गुड फ्राइडे सिनेमा
मान्छेको सबभन्दा ठूलो चाहना भनेकै मनको खुसी हो। त्यही खुसीका लागि ऊ जीवनभर संघर्ष गर्छ।
कसैको खुसी पैसाबाट आर्जन हुने भौतिक सुखसुविधासँग जोडिएको हुन्छ। त्यसका लागि ऊ पैसा कमाउने ध्याउन्नमा दिनरात दौडिरहन्छ।
कसैको खुसी भने पल पलका सानातिना उपलब्धिसँग जोडिएको हुन्छ। प्रियजन र आफन्तहरूको साथसँग जोडिएको हुन्छ। त्यस्ता व्यक्ति पैसालाई भन्दा प्रेमलाई महत्त्व दिन्छन्। नगदभन्दा नाता कमाउने दौडधुपमा लाग्छन्। त्यस्ता व्यक्तिको जीवन भलै कष्टसाध्य होस्, तर ऊ मानसिक र आत्मिक रूपले खुसी हुन्छ; सन्तुष्ट हुन्छ।
आज हामी खुसीको खोजीमा आधारित एक अंग्रेजी फिल्म सिफारिस गर्दैछौं – द पर्सुएट अफ ह्यापिनेस।
सन् २००६ को यो फिल्म वास्तविक कथामा आधारित छ। यसका मुख्य पात्र क्रिस गार्डनर खुसी कमाउन दिनरात संघर्ष गरिरहेका छन्। उनी जहिल्यै हतारमा हिँड्छन्। जहिल्यै व्यस्त रहन्छन्। हतारले एकदिन आफ्नो कारसमेत सडकमै छाड्छन्। र, सजायस्वरूप जेल पुग्छन्।
उनले आफ्नो सम्पूर्ण बचत एक स्क्यानरमा लगानी गरेका हुन्छन्। त्यही स्क्यानरले क्रिसको जीवनमा उथलपुथल ल्याउँछ।
क्रिसले आफ्नो जम्मापुँजी लगानी गरेको स्क्यानर राम्ररी बिक्री नहुँदा वैवाहिक जीवनमा असर पर्छ। उनकी श्रीमती होटलमा काम गरिरहेकी हुन्छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उनलाई रिस उठ्छ। उनी आफ्नो ५ वर्षका छोरा क्रिस्टोफर र क्रिसलाई छाडेर जान्छिन्।
यहीँबाट क्रिसको संघर्षका दिन सुरू हुन्छन्। पैसा अभावले उनको बैंक खाता बन्द हुन्छ। उनी बसिरहेको घरबाट निकालिन्छन्।
एकदिन क्रिसको भेट सेयर ब्रोकर जे ट्वीसलसँग हुन्छ। जेलाई स्क्यानर बिक्री गर्न उनी सँगसँगै ट्याक्सीमा यात्रा गर्छन्। बीच बाटोमा रूबिक क्युब मिलाएर जेको मन जित्छन्। तर जब जे ट्याक्सीबाट ओर्लिएर जान्छन्, क्रिससँग भाडा तिर्ने पैसा हुँदैन।
उनी ट्याक्सी चालकलाई छलेर भाग्छन्। चालक उनलाई रेल्वे स्टेसनसम्म पछ्याउँछन्। रेल चढ्दै गर्दा क्रिसले आफ्नो एउटा स्क्यानर गुमाउँछन्।
स्क्यानर गुमाए पनि सेयर ब्रोकर जे ट्वीसलसँगको भेटले उनको जीवनमा नयाँ ढोका खोल्छ।
के उनी जेको संगतबाट आफ्नो जीवनमा आर्थिक सुधार ल्याउन सफल हुन्छन्?
यो फिल्मले एक व्यक्तिको संघर्षपूर्ण जीवन र बाबुछोराको बलियो आत्मीय सम्बन्ध देखाएको छ। फिल्ममा एउटा दृश्य छ, जहाँ क्रिस र क्रिस्टोफर घरबारविहीन भएर रेल्वे स्टेसनको शौचालयमा रात बिताउँछन्। शौचालयको बासमा पितापुत्रको कसिलो मायाले मन हिरिक्कै बनाउँछ।
गेब्रिएल मुचिनोले निर्देशन गरेको यो फिल्ममा विल स्मिथ, जडेन स्मिथ, जेम्स करेन लगायतले अभिनय गरेका छन्। यो फिल्मबाट विल स्मिथले धेरै सकारात्मक प्रतिक्रिया पाएका थिए। अस्कर अवार्डमा मनोनित पनि भएका थिए, तर अवार्ड पाउन सकेनन्।
व्यावसायिक रूपमा यो फिल्म 'ब्लकबस्टर' साबित भएको थियो।
हेर्नुहोस् युट्युबमा: