'अहिले कुन किताब पढ्दै हुनुहुन्छ?' पत्रकार बसन्त बस्नेतले हरेकपटक फोनमा कुराकानी हुँदा सोध्ने प्रश्न हो यो।
किताब पढ्ने उहाँको बानी र अनुशासन साँच्चिकै लोभलाग्दो छ।
नयाँ किताब पढिरहेका बेला त फूर्तिका साथ म पनि भनिहाल्छु — फलानो पढ्दैछु।
तर कतिपय बेला बेला नयाँ केही पढिएको हुँदैन। यस्तोमा बसन्तले आफूले पढिरहेको र मन परेको किताबको नाम लिइहाल्नुहुन्छ।
यसपटक काठमाडौंमा भेट हुँदा बसन्तले फरिद जकारियाको 'एज अफ रेभोलुसन्स' भन्ने किताब पढ्नुस् है भनेर सुझाउनुभयो।
जकारिया नाम चलेका टिभी कार्यक्रम प्रस्तोता, विश्लेषक र लेखक हुन्। स्वतन्त्रता, लोकतन्त्र र उदारवादका पक्षमा उनको मुख र कलम दुवै बेजोड चल्छ। यसअघि प्रकाशित उनको किताब 'द पोस्ट अमेरिकन वर्ल्ड' मन भएर पनि पढ्ने चाँजो मिलेको थिएन। यसपटक बसन्तको सुझाव मानेर इस्लामावाद फर्किनासाथ 'एज अफ रेभोलुसन्स' सुरू गरेँ। पढिसकेपछि केही लेख्ने मन भयो।
यो लेख जकारियाको यही किताबको विवेचनामा केन्द्रित छ।
किताबमा 'रेभोलुसन' शब्दको इतिहासलाई रोचक ढंगले प्रस्तुत गर्दै जकारियाले संसार र विशेषगरी युरोप र संयुक्त राज्य अमेरिकाका केही शक्तिशाली परिवर्तन वा आन्दोलन (जसलाई सहजताका लागि यस लेखमा 'क्रान्ति' भन्नेछु) र त्यसका प्रभावहरूको निकै रोचक चित्र प्रस्तुत गरेका छन्। समकालीन विश्वलाई आज ठूलो प्रभाव पारिरहेको सूचना प्रविधिको क्रान्तिका विषयमा पनि किताबमा गहिरो विश्लेषण समेटिएको छ। यसका अतिरिक्त जकारियाले संसारमा पहिचानमुखी र राष्ट्रवादी संकीर्णता (ट्राइवलिजम र नेसनलिजम) कसरी बलियो हुँदै गइरहेको छ भनेर लामो विश्लेषण गरेका छन्।
किताब सुरू हुन्छ एउटा यस्तो क्रान्तिबाट जसका बारेमा धेरै चर्चा हुने गरेको छैन।
त्यो हो — नेदरल्यान्ड्सको सबलीकरण।
जकारियाले 'डच रिपब्लिक' भनेर चिनिएको नेदरल्यान्ड्सले कसरी युरोपमा लोकतन्त्रका संस्था र विधिहरूको जग बसाल्यो भनेर निकै लामो वृतान्त प्रस्तुत गरेका छन्। त्यसपछि उनी बेलायतको औद्योगिक क्रान्ति र त्यससँग जोडिएको राजनीतिक परिवर्तनको कुरा गर्छन्। यही भागमा उनले फ्रान्सेली क्रान्तिबारे आफ्नो निकै रोचक विश्लेषण प्रस्तुत गरेका छन्।
जकारिया भन्छन् — पन्ध्रौं र सोह्रौं शताब्दीमा नेदरल्यान्ड्सले एउटा अभूतपूर्व र युगान्तकारी क्रान्तिको नेतृत्व गर्यो। प्रकृति र भूगोलले थोपरेका सीमिततालाई चिर्न त्यस देशमा विकेन्द्रित र समावेशी राजनीतिक संस्था र संस्कारको विकास भयो। धर्म, जातीयता, दृष्टिकोण वा परम्पराका आधारमा रहेको विविधितालाई सम्मान गरियो। विविध क्षेत्रका मानिसहरूको क्षमताको उपयोग गर्न स्थानीय तहलाई बलियो बनाइयो। यसबाट खुला र उदार लोकतन्त्रको जग बस्यो। खुला र उदार लोकतन्त्रले डच गणतन्त्रलाई युरोपकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा स्थापित गरायो।
डच गणतन्त्रले स्थापना गरेका व्यापारिक र राजनीतिक संस्था यति बलिया थिए कि त्यस बेला युरोपभरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न सक्ने अर्को राज्य थिएन।
त्यसपछि जकारिया बेलायतको औद्योगिक क्रान्तिको कुरा गर्छन्।
उनको विचारमा डच रिपब्लिकको सफलता बेलायतका लागि प्रेरणाको स्रोत बन्यो। बेलायतीहरूले राजनीतिक संस्थालाई डचहरूले जस्तै उदार र समावेशी बनाए र त्यसमार्फत् औद्योगिक क्रान्तिको जग बसाले। औद्योगिकीकरणका विरूद्ध बेलायतमा सशक्त प्रतिरोध नभएको होइन, तर बेलायतीहरूले ती प्रतिरोध चिर्दै उद्योगधन्दा र व्यापार निरन्तर विस्तार गरे। आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका लागि राजनीतिक संस्थाहरूलाई उदार र समावेशी बनाउने डच रिपब्लिकको अनुभव बेलायतका लागि मूल्यवान साबित भयो। एक शताब्दीभित्र डच रिपब्लिकलाई पछि पार्दै बेलायत आर्थिक र सामरिक रूपमा संसारकै सबभन्दा शक्तिशाली राष्ट्रका रूपमा स्थापित भयो।
जकारियाको विचारमा युरोपका यी दुई राष्ट्रहरूले हासिल गरेको समृद्धिले फ्रान्समा भने कुनै प्रभाव पारेन।
एज अफ रेभोलुसनमा जकारियाले फ्रान्सेली क्रान्तिका बारेमा केही पृथक र रोचक विश्लेषण प्रस्तुत गरेका छन्। उनको विचारमा संसारभर प्रसिद्ध फ्रान्सेली क्रान्ति असाध्यै चर्का आरोह-अवरोहले भरिएको त थियो। तर यो मूलतः प्रतिशोध र पूर्वाग्रहबाट निर्देशित थियो। क्रान्तिको बलियो नेतृत्व थिएन। विभिन्न समयमा फ्रान्सेली क्रान्तिको नेतृत्व गर्नेहरू आफ्ना उद्देश्य र तिनलाई हासिल गर्न अपनाइने पद्धतिबारे स्पष्ट थिएनन्। क्रान्ति सुधार र समृद्धिमा केन्द्रित थिएन। परिणामस्वरूप फ्रान्सेली क्रान्तिले त्यस राष्ट्रलाई थप कमजोर र अस्थिर बनायो। यही अस्थिरताबीच फ्रान्सको नेतृत्व लिएका नेपोलियन बोनापार्ट आफ्नो साम्राज्य विस्तार गर्नतिर लागे जसले फ्रान्सले झेलिरहेका जटिल समस्याको समाधान गरेन बरू कालान्तरमा यसलाई थप कमजोर बनायो।
किताबको अर्को अंशमा जकारियाले अठारौं शताब्दीको अमेरिकाको स्वाधीनताको आन्दोलनको चर्चा गरेका छन्।
जकारियाको विचारमा बेलायतीहरूले उपनिवेश बनाएको अमेरिकाको परिस्थिति युरोपको भन्दा फरक थियो। त्यहाँ सामन्त भूमिपति र उनीहरूका जमिनमा काम गर्ने श्रमिक वा दासका स्पष्ट र संगठित समूह थिएनन्। जमिन सबैका लागि प्रशस्त थियो। अमेरिकी क्रान्ति सुधार वा सबलीकरण भन्दा पनि राजनीतिक तथा आर्थिक स्वाधीनतामा केन्द्रित थियो। त्यहाँका राज्य वा क्षेत्रहरू केन्द्रीय राज्यको नियन्त्रणभन्दा बाहिर रहन चाहन्थे। त्यसैले, अमेरिकी क्रान्ति भनेर चिनिने स्वाधीनताको आन्दोलनले अमेरिकाको समाजमा विद्यमान असमानता र विभेद कम गर्न कुनै भूमिका खेलेन। बरू असमान र विभेदकारी संविधानलाई नै वैधानिकता दियो।
तर पनि औद्योगिकीकरण र आधुनिकीकरणमा अमेरिका सफल भयो। यसको श्रेय जकारिया बेलायतलाई दिन्छन्। बेलायतले विकास गरेको औद्योगिकीकरणको कौशल अमेरिकाले अनुकरण गर्यो। यसको परिणामस्वरूप उन्नाइसौं शताब्दीको अन्त्यतिर आइपुग्दा अमेरिका आर्थिक रूपमा समृद्ध भयो। यसको नेतृत्व देशका सीमित धनाढ्य पुँजीपतिले गरे। स्वाधीन अमेरिकाको राजनीतिको मूल चरित्र पुँजीपतिको स्वार्थ राज्यले कुन हदसम्म नियन्त्रण गर्नुपर्छ र कुन हदसम्म यसमा तटस्थ रहनुपर्छ भन्ने प्रश्नबाट निर्धारित भयो।
किताबको अर्को भागमा जकारिया समकालीन विश्वलाई प्रभाव पारिरहेका विभिन्न परिवर्तन वा क्रान्तिको चर्चा गर्छन्।
जकारियाको विचारमा यातायातका क्षेत्रमा विकसित प्रविधि र पूर्वाधारले आजको संसारलाई समग्र मानव सभ्यताको इतिहासभन्दा फरक र विशिष्ट बनाएका छन्। वर्षौं, महिनौं वा हप्तौं लाग्ने यात्रा केही घन्टामा पूरा गर्न सक्नु केबल सुविधा वा सहजता मात्र होइन, यसले मानिसको बाँच्ने तौरतरिकामा नै आमूल परिवर्तन गरिदिन्छ।
अमेरिकामा भएको रेल मार्ग विस्तारको उदाहरण दिँदै जकारिया भन्छन् — आज संसारमा स्थापित यातायात पूर्वाधारले संसारलाई एक विशिष्ट अवस्थामा पुर्याएका छन् जहाँ मानिसहरूको काम गर्ने, खाने वा अरूसँग जोडिने शैली विगतको भन्दा बिल्कुल पृथक भएको छ।
किताबको यही भागमा जकारिया इन्टरनेट प्रविधिले संसारमा ल्याएका परिवर्तनको रोचक उदाहरणसहित चर्चा गर्छन्। विकिपेडियाको लोकप्रियताले इन्साइक्लोपेडियालाई कसरी छोटो समयमा नै विस्थापित गर्यो भन्ने उदाहरणबाट सुरू गरेर उनले इन्टरनेटले संसारका विभिन्न भागमा बस्ने मानिसहरूलाई उपलब्ध गराएका अवसरको चर्चा गरेका छन्।
उनी भन्छन् — इन्टरनेटको पहुँच र सुविधाले गर्दा आज संसारका दुरदराजमा बस्ने, केही भन्न चाहने, आफ्नो क्षमता र सीप बाँड्न चाहने, अरूसँग जोडिन चाहने मानिसहरूका लागि अपूर्व अवसर उपलब्छ छ। यस्तो अवसर मानव सभ्यताको इतिहासमा यसअघि कहिल्यै थिएन।
समकालीन विश्व परिवेशको चर्चा गर्ने क्रममा जकारिया पहिचान र ऐतिहासिकताका बारे संसारमा बढिरहेको चासोको चर्चा गर्छन्।
जकारिया भन्छन् — भूमण्डलीकरण र आधुनिकताको रफ्तार तीव्र हुँदै जाँदा मानिसहरूले एउटा अनौठो खालको अभाव र छटपटी महसुस गरिरहेका छन्। उनीहरूका मनमा आधुनिक संसारले आफ्नो र अरूको जीवनमा पार्ने नकारात्मक प्रभावबारे चिन्ता बढिरहेको छ। धनी र गरिबबीचको असमानता, काला जातिले सहिरहेको विभेद, महिलामाथि हुने यौन हिंसाबारे चासो बढेको छ। यी मुद्दामा मानिस संगठित भइरहेका छन्। यस्ता चासो र चिन्ता अभिव्यक्त हुने क्रम युरोप र उत्तर अमेरिकाको समृद्धिले नयाँनयाँ उचाइ लिइरहेका बेला सन् १९६० र १९७० को दशकमा सुरू भयो। यस्ता चासो र चिन्ता र त्यस आधारमा भएका विभिन्न आन्दोलनहरूले विकसित देशहरूमा अर्थतन्त्रका मुद्दालाई नभएर संस्कृति र पहिचानका मुद्दालाई राजनीतिको केन्द्रमा स्थापित गराइदिए। यही कालखण्डमा अमेरिकामा काला जातिको अधिकार स्थापना गर्न नागरिक अधिकार, यौनिक अल्पसंख्यकको अधिकार, गर्भपतनको अधिकारको आन्दोलनजस्ता विभिन्न आन्दोलन सतहमा आए। र, तीमध्ये धेरैजसो आन्दोलन आफ्नो उद्देश्यमा सफल पनि भए ।
क्रान्ति वा परिवर्तनका मुद्दाहरू कसरी समयसँगै परिवर्तन भएका छन् भन्ने देखाउने क्रममा जकारिया सन् १९६३ मा प्रकाशित बेटी फ्रिदानले लेखेको पुस्तक 'द फेमिनिन मिस्टिक' को चर्चा गर्छन्। उनको किताबले धेरैले वास्ता नगरेको तर, समग्र अमेरिकी महिलाले दैनिक जीवनमा झेलिरहेका हिंसा, अवरोध र कठिनाइहरू सशक्त ढंगले उजागर गर्यो। लैंगिक असमानताबारे सचेतना नभएको त्यस बेला उक्त किताबले धेरैलाई अचम्मित मात्र बनाएन, यो समस्या सम्बोधन गर्न महिला अधिकारबारे चासो राख्ने मानिसहरू संगठित भए। महिला अधिकारका मुद्दाहरू संविधान र कानुनमार्फत् सम्बोधन गर्ने प्रयासको थालनी भयो।
अन्तमा जकारिया यो किताब लेखनको औचित्य समेट्दै समकालीन विश्वको दुई विशिष्ट अवस्थाको चर्चा गर्छन्।
उनले चर्चा गरेको पहिलो अवस्था हो — दोस्रो विश्वयुद्धपछि स्थापित अमेरिकी एकल नेतृत्वको विश्व सन्तुलनको अन्त र महाशक्ति राष्ट्रका रूपमा चीनको उदय।
दोस्रो अवस्था हो — अमेरिकाको प्रभावस्वरूप संसारभर स्थापना र विकास भएको स्वतन्त्रता र उदारवाद।
जकारियाको विचारमा महाशक्ति राष्ट्रका रूपमा चीनको उदय यथार्थ हो। अबको विश्व एकल ध्रुवीय छैन। अमेरिकाले जे चाह्यो, त्यो नै सम्भव हुने र अमेरिकी स्वार्थले मात्र प्रधानता पाउने दिन सकिए। संसारभर चीनको व्यापारिक, सामरिक र सांस्कृतिक चासोको बेवास्ता गरेर सुखै छैन। चीनले आफ्ना आदर्श र मूल्य-मान्यतालाई संसारले उचित सम्मान देओस् भनेर प्रशस्त प्रयास गर्नेछ र गरिरहेको छ।
जकारियाको विचारमा उत्तिकै गाढा यथार्थ यो पनि हो — अमेरिकाले विगतमा संसारभर स्थापना र संरक्षण गरेका उदारवाद र स्वतन्त्रता जरा हुन् जसको अन्त सम्भव छैन। उदारवाद, खुलापन, स्वतन्त्रता आज केवल अमेरिकाका मात्र प्रिय मूल्य-मान्यता होइनन्। संसारको ६० प्रतिशतभन्दा बढी भूभाग पारदर्शी, खुला, समावेशी र उदार राजनीतिक-सामाजिक संस्कार र चरित्रबाट निर्देशित छ। यसलाई उल्टाएर नियन्त्रित, केन्द्रीकृत वा अधिनायकवादी संस्कार वा संरचना स्थापना गर्न सजिलो छैन।
जकारियाको विचारमा आज हामी बाँचिरहेको संसारको द्विपक्षीय चुनौती यही हो।
विभिन्न रेभोलुसनको चर्चा गर्ने क्रममा जकारिया त्यस क्रममा रेभोलुसन उल्टाउन वा निस्तेज पार्न भएका प्रयासहरूको पनि चर्चा गर्छन्।
यस क्रममा उनले उदारवादविरूद्ध विश्वमा बढिरहेको 'पपुलिस्ट' राजनीतिको व्याख्या र विश्लेषण रोचक ढंगले गरेका छन्। भारतका नरेन्द्र मोदी, हंगेरीका भिक्टर अर्बान, टर्कीका तायेप एर्दोवाँ, ब्राजिलका जाएर बोसोनारू, पोल्यान्डका यारोस्वाफ काटिन्स्की र अमेरिकाका डोनाल्ड ट्रम्पले स्थापित गर्न चाहेका मूल भाष्य (जस्तै, विगत अहिलेको भन्दा सुन्दर थियो भन्ने भाष्य, संकीर्ण राष्ट्रवाद, शरणार्थीहरूप्रतिको द्वेष आदि) लाई जकारियाले राम्रोसँग चिरफार गरेका छन्।
जकारियाको मूल तर्क छ — समाज र मानिसको अनुभवलाई उन्नत बनाउने भनेको एकअर्काको अस्तित्वको स्वीकार्यता, विविधताको सम्मान, उदार तथा उदात्त सोच, पारदर्शी राजनीतिक संस्था तथा संरचनाले नै हो। यसको जग भने विकेन्द्रीकृत शासन शैली हो।
आफ्नो यो धारणा प्रस्ट पार्ने क्रममा जकारिया शक्तिसम्पन्न राष्ट्रका रूपमा अमेरिकाले विगतमा गरेका विभिन्न गल्तीको खुलेर आलोचना पनि गर्छन्। यद्यपि, उनको किताबमा अमेरिकी समाज र राजनीतिमा शताब्दीऔंदेखि स्थापित न्याय, उदारवाद र स्वतन्त्रताको चाहनाको मिहिन व्याख्या समेटिएको छ।
जकारियाको एज अफ रेभोलुसन्समा केही सीमितता र कमजोरी पनि देखिन्छन्।
किताबको मैले देखेको पहिलो कमजोरी फ्रान्सेली क्रान्तिको विश्लेषणमा छ। उद्योगधन्दाको विकास र अर्थतन्त्रको आधुनिकीकरणको अवस्थालाई हेरेर जकारियाले फ्रान्सेली क्रान्तिलाई 'असफल' भने पनि यो क्रान्तिले समग्र युरोपमा व्यापक राजनीतिक परिवर्तन र युरोपेलीहरूको चिन्तनमा परिवर्तन ल्याएको थियो। फ्रान्सेली क्रान्तिले युरोपलाई एउटा कठिन तथा विषद युगबाट बाहिर निकाल्यो। आजको युरोपको समृद्धिको रहस्य फ्रान्सेली क्रान्तिले संस्थागत गरेका राजनीतिक र सामाजिक परिवर्तनमा पाउन सकिने मत प्रशस्त इतिहासकार तथा विद्वानहरूको छ।
किताबको दोस्रो कमजोरी बेलायती तथा डच उपनिवेशको व्याख्यामा छ।
जकारिया भन्छन् — उपनिवेशमार्फत् नेदरल्यान्ड्स, बेलायत र अन्य युरोपेली मुलुकले व्यापार विस्तार गरेका हुन्। उनीहरूको समृद्धिको आधार भने उपनिवेश नभएर ती देशभित्रै भएका औद्योगिकीकरण थिए।
जकारियाको यस्तो धारणाले युरोपेली मुलुकहरूले उपनिवेशबाट अन्यायपूर्ण रूपमा प्रत्यक्ष र अप्रत्यक्ष बटुलेको सम्पत्ति बेवास्ता गरेको छ। उपनिवेश समृद्ध युरोपेली देशको सम्पन्नताको एउटा मात्र आधार नहोला, एउटा महत्त्वपूर्ण आधार भने अवश्य हो।
किताबको अर्को सीमितता (जसलाई माथि उल्लेख गरिसकेको छु) अमेरिकालाई केन्द्रविन्दुमा राखेर गरिएका व्याख्या-विश्लेषण हुन्। समग्र किताब पढ्दा अनुभव हुन्छ कि, यो एक अमेरिकीले अमेरिकाका बारेमा अन्य अमेरिकीहरूका लागि लेखेको पुस्तक हो।
किताब पढ्दा मलाई खट्केको यसको अर्को सीमितता के हो भने, यसमा प्रस्तुत व्याख्या र विश्लेषणमा एकप्रकारको सतहीपन छ। इतिहासका विभिन्न अवस्था र घटनाक्रम व्याख्या गर्ने क्रममा जकारिया तिनीहरूको जटिलता र अन्तर्सम्बन्धित पक्षको गहिराइमा पुग्न खोज्दैनन्, बरू हतार हतार आफूले चाहेको निष्कर्षमा पुगिहाल्छन्।
उपनिवेशको प्रभावको व्याख्या यसको एउटा उदाहरण हो।
फ्रान्सेली क्रान्तिको व्याख्या गर्ने क्रममा पनि जकारिया सतही देखिएका छन्। यो कमजोरीका कारण उनको पुस्तकले प्राज्ञिक तथा तथ्यपरक नभएर केही हदसम्म युभल नोहा हरारीझैं सतही र सार्वजनिक उपभोगमा केन्द्रीत मनगढन्ते शैली अपनाएको छ।
यी सबै कमजोरीका बाबजुद 'एज अफ रेभोलुसन्स' आजको विश्व परिवेश बुझ्न सघाउने एउटा उम्दा किताब हो। किताब पढ्न सुझाउने बसन्त बस्नेतलाई हार्दिक धन्यवाद!