परापूर्वकालदेखिको परम्परागत चलनले प्रायः निरन्तरता पाउने गर्दछ।
यसैक्रममा उमेरले विस्तारै नेटो काट्न थालेपछि मान्छेहरू केही सामल बोकी धार्मिक उद्देश्यसहित तिर्थ यात्राका लागि नेपालका ठूला धाम र भारतका काशी, गया, चारधाम लगायतका स्थानहरूमा जाने गर्छन्। छुट्टै हावा छुट्टै दृश्यले जो कोहीको शरीरमा स्फूर्ति आउँछ नै। जब घरको कामले लखतरान हुन्छ मान्छे, तब ऊ घर बाहिर निस्कन मन गर्दछ, जुन स्वाभाविकै हो। पूर्वीय ग्रन्थ उपनिषद्मा पनि चरैवेती, चरैवेती हिँड्दै गर केही गर भनिएको छ। कुनै पनि नयाँ ठाउँको अवलोकन गर्नु भनेको त्यस ठाउँको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक पक्षको जानकारी पाउनु हो।
यात्रा यस्तो खुला पुस्तक हो जसले हर क्षेत्रको जानकारी गराउँदछ। यात्रा गरिसकेपछि पहिला पहिला अग्रजहरूले नगएकाहरूलाई चौतारीमा बसेर वा मकै छोडाउँदा त्यस ठाउँको बारेमा सुनाउथ्ये। मानौं यो श्रुति परम्परा हो। त्यतिखेर लेख्ने परिपाटी पनि थिएन। तर अहिले समय बदलिएको छ, दुर्गम ठाउँदेखि देश विदेशसम्मको यात्रामा निस्किएका छन् नयाँ पुस्ता। नियात्राकारको अनुभूतिबाट भौतिक, प्राकृतिक तथा सांस्कृतिक लगायत अन्य धेरै कुराहरू सजिलै अध्ययन गर्न सकिन्छ। भ्रमणका दृश्य अदृश्य विषयलाई अक्षरमा उतार्ने क्षमता नियात्राकारसँग हुन्छ। घरमै बसी त्यस्ता नियात्रा मार्फत आफू नगएको परिवेशसँग परिचित हुन सकिन्छ।
हो, त्यस्तै डोल्पाको सौन्दर्यसँग रञ्जु दाहालले पनि हामी पाठक वर्गलाई परिचित गराएकी छन्। जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। इच्छा राखेपछि कुनै पनि कठिनताले रोक्न सक्दैन भन्ने गतिलो उदाहरण बनेको छ उनको नियात्रा। आकाङ्क्षालाई ध्यानमा राखेर उनी यात्रामा निस्किन्छिन्। २०७८ को शरदीय याम बेमौसमी झरी अझ थामिएको थिएन। रिमझिम वर्षालाई स्वीकार्दै दशैं लगत्तै उनको यात्रा तय हुन्छ। चार साहसी यात्रुहरू रञ्जु, भवानी, सरस्वती र प्रभा काठमाडौंबाट डोल्पाको लागि हिँड्छन्। ठाउँ ठाउँमा रमाइलो दृश्यलाई आँखामा र क्यामरामा कैद गर्दे रोल्पा पुग्छन्। समाजको आँखाले अझै पनि राम्रो ठान्दैन महिलाहरू मात्र हिँड्दा, तर पनि हरेक चुनौतीलाई कुल्चिँदै अघि बढ्छन् यी दिदीबहिनीहरू।
रञ्जुका श्रीमानले बजिरहेको मोबाइल नउठाउँदा उनका मनमा अनेकौं तरङ्ग आएजस्तै तरङ्ग छाइरह्यो मेरो मस्तिष्कमा पनि। पुस्तकको अध्ययन पश्चात् पनि मेरो मनको आँगनमा झुल्किएन घाम। किन रञ्जुका श्रीमान् रिसाउनु भएको होला? बेमौसमी वर्षाले यात्रामा केही अवरोध पुर्याउला कि भन्ने पीरले—उहाँ केही रिसाएजस्तो गर्नु भएको होला। अर्कोतिर एक सक्षम व्यक्तिलाई किन त्यसरी बाधा खडा गर्नुभयो? एक्काइसौँ शताब्दीमा आएर पनि नारीहरू किन वञ्चित छन्? किन स्वतन्त्रत हुन सक्दैनन्? शहर बजारमा, पढे लेखेका घरमा त यस्तो अवस्था छ भने दूरदराजमा महिलाहरूको अवस्था कस्तो होला? निश्चय सोचनीय अवस्था हुनुपर्छ।
हामी भौगोलिक वातावरण हेर्न बुझ्न डोल्पा जान्छौं- रमाउन तथा मनोरञ्जनका लागि त्यता जान्छौँ। परन्तु सुदूर बस्तीका मानिसहरूलाई रमाउने घुम्ने कुनै मौका छैन। उनीहरू विदेश जानुपर्छ आर्थिक कठिनाइ समाधान गर्न। यही सिलसिलामा कतारबाट फर्केका भाइले ‘अतिथि देवो भव’को अभिप्रायलाई चरितार्थ गर्दै कहिल्यै नदेखेका दिदीहरूलाई प्रस्ताव राख्छन्, आफ्नो घर जान। नेपालीहरू गर्भबाटै संस्कारी हुन्छन्। संस्कार नै हाम्रो सम्पत्ति हो। पुस्तक पढ्ने क्रममा रुकुमको प्रसंग आउँदा—जनयुद्ध हुँदाको समय झझल्को आउँछ र मन अतालिन्छ। पुस्तकमा रुकुमेली नारीका कथा बेथाहरू प्रशस्त आएका छन्। सङ्घर्ष गरेकै छन् नारीहरूले हर स्तरबाट। सुनिता विलियमले अन्तरिक्षमा समेत संघर्ग गरेकै छिन्।
धनले गरिब भए पनि मनले गरिब छैनौँ हामी नेपालीहरू। पद्म बा र उनकी बुहारी अस्मिता जस्ता उदार र सहृदयी व्यक्तिहरू भेटिन्छन् यात्राका क्रममा।
‘विदेशी छोरीहरू यस बाटो खुपै हिँड्छान्। हाम्रो देशका छोरी भातभान्सामोई हराउँछान्। ती बिचारीहरूले रमाइलो सांसार देख्न पाउँदैनान् मोलाई हाम्रा छोरीहरूको मोया लागेर आउँथ्यो। लु जा ता! आबो ता हाम्रा छोरीहरूले नि हिँड्ना थाल्यो! तमीहरूलाई देख्याएर कम्ता खुशी लाग्योको छा रा!’ (पृ.८९)। हो नि पद्म बा नेपाली छोरीहरूलाई यसरी हिँडेको देखेर अत्यन्तै खुशी भएका छन् भने अर्कोतर्फ उनले भने जस्तै अधिकांश महिलाहरू अल्मलिएका छन् भातभान्सामै। रहर त कसलाई लाग्दैन र यात्रा गर्न तर पनि अनेकौं बाध्यताले महिलालाई पछारेको छ र त कमजोर हुनु परेको छ। मानिसले जीवन दर्शन बुझ्न विश्वविद्यालय गइरहनु पर्दैन भन्ने गतिलो उदाहरण हुन् पद्म बा।
एक शिक्षित व्यक्तिसँग मात्र ज्ञान हुन्छ भन्ने होइन, निरक्षर तथा सामान्य व्यक्तिसँग पनि राम्रो ज्ञान हुन्छ। भाषाको सन्दर्भमा रञ्जुले स्थानीय लवजलाई दुरुस्त उतारेकी छन्। प्रत्येक मानिसलाई आफ्नो मातृ भाषा प्यारो लाग्छ। दुर्गम छ, अनेक कठिनाइहरू छन्, तर मानवता हराएको छैन गाउँ बस्तीमा, बरू शहरमा भन्न सकिन्न। वसुधैव कुटुम्बकम्को भाव आज पनि उतिकै जीवित रहेको छ गाउँको परिवेशमा। चार छोरीहरू आउँदा खुशी हुन्छन् पद्म बा, तर बुहारीको लागि बोल्दा उनी कड्किन्छन्। आखिर अर्ती भन्ने कुरा आफ्नो लागि उपयुक्त हुँदैन, केवल अरूको लागि मात्र। अँध्यारो हुन्छ बत्तीमुनि जहिले पनि। पद्म बा जस्तो फराकिलो सोच भएका व्यक्तिले पनि—छ वर्षदेखि शहरमा गुमनाम भएको छोरो आउँछ भन्ने आशामा—निराश जीवन जिउन बाध्य भएकी बुहारीको प्रसङ्गमा—उल्टै कड्किनुले महिला सधैँ अरूको भरोसामा रहनु परेको बाध्यात्मक अवस्था झल्काउँछ। शहरका युवती हुँदा हुन् के गर्थे...? जुन वर्तमान समयको लागि सान्दर्भिक देखिँदैन। आफ्नै भूगोलमा हिँडेका नेपालीहरूलाई त डाँडाकाँडाको बाटो हिँड्दा असजिलो हुन्छ भने सत्तरी वर्ष अघि टोनी हेगेनलाई कति सास्ती भयो होला डोल्पा पुग्न, सोच्दैछु म अहिले। आखिर पहिलो नेपाली इतिहास लेख्ने विदेशी नै हुन्।
ठाउँठाउँमा भकिम्लो, ओखर लगायत हाम्रा अमूल्य जडीबुटीहरूको महत्व नबुझी त्यसै खेर गइरहेको कुरा रञ्जुले गरेकी छन्। उचित पारिश्रमिक दिई स्थानीय तहले विदेश जाने युवालाई रोकेर त्यतातिर लगाउँदा नै उत्तम हुने थियो। कस्तुरी रनवन चर्हाछ आफ्नै नाभीको सुगन्ध खोज्न..., आजका युवा झैँ। डोल्पा जाने क्रममा नियात्राकारहरू प्रकृतिसँग रमाउँदै, सौन्दर्यलाई पिउँदै, उन्मुक्त हाँसो हाँस्दै अनेक कठिनाइहरू पार गर्दै निश्चित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रञ्जु डोल्पाकै आलिङ्गनमा आफूलाई समाहित गर्छन्। उनले शे-फोक्सुण्डोको नजिक पुगेपछि आश्चर्यमा परेर अद्भुत सौन्दर्यको बयान यसरी गरेकी छन्, ‘यस्तो ढुङ्ग्यान, खाली नाङ्गा डाँडाहरूको बीचमा यत्रो अनि यस्तो जलराशी। कसरी कुन सूत्रले बनायो होला यो विचित्र यो पवित्र’ (पृ.१२३)। थाकेकी छैनन् रञ्जु, डोल्पाको प्राकृतिक सौन्दर्यको गीत गाएर। नाचेकी छिन् फनफनती तालको छेवैमा। मज्जासँग हिउँको सिरक ओढेर सुतेका छन् डोल्पाका डाँडाहरू। यी सबैलाई देखेर छुट्टै भूस्वर्गमा गएको अनुभूति गर्छिन् रञ्जु।
‘जति हेरे पनि आँखा नथाक्ने, जति गहिरिए पनि गन्तव्य नभेटिने, जति हेरे पनि धीत नमर्ने, जति पिए पनि धीत नमर्ने, जति लिए पनि अँगालो नभरिने शेफोक्सुण्डोको जादुमयी रूपले लट्ठयाइरह्यो मलाई’ (पृ.१३७)। सुदामाले कृष्णको दरबारको बयान गरे जस्तै उनले अद्भुत फोक्सुण्डो तालको सौन्दर्य बयान गरेकी छन्। विषाक्त भएर वगेकी छिन्, देशको राजधानी आराध्यदेव बसेको ठाउँमा बागमती तर त्यो डोल्पाको पानी कति निश्छल र कञ्चन, त्यो पानी काठमाडौंमा भइदिएको भए ? सोच्दै छु म।
पुस्तकमा डोल्पाको भौतिक तथा सामाजिक परिवेशको पनि बयान छ। एक्काइसौँ शताब्दी भनेर के गर्नु, त्यहाँका पढेलेखेका मानिसहरूमा समेत अझै पनि धामीझाँक्रीमा विश्वास, बहुपति प्रथा अझै पनि कायम हुनु, अझ अचम्मको चलन त परपुरुषबाट आफ्नी श्रीमती गर्भवती भइन् भने सबै खर्चको जिम्मेवारी परपुरुषले लिनुपर्ने कस्तो अचम्मको परिपाटी! यी सबै कुराहरू पुस्तकमा समाहित छन्। नेपाली हामी सबै एउटै भए तापनि ठाउँ ठाउँको भाषा, रीतिरिवाज, संस्कार फरक छन् तर पनि हामी भित्रको मानवता एउटै छ यो नै हाम्रो नेपालीपन हो। आन्तरिक र बाह्य पर्यटकहरू भित्रिएमा स्थानीय जनताहरूलाई आर्थिक रूपमा टेवा पुग्ने थियो। यसरी आर्थिक सहयोग भएमा युवाहरू किन भासिन पथ्र्यो र विदेशतिर? यो एउटा नारा नै लगाऊँ २०८२ पर्यटक बढाऔं।
रञ्जुले जीवन्त बनाएकी छन् आफ्ना अनुभूतिलाई । अनेक ठाउँको यात्रा गराउँछिन् रञ्जुले डोहोडोहो डोल्पो पुस्तक पढ्दै गर्दा पाठकलाई पनि। हामी महिलाहरू घरमा देवीको रूपमा पुजिएर वा सजिएर बस्ने होइन, आफ्नो लक्ष्य पूरा गर्नुपर्छ। अनि मात्र सुनिता विलियम जस्तै अन्तरिक्षमा नौ महिनासम्म बस्न सक्ने आँट र हिम्मत गर्न सकिन्छ। रञ्जुका श्रीमान्ले डोल्पा जान नदिए पनि उनले आफ्नो तीव्र इच्छा पूरा गरिछाडिन्।
त्यसैले भारतीय राष्ट्रकवि रामधारी सिंहले भनेका छन् – मानव जब जोर लगाता है, पत्थर पानी बन जाता है
अर्थात्, मानवले जोड लगाएमा पत्थर पनि पानी हुन्छ भने झैं दृढ अठोट र आत्मबल भएमा मान्छे सजिलै हिमाल चढ्न सक्छ भन्ने गतिलो उदाहरण हो यो।
सहज र सरल प्रवाहमा बगेको छ रञ्जुको लेखनशैली। पाठकवर्गलाई पुस्तकले तानिरहन्छ नसिद्धिउन्जेलसम्म। यो नै उनको लेखनको विशिष्ट पक्ष हो। त्यसपछि बजेन मोबाइल शीर्षकको आलेख पछाडि राखेको भए हुने थियो ।
त्यसले पाठकको मनमा नमज्जाको अनुभूति गराउँछ— जसरी सूर्यलाई बादलले ढाक्छ र जगत् धमिलो हुन्छ। कष्टदायक यात्रामा माथिबाट आएको पहिरोले झण्डै ज्यानै लगेन भनेको सुन्दा मनै सिरिङ्ङ हुन्छ। काविल छिन् रञ्जु पाठकलाई घुमाउन। सधैँ अगाडि बढोस् उनको पाइलासँगै कलमको गति। फेरि ऊर्जाशिल नियात्रा लिएर नेपाली साहित्यमा झुल्किऊन् रञ्जु। यही नै शुभकामना