रोशन शेरचनद्वारा लिखित निबन्ध कृति 'गल्ली संसार' लाई २०८० सालको 'उत्तमशान्ति पुरस्कार' प्रदान गरिएको छ।
'उत्तम कुँवर स्मारक पुरस्कार गुठी' द्वारा स्थापित एक लाख रूपैयाँ र ताम्रपत्रसहितको यो पुरस्कार नेपाली साहित्यमा प्रकाशित गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ कृतिलाई हरेक वर्ष प्रदान गरिन्छ। यस वर्षको पुरस्कार साउन १८ गते शुक्रबार दिइएको हो।
२०४४ सालबाट दिन थालिएको यो पुरस्कार विगतमा लैनसिंह वाङ्देल, अम्बर गुरूङ, कृष्णचन्द्रसिंह प्रधान, जगदिश घिमिरे, मञ्जुल, परशु प्रधान, नारायण ढकाल, भूपिन, शारदा शर्मा, इल्या भट्टराई, दुर्गा घिमिरे, झमक घिमिरे, प्रदीप नेपाल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रविन्द्र समीर, देवेन्द्र भट्टराई, कर्ण शाक्य, देवीचन्द्र श्रेष्ठ, निर्मोही व्यास, भीष्म उप्रेती लगायतका श्रष्टालाई दिइएको थियो।
गुठीका सभापति डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको सभापतित्व र वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रष्टा रोशन शेरचन र उनको कृति 'गल्ली संसार' बारे लेखक भूपिनले मन्तव्य दिएका थिए।
उनले यो कृतिको भाषा, शिल्प, प्रस्तुति लगायत विविध पक्षबारे चर्चा गरे।