गुड फ्राइडे सिनेमा
यो कथा छोरीको मृत्युको कारण पत्ता लगाउन संघर्षरत बाबुको हो।
'आशिष त्यो पेनड्राइभ मलाई देऊ! उनीहरूले तिमीलाई केही भन्दैनन्, म कुरा गर्छु,' भन्दै एक युवती एक युवकको पछि दौडिरहेकी छन्।
उनीहरूको पछि केही गुन्डा बाइकमा आइरहेका हुन्छन्।
युवक र युवतीबीच धकेलाधकेल हुन्छ। अनि युवकको पछि दौडिँदा युवतीलाई गाडीले ठक्कर दिन्छ। उनको मृत्यु हुन्छ।
युवक फरार हुन्छन्। सडकमा रहेको युवतीको शव बाइकमा आइरहेका गुन्डाले जलाइदिन्छन्।
ती युवती हुन् मेडिकल पढिरहेकी अर्चना।
यसपछि उनका बुबा शिव शंकर भौंतारिन्छन्। आखिर अर्चनाको मृत्यु कसरी भयो? मृत्युपछि उनलाई किन जलाइयो? आखिर के थियो त्यो पेनड्राइभमा जस कारण अर्चनाले ज्यान गुमाउनुपर्यो?
शिव शंकर पेसाले डाक्टर हुन्। उनकै पदचाप पछ्याइरहेकी थिइन् अर्चना। बाबु जस्तै इमानदार डाक्टर बन्ने उनको ठूलो सपना थियो।
अर्कातिर प्रहरीले शिव शंकरलाई उनकी छोरीले आत्महत्या गरेको खबर दिन्छन्। शिव शंकरलाई आफ्नी छोरीले आत्महत्या गरेको कुरामा विश्वास नै हुँदैन। उनी पोस्टमार्टमको रिपोर्ट माग्छन्।
केही दिनपछि पोस्टमार्टमको रिपोर्ट त पाउँछन् तर त्यो अर्चनाको हुँदैन। उनको पोस्टमार्टम रिपोर्ट परिवर्तन गर्न अर्चनाले पढिरहेको ठूला मेडिकल शिक्षा माफियाहरूको संलग्नता हुन्छ।
तर किन?
शिव शंकरले जबाफ पाउँदैनन्।
यसको जबाफ खोज्न उनले एक भ्रष्ट प्रहरी इन्स्पेक्टर युसुफको सहयोग लिन्छन्।
दुवै जना अर्चनाको रहस्यमयी मुत्युको कारणको खोजीमा लाग्छन्। एक दिन उनीहरूले पेनड्राइभ लिएर फरार भएका आशिषलाई भेट्छन्।
तर उनीहरूले केही कुराकानी गर्न नपाउँदै अन्य प्रहरी आएर आशिषलाई लिएर जान्छन्। दमको रोगी रहेका आशिषको बाटोमै मृत्यु हुन्छ। अर्चनासँगै आशिषसँग मृत्यु पनि रहस्य बन्छ।
यो रहस्य कसरी उजागर हुन्छ भन्ने जान्न हिन्दी फिल्म 'हलाहल' हेर्नुहोला।
रणदीप झाले निर्देशन गरेका यो फिल्ममा शिव शंकरको भूमिकामा सचिन खेदेकर छन्। अर्चनाको भूमिकामा पुर्नेन्दु भट्टाचार्य र इन्स्पेक्टरको भूमिकामा वरूण सुब्टीलाई देख्न सकिन्छ।
रहस्यमयी र थ्रिलर फिल्म रूचाउनेका लागि हलाहल राम्रो खुराक हुन सक्छ।
का