्रेम कहिल्यै देखाएनन्।
हामी पाठकहरूलाई पनि रातो कपाल भएकी सानी नानीलाई चार्लीले औधी मन पराउँछ भन्ने थाहा हुन्छ। चार्लीको रोमाञ्चित भावका चित्र र शब्द पढ्न-हेर्न सक्छौं तर उनी कस्ती छिन्, हामी कसैलाई थाहा हुँदैन। थाहा छैन नै भनौं।
त्यसैगरी, धनुवर मुखियामा समर्पित पारिजातको संस्मरणले धनुवर मुखिया को हुन् भनेर उति साह्रो शब्द खर्च गर्दैन। यो किताबले धनुवर मुखिया र विष्णुकुमारी वाइबाबीच साथको आग्रह र निषेध, सम्बन्धको निरन्तरता र न्यानोपनाको बिचोबीच अहं जस्तो क्षोभ, डर र साथ टुटाउँदा-टुट्दाको अव्यक्त विषाद पाठक आफैले भोगोस् पनि भन्छ।
यस अर्थमा यी दुईको भोगाइ पाठकमा सर्छ। त्यसलाई स्वीकार गर्ने र नगर्ने निर्णय पाठक स्वयंको हुन जान्छ। मैले भोगाइमा घोत्लिने निर्णय गरेँ र 'डुल्न मन लाग्छ मायालु...' गीत युट्युबमा बजाएँ –
डुल्न मन लाग्छ मायालु साँझसँगै बताससँगै
मर्न मन लाग्छ मायालु रातसँगै दिनसँगै
सधैं चिसो इनारभित्र हिउँद वसन्त साँचिरहिछु
एकान्तमा सधैं एक्लै वारिसबिना बाँचिरहिछु
डढ्न मन लाग्छ मायालु घामसँगै आगोसँगै्
जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै
हुरी चल्ने गोरेटोभरि उड्न त्यसै मन गरेछु
मरिसकेको बगरमाथि हिँड्न त्यसै चाह गरेछु
झर्न मन लाग्छ मायालु शीतसँगै जूनसँगै
जम्न मन लाग्छ मायालु हिउँसँगै तुषारोसँगै
डुल्न मन लाग्छ मायालु साँझसँगै बताससँगै
मर्न मन लाग्छ मायालु रातसँगै दिनसँगै
मैले पारिजातको यो गीत यस्तै ९-१० वर्षअघि सुनेकी थिएँ। शान्तिराम राईको संगीत संयोजनमा लासिमित राईले गाउनुभएको छ। गीतको छायांकन ह्विलचेयरमा बसेर ह्विलचेयर प्रयोग गर्नुअघिको समयमा आफ्नो प्रेमीसँग बिताएका पल सम्झिने एक महिला छिन्। तिनी पनि पारिजातले झैं टाउकोमा सल बेर्छिन्।
आफ्नो गीतको छायांकनको सम्बन्धमा पारिजातले निर्देशकलाई पक्कै पनि केही प्रतिक्रिया दिनुहुन्थ्यो, यसमा म विश्वस्त छु।
यस गीतमा चाहनासँगै विवशता छ। अंग्रेजीमा 'मेलानकोली' भनिन्छ, जसलाई उचाट हृदयको अस्थिरतामा पाइने पीडा मिसिएको आनन्द भन्न सकिन्छ।
यो गीत र संस्मरण दुवैले मलाई त्यही महसुस गरायो। आफैले रोजेको एकांकी स्वीकार गर्दै यसरी आफ्नो प्रेम लेख्नुको उद्देश्य के हो? के उनले आफ्ना यी दुई लेखन यसरी सार्वजनिक होऊन् भन्ने चाहेकी थिइन्?
यी प्रश्न भने रहिरहन्छन्।
अझ फेरि, यी लेखनको उचाटपनमा हामी पाठक पो धेरै सोच्दै छौं कि! धेरै बुझेको जस्तो गर्दैछौं कि!
आफूभित्र उद्वेलित भाव एक निमेषमा वा दैनिक रूपमा आफ्नो मनले साँचेको पल मस्तिष्कले संयमित बनाउँदै व्यक्त भएकोमा हामीले लेखकको वैयक्तिक मनस्थितिलाई रूमानी बनाउँदैछौं र अनुमानित 'विश्लेषण' पो गर्दैछौं कि!
टी. एस. इलियटले कविका अभिव्यक्ति वैयक्तिक हुन्छन् भन्ने छैन भनेका छन्।
संस्मरण र त्यही संस्मरणको सारांश जस्तो लाग्ने गीत सुन्दा कसरी यी वैयक्तिक होइनन् र पाठकलाई उनको जीवनको यो पाटो यसरी 'भोयरिस्ट' भएर हेर्न दिने निर्णय उनका विश्वास प्राप्त व्यक्तिहरूले किन लिए?
अहिले मरो मनको मुख्य प्रश्न यही हो।
पुस्तकको मन्तव्यमा 'उनकै इच्छाअनुसार धनुवर मुखियाको मृत्युपछि' मात्र प्रकाशन गर्न लागेको भनिएको संस्मरण 'भावुकताको सूर्यास्त: अनास्थाको अन्धकार' फिनिक्स प्रकाशन हुँदै बजारमा उपलब्ध भयो।
अरू प्रश्न पनि छन्।
के लेखक आत्मपीडक थिइन्? प्रेमको अर्थ साथ नरहनु पनि हुन्छ भन्ने बोध जिउनकै लागि लिइएको निर्णय हो भने, त्यो निर्णय सम्झेर आफ्नो अप्राप्य प्रेम सानोतिनो पुस्तककै स्वरूपमा लेखिनुको कारण के हो?
मुखियाको भौतिक शरीरले बाटो लिएपछि मात्र छापिनुको अर्थ के हो?
हामी पाठकहरूलाई उनको जीवनको यो पाटो पढाउने इच्छा किन लेखकमा रह्यो?
सबैभन्दा ठुलो कुरा, ती व्यक्तिलाई आफूबाट टाढा राख्नु, भेट्ने-हेर्ने लालसा दबाएर टाढिँदै जाने निर्णय गर्नुको कारण उनलाई आफ्नो जन्मस्थान छोडेर नेपालमै रहनुपर्छ भन्ने सोच हो वा आफ्नो स्वास्थ्य स्थितिको जटिलताको आत्मसात हो? वा दुवै?
यसको पनि अनुमान लगाउन सक्छौं तर जरूरी छैन।
यथार्थ यो हो कि, लेखकले विष्णुकुमारी वाइबाको आत्मपीडक भावुकता र निर्णय पारिजात बनेर लेख्नुभयो। नत्र जुन चाहलाई समर्पित गरेर लेखिन्छ, जुन चाहलाई सम्बोधन गरेर आफ्नो चाह र विवशता व्यक्त गरिन्छ, त्यो चाहको बारेमा आफ्नो घरपरिवार, साथी, शुभेच्छुकलाई किन थाहा नदिनु? (तर उहाँकी बहिनी सुकन्याजीसँग धनुवर मुखियाको मृत्यु कुरेर बसेको जस्तो गरी प्रकाशनको लागि पाण्डुलिपि अहिलेसम्म सुरक्षित रहेछ।)
मैले यस संस्मरणलाई लेखकको समर्पणका शब्दबाट डोरिएर बुझेकी हुन सक्छु।
मैले सुरूमै भनिसकेँ – वैयक्तिक अभिव्यक्तिहरूको बुझाइ प्रत्येकको आ-आफ्नै हुन्छ।
मैले महसुस गरेको यही नै हो।
पारिजातको यो पुस्तक जतिपटक पढे पनि उहाँद्वारा रचित 'डुल्न मन लाग्छ मायालु...' गुञ्जिने कुरामा म विश्वस्त छु। साथ रहन अस्वीकार गर्दै, भूगोल नै अलग बनाउँदै बाँचेको क्षणमा पनि साँचेको प्रेम जीवन्त बनाउने एउटा प्रयास हो 'डुल्न मन लाग्छ मायालु...'।
त्यसैको विस्तारित पूर्वकथन हो 'भावुकताको सूर्यास्त : अनास्थाको अन्धकार'।
अन्त्यमा, पारिजात जिउँदी हुँदै यो संस्मरण प्रकाशित हुँदो हो त पाठकका लागि यसले बढी अर्थ राख्थ्यो कि!
प्रकाशनको अवस्था नै सर्तसहित आयो, त्यसैले पनि यो संस्मरण यसरी पढ्दा, उहाँका पाठकमध्येकी एक, मलाई भने 'पारिजातको यो अप्राप्य प्रेमको पाटो' थाहा पाएर गज्जब लागेको छैन।
बरू केही प्रश्न छन्।
लेखकको मृत्युपर्यन्त सीमित व्यक्ति मात्र जानकार रहेको यो संस्मरण यसरी बजारमा आउँदा हामी पाठकहरूको कस्तो प्रतिक्रिया हुन्छ?
पारिजातको लेखन हामीले कसरी बुझेका छौं? उनीमाथि लेखिएका विचारहरू कसरी स्वीकार गरेका छौं?
आफूलाई मनपरेका लेखकको सबै कुरा हामीलाई थाहा हुनैपर्छ भन्ने पाठकको भोयरिस्ट आशक्तिमा हाम्रो दृष्टिकोण के हो? यस्तो दृष्टिकोणमा लेखक स्वयंले कसरी प्रभाव पार्न सक्छ?
यी सबमा पुँजीवादी बजारको आयतन र एक इमानदार लेखकबीच प्रकाशनको सम्बन्धमा 'झेली' सर्त कसरी सिर्जना हुन्छ?
सायद यी अनेक प्रश्न र पक्षहरूले यस पुस्तकको स्थान निर्धारण गर्नेछन्।