कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूती समेटेर तयार गरेको अनुभूतिहरूको संग्रह 'युद्धभूमिमा डामिएको मन' लोकार्पण गरिएको छ।
महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको 'दैनिक डायरी' लाई ताराले पुस्तकको रूप दिएकी हुन्।
रोल्पाली दिदिबहिनीहरूसँगको बसाई र उनीहरूले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको लेखक तारादेवीले बताइन्। तत्कालीन सशस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा छन्। २०७१ सालमा जागिरको सिलसिलामा सुनुवार रोल्पामा कार्यरत थिइन्।
पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा एक कार्यक्रमबीच साहित्यकार नवराज लम्साल, प्रतिक ढकाल, कवि मोमिला जोशी, कथाकार अशोक थापा र लेखक तारादेवी सुनुवारले लोकार्पण गरे।
लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै 'छक्का प्रहार' गरेको तर्क गरे। तत्कालीन सशस्त्र युद्धको विषयवस्तु भएपनि बीचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाईमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए। जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए।
साहित्यकार प्रतिक ढकालले आफ्नै बल र क्षमताले स्थापित भएका तारा यो कृतिपछि धर्तीको तारा नभई आकाशको तारा भएको प्रतिकृया दिए।
कवि तथा निबन्धकार मोमिला जोशीले उत्कृष्ट कृति तयार भएको भन्दै देश बुझ्न प्रत्येक व्यक्तिले एकपटक पढ्नै पर्ने पुस्तक भएको बताइन्।
नेपाल सरकारका सहसचिव राजन पौडेलले तारामा 'जब्बर र घामट' चरित्र रहेको भन्दै चुपचाप जागिर खाएर मात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबैलाई यसको अनुभूति गराएको बताए।
सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष रहेका गृह मन्त्रालयका उपसचिव अमरदिप सुनुवारले सशस्त्र द्वन्द्वको सचित्र व्याख्या पुस्तकले गरेको बताए।
कथाकार अशोक थापाले ४० औं कथा बन्न सक्ने आख्यान अनुभूतिसंग्रहमा रहेको भन्दै आगामी दिनमा राम्रो आख्यानकार बन्न सक्ने बताए।
सुनुवार मूलतः कवि हुन्। उनी नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँछिन्। यसअघि उनका नेपाली भाषामा कवितासंग्रह 'परिस्थिति', 'अविरल' तथा गजलसंग्रह 'सम्झनाका फूलहरू' प्रकाशित छन्।
त्यस्तै, सुनुवार भाषामा 'थुँ थ्यानी संग्रह', 'देष् मपथु वोय', कवितासंग्रह 'सुया' र गजलसंग्रह 'झुल्पी फू' प्रकाशित छन्।