गुड फ्राइडे सिनेमा
यो कथा छोरी हुर्काउन संघर्षरत बाबु र उनलाई स्वीकार नगर्ने छोरीको हो।
अमुधवन दुबईमा काम गर्न गएका हुन्छन्। १४ वर्षीया पप्पा आफ्नी आमा स्टेलासँग बस्छिन्।
तर एक दिन स्टेला पप्पालाई छाडेर जान्छिन्। अमुधवनलाई आफ्नी छोरीको हेरचाह गर्न आग्रह गर्दै पत्र लेख्छिन्।
दस वर्षपछि अमुधवन घर फर्किन्छन्। लामो समय विदेश बसेका उनले आफ्नी छोरीको विश्वास जितेका हुँदैनन्। घुलमिल नभएकाले दुबैलाई सम्बन्ध गहिरो बनाउन सजिलो हुँदैन। पप्पा आमाकै खोजीमा लागिरहन्छिन्।
पप्पालाई सेरेब्रल पाल्सी भएको हुन्छ। स्वास्थ्यमा भएको समस्याकै कारण अमुधवन उनलाई छिमेकीहरूबाट पनि टाढा राख्छन्।
पप्पा प्रकृतिमा रमाउने स्वभावकी हुन्छिन्। बुबाले बिस्तारै उनको रूचि बुझ्ने प्रयास गर्छन्। त्यसै अनुरूपको वातावरण बनाउँदै जान्छन्। बाबुछोरीको सम्बन्धमा सुधार आउन थाल्छ।
एक रात पप्पाको महिनावारी सुरू हुन्छ। अमुधवनलाई यसबारे कुनै जानकारी नभएकाले खुब डराउँछन्। उनी छिमेकी विजयलक्ष्मीसँग सहयोग माग्छन्।
विजयलक्ष्मीले पप्पाको रेखदेख गर्छिन्। यही क्रममा उनी र अमुधवन नजिकिन्छन् र विवाह गर्छन्। आमाको ममता खोजिरहेकी पप्पा एकदमै खुसी हुन्छिन्।
तर एक दिन यो सबैबीच भयानक दृश्य आइपर्छ।
विजयलक्ष्मीले पप्पालाई मार्ने प्रयास गर्छिन्।
यही क्रममा विजयलक्ष्मीका रहस्यहरू उजागर हुन्छन्।
आखिर को हुन्छिन् उनी? किन पप्पाको ज्यान लिन खोज्छिन्? के अमुधवनले उनलाई रोक्लान्?
यो घटनापछि यी पात्रहरूको कथा कसरी अगाडि बढ्ला?
यसका लागि हेर्नुहोस् तमिल फिल्म ‘पेरान्बु’।
यसको निर्देशन तथा लेखन रामले गरेका हुन्। अमुधवनको भूमिकामा मामुटी र विजयलक्ष्मीको भूमिकामा अन्जलीलाई देख्न सकिन्छ।
निर्देशक रामले यो फिल्मको कथामा ६ वर्ष काम गरेका थिए। सन् २०१८ मा यो फिल्म इन्टरनेसनल फिल्म फेस्टिभल रोटरड्याममा प्रदर्शन गरिएको थियो। त्यसपछि शंघाई फिल्म फेस्टिभल, इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा देखाइयो। सिनेमा घरहरूमा भने पेरान्बु सन् २०१९ मा देखाइएको हो।
यसले सात वटाभन्दा बढी अवार्ड जितेको छ भने दर्जन बढी प्रतिस्पर्धामा मनोनीत भएको छ।
समीक्षकहरूले यो फिल्मको खुब प्रशंसा गरेका छन्। हिन्दुस्तान टाइम्सका कार्तिक कुमारले साढे चार तारा दिँदै यो फिल्मले बाबुछोरीको जटिल सम्बन्धलाई बुझ्न मद्दत गर्ने बताएका थिए।
हेर्नुहोस् युट्युबमाः