मान्छेका सबै कर्मको भौतिक कारण र नतिजा मात्र खोजियो भने मान्छेलाई मान्छेका रूपमा बुझ्न जे पढ्नुपर्छ, त्यो पढ्न बाँकी रहेछ भन्ने बुझ्दा हुन्छ।
किनभने, भौतिक कारण र परिणामहरूको लेखाजोखा मात्र त कुर्सी र टेबलको होला, कलम र मसीको होला, जमिन र ढुंगाको होला। चेतना नभएकाहरूको लागि त्यो जायज होला। तर, मान्छेमा चेतना छ, र त मान्छे छ!
मान्छे जति भौतिक छ, त्यति अभौतिक पनि छ। मान्छे पेट मात्र होइन, सपना पनि हो। मान्छे अस्तित्व मात्र होइन, स्वाभिमान पनि हो। मान्छे बोली मात्र होइन, मौन पनि हो। समग्रमा — पञ्चभूतभन्दा अलग्गै अहम, जबाफ, कुण्ठा, बदला, प्रेम जस्ता धेरै अभौतिक छ्याकनले भरिएको छ मान्छे।
अझ नितान्त व्यक्तिगत तहमा त मान्छे यति धेरै अभौतिक हुन्छ कि, कहिले शरीर थाके पनि मन चंगा बन्छ। कहिले आयुभन्दा उमेर थाक्छ।
सबै थोक ठीक हुँदाहुँदै पनि, जीवन एक रूपले मज्जासँग चलिरहँदा पनि, वा चल्न सक्ने हुँदा पनि मान्छे बरालिएर अन्तै अन्तै पुग्छ।
त्यसरी बरालिनुको कारण के हो? त्यसरी बरालिनुको गन्तव्य के हो? — असाध्यै कम मान्छेले मात्र बुझ्छन्।
जब बुझ्छन्, त्यो मान्छे औसतबाट उकालिन्छ र तिनको कथा बन्छ।
अनि जब त्यो बरालिने मान्छे कुनै घरको मूलमान्छे हुन्छ, तब त्यो 'सिमसारा' बन्छ।
बसन्त बस्नेतको नयाँ उपन्यास सिमसारा त्यस्तै सबै ठीक देखिँदादेखिँदै बरालिएकाहरूको कथा हो, जसले आफू बरालिनुको अर्थ बुझेका छन्। फरक यति हो, कोही वाचाल छन्, कोही मौन। कोही नम्र छन्, कोही उग्र। कसैको बुझाइ प्रकट छ, कसैको बुझाइ कुण्ठित छ। कोही बहाना पाएर बरालिएका छन्, कोही बरालिएर बहाना बनाएका छन्।
भन्न सकिन्छ, सिमसारा जसोतसो अथबा जिन्दगी बाँचिरहेका मानिसहरूको कथा होइन, रासोबासो धानिरहेको मूलखाँबोमा आभास लागेपछि शुभेफापे खोजिबस्दा समय, समाज र चरित्रसँग फौदारी गरिरहेकाहरूको कथा हो।
उपन्यासमा भूगोल, पात्र र कथानक
उपन्यासमा एक छोराको नजरबाट बाबुआमाको र परिवारको तथा आफन्तहरूबीचको सम्बन्धको कथा भनिएको छ। कथामा छोरा सतहमा देखिए पनि उसमा आउने कुनै पनि परिवर्तनको कारण ऊ स्वयं कम जिम्मेवार छ। उसले केवल आफूप्रति भएका क्रियाको प्रतिक्रिया मात्रै दिइरहेको हुन्छ। त्यसैले ऊ उपन्यासमा धेरै देखिए पनि मुख्य पात्र होइन, बरू अन्तर्यमा मुख्य चरित्रका रूपमा मन्दाक्रान्ता उपस्थित हुन्छिन्।
यसले उपन्यास सकिँदा आफूले एउटा पात्रको नजरबाट सन्दर्भ र घटनाहरू हेरिरहेको थिएँ भन्ने कदापि लाग्दैन। लेखन शिल्पको यो तरिका, जहाँ कुनै व्यक्तिबाट तेस्रो व्यक्तिहरूको कथा भन्ने गरिन्छ, बसन्तको यो शैलीमा पकड मिठो छ।
पुस्तकमा प्रवेश गर्ने बित्तिकै तपाईंले थाहा पाइहाल्नु हुन्छ कि इलाम बजारबाट गए पनि, बेलासेबाट गए पनि, दमक मधुमल्लाबाट गए पनि, मौवा आङ्नाबाट गए पनि, तमोर खोलाबाट कुम्मायक कुस्सायक हुँदै गए पनि खाम्बाङ पुगिन्छ। त्यहाँबाट आधा घण्टा पर्तिर सरासरी गएर उँधोतिर हेर्दा देखिने खावा काटेर नागीको नागबेली बाटो झरेपछि पुगिने चिहानघारीको छेउमा टिलिक्क जस्ताको छाना टल्किएको दुईतले ठूलो नयाँ घर एक्लै टिक्रिक्क देखिन्छ। सिमसारा उपन्यासको मूलकथा त्यही नयाँ घरको हो।
त्यो घरमा बस्छन् - धनरूप क्षेत्री, धनरूपकी श्रीमती मन्दाक्रान्ता र उनीहरूको एक्लो छोरो, संवत् क्षेत्री।
धनरूप क्षेत्री लेखपढ गरेका मान्छे हुन्। हुलाकीका रूपमा सरकारी नोकरी गर्छन्। त्यति खुलेर बोल्दैनन्। मन्दाक्रान्ता खुलेर बोल्छिन्। तर लेखपढ गरेकी छैनन्। सानो छोरो स्कुल जाँदैछ। बालसुलभ गतिविधिमा मग्न छ।
दम्पतीले रहरले बनाएको घरको रहर बाँकी रहदै श्रीमान सरूवा हुन्छन्, सिमसारामा। घरमा श्रीमती र छोरा रहन्छन्। सुरूमा हप्ता दिनमा कोसेली लिएर फर्केका धनरूप क्षेत्री बिस्तारै घर फर्किने मिति ठेल्दै ढिला गर्न थाल्छन्। दुई हप्तामा एकपल्ट, महिनामा एकपल्ट हुँदै दुई महिनामा एक पल्ट र, त्यो पनि झिँजो मान्दै घर फर्किनेमा पुग्छन्।
आफ्नी श्रीमतीसँगको सम्बन्धको कामुकता र निकटता गुमाउँदै जान्छन्। र, त्यो खालीपन भर्न आउँछ दम्पतीबीच कलह, बेमेल र दुरीले। कलहको कारणलाई मन्दाक्रान्ताको 'फोकटिया कुराको शंका' भनेर टारिरहेका धनरूप साँच्चै नै परस्त्रीसँगको सामिप्यतामा पुग्छन्। र, एक समयपछि उनको पत्र मात्रै घर आउँछ, धनरूप आउँदैनन्। बरू थाहा लाग्छ, उनी आफूभन्दा निकै कम उमेरकी युवतीलाई बिहे गरेर बसेका छन्।
त्यसपछि मन्दाक्रान्ताको लडाइँ सुरू हुन्छ:
- आफैसँग।
- घरसँग।
- ग्रहदशासँग।
- भूतप्रेतसँग।
- चिहानघारीसँग।
- पतिको सम्झनासँग।
- माइतीसँग।
- आफन्तसँग।
- विद्रोही जनसत्तासँग।
- देशको कानुनसँग।
कति लडाइँ मन्दाक्रान्ताले जसोतसो आफ्नै पतिलाई साथ राखेर लड्छिन्, कति आफ्ना छोराको साथ पाएर लड्छिन्। कैयन लडाइ उनी धामी, जोगी र पण्डितको अन्धविश्वासलाई हतियार बनाएर लड्छिन्। तर उनी आफ्नो लडाइमा यति दृढ छिन् कि कोही भएर वा नभएर उनको जुझारूपन घट्दैन। उनी जुधिरहन्छिन्।
बाबुआमाको मनमुटाव र कलहसँग वाक्क भएको संवतको साथी बन्छन्, पढाइ र ती केटीको सम्मोहन। ती केटी जो संवतकै बाबुसँग सिमसाराबाट केही दिनका लागि घर आएकी हुन्छे। उसले ती केटीलाई मन पराउँछ। जीवनसंगीकारू पमा सजाउन थाल्छ। कल्पनामा सजाएकी तिनै केटीसँग काल्पनिक संवाद गरेर संवत्ले बालापन काट्छ, किशोरवस्था काट्छ। बाबुआमाको सम्बन्ध, निकटता र दुरीलाई उही केटीसँगको कल्पनामा रहेर अर्थ्याउँछ।
जब संवतले थाहा पाउँछ, सिमसारामा उसका बुबाले आफूभन्दा निकै वर्ष सानी युवतीलाई बिहे गरिसकेका छन्। ऊ कारणवश सिमसारा पुगेपछि उसले सानैदेखि मनमा सजाएकी केटीको वास्तविकता थाहा पाउँछ। आमाले सधैं एउटा अलग्गै लामो लडाइँ लडिरहनुको अर्थ थाहा पाउँछ। मावलीका लुकेका कथाहरू थाहा पाउँछ।
र, त्यसपछि कथानकमा परिवर्तनले पात्रहरूको कथामा स्थान पक्का मात्र गर्दैन, सिमसारा उपन्यासलाई एउटा विशेष पुस्तक बनाएको छ।
उपन्यासको अन्त्य जसरी भएको छ, त्यसले पाठकलाई वियोग र संयोगको अवधारणामाथि नै सोच्न बाध्य बनाउँछ।
अन्त्य वियोग हो कि संयोग? विद्रोह हो कि सम्झौता? जीत हो कि पराजय? स्वीकृति हो कि अस्वीकृति? दिमागमा धेरै प्रश्नहरू अनायासै चढ्छन्।
योसँगै उपन्यासले विभिन्न तहमा अनेकौं विषय उक्काएको छ। पतिपत्नी बीचको सम्बन्धका विभिन्न स्वरूपहरूसँगै परिवारमा एक पुरूषको अनुपस्थितिले पार्ने फरक पनि दह्रोसँग प्रस्तुत गरेको छ। मन्दाक्रान्ताको माइतीमा विद्रोह होस् वा दसैंमा ढिलो गरी माइती आएका फुपूहरूसँगको प्रश्न होस्, त्यसले समानताका लागि भोग्नुपर्ने पारिवारिक र सामाजिक संघर्ष प्रस्ट देखाउँछ।
एउटै मुद्दा माओवादी जनअदालत र जिल्ला अदालतमा पर्दा हुने फरक र त्यसमा अडिएको वर्गीय चिन्तनले सो समयको राजनीतिक घटनाक्रम मार्फत पनि उपन्यासले जिम्मेवारीपूर्वक पस्केको छ। यसले पनि उपन्यासलाई थप पठनीय बनाएको छ।
लेखकका रूपमा बसन्त बस्नेत
बेला बेला जब बालकका मुखबाट एकदमै वयस्कका लवजहरू आउँछन्, तब उपन्यासमा संवतभन्दा बढी लेखक बसन्त बस्नेत देखिन्छन्। पाठकले बुझिसक्दा पनि बुझाइरहने केही वाक्यहरूको उपन्यासमा आवश्यकता देखिँदैन तर पनि थपिएको देख्दा लेखकलाई सो कुरा आफूलाई मात्र थाहा भएकाले अरूलाई बुझाउनुपर्ने जिम्मा पनि लिन परेको जस्तो लाग्छ।
पत्रकारितालाई मूलकर्म बनाएका बसन्त बस्नेतको यो तेस्रो कृति हो। '७२ को विस्मय' र 'महाभारा' पछि उनले सिमसारा लिएर आएका छन्। आख्यानका रूपमा सिमसारा बस्नेतको दोस्रो कृति हो। दोस्रो कृतिमा आइपुग्दा बस्नेतले आफ्नो भूमिलाई बलियो बनाएकोमा शंका रहँदैन। आफ्नो लेखाइ र भावप्रवाहको मौलिकता उनले जतनसँगै उनन्यन पनि गरिरहेका छन् भन्ने उपन्यासभरि देखिन्छ।
नेपालको पूर्वीपहाडको आञ्चलिकताकामा आधारित भएर धेरै लेखकहरूको कथासंग्रह, कवितासंग्रह र उपन्यासहरू नै पनि प्रकाशित भएका छन्। तर त्यो भूमि, त्यहाँका कथा, त्यहाँको संस्कृति र परिवर्तनको साहित्यमा लेखक बस्नेतले सिमसारा उपन्यासमार्फत कसैले उखेल्न र नजरअन्दाज गर्नै नसक्ने गरी झण्डा गाडेका छन्।
उपन्यासबाट केही उद्दरणहरू:
- उहाँ (आमा) को नाम मन्दाक्रान्ता हो। बस्तीका मान्छेहरू उहाँलाई धनरूपे गुरूमा भनी बोलाउँछन्। यस्तो नाम के नाम! आमाले बिहादान हुँदा थर-गोत्र फेरेको हो, नाम होइन।
- अग्लो बोटबाट पैयुँका दानाहरू धरतीमा टप्किनुअघि हावामा ससानो असर छाड्दै झर्छन्। त्यसको आवाज कसले सुन्छ?
- लेक अल्छी मानिस हो, जसले ढिलो गरी पात्रो पल्टाउँछ।
- म मर्नुभन्दा पहिल्यै पटक पटक मरिनजाऊँ।
- जो पायो तेईसँग बह पोख्दा मन हलुंगो हुँदैन, आफू चै हलुंगो भइन्छ।
- माया नभएका बेला पनि समझदारी होस्। समझदारी नभएका बेला पनि एकअर्काप्रतिको सम्मान होस्। अनि पो जीवन फल्छ, फूल्छ।
- आँट, झ्वाँक र हिम्मतले मात्र जीवन चल्दैन। जीवनमा सन्तुलन निकै ठूलो कुरा हो।
- भत्किसकेपछि पनि जे बाँकी रहन्छ, त्यो जीवन नै हो। त्यसको देखभाल गर्नुपर्छ। कस्सैगरी गर्नुपर्छ।