उनले अभिनय क्षेत्रमा काम गरेको साढे दुई दशक हुनै लाग्यो। म्युजिक भिडिओ, टेलिशृंखला र फिल्ममा लामो समय काम गरिसके पनि चाहेको भूमिका खेल्न जुरेको छैन।
उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी हुन्, पारलैंगिक महिला उमिशा पाण्डे।
उमिशाले 'गोर्खा पल्टन, डायरी, कोठीकाण्ड, दसगजा, राजकुमार, सुनगाभा' लगायत फिल्ममा अभिनय गरिसकेकी छन्। अभिनय यात्रा भने टेलिशृंखला 'काली' बाट सुरू भएको थियो।
चाहेको भूमिका नपाउनु त छँदैछ, कलामार्फत आफ्नो समुदायको कथा पनि नआएको उनी बताउँछिन्।
'केही फिल्ममा मेरो समुदायको कथा भनिए पनि आनन्दले चित्त बुझाउने ठाउँ छैन,' उमिशाले भनिन्, 'जसको कथा हो उसैलाई भन्न दिनुपर्छ। भोगेकाले जसरी भन्न सक्छ त्यसरी अर्कोले सक्दैन।'
कसैले अभिनय गरेकोमा उनको आपत्ति होइन, पात्रलाई न्याय हुनुपर्छ भन्ने जिकिर हो।
'मैले कसैको इर्ष्या गरेको होइन। अहिले देखिएका कलाकारले हाम्रो कथा भन्न सकेका छैनन्। उनीहरूले भनेको कथा हाम्रो होइन,' उनी भन्छिन्, 'एक जना पुरूषले सारी लगाउँदैमा पारलैंगिक महिला बन्दैन। हामीले पहिचानका लागि जीवनभर गरेको लडाइँ फिल्ममा आएको छैन।'
उमिशाका अनुसार उनले करिब साढे दुई दशकको अभिनय यात्रामा कहिल्यै पनि गर्न मन लागेको पात्रको भूमिका पाइनन्। सार्वजनिक ठाउँमा उभिने, दलाल बन्ने र थप्पडी बजाउने जस्तो सहयोगी र हास्यपात्रका रूपमा मात्र प्रस्तुत गरियो। समाजले पारलैंगिक महिला (ट्रान्सवुमन) लाई जसरी देख्न चाहेको छ, फिल्म निर्माण पक्षले त्यस्तै भूमिकामा मात्र उभ्याएको उनको गुनासो छ।
यतिका वर्षसम्म फिल्म बनाउनेहरूले उनलाई कलाकारका रूपमा भन्दा बढी हास्यपात्रका रूपमा चिनाउने प्रयास गरेको उनी बताउँछिन्।
'म महिला पात्रका रूपमा देखिन र त्यस्तै भूमिका गर्न चाहन्छु। तर त्यस्तो अवसर कहिल्यै पाइनँ। ट्रान्सवुमनप्रति समाजको जे धारणा छ, मलाई त्यसमै प्रस्तुत गर्न चाहन्छन्,' उनले भनिन्, 'निर्देशकले क्षमता पहिचान गरेर अवसर दिनुपर्छ, तब पो कलाकारले आफ्नो क्षमता देखाउन पाउँछन्।'
जन्मिँदाको लैंगिक पहिचानमा उनी पुरूष थिइन्। घरपरिवार र समाजले उनलाई पुरूष नै मान्यो। उनले भने आफ्नो वास्तविक पहिचान महिला भएको यकिन गरिन्।
उमिशाले आफू अरू केटा साथीहरूभन्दा केही फरक छु भन्ने कुरा प्राथमिक कक्षामै थाहा पाएकी थिइन्। दस वर्षको उमेरमा साथीहरूसँग खेल्ने क्रममा उनलाई आफू केटीमान्छे जस्तो लाग्यो। तर किन आफ्नो स्वभाव केटीको जस्तो छ, भन्ने पत्तो पाइनन्।
सानैदेखि केटीका लुगा लगाउन र शृंगार गर्न मन पराउँथिन्। सारी लगाएर नाच्थिन्। उमेर सानै भएकाले आमाबुबाले वास्ता गरेनन्, बालसुलभ स्वभाव माने। उमिशाको मनमा म केटा भएर किन केटीजस्तो छु प्रश्न उठिरहन्थ्यो। तर म केटा नै हुनुपर्ने भन्ने भाव आइसकेको थिएन।
दस कक्षासम्म पढेकी उमिशालाई त्यसपछि पनि पढ्ने चाहना थियो। तर अघि बढ्न सकिनन्।
मुख्य समस्या कक्षामा हुन्थ्यो। कक्षामा केटा र केटी अलगअलग लहरमा बस्नुपर्थ्यो। उमिशालाई केटाहरूसँग बस्न मन लाग्दैन थियो। केटीको लहरमा बस्न पाउँदिन थिइन्। उनको मन केटीहरूसँगै बस्न, हिँड्न र खेल्न चाहन्थ्यो।
कहिलेकाहीँ उनी मनको आवाज सुन्दै केटीको लहरमा बस्न जान्थिन्। शिक्षकले गाली गर्दै केटाहरू भएतिरै लगेर राखिदिन्थे। कुनै शिक्षकले त केटीसँग बसेको भनेर सजाय पनि दिन्थे। कक्षाका केही केटाहरूले उनलाई उपहासको पात्र पनि बनाउँथे।
शिक्षकले नै उनको भावना बुझ्न सकेनन् वा चाहेनन् भने सहपाठी विद्यार्थीहरू बुझ्नुपर्थ्यो भनेर के अपेक्षा गर्नु, उमिशालाई दिक्क लाग्थ्यो।
'केटाहरूले त अनेक भनेर गिज्याउँथे, नपुंसक भन्थे। शिक्षकले त बुझ्न चाहनेन् भने केटाहरूले के बुझ्थे,' ती दिन सम्झिँदै उनले भनिन्।
जसोतसो उनले दस कक्षासम्मको पढाइ पूरा गरिन्। त्यसपछि कक्षामा केटाहरूसँग बसेर पढ्ने हिम्मत जुटाउन सकिनन्।
पढाइ अगाडि बढाउन नसकेकोमा उनलाई आज पनि विस्मात छ।
'अहिले सम्झिँदा जस्तोसुकै परिस्थितिमा पनि पढ्नुपर्ने रहेछ जस्तो लाग्छ। पढाइ नभएपछि धेरै अवसरहरू हातबाट फुत्किए,' उनले भनिन्।
आमाबुबाले भने उनलाई कहिल्यै निराश बनाएनन्, उनीहरू पनि निराश भएनन्। उनको लैंगिकतामा आएको फरकपन आत्मसात गरे। उनले पढाइ छाडिन्, धेरैको उपहासको पात्र भइन् तर आमाबुबाले नराम्रो मानेनन्। उनको चाहनामा असहमति जनाएनन्।
'आमाबुबाले तँ छोरो होस्, छोरा नै बन्नुपर्छ भनेको भए म यसरी खुला भएर हिँड्न सक्ने थिइनँ होला। मलाई मेरा आमाबुबाप्रति गौरव छ,' उनले भनिन्।
पढाइ छोडेपछि उमिशा नृत्य सिक्न थालिन्। नृत्यलाई नै पेसा बनाउने विचार गरिन्। आमाबुबा पनि उनको विचारमा सहमत भए।
आफ्नो लक्ष्य पछ्याउँदै उनी व्यावसायिक नृत्यंगना बनिन्। होटल र रेस्टुरेन्टका साथै पटके कार्यक्रमहरूमा पनि आफ्नो कला देखाइन्।
'मलाई सानैदेखि नाच्न मन लाथ्यो। मैले यसमै आफ्नो भविष्य छ भन्ने ठानेँ,' उनले नृत्यबाटै आफ्नो खर्च चल्ने गरी आम्दानी पनि गर्न थालिन्।
कहिलेकाहीँ फुर्सद निकालेर घुम्न निस्किँदा उनी आफूजस्तै साथीहरू भेट्थिन्। यस्तो भेटले उनको मनमा खुसी भरिन्थ्यो। आफ्नो समुदायका साथीहरूसँग संगत बढ्दै भएपछि उनको आत्मविश्वास बलियो भयो। म एक्लै होइन, मजस्ता धेरै छन्, मेरा साथी धेरै छन् भनेर मन ढुक्क हुन थाल्यो।
त्यो समय उनी सार्वजनिक बसमा आवतजावत गर्थिन्। त्यस्तो यात्रा उनका लागि सहज थिएन। सार्वजनिक स्थलमा हिँडडुल गर्न समेत सजिलो थिएन।
'कहिलेकाहीँ राति पनि हिँड्नुपर्दा यौन सम्बन्ध राख्न प्रस्ताव गर्ने र पछ्याएर हैरान पार्ने पुरूषहरू भेटिन्थे,' उनी भन्छिन्, 'अहिले त सार्वजनिक ठाउँमा ढुक्कले हिँड्न सकिन्छ। मानिसका आआफ्ना बुझाइ हुन्छन्, धारणा आआफ्नो हुन्छ। तर कसैले कसैलाई उपहास र अपमान गर्नु हुँदैन। सबैको आआफ्नो अस्तित्व र सम्मान हुन्छ।'
उमिशाको नृत्यसँगै मेकअप (शृंगारशिल्प) मा पनि रूचि थियो। उनले मेकअपको काम सिकिन्। नृत्य गर्ने क्रममा फिल्मी कलाकारहरूसँग चिनजान हुन थालेको थियो। यस्तो चिनजानबाट उनले म्युजिक भिडिओ, टेलिशृंखला र फिल्ममा कलाकारहरूको मेकअप गर्ने अवसर पाइन्।
काम राम्रै भए पनि उनको बोली, शारीरिक अवस्था र हाउभाउबारे अनेक टिप्पणीहरू सुन्थिन्। यस्तो अवस्था उनका लागि निराशाजनक हुन्थ्यो।
उनले सात वर्षअघि एउटा म्युजिक भिडिओको सुटिङ सकिएपछिको घटना सम्झिन्।
'निर्देशकले मलाई यौनकर्मका लागि जाने मान्छे ठानेँ। ट्रान्सवुमनलाई यौनकर्मी नै ठान्ने प्रवृत्ति छ। यसरी सबैलाई एउटै डालामा राखेर धारणा बनाउनु गलत हो,' उनले भनिन्।
कलाकारहरूको मेकअपकै सिलसिलामा उमिशालाई अभिनयमा चाख लाग्यो। उनले फिल्मी कलाकार बन्ने विचार गरिन्। निर्देशकहरूसँग कुरा गरिन्। निर्देशकहरू सकारात्मक भए तर पारलैंगिक महिलालाई समाजले जुन भ्रमको दृष्टिले हेर्छ, त्यस्तै भूमिका मात्रै पाइन्।
उनले केही टेलिशृंखला र फिल्ममा समाजको त्यही धारणाअनुसारकै सानोतिनो भूमिका निर्वाह गरिन्। यो सिलसिला अहिले पनि जारी रहेको उनी बताउँछिन्। सम्मानजनक भूमिकामा अवसर पाउने अपेक्षा भने छ।
नृत्य, मेकअप र अभिनयसम्म पुग्दा उनले निकै हन्डर खाइसकेकी छन्।
२६ वर्षको उमेरसम्म आफ्नो यौनिक पहिचानमा खुलेर हिँड्न सक्दिन थिइन्। काम गर्ने ठाउँमा मात्रै महिला पहिरनमा हुन्थिन्। आफू पुरूषका रूपमा चिनिएका ठाउँमा पुरूष पहिरनमै हुन्थिन्।
यतिन्जेलमा उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने गैरसरकारी संस्था नीलहीरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) सँग जोडिइन्। त्यहीँबाट उनले नयाँ काम पाइन्। हाल उनी संस्थाको उपाध्यक्ष छिन्।
नीलहीरा समाजमा जोडिएपछि उनले आफ्नो शरीर महिलाको जस्तो बनाउन हर्मोन प्रयोग गर्न थालिन्। शरीर बिस्तारै महिलाको जस्तो देखिन थाल्यो। उमिशाले चिकित्सकको परामर्शबिनै एक साथीको सल्लाहमा हर्मोन खाएकी थिइन्। यसो गर्दा उनको स्वास्थ्यमा भने समस्या देखियो।
'मलाई हर्मोनको बारेमा थाहा थिएन। साथीले भनेअनुसार खाएँ। सुगर (मधुमेह) भएपछि मैले हर्मोन खान बन्द गरेँ,' उनले भनिन्, 'चिकित्सकको परामर्शबिना हर्मोन नखान सबै साथीहरूलाई आग्रह छ।'
अहिले उमिशा ४७ वर्षकी भइन्। नृत्य गर्न छाडेको निकै भयो। अभिनयको काम धेरै मिलेको छैन। मेकअपको काम भने चलिरहेको छ। प्रशिक्षणमा पनि सहभागी हुन्छिन्। प्रशिक्षणकै लागि तीन महिना जापान जाने अवसर पाएकी थिइन्। हालै चार महिना अस्ट्रेलिया बसेर फर्केकी हुन्।
उमिशाका अब तीन विशेष सपना छन्।
उनको नागरिकता पुरूष नाममा छ। उनी लैंगिक पहिचानमा 'महिला' लेखाएर नागरिकताको प्रतिलिपि लिन चाहन्छिन्। यसो गर्ने उनको प्रयास सफल भएको छैन।
त्यस्तै फिल्ममा महिलाकै रूपमा अभिनय गर्ने पनि उनको सपना छ। यसमा उनी प्रयासरत छिन्।
अनि उनी आफ्नो भावना बुझ्ने सहयात्रीको खोजीमा पनि छिन्।
भन्छिन्, 'म यस्तो साथीको खोजीमा छु जसले मेरो पहिचान स्वीकार गरेर मलाई मायाप्रेम गरोस्।'