गुड फ्राइडे सिनेमा
अपराध कथामा बनेका सिनेमा रूचाउने दर्शकका लागि राम्रो विकल्पमध्ये एक फिल्म हो 'द स्टोनम्यान मर्डर्स'।
अंग्रेजी नाम भए पनि यो बलिउड फिल्म हो। सन् २००९ मा रिलिज भएको 'द स्टोनम्यान मर्डर्स' वास्तविक घटनामा आधारित छ।
सन् १९८० दशकमा भारत, मुम्बईको फुटपाथमा सुतिरहेका एक व्यक्तिको ठूलो ढुंगाले किचेर हत्या भयो।
त्यो बेला यस्तो घटनाका पीडित एक व्यक्ति मात्र थिएनन्। सिलसिलाबद्ध रूपमा मुम्बईका फुटपाथमा मृतकहरू भेटिए। दुई वर्षमा करिब १२ जना फुटपाथमा बस्ने/सुत्नेहरूको ढुंगाले हानेर/किचेर हत्या गरिएको थियो। उनीहरूको 'सिरियल किलिङ' भइरहेको थियो।
यस्तो क्रुर र सनसनीपूर्ण घटना केही समयपछि कोलकातामा दोहोरियो। त्यो बेला ६ महिनाभित्र १३ जना फुटपाथबासीको हत्या भएको बताइन्छ।
मुम्बई र कोलकाताको घटनामा एकै व्यक्ति वा समूह संलग्न भएको आशंका छ।
'द स्टोनम्यान मर्डर्स' मा यही वास्तविक घटनाको नजिक रहेर काल्पनिक कथा बुनिएको छ।
मनिष गुप्ताले निर्देशन गरेको यो फिल्ममा केके मेनन र अरवाज खान मुख्य भूमिकामा छन्।
फिल्मको सुरूमै फोहोर टिप्ने र फुटपाथमा रात बिताउने एक किशोरको हत्या भएको देखाइन्छ। उनलाई ठूलो ढुंगाले हानेर मारिएको हुन्छ।
प्रहरीले शंकाको घेरामा फुटपाथमै रात बिताउने तीन जनालाई राख्छन्। उनीहरू गाँजाको लतमा फसेका हुन्छन्। दिउँसो मृतकसँग उनीहरूको यसै विषयमा अनबन पनि भएको हुन्छ।
सब-इन्स्पेक्टर सञ्जय शेलार (केके मेनन) ले तीन जनालाई पक्राउ गरेर आफ्नो जाँच अगाडि बढाउँछन्। जाँचको क्रममै एक जनाको मृत्यु हुन्छ। त्यसपछि सञ्जय निलम्बित हुन्छन्। यो केस इन्स्पेक्टर केदार फडके (अरवाज खान) को पोल्टामा पर्छ।
सञ्जयले आधिकारिक रूपमा केसको अनुसन्धान गर्न नपाए पनि समानान्तर अनुसन्धानको अनुमति पाउँछन्। तर अनुसन्धान गर्दागर्दै थप ८ जना फुटपाथबासीको उसैगरी ढुंगाले किचेर हत्या हुन्छ। शंकाको घेरामा कहिले फुटपाथमा बस्ने व्यक्ति आउँछन्, त कहिले ट्याक्सी चालक।
कुनै सुराक फेला पर्दैन।
यही क्रममा इन्स्पेक्टर केदारको शंकाको घेरामा भने निलम्बित सब-इन्स्पेक्टर सञ्जय नै आउँछन्।
अब आफै शंकाको घेरामा परेका सञ्जयले कसरी अनुसन्धान अगाडि बढाउँछन्?
के उनी यो घटनामा साँच्चै सामेल छन्? वा वास्तविक हत्यारा पत्ता लाउन सफल हुन्छन्?
आखिर ती फुटपाथबासीको हत्या किन भइरहेको हुन्छ?
'द स्टोनम्यान मर्डर्स' हेरेपछि तपाईंहरूले यी सबै प्रश्नको जबाफ पाउनुहुनेछ।
मुम्बई र कोलकातामा फुटपाथबासीहरूको हत्या कसरी भयो भन्नेबारे धेरै समाचार छापिए पनि हत्या कसले गर्यो भन्ने कसैले लेखेन। अर्थात् हत्यारा पत्ता लागेन र यो केस समाधान नभइ यतिकै बन्द भएको थियो।
फिल्मले भने हत्याको रहस्य पनि उजागर गरेको छ। फिल्म हेरून्जेल कायम हुने दर्शकको खुलदुली अन्तिममा मेटिन्छ। त्यसैले यो फिल्मलाई क्राइम-थ्रिलर विधाको राम्रो फिल्ममध्ये एक मानिन्छ।
यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।
युट्युबमा हेर्नुहोस् 'द स्टोनम्यान मर्डर्स'