गुड फ्राइडे सिनेमा
पञ्जाबी फिल्म उद्योगलाई 'पलिउड' पनि भनिन्छ। पञ्जाबी फिल्महरू प्रायः कमेडी जनरामा बनेका हुन्छन्। यही कारण सन् १९२८ मै सुरूआत भए पनि पञ्जाबी सिने उद्योगले भारतभित्रै पनि ठूलो बजार लिन सकेको छैन।
ठूलो दर्शक समूहमा पुग्न नसके पनि बर्सेनि थुप्रै पञ्जाबी फिल्म हिट भइरहेका हुन्छन्। कतिपयले बक्सअफिसमा राम्रो कमाइ गर्छन् भने कतिपयले समीक्षकको राम्रो टिप्पणी पाइरहेका हुन्छन्।
त्यस्तै थुप्रै पञ्जाबी फिल्ममा बलिउड कलाकारहरूको अभिनय देख्न सकिन्छ।
यस्तै एउटा फिल्म हो 'शरिक'।
समीक्षक र दर्शकको प्रशंसा पाएको यो फिल्ममा भरपुर कमेडीसँगै घरायसी कलह प्रस्तुत गरिएको छ। यो फिल्म दर्शकले निकै रूचाएका थिए। दर्शकले रूचाएकैले यसको सिक्वेल समेत बनाइएको थियो।
'शरिक' सन् २०१५ मा प्रदर्शन भएको थियो भने 'शरिक २' सन् २०२२ मा प्रदर्शन गरिएको थियो।
फिल्मको कथा यसरी सुरू हुन्छ।
एक संयुक्त परिवार खुसी खुसी बसिरहेका हुन्छन्। तर जब घरका हजुरबुबाको मृत्यु हुन्छ, परिवारका अन्य सदस्य छुट्टै बस्न थाल्छन्। हजुरबुबाको सम्पत्ति जस्सा र सुरजितले सम्हालिरहेका हुन्छन्। जग्गाजमिनका कारण परिवारभित्रै कलह मच्चिन्छ।
एक दिन जस्सा र सुरजित आफ्नो भतिजसँग खेलिरहेका हुन्छन्। त्यतिबेला उनीहरूको खेतमा लगाइरहेको पानी जस्साका काकाले आफ्नो खेतमा लगाउँछन्।
उक्त कुरा जस्साले थाहा पाउनेबित्तिकै आफ्नो खेतमा लगाउँछन्। दुवै पक्ष रिसले चुर भएका हुन्छन्। उनीहरूको घरायसी कलह गाउँभरि छताछुल्ल हुन्छ। यही निहुँमा गाउँमा पञ्चायत समेत राखिन्छ। पञ्चायत सामु पनि उनीहरूको झगडा रोकिँदैन।
पञ्चायतले पनि उनीहरूको झगडालाई शान्त बनाउन सक्दैन। उनीहरूको झगडाले झन् उग्र रूप लिन्छ। घर फर्किएपछि बल्ली जस्सालाई मार्नै तम्सिन्छन्।
बल्ली र जस्साबीच भनाभन हुन्छ। दुवैलाई उनीहरूको बुबाले शान्त बनाउँछन्।
उनीहरूको जग्गाजमिनको झगडा अन्त्य नहुँदै अर्को टकराव सुरू हुन्छ।
बल्ली र जस्साले एकै केटी जस्सीलाई मन पराउँछन्।
बल्लीका बुबा र जस्सीका बुबा साथी हुन्छन्। बल्ली आफ्ना बुबालाई लिएर जस्सीको हात माग्न जान्छन्। जस्सीले पनि आफ्नो बुबाका खुसीमा आफू खुसी हुने भन्दै सहमति जनाउँछिन्। तर जस्सी बिस्तारै जस्साको प्रेममा पर्छिन्।
जस्सीले उक्त कुरा जस्सालाई सुनाउँछिन्। जस्सा पालीको घर गएर जस्सीसँग रोका (इंगेजमेन्ट) तोड्न आग्रह गर्छन्। उनीहरूको झगडा शान्त नहुँदै एक नमिठो घटना आइपर्छ।
यो घटना चानचुने हुँदैन।
अब यसपछि बल्ली र जस्साबीचको दुश्मनी कुन मोडमा पुग्छ?
जस्सा र जस्सीको प्रेमले कुन मोड लिन्छ?
यही विषय वरपर समेटिएको फिल्म हो शरिक।
शरिकमा नवनित सिंहले निर्देशन गरेका हुन्। यसमा जिम्मी शेरगिल, गुग्गु गिल, सिमर गिल, मुकुल देव, कुलजिन्देर सिंह सिधु, प्रिन्स केजे लगायत कलकारको अभिनय छ।
हेर्नुहोस् युट्युबमा