शिल्पीका आँखा परे भने पानीको पनि रङ देखिँदो रहेछ। यो कुरा मैले भर्खरै बुझेकी हुँ। भावना र भूगोलमा देशको नक्सा बोकिन्छ भन्ने भनाइ सुन्दा कुनै अन्तर्वार्तामा अलि सोचमा परेकी थिएँ। यस्तो गहन विचारका चिन्तकको होलान् भनेको डा. ऋषि बस्ताकोटी रहेछन्।
अध्ययनका हिसाबले वातावरणका विद्यार्थी हुन्। पेसाका हिसाबले वातावरण विज्ञका रूपमा कार्यरत छन्। प्रवासमा बसेर आफ्नो दैनिक जीवन यापनको मेलोमेसो गरी बचेको समय नेपाली भाषा साहित्यको श्रीवृद्धिमा इँटा थप्ने काममा करिब तीन दशकदेखि निरन्तर लागिरहेका छन्। यो कुरा 'ज्वालाको रापहरू’' गजल सङ्ग्रह, गीति एल्बमहरू, ‘विसङ्गत बस्ती’ मुक्तक सङ्ग्रह जस्ता कृतिले पुष्टि गर्दछन्। थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मानबाट सम्मानित ऋषि बस्ताकोटीले केही समय अगाडि 'पानीको रङ' गद्य कविता कृति पाठकको हात सुम्पेका छन्।
उनको यो कृति बाहिर आएपछि लिएर पढ्ने लालसा निकै जाग्यो मनमा। फलस्वरूप कृति हात परेपछि एकै बसाइमा सरसर्ती पढेँ। किताबको बाहिरी रङ, आकार हेर्दा निकै फुच्चे लाग्यो, पानीको रङ त हो निलो निलो। अरू के नै होला र भनेर त्यति धेरै गम्भीर नि भइनँ। तै पनि ठण्डा दिमागले पढ्न थालेँ। पहिलो पाठ नै पहिरो रहेछ। कविता दुई पटक पढेँ। यस कवितामा उनले उठान गरेको विषयले निकै मन छोयो। मलाई फेरि पानीको रङभित्र पनि 'रङ' खोज्नु थियो। पहिलो शीर्षकमा नै सामाजिक विकृति विसङ्गति प्रतिको व्यङ्ग्य चेतको रङ पाएँ। पहिरो जहाँ पनि जान्छ भन्ने भनाइभित्र नै यथार्थको सफेद रङ पाएँ। हो पहिरो जहाँ पनि जान्छ प्रकृतिमा जान्छ, सम्बन्धमा जान्छ, विचारमा जान्छ, विवेकमा जान्छ शव्दार्थमा मात्र पहिरोका रूप अलग हुन्छन्। तर सहन गर्न गाह्रो हुनु पहिरोको प्रभाव हुने कुरा कविले यसमा छर्लङ्ग पारेका रहेछन्। पहिरो जाने कारण हुन्छ, परिणाम हुन्छ, प्रकृति हुन्छ तर यसबाट बच्नुपर्छ भन्ने कविको आह्वान बुझेपछि मेरो मनमा पनि विचारको वयली सुरू भयो।
मनले यो कुरा स्वीकार गर्यो अनि लागेँ फेरि 'एक्ले वर' तिरको हालत कस्तो रहेछ भन्ने बुझ्नतर्फ।
यो कविता पढ्दा मलाई झलझली मेरो गाउँको याद आयो। फेरि कविवर पनि गाउँ सहर हुँदै देश विदेश गरेका मान्छे। उनले त मेरो गाउँको एक्ले वरको वर्तमानको हालत कवितामा हुबहु उतारेका रहेछन्। वर्तमान समयमा अनियन्त्रित बसाइँसराइ भनौँ या छोराछोरी विदेशिने अभियानले गर्दा एक्ले वरको हालतमा आमा बाबाले सपाङ् भए पनि अपाङ्ग भएर बाँच्नु परेको कथा कविले यसमा समेटेका रहेछन्। हाम्रा प्राकृतिक धरोहर भनौँ या सांस्कृतिक धरोहर आधुनिक विकासको नाममा भत्काएर मासेर रूप नै बदलेको दृश्यले कविको मन निकै पोलेको रहेछ। तर कता पाउनु पहिलेको संयुक्त परिवार, भारी बिसाउने चौतारो, कुल वंशका बस्ती छरिने उपक्रमसँगै भौतिक विकासको नाममा भएका सांस्कृतिक सम्पदाको विनाशले गर्दा कवि चिन्तित देखिन्छन्। त्यसको कारण पनि कविलाई थाहा छ। देश काल र परिस्थिति भन्ने र त शब्दमा मनका पीडा पोख्छन्।
उनले बादलका बुट्टाभित्र पनि प्रतिकात्मक रूपमा देशको नाजुक कलुषित रङ घोलिएको अवस्थाप्रति दु:खी हुँदै तिखो व्यङ्ग्य चेत प्रस्तुत गरेका रहेछन्। उहिले हजुरआमाले सुनाउने कथाभित्र नबुझ्दा बुट्टा लाग्थ्यो उनलाई बुझेपछि महाभारको घनघोर युद्ध जस्तो लाग्छ र स्वर्गवासी हजुरआमालाई सोध्छन्-
हजुरआमा!
बादलका बुट्टाहरू घरि जुट्छन्
घरि फुट्छन्
यो रामायण हो
या महाभारत या दन्त्य कथा।
यस्ता प्रश्नले पोलिरहन्छ कविलाई र पनि उनको मसी सरिरहन्छ ।
उनी चेपे खोलाको जीवन्त इतिहासभित्र सिर्जनाको एउटा नफर्कने जवानी बगेको देख्छन्। आमाको न्यानो काख छोडेर प्रवासी भूमिमा रगत र पसिना बगाउनेको लर्को चेपे बगेझैँ बगेको देख्दा कविलाई असह्य हुन्छ।
हामी बलराहरू शीर्षकको कवितामा कविले वर्तमान समयमा ठूला माछाका पछि दौडिने भुराको हालत बडो रोचक ढङ्गले प्रस्तुत गरेका छन्। कोसोभो र कार्गिलको उपमा दिँदै इसाराको भरमा चलेको विचारको होडबाजीले मानवताको अस्तित्व नै धराप हुन पुगेको अवस्थाप्रति कवि चिन्तित छन्। हामी हाम्रो इतिहास भुलेर अरूको भूमिमा बलरामको गतिमा हुनुले पनि कविको मन पोलेको छ। सायद झन्डै दुई दशकभन्दा पहिलेको प्रसङ्ग होला। हो अहिले पनि हामी नेपालीको नियति उही छ। रसिया र युक्रेनको युद्धमा समेत नयाँनयाँ बलरामहरू जन्मिरहेको परिदृश्यले यो क्रम कहिले सम्म त? भन्ने गम्भीर सवाल मनमा आउँछ। अन्तर मनको पीडा कवि शब्दमा पोख्छन्।
कयौँ फूलमायाहरूका कारूणिक कथाभित्र कुण्ठित रहरका बग्रेल्ती बिस्कुन देखेर कविले हुनेखाने र हुँदा खाने परिवारका बच्चाको वर्तमान हालत, सहर र गाउँले जीवनको भिन्नता यथार्थ रूपमा चित्रण गरेका छन् फूलमायाको गाउँमा कविताभित्र। आत्मापरक शैलीमा लेखिएको यो कवितामा भोग, रोग र शोकले ग्रस्त गाउँ अनि सहरियाहरूको बनावटी र नक्कली व्यवहार देखेर कवि गाउँको न्यानो आत्मिक व्यवहारको स्मरण गराउँछन्।
उदाउँदो जूनले आफ्नै आकाशमा खुलस्त भएर आभा छर्न नपाउँदाको देश, काल र समयप्रति कविको खुलस्त दृष्टिकोण रहेको छ। अँध्यारोलाई चिरेर उज्यालो बस्ती बसाल्दै आशाका त्यान्द्राहरूलाई आत्मीयता र स्नेहको शीतल अनुभूति गराउन बेदाग आफ्नो अस्तित्व बचाउन जून लडेको कथा कविवरले कवितामा समेटेका छन्।
कर्फ्यु लागेको साँझमा कविता हामीले भोगेको निरंकुश र त्रासद समयको सजिव चित्र हो। कवि आफ्नै मनको वनमा डरले डेरा जमाएर निरासाको खाडलमा खसेर तर्कना गर्छन्। के फेरि हिजोको त्यो शान्त उज्यालो फर्केला त चराहरूले निश्चिन्त गीत गाउन पाऊलान् त भन्ने विचार पोख्दै मनमा एक्कासि मैलो त्रासको बाढीले बगेको धमिलो रङ शब्दमा पोख्छन्।
म अझै तपाईं जस्तै छु कवितामार्फत् भुइँमान्छेहरूको मुद्दा बोकेर उठेका तर समयक्रम अनुसार मुद्दालाई बिर्सेर आफूमात्र अभिजात्य वर्गमा रूपान्तरित भएका र अझै पनि भुइँमान्छेकै नक्कली गीत गाएर अभिनय गर्ने नेता गणप्रति गतिलो व्यंग्यवाण हानेका छन्। उनले यो कवितामार्फत् जनताका सपना बेचिखानेहरूको सक्कली अनुहारको रङ देखाइदिएका छन्।
सहिदको सम्झनामा कवितामा मरेर शालिक हुने र बाँचेर मालिक हुनेका बीचमा आफूलाई उभ्याउँदै शहिदका ती अधुरा सपनाको स्मरण गर्छन्। कवि पोख्छन् शब्द र विचार, सत्तासीन मालिकले ती सपना बुझ्लान् भन्दै प्रश्न गर्छन्। कवि सहिदका सपनाका पक्षमा उभिएका छन्।
यसपालि वसन्तमा कविले वसन्तको बहारभित्रका चुनौती बडो रोचक ढङ्गले व्यक्त गर्दै प्रकृतिमाथि मानवले गरेको शोषणले वसन्तलाई वसन्त जस्तो विशेषता बोकेर बाँच्न नदिने कुरा प्रकट गर्दै पुराना विचारका सन्त महन्तको नक्कलीपन माथि तिखो व्यङ्ग्य गरेका छन्।
किर्नाहरू कवितामा अहिले हरेक क्षेत्रमा किर्नाले दिने पीडामाथि बोल्छन्। परजीवि किर्नाको काम कहिल्यै नअघाउने र रगत चुसेर हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको कथा पोख्छन्। म्यादी माइला कवितामा कविले कुनै समयको देश काल र परिस्थितिलाई दुरूस्त उतारेर त्यसले कुन प्रतिफल देला त भन्दै म्यादी माइलाहरूका भविष्यमाथि चिन्ता व्यक्त गर्छन्।
गतिशीलता, साँढेहरू, मेरा बा, मेरो छोरो, तिम्रो मायामा, तिम्रो जन्म दिनमा, समय रेखामा हामी, आमा घर हो, मूल्यको उचाइ, पर्खाल भित्ता र हामी, जिन्दगीमा,मृगतिष्णा, भर्याङ, एक शब्दचित्र, यसपालीको युद्धमामा, सूर्यबहादुर तामाङ, तिमी गएपछि, नामकम कुरा नगर भाइ, आप्रवासी रामप्रसाद, पानीको रङ, शिल्पीले छोएपछि,मूर्ति, खोलासँग, बाका जुत्ता र गाउँको बाटो यी शीर्षकमा टेकेर कविवरले हर तरहले आफ्ना भित्री आँखाले देखेसम्म आफ्ना भोगाइ र अनुभवलाई रोचक ढङ्गले विविध रङ् व्यक्त गर्दै सबै कवितामा नकारात्मक पक्षको चिरफार गर्दै सकारात्मक सन्देश प्रवाह गरेका छन्। सबै कवितामा पानीको सच्चा रङ जस्तै आजको नक्कली दुनियाँका मन, वचन, कर्म र व्यवहारमा सच्चा रङ खोजेका छन्। यो उनको महानता हो।
यसरी कविवरले 'पानीको रङ' कविता कृतिमा विविध शीर्षकमा आफ्नो अन्तर मनमा उर्लिएका विचारलाई नविन तथा मौलिक शैलीमा अभिव्यक्त गरेका छन्। चुनिएका चालीस कविता समेटिएको यो संग्रह आकारमा सानो भए पनि भाव, शैली र विचारका हिसाबले ओजनदार छ।
यस्तो लाग्छ- पानीको रङ कविता लेख्नकै लागि लेखिएका कविता मात्र होइन, हामी बाँचेको समयले भोगेका गम्भीर सवाल माथि सरल बिम्बको प्रयोग गरी गरिएको सालीन विद्रोह पनि हो। यो एक पठनीय कृति बनेको छ।म एक साहित्य अनुरागी हुनाको नाताले सतही बुझेका कुरा पठकीय प्रतिकृया स्वरूप यहाँ लेखेँ। तपाई विद्वान पाठक एवम् साहित्यकारका हातमा यो कृति पर्यो भने यस कृतिको रचनात्मक चिरफार सघन रूपमा हुनेछ भन्ने विश्वास लिँदै म कविवरलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। आगामी साहित्यिक उज्ज्वल भविष्यको कामना पनि गर्दछु।