केही नेपाली प्राज्ञहरूले बेलायती सेनामा सेवा गरेका नेपालीका सम्बन्धमा विवेचना गरेका छन्। एक सैनिक अधिकारीले ती विवेचनाको पनि विवेचना गरेर एउटा किताब लेखेका छन्। पाठकलाई गैरसैनिक प्राज्ञ र अनुभवी सैनिक प्राज्ञ दुवैको विवेचना तुलनात्मक अध्ययन गर्ने अवसर प्राप्त भएको छ।
प्रेम आले सैनिक प्राज्ञ हुन्। उनले ३१ वर्ष बेलायती सेनामा सेवा गरे। त्यही अनुभवका आधारमा 'गोर्खाली वीरता र शासकीय चाकरी' नामको किताब लेखेका छन्, ३९० पृष्ठको।
पढ्न सुरू गर्नुअघि किताबको नामले नै कवि भूपि शेरचनको 'हामी' शीर्षकको कविता सम्झना भयो। किताब पढेपछि पनि 'हामी' कै झल्को पाएँ।
...प्रत्येक पिँढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरू-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं।...
आलेले गोर्खाली तलबमान र पेन्सनमा रहेको विभेदको विषय लामो समयसम्म महसुस नगरिएको रूपमा मानेका छन्।
उनी लेख्छन् – ब्रुनाई, सिंगापुर र हङकङ (अर्थात् सुदूरपूर्व) मा रहुन्जेल ब्रिटिस गोर्खालीहरूलाई विभेदको ज्ञान खुलेन।
बितेका पुस्तासम्म माथिल्लो भनिएका जातलाई आफूले छोएको खान दिए आफैलाई पाप लाग्छ, अर्को जन्ममा पनि तल्लो भनिएका जातमा जन्मनुपर्छ भन्ने धारणा थियो। त्यस्तो धारणा एउटा अज्ञानता थियो। त्यही अज्ञानताका कारण दलित समुदायले विभेद स्वीकार गर्यो। छुवाछुतको अपमान भोग्यो। ठीक त्यस्तै, ब्रिटिस सेनामा रहेका नेपालीहरू गोरा जातिकाहरूलाई अरूभन्दा बढी अधिकारको हकदार ठान्छन्। लेखकले यही मनोभाव र अज्ञानताको विश्लेषण गरेका छन्।
लेखकका अनुसार बेलायतीहरूले नेपाली समाजलाई ब्रिटिस सेनामा भर्ती हुन 'लायक जाति' र 'नालायक जाति' भनेर विभाजन गरिदिएका छन्।
ब्रिटिस गोर्खा सेनाको २०७ वर्षमा पछिल्लो समय जातीय विभेदमा केही लचकता आएको उनको निष्कर्ष छ। यसमा उनले केही सन्तोष पनि मानेका छन्।
'मलायाका लाहुरे' भनेर चिनिने ब्रिटिस गोर्खा सेनाका विषयमा थुप्रै तथ्य चर्चामा छन्। अन्यायका चरम उत्कर्षहरू छताछुल्ल छन्। लेखक आले छुटेका थुप्रै तथ्य जोरजाम गर्न सफल भएका छन्।
'विश्वयुद्धले बनाएको समलिंगी गोर्खाली' शीर्षकमा उनले विगतका विवेचनामा छुटेको तथ्य उजागर गरेका छन्। हुन त पुस्तक बढी मात्रामा घटनाको रिपोर्टिङमा आधारित छ तर उनले त्यही आधारमा तथ्य केलाएर विवेचना गरेका छन्। विगतमा प्राज्ञ जगतबाट गुमनाम रहेका केही तथ्यहरू फेला पारेका छन्।
एक ठाउँमा उनी लेख्छन्– ...ब्रिटिस फौजमा समलिंगी सम्बन्धलाई १२ जनवारी २००० यता मान्यता दिइएको छ। त्यसअघि यस्तो सम्बन्धलाई ब्रिटिस फौजमा अवैध तथा अनैतिक मानिन्थ्यो...।
'गोर्खालीको समलिंगी कथाव्यथा' उपशीर्षकमा तथ्यहरू थोरै भए पनि किताबको निकै महत्त्वपूर्ण अंश बनेको छ।
तिहारको देउसी-भैलोमा देखिने मारूनी नाचको सामाजिक र सांस्कृतिक पृष्ठभूमि समाजशास्त्रीका लागि महत्त्वपूर्ण छ। लेखकको दृष्टिकोण पनि ब्रिटिस गोर्खामा हुने समलैंगिताको विश्लेषणमा 'झुलोचक्मा' बन्न सक्छ।
उनी लेख्छन् – हङकङमा समलिंगीहरूको छुट्टै नाइटक्लब नै थियो। त्यसताका बेलायतमा बर्सेनि २०० देखि २५० जना समलिंगीहरूलाई फौजबाट निकालिन्थ्यो। गोर्खालीहरूलाई भने समलिंगी भएकै कारण फौजबाट निकालिएको इतिहास छैन तर गैरनेपाली बिहे गरेकालाई भने नोकरीबाट निकालिन्थ्यो।
लेखकले नेपाली युवाहरू समलिंगी यौन शोषणमा परेर पीडित भएको तथ्य उजागर गर्न साहस गरेका छन्।
बेलायती धार्मिक र सांस्कृतिक धरातलमा हेरिने समलिंगी सम्बन्ध र हिन्दु समाजका प्रचलित मान्यताको तुलनात्मक विवेचना गर्न भने लेखक चुकेका छन्। रामायणमा राम वनवास जाँदा समाजमा समलिंगी अस्तित्व स्वीकार गरिएको र मारूनी नाच अद्यापि चल्तीमा रहेको पृष्ठभूमिमा वर्तमान समाजले थप विवेचना मागेको छ।
लेखकले राष्ट्रप्रेम र नुनको सोझो गर्ने आदर्शमा विश्लेषण गरेका छन्।
भारत स्वतन्त्रता सेनालाई गोर्खाली अधिकृतहरूले साथ नदिएको घटनालाई उनले सकारात्मक मानेका छन्। सुवासचन्द्र बोसको पक्षमा नलाग्ने सुबेदार मेजर हरिसिंह बोहराको र सुबेदार मेजर कालुसिंह क्षेत्रीको कदम लेखकले उचित मानेको देखिन्छ।
लेखकले प्राज्ञिक बन्ने कसरत पनि गरेका छन् तर सामाजिक धरातल सन्तुलित राख्नमा भने चुकेका जस्ता देखिन्छन्।
सैन्य पृष्ठभूमिमा विकसित उनको अवधारणाले नेपाली समाजको नैतिक धरातल पश्चिमा हैकमको मापदण्डमा तौलिन खोजेको देखिन्छ।
ब्रिटिस शासकले भारत छाड्दा रोपेको धार्मिक विभाजनमा लेखक मौन छन् तर गोर्खाली सेनाको योगदानले हिन्दु-मुस्लिम टकराव घटाउन मद्दत गरेको उनको निष्कर्ष छ। यस विषयमा उनको विचारमा विरोधाभास देखा पर्छ।
यो वैचारिक धरातलको नैतिक पक्ष जी. ई. एम. एन्स्कोम्ब (गर्ट्रूड एलिजाबेथ मार्गरेट एन्स्कोम्ब) को नजरबाट पनि हेर्न सकिन्छ। एन्स्कोम्ब जापानमा एटम-बम हानेर विश्व युद्धमा झन् धेरै हिंसा हुनबाट रोकेको भन्ने तर्क अनैतिक मान्छिन्। लिटिल-ब्वाइ र फ्याट-म्यानले गरेको लाखौं जापानी नागरिकको हत्याको घटना जायज ठहर्याउने तर्कका विरूद्ध उनी जुझारू देखिन्छिन्।
एन्स्कोम्बले जापानमा एटम-बम प्रहार गर्न आदेश दिने अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई अक्सफोर्डमा दिइएको पुरस्कारलाई नैतिकताको कसीमा जाँच्ने काम गरेकी थिइन्। आलेले आफ्ना रोजगारदातालाई नैतिकताको कसीमा जाँच्न सकेका छैनन् बरू उनीहरूको नकारात्मक भूमिकाको सैन्य दृष्टिले जानाजान प्रशंसा गरेका छन्।
लेखकले सन् १९४७ को त्रिपक्षीय सन्धिका आधारमा अहिले पनि नेपालीहरू बेलायती सेनामा रहेको विषयमा गम्भीर प्रश्न उठाएका छन्।
नेपालको तर्फबाट प्रधानमन्त्री तथा भारत र बेलायतका तर्फबाट प्रधानमन्त्रीभन्दा तल्लो तहका सैनिक अधिकारीको हस्ताक्षर भएको तथ्यमा लेखकले प्राथमिकताका साथ विश्लेषण गरेका छन्। एक सार्वभौम मुलुकले गरेको सन्धिमा समानान्तर तहका अधिकारीको हस्ताक्षर हुनुपर्छ। बेलायतीहरूले सस्तो पारिश्रमिकमा लडाकु भर्ना गर्न नेपाली युवा रोजेका हुन् भन्ने लेखकको निष्कर्ष छ।
अबको १५ वर्षदेखि २० वर्षसम्ममा बेलायती सेनामा नेपाली युवाको भर्ती बन्द हुनुपर्ने तर्क लेखकको छ।
नेपाली युवा विदेशी सेनामा भर्ती हुनु नेपालको असंलग्न परराष्ट्रनीतिको प्रतिकूल हो। एक छिमेकी विरूद्ध अर्को छिमकीका पक्षबाट लड्नुपर्ने, एक मित्रराष्ट्रका विरूद्ध अर्को मित्रराष्ट्रका तर्फबाट लड्नुपर्ने गोर्खा सैनिकको बाध्यता अन्य हुनु जरूरी रहेको उनको तर्क छ।
उनी लेख्छन् – अघिल्लो शताब्दीका मिथक र भ्रम चिर्दै, राम्रा कुरालाई आत्मसात गर्दै र नराम्रा कुरालाई त्याग्दै आधुनिक फौजको अवधारणामा अहिलेका कमान्डरहरू लागिपरेका छन्।
बेलायत र भारतमा गोर्खाली परिवारमा जन्मी-हुर्की उतै पढेका युवाहरूलाई अहिले गोर्खाली, बेलायती या भारतीय फौजमा भर्ती हुन बाटो खुला छ।
यसो भए पनि नेपाली युवा विदेशी सेनाको अधिकृत तहमा पुग्न पाउँदैनन्। यस अवस्थाले अनेक प्रश्न उब्जाउँछ।
बेलायती सत्ताले सन् १९४८ देखि नै 'एलगेन्स थ्योरी' अर्थात् 'निरन्तर आस्थाको सिद्धान्त' अन्तर्गतको नागरिकता अवधारणामा केही फेरबदल गरेको छ। बेलायती नागरिकलाई दुई देशको नागरिक हुने अधिकार थिएन। नयाँ कानुन बनेपछि बेलायती नागरिकले स्वेच्छाले मात्र बेलायती नागरिकता छाड्न पाउने भए। यसको अर्थ सत्ताले नागरिकता खोस्न नपाउने भयो।
साथै नेपालको संविधान (२०७२) कार्यान्वयनपछि गैरआवासीय नागरिकताको प्रावधान अवलम्बन गर्नुले पनि नीतिगत बदलाव देखाउँछ।
नागरिकताका सन्दर्भमा समय सापेक्ष सैद्धान्तिक रूपमा स्पष्ट पार्ने दायित्व लेखक आलेको काँधमा पनि आएको छ तर यसमा उनले प्रयास गरेको भेटिँदैन। पुस्तकमा नागरिकता सम्बन्धी केही तथ्य त छन् तर उनले प्रविधि, भूमण्डलीकरण र डायस्पोरा समाजको परिप्रेक्ष्यमा त्रिपक्षीय सन्धिले अवलम्बन गरेको नागरिकता अवधारणाको विवेचना गरेका छैनन्।
नेपाली नागरिक भर्ना गर्ने र नेपाली भएरै सेवानिवृत्त हुनुपर्ने अव्यावहारिक अवस्थाका विषयमा पनि लेखकले खास तथ्य उजागर गरेको देखिँदैन।
एकातर्फ सैनिक अफिसर हुन विदेशी नागरिकता ग्रहण गर्नपर्ने बाध्यता र अर्कोतर्फ विदेशको नागरिकता लिँदा नेपालको नागरिकता बदर हुने प्रावधानका विषयमा पनि लेखकले प्राज्ञिक बहस चलाउनसकेका छैनन्।
उनले नेपाली नागरिक विदेशी सेनामा भर्ती हुने चलनलाई नकारात्मक मानेका छन्।
उनले लेखेका छन् – बेलायतको साम्राज्यवादी सोचबाट नेपाललाई मुक्त गर्न र नेपाली आफ्नै सुषुप्त हीनताबोधको मनोग्रन्थीबाट मुक्त हुन पनि अब गोर्खा भर्ती बन्द हुनुको विकल्प छैन।
लेखक आलेले बेलायतीले मलायाको लाहुरे हुन 'लायक' र 'नालायक' भनेर नेपाली समाज विभाजन गरिदिएको तथ्य केलाए।
डा. भीमराव अम्बेडकरले त दक्षिणपूर्व एसियाली समाज बेलायती शासनभन्दा पहिला नै जातका आधारमा विभाजित थियो भन्ने वर्णन गरेका थिए। नेपाली समाज सदियौंदेखि जातीय प्रथाको जगमा विकसित भएको हो। गोर्खा सेनाको विषयमा तथ्य र विवेचना पस्किने युवराज संग्रौला, गोपाल सिवाकोटी जस्ता ब्राह्मणको प्राज्ञ मस्तिष्कले गोर्खा सैनिकको वीरताका गाथालाई सकारात्मक लय दिन सक्दैनन्। उनीहरू त रोमाञ्चककारी मात्र मानिदिन्छन्।
गोर्खा सैनिक उत्पीडनको खाडलबाट निस्किन सेनाभित्रका र बाहिरका दुबै थरी प्राज्ञको शास्त्रार्थ अपरिहार्य छ।
ब्राह्मण परिवारकी हजुरआमाले सुत्केरी स्याहार्दा 'पढ-पढ नानी पण्डित हौली...' भन्ने भाकामा शिशुलाई तेल लगाउँछिन्। यही लयमा हुर्काउँछिन्।
सैनिक सेवालाई आदर्श मान्ने समुदायका हजुरआमाले तेल लगाइदिँदा लाहुरे बन्न दह्रो शरीर बनोस् भन्ने आशीर्वाद दिन थाल्छिन्। लेखक आले पनि दोस्रो प्रकारको आशीर्वादबाट हुर्किँदै कुशाग्र बुद्धि र प्रतिभाले सैनिक भए। लामो अनुभवसहित प्राज्ञ भए।
आलेको पुस्तकमा ब्राह्मण चेतनाभन्दा केही फरक दृष्टिकोण र विश्लेषण भेटिन्छ। उनको चेतना ठिक वा बेठिक भन्ने त पाठकको दृष्टिमा पनि भर पर्छ। पुस्तकले नेपाली युवा विदेदी सेनामा भर्ती हुने चलन र यससम्बन्धी सम्झौताका विषयमा भने बहस सिर्जना गर्ने नै छ।
खासगरी आलेको पुस्तकलाई तथ्यहरूको संग्रहका रूपमा पनि लिन सकिन्छ। विवेचना थोरै छ तर अर्थपूर्ण छ। वीरताको गाथा पुस्तक मोटो बनाउनमा मात्र सीमित छ।
वीरताको गाथा नयाँ होइन। यसको साटो बेलायती गोर्खामा भर्ती हुँदादेखि तालिम, लडाइँ, बढुवा र तक्माको खुसी, सेवाको अनुभव लगायत विविधि आयामहरू समेट्न सकेको भए पठन अझ बढी रोचक हुने थियो।
स्टाफ कलेजमा सैनिक अधिकृतहरूलाई प्राज्ञिक ज्ञान दिएको अनुभवले अझ रोच खुराक दिन सक्थ्यो।
यस्ता केही कमजोरीबीच पनि आलेको कलमको बहाव कतै रोकिएको छैन।