कुनै फिल्मको मुख्य पात्र नायक हुन्छ भने कुनैमा नायिका वरिपरि फिल्म घुम्छ। कुनैले खलनायकलाई प्रधान विषय बनाएको हुन्छ।
गणेशदेव पाण्डेको 'जुलेबी' यस्तो फिल्म हो, जसमा न नायक मुख्य छ न नायिका।
यो फिल्मको मुख्य पात्र हो, काठमाडौं सहर।
अझ किटान गरेर भन्दा, यो फिल्मको मुख्य पात्र हो, काठमाडौं सहरको रत्नपार्क।
रत्नपार्क — जसले काठमाडौं सहर बाँधेर राखेको छ। जसलाई केन्द्र बनाएर सार्वजनिक गाडीहरूले काठमाडौं सहर छिचोल्छन्।
जहाँ पाइला नटेकी काठमाडौं सहरको एउटा कुनाबाट अर्को कुना पुग्न सकिँदैन। र, जहाँ यो सहरका सारा सपनाहरू एकाकार हुन्छन्।
हो, त्यही रत्नपार्कले देशको राजधानी सहरलाई बाँधेर राखेजस्तै पाण्डेको निर्देशनमा बनेको 'जुलेबी' लाई पनि बाँधेर राखेको छ।
उदाहरणका लागि —
सुरक्षा पन्त फिल्ममा यौनकर्मी हुन्छिन्। उनी दिनभरि रत्नपार्क वरिपरि उभिरहन्छिन्। सबैसँग मायाको कारोबार गर्ने उनको नाम नै 'माया' हो। उनी आफैंलाई मायासँग खासै लगाव चाहिँ छैन।
मोनिका थापा गाउँकी साधारण युवती हुन्, जसले विवाह एउटासँग गरिन् तर प्रेम अर्कैलाई गर्छिन्। उनको जीवन अतृप्त तृष्णाले भरिएको छ र उनको नाम पनि 'तृष्णा' हो। सात वर्षपछि उनको भेट पूर्वप्रेमीसँग हुन्छ, त्यो पनि रत्नपार्कमै।
उषा रजकले माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी छन्। त्यो घटनापछि उनले शृंगार त गर्न छाडिन्, तर श्रीमान फर्किने आस छाडिनन्। उनको नाम हो, आशा। उनको जीवनमा पनि परिवर्तनको ढोका रत्नपार्कमै खुल्छ, जहाँ नयाँ प्रेमीका रूपमा जीवनको नयाँ आशा भेट्छिन्।
निशा अधिकारी आफ्नो श्रीमानबाट खुसी छैनन्। श्रीमानबाट मुक्त भएर जिन्दगीमा नयाँ भूमिका खोजिरहेकी उनको नाम 'भूमिका' हो। उनको जीवनमा पनि मुक्तिको केन्द्र बनेर आउँछ, रत्नपार्क।
यी चार मुख्य पात्रबाहेक फिल्मका अन्य पात्रको जीवन पनि रत्नपार्क वरिपरि नै घुम्छ। उनीहरूले यो सहरमा देखेको सपना र संकल्प, आशा र संघर्षलाई रत्नपार्कले आधार दिएको छ। र, यही आधारलाई निर्देशक पाण्डेले फिल्ममा उतारेका छन्।
यस अर्थमा 'जुलेबी' रत्नपार्कको कथा हो।
रत्नपार्कमा हरपल जन्मिने सपना र हरपल मर्ने तृष्णाको कथा हो। यहाँ हरक्षण सजिने मायाको कथा हो। यहाँ दिनरात भौंतारिने पात्रहरूको संघर्षको कथा हो। र, ती पात्रले आफ्नो भविष्यप्रति सजाएको आशा र भरोसाको कथा हो।
यी कथाहरूको गर्भ त रत्नपार्क हो, तर तिनको रचनागर्भ चाहिँ के हो त?
यही प्रश्न हामीले निर्देशक पाण्डेलाई सोधेका थियौं।
जवाफमा उनले भने, 'आजभन्दा चौध वर्षअघि जब म झोलाभरि फिल्मको स्क्रिप्ट बोकेर निर्माताको घर र अफिस धाइरहेको थिएँ, त्यो बेला रत्नपार्कसँग मेरो आत्मीय नाता गाँसिएको थियो। बिहान आशा बोकेर निर्मातालाई भेट्न जाँदा पनि म रत्नपार्क हुँदै जान्थे, बेलुकी निराश हुँदै फर्किँदा पनि म रत्नपार्क हुँदै फर्किन्थेँ। जाँदा–आउँदा मेरा घन्टौं समय रत्नपार्कमै बित्थे।'
त्यति बेला पाण्डेलाई जसरी पनि फिल्म बनाउने हुटहुटी थियो। उनको दिमागमा हरपल फिल्मका कथा र दृश्यहरू सल्बलाइरहन्थे। तर फिल्म बनाउने पैसा चाहिँ उनीसँग थिएन। उनलाई न निर्माताहरूले पत्याए, न आफ्नै घरपरिवारले।
'मेरो घरपरिवारले फिल्म व्यवसायमा पैसा देख्नुभएको थिएन। यसले आर्थिक रूपमा सबल बनाउँदैन भन्ने उहाँहरूको राय थियो। तर म आफ्नो सपनामा दृढ थिएँ,' पाण्डेले भने, 'त्यो समय मेरो कथा पनि जुलेबीको जस्तै थियो, संगति नमिलेको प्रेमकथाजस्तो। कहिले म विवाहित महिलासँग प्रेम भएको सोच्थेँ त कहिले मजदुरी गर्ने महिलासँग कल्पनामा प्रेम गर्थेँ।। मेरा ती कथालाई निर्माताहरूले सहजै स्वीकार गर्दैन थिए।'
निर्माताहरूले अस्वीकार गरे पनि जब उनी यी कथा बोकेर रत्नपार्कको भीडमा मिसिन्थे, उनी आफूलाई भीडकै हिस्सा ठान्थे।
उनी रत्नपार्कमा बसेर हरेक मान्छेका गतिविधि नियाल्थे। अनि सोच्थे – यी मान्छेहरू पनि त केही न केही संघर्ष बोकेर हिँडेका होलान्! यिनका पनि त केही न केही सपना होलान्! केही न केही आशा होलान्!
रत्नपार्कले पाण्डेलाई कल्पनाको नयाँ उडानमा लैजाँदै थियो। सोच्ने दायरा फराकिलो बनाउँदै थियो।
उनी कथाभित्र उपकथा खोज्दै थिए। उपकथाभित्र सहायक कथा खोज्दै थिए।
एउटा पात्रभित्र अर्को पात्र र ती पात्रभित्र पनि जीवनका अनेक तह केलाउँदै थिए।
यी सबै कथा–उपकथा र पात्रहरूको परिणाम हो — जुलेबी।
रत्नपार्कमा रूमल्लिँदा आफूले भेटेका वा देखेका पात्रहरूको भीडमा पाण्डेलाई सबभन्दा बढी चासो लागेको पात्र हो, यौनकर्मी। समाजले स्वीकार नगर्ने यौनकर्मीहरूलाई माया, प्रेम, आशा, भरोसा, विश्वास र सम्मानको कति खाँचो हुन्छ भन्ने उनलाई रत्नपार्कले नै बुझायो।
र, यही कुरा उनी सिनेमामार्फत् समाजलाई बुझाउने प्रयासमा छन्।
पाण्डेले यो फिल्मको निर्माण एक वर्षअघि सुरू गरेका थिए। उनी सबभन्दा पहिला कथा लिएर अभिनेता सुशील सिटौला र सुरक्षा पन्तकहाँ गए। दुवैले उनको कथा मन पराए।
सुरूमा उनले यो कथामा छोटो (सर्ट) फिल्म बनाउने सोचेका थिए। उनी यौनकर्मीको कथा खुलेर भन्न चाहन्थे। आफूलाई भन्न मन लागेको कथा फिल्म निर्माताले पनि स्वीकार गरिदेओस् भन्ने उनको चाहना थियो।
नभन्दै उनले आभा शर्मालाई भेटे, जो उनको फिल्ममा लगानी गर्न तयार भइन्।
लगानीकर्ता भेटेपछि कथा अझ फराकिलो भयो। त्यसैमा फिचर फिल्म बनाउने भनेर उनले अन्य पात्र पनि छनौट गर्न थाले।
कथासँग मिल्ने पात्रहरू खोज्न निकै सकस भएको पाण्डे बताउँछन्। यौनसँग सम्बन्धित फिल्म स्वीकार नगर्ने समाजले कलाकारको मनोविज्ञान पनि संकुचित बनाएको थियो। यो फिल्ममा अभिनय गर्नेहरूले कथाको पात्रलाई आफ्नो जीवनकथाजस्तै माया गर्नुपर्छ भन्ने उनी ठान्थे।
'कलाकारहरूले सबभन्दा पहिला कथामा विश्वास गर्नुपर्यो,' उनले भने, 'कथाले के भन्न खोजेको हो र पात्रहरू कुन मनस्थितिसँग गुज्रिरहेका छन् भन्ने हृदयदेखि अनुभूति गर्नुपर्यो। त्यसपछि बल्ल उनीहरू फिल्ममा भिज्न सक्छन्।'
उनले सुशील र सुरक्षापछि अभिनेत्री उषा रजकलाई फिल्मको प्रस्ताव राखे। त्यसपछि मोनिका थापा, निशा अधिकारी, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदी, समीरमणि दीक्षितलाई विभिन्न पात्रको जिम्मेवारी सुम्पे।
यी सब त फिल्मका सहायक पात्र भए, मुख्य पात्र रत्नपार्क त सुरूमै अनुबन्धित भइसकेका थिए!
निर्देशक पाण्डे आफ्नो मुख्य पात्र रत्नपार्कलाई जतिसक्दो यथार्थपूर्ण ढंगले चित्रण गर्न चाहन्थे।
उनी रत्नपार्कका ती सबै रङ पर्दामा उतार्न चाहन्थे, जुन उसभित्र समाहित छ। रत्नपार्कका ती सबै सपना पर्दामा चित्रण गर्न चाहन्थे, जुन उसले देखेको छ। र, रत्नपार्कका सास्ती र संघर्षका सबै कथा जस्ताको तस्तै पर्दामा ल्याउन चाहन्थे, जुन उसले भोगेको छ।
रत्नपार्कको यथार्थ चित्रण गर्न तब मात्र सम्भव थियो, जब उसलाई आफ्नै ढंगमा अभिनय गर्न छुट दिइन्थ्यो।
यसका लागि रत्नपार्कको दैनिक गतिविधि, उसको आनीबानी र रौनकलाई हस्तक्षेप गर्न हुँदैन र ऊ जसरी चल्छ, त्यसरी नै चल्न दिनुपर्छ भन्ने पाण्डेले बुझेका थिए।
त्यही भएर उनले निर्देशकका रूपमा दुइटा महत्वपूर्ण निर्णय लिए — कलाकारहरूले भीडमा मिसिएर अभिनय गर्ने र क्यामरा लुकाएर छायांकन गर्ने।
यसरी छायांकन गर्दा रत्नपार्कको भीडले कलाकारहरूलाई नचिनोस् भन्ने उनको चाहना थियो।
'यो फिल्मलाई यथार्थपूर्ण बनाउन पात्रहरूलाई भीडमा मिसाउनुपर्छ भन्ने मैले सोचेँ। यसका लागि उनीहरूले लगाउने लुगादेखि उनीहरूको हाउभाउ सबै भीडसँगै जोडिएको हुनुपर्थ्यो,' उनले भने, 'फिल्म हेर्दा पनि दर्शकले आफू रत्नपार्कमै छु भन्ने अनुभूति गरून् भन्ने म चाहन्थेँ।'
यसरी क्यामरा लुकाएर छायांकन गर्ने क्रममा यौनकर्मीको भूमिका निर्वाह गरेकी अभिनेत्री सुरक्षा पन्तले दुर्व्यवहार भोग्नुपरेको निर्देशक पाण्डेले सुनाए।
'सुरक्षा जुन हाउभाउका साथ रत्नपार्कमा उभिएकी थिइन्, उनलाई देखेर धेरै मान्छेले मोटरसाइकल रोके र जाने हो भनेर सोधे,' उनले भने, 'हामीले क्यामरा लुकाएकाले सुरक्षा अभिनेत्री हुन् र त्यहाँ सुटिङ चलिरहेको छ भन्ने नै कसैले ठम्याउन सकेनन्।'
'जुलेबीको अर्थ चाहिँ के नि?'
हाम्रो यो प्रश्नमा पाण्डेले जवाफ दिए, 'यो फिल्ममा सात जना पात्रका अलगअलग कथा छन्। ती सबै कथा अन्तिममा जोडिन्छ। पात्रहरूको जेलिएको कथाका कारण हामीले फिल्मको नाम जुलेबी राखेका हौं।'
विभिन्न चुनौती सामना गरेर फिल्म निर्माण पूरा गरिसक्दा पनि पाण्डे अझै ढुक्क भइसकेका छैनन्।
पहिले लगानीकर्ता खोज्ने सकस, त्यसपछि पात्र चयन गर्ने सकस, अनि क्यामरा लुकाएर छायांकन गर्ने सकसपछि अब उनलाई फिल्मको विषयवस्तु दर्शकले कसरी ग्रहण गर्लान् भन्ने चिन्ता छ।
भदौ १, शुक्रबारबाट प्रदर्शन हुने यो फिल्म यौन मनोविज्ञानमा आधारित भएकाले समाजको मनोभावसँग मिल्ला कि नमिल्ला भन्नेमा उनी धुकचुक छन्।
'म खुल्न चाहन्छु। जब तपाईं आफूलाई रोक्नुहुन्छ, तब समाजले पनि तपाईंलाई रोक्न खोज्छ,' उनले भने, 'समाजको सबै कुरा स्वीकार गर्न सकिँदैन। फिल्मकर्मीले आफूले चाहेजसरी कथा भन्न पाउनुपर्छ।'