दक्षिण कोरियामा हुने 'बुसान फिल्म महोत्सव' मा विभिन्न कलाकारलाई उनले रेड-कार्पेटमा हिँडेको देखेकी थिइन्। कुनै दिन आफैं हिँडुला भनेर कल्पना भने गरेकी थिइनन्।
यो वर्ष कलाकार पशुपति राईको जीवनमा त्यो दिन आयो।
नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' ले उनलाई उक्त अवसर दिएको हो।
किराती समुदायभित्रको राई जातमा केन्द्रित यो फिल्ममा उनको प्रमुख भूमिका थियो। जनजाति समुदायको संस्कृति र दर्शन समेटिएको यो फिल्मलाई बुसानका दर्शकहरूले रूचाए।
यही फिल्मको प्रतिनिधित्व गर्दै बुसान पुगेकी पशुपति जब फिल्म र उनको नाम बोलाएपछि रेड-कार्पेटमा हिँडिन्, हजारौं दर्शकले थप्पडी बजाए। चारैतिरबाट आएका क्यामराको चहकले उनका आँखा चम्किए।
केही साताअघि बुसानबाट फर्किएकी उनले त्यस क्षणको अनुभूति साट्दै भनिन्, 'मलाई त के गरौं गरौं भयो। एकछिन अलमलमा परेँ। त्यति धेरै दर्शकको माया देखेर एकछिन त नर्भस भएँ। खुसी र उत्साहले आँखा रसाए। त्यो एउटा मिठो क्षण थियो जसलाई म सायद शब्दमा बयान गर्न सक्दिनँ।'
फिल्म गाउँ आएको बाटो बुसानमा तीनपटक प्रदर्शन भयो। दक्षिण एसियाको सबभन्दा ठूलो फिल्म महोत्सवमा आफ्नो फिल्म अटाउनु र आफूले सहभागिता जनाउनु नै ठूलो कुरा भएको पशुपति बताउँछिन्।
यो फिल्ममार्फत् नै उनी क्यानडामा भएको 'टोरन्टो फिल्म फेस्टिभल' मा पनि पुगेकी थिइन्। बुसानमा क्यानडाभन्दा न्यानो अनुभूति सँगालेको बताउँदै उनले भनिन्, 'दर्शकहरूले मलाई एकदम विशेष कलाकारजस्तो महसुस गराउनुभयो। त्यो क्षण मेरो लागि सधैं अविस्मरणीय रहनेछ।'
पशुपतिले यो फिल्मसम्म आउन लामो संघर्ष गरेकी छन्। त्यो संघर्ष रंगमञ्चबाट सुरू भएको थियो।
धरानमा जन्मिएकी उनी सानैदेखि नाच्न रूचाउँथिन्। रेडियो नाटक सुन्न र सडक नाटक हेर्न रमाइलो मान्थिन्। नृत्यको माध्यमबाटै सडक नाटककर्मीसँग भेटिन्। धरानकै 'अनाम नाट्य जमात' मार्फत् सडक नाटक गर्न थालिन्। एसएलसीपछि काठमाडौंस्थित 'गुरूकुल नाटकघर' मा नाटक सिक्न उनलाई परिवारले नै पठायो।
धरानबाट छात्रवृत्ति पाएर गुरूकुल आएकी उनले एक वर्षपछि नाटकमा अभिनय गर्न थालिन्। त्यसयता दुई दशकभन्दा बढी समय खर्चिएर ४० भन्दा बढी नाटकमा उनले काम गरिसकेकी छन्। त्यसैगरी १५ भन्दा बढी फिल्ममा विभिन्न भूमिका निर्वाह गरिसकिन्।
धेरैजसो फिल्ममा उनले सहायक भूमिकामा काम गरिन्, त्यो पनि जनजाति समुदायकै पात्र बनेर। यसरी उस्तै खालको भूमिका गर्दा उनको चित्त भने बुझ्दैन।
'कहिले श्रीमानलाई गाली गरेको, फोहोरी शब्द बोलेको त, कहिले बुढी आमा बनेको भूमिका मैले पाउँथेँ। जनजाति समुदायको पात्रमा म सधैं हाँस्य पात्रका रूपमा देखिएँ। यो मलाई चित्त बुझ्दैन,' उनले भनिन्, 'जनजाति महिलाले किन यसरी बोलिरहेका छन् भन्ने कथा फिल्मले कहिल्यै देखाउन खोज्दैन। जनजातिको लुकेको वेदनालाई मजाकका रूपमा मात्र उडाउन खोज्यो। हाम्रो समुदायको कथा देखाउन नसक्नु भनेको फिल्मकर्मीहरू समुदायको कथामा संवेदशील नहुनु हो। त्यो कुरा मलाई मन पर्दैन।'
फिल्म गाउँ आएको बाटोका निर्देशकले भने उनलाई जनजाति समुदायको भएर मात्र छानेनन्, उनको कला दक्षतालाई पनि चिने। नाटकमा अब्बल अभिनय गरेको देखेका उनले पशुपतिलाई फिल्ममा पनि राम्रो अभिनय गर्नसक्ने विश्वासले प्रमुख पात्रको भूमिका दिए।
फिल्मले उनको जीवनमा केही चुनौती भने थप्यो।
पहिलो चुनौती थियो, उनको शारीरिक तौल।
फिल्मका लागि उनले दस किलो तौल घटाउनुपर्ने थियो। मिठा खानेकुरा खाइरहने पशुपतिका लागि शरीर घटाउनु चानचुने कुरा थिएन। तैपनि उनले व्यायाम गरिन्, खानामा नियन्त्रण राखिन् र तौल घटाइन्।
'जति वर्ष काम गरे पनि नयाँ कथामा सामेल हुन कलाकारले शून्यबाट काम सुरू गर्नुपर्छ। चुनौती त जहिल्यै पनि हुन्छ र हामीले सबै चुनौती स्वीकार गर्न सक्नुपर्छ,' उनले भनिन्।
पशुपतिलाई अर्को चुनौती थियो भाषाको।
उनी राई भाषा बुझ्छिन् र बोल्छिन् पनि। तर अरूलाई बुझाउन उनी जान्दिनन्। यो कुरा बिस्तारै उनले सिकिन्।
फिल्म छायांकन क्रममा एउटै दृश्य पटकपटक खिच्दाको चुनौती त छँदैछ!
फिल्मबाट नयाँ कुरा पनि सिकिन्, 'मेरै समुदायको फिल्म हो तर म आफैंलाई कति कुरा थाहा थिएन। आफू त्यो समुदायको भएर मात्र फिल्मलाई नपुग्ने रहेछ। आफूले बोल्ने कुरा, व्यवहारमा निकै ख्याल गनुपर्ने रहेछ। जनजाति समुदायलाई फिल्म क्षेत्रले झन् नराम्रो तरिकाले प्रस्तुत गरिरहेको बेला हामी बढी संवेदनशील हुनुपर्छ। म यही समुदायको भएकाले झन् आफ्नै कथामा गल्ती गर्ने छुट मलाई हुँदैन।'
अघिल्ला फिल्ममा सहायक भूमिका मात्र निर्वाह गरेकी पशुपतिले प्रमुख भूमिका खेल्नुको भिन्नता पनि थाहा पाइन्।
'सहायक पात्रलाई प्रायः फिल्ममा संवेदनशील रूपमा लिइँदैन। छायांकन गर्दा पनि मुख्य पात्र र सहायक पात्रले पाउने सुविधामा आकाश पातालको फरक हुन्छ। खानपिनदेखि हरेक कुरामा विभेद हुन्छ,' उनले भनिन्, 'कतिपय फिल्ममा सहायक पात्रले अभिनयमा लगाउने लुगा पनि आफैं बोकेर ल्याउनुपर्छ। उनीहरूको सुरक्षाका विषयमा अहिले बिस्तारै सुधार भए पनि अन्य कुरामा हुने व्यवहार उस्तै छ।'
उनले आफू सहायक पात्र बन्दाको क्षणबारे पनि सम्झिँदै भनिन्, 'कहिलेकाहीँ पुरूषहरूको बीचमा रहेर काम गर्नुपर्छ। अभिनयमा जस्तो पात्र बनाइएको छ, पुरूषहरू अन्य समय पनि त्यसरी नै जिस्काएर असहज वातावरण बनाउन खोज्थे। अहिले भने महिलाहरू पनि आफूलाई मननपरेका विषयमा भन्न र कुरा राख्न सक्छन् भन्ने चेत पुरूषहरूमा पस्दै गएको छ।'
पशुपतिलाई फिल्ममा सहायक र जनजातिकै बढी भूमिका पाउनु आफ्ना चिम्सा आँखा, अनुहार र शारीरिक बनावट हो भन्ने लाग्छ। यस्तो अनुभूति उनले नाटकमा भने बिरलै गरिन्। नाटकमा उनले जनजाति समुदायको मात्र पात्र बन्न परेन।
यसका बाबजुद उनलाई पछिल्लो समय आफ्नो समुदायको कथा नाटक र फिल्ममा देखिन थालेकामा भने खुसी लाग्छ।
'पहिलेका कथा हेर्ने हो भने खस/आर्यबाहेक अरूको हुँदैन थियो। अहिले बल्ल हाम्रो समुदायका कथा आउन थालेका छन्। यो सकारात्मक कुरा हो। हाम्रो समुदायको कथा भनिनु र हाम्रो समुदायका मान्छे प्रमुख भूमिकामा देखिनु निकै ठूलो कुरा हो,' उनले भनिन्, 'हामी यसै पनि समाजमा त्यति प्राथमिकतामा नपरेको समुदाय हौं। त्यो कुरा चिर्ने शक्ति कलामा हुन्छ, जसलाई निर्देशकले आफ्नो काममा अपनाउन सक्छन्।'
नेपाली नाटक र फिल्ममा लामो समय काम गरिसकेकी पशुपतिलाई अब अन्तर्राष्ट्रिय निर्देशकसँग काम गर्ने रहर छ। त्योसँगै निर्देशकका रूपमा देखिने इच्छा पनि छ।
'रंगमञ्चमा नभनिएका कथा देखाउन मन छ। आफ्नो समुदायमा लुकेर बसेका कथा खोतल्न मन छ। फिल्म कसरी बनाइन्छ भन्ने जान्न पनि मन छ,' उनले भनिन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी