कालीकोट र जुम्लाको सिमानामा रहेकाे व्यापारिक केन्द्र नाग्मदेखि मुगु जान हामी हिमा नदीको किनारैकिनार गुडिरहेका थियौं। बीच बाटोमा एउटा काठेपुल देखियो।
यो सिंजा गाउँपालिका वडा नम्बर ४ मा रहेको हिमा नदीमाथिको काठेपुल हो। यो पुल तरेर नदी किनारको नाग्म–रारा सडक पारी रहेको नराकोट गाउँ पुगिन्छ।
‘उ त्यही त हो हामीले अघि कुरा गरेको पुल,’ हामीसँगै गाडीमा भएका एकजना साथीले भने।
हामीले कर्णाली राजमार्गको कालीकोट खण्डको आधा भागभरि सिंजा क्षेत्रका पुलमा राखिने प्रतिमा संस्कृतिबारे कुरा गर्दै आएका थियौं। ती प्रतिमा बनाउने व्यक्तिलाई पनि हाम्रो गाडीभित्र रहेकाहरूमध्ये कसैले चिन्ने रहेछन्।
हामीले आँखा तन्काएर बाहिर हेर्यौं। काठको पुलमा वारि र पारि पुलको छेउछाउमा रंगीबिरंगी मूर्तिहरू उभिएका थिए। काठबाट बनेका यी रंगीचंगी मूर्तिहरू हेर्न हामी गाडी रोकेर उत्रियौं।
झण्डै १२ सय वर्षअघि शक्तिशाली राज्यमा थियो सिंजा। नागराज मल्लले कर्णाली क्षेत्रमा राज्य स्थापना गरेर राजा भएका थिए। सिंजा उपत्यका भने राज्यको केन्द्र थियो। नागराजले शासन गर्दा राजनैतिक, सांस्कृतिक र आर्थिकरूपले समृद्ध थियो यो राज्य। उनकै शासनकालमा खस भाषा व्यापक भएको थियो। त्यसैले सिंजा राज्य नेपाली भाषाको उत्पत्ति क्षेत्र मानिन्छ।
समयक्रममा उक्त राज्य मासियो। पछि शिव जोशी धिताल भन्ने कालिकोटका व्यक्ति यहाँ सिंजा आएर धितालिही गाउँ बसालेको भन्ने किम्बदन्ति प्रचलित रहेछ। धिताल कालीकोटको मेहलमुडी भन्ने गाउँबाट आएका रहेछन्। उनी कहिले आएर गाउँ बसाए भन्ने यकिन मिति कसैले भन्न सक्दैन। तर उनको सम्झना अहिले पनि गाउँलेहरूले गर्ने रहेछन्। सिंजाको विकासमा यहाँका मान्छेको लागि उनले निकै योग्दान गरेको स्थानीयहरूले बुझेका छन्। उनले बसाएको धितालिही गाउँमा अहिले धिताल, रोकाया लगायतका समुदाय बस्छन्।
सिंजामा आदिकवि भानुभक्त आचार्यको उस्तै मान रहेछ भनेर हामीले यो पुलमा उनको प्रतिमा देख्दा थाहा पायौं। आखिर उनी नेपाली खस भाषाका आदिकवि हुन्।
यो पुलमा नागराज, शिव जोशी धितालसँगै आदिकवि भानुभक्तको प्रतिमासँगै गौतमबुद्धको प्रतिमा पनि छ।
यो पुल बनेको भने गएको असोजमा हो। सिंजा राज्यको प्रतिनिधित्व गरेका ऐतिहासिक व्यक्तिहरूको प्रतिमा सहितका काठेपुल बनाउन लगाएको भने यहाँका स्थानीय सरकारले रहेछ। प्रतिमामार्फत सिंजाको परिचय दिन यो क्षेत्रमा पर्ने स्थानीय तहले काठेपुल बनाएका हुन्।
पुलमा यी प्रतिमा बनाउने कलाकार हुन्, सिंजा गाउँपालिका–३ नराकोटका खम्बीलाल सार्की। जसले आफ्नो कलाकारिताबाट सिंजालाई उसकै मौलिक पहिचान झल्काउने प्रतिमा बनाएर सजाएका छन्। उनले पुलमात्र होइन अरू धेरै ठाउँमा यस्ता प्रतिमा बनाएका छन्।
सार्कीलाई मैले मुगु जाने यही बाटोमै बोलाएर भेटेँ।
सिंजामा ऐतिहासिक चित्रकला र प्रतिमा बनाउने खम्बीलालले कुनै औपचारिक तालिम लिएका छैनन्। उनले यसको बारेमा औपचारिक अध्ययन पनि गरेका छैनन्। यो उनको पुर्ख्यौली पेशा पनि होइन।
‘मैले आफ्नै लगावबाट काठका चित्र र सामग्री बनाउन सिकेको हुँ,’ उनले भने।
४४ वर्षीय खम्बीलाललाई अचेल भ्याइनभ्याइ रहेछ। काठका प्रतिमा र चित्रकला बनाउन स्थानीय तहहरूले उनलाई बोलाउँछन्। स्थानीय तहले भने अनुसारका प्रतिमा वा अरू सामग्री निश्चित पारिश्रमिक लिएर उनले बनाइदिन्छन्।
सानोमा १२ वर्षको हुँदा विद्यालय जान सुरू गरेका उनी दुई कक्षासम्म मात्र पढेका छन्। उनी त्यतिबेलै पनि विद्यालयमा चित्रकला प्रतियोगिता हुँदा प्रथम स्थानमा हुन्थे।
‘घरमा काम गर्ने मान्छे कोही नभएपछि मैंले विद्यालय नियमित जान पाइँन, यो सीप भने आफै सिकेँ,’ उनले भने, ‘तालिम पनि लिएको होइन, आफ्नै रहरले बनाउन सिकेको हुँ। म सानैदेखि अरू काममा भन्दा पनि काठका चित्र बनाउने गर्थें। घरका सदस्यले अरू काम गर्न छोडेर बहुलाएर नचाहिने काम गर्छ भन्थे।’
खम्बीलाललाई चित्रकलाको लत बसिसकेको छ। उनी काठबाटै थुप्रै नयाँ सामग्री बनाउने प्रयास गर्छन्।
सिंजा क्षेत्रमा प्रतिमा बनाउने काम पाउँदा सिंजाकै इतिहास झल्किने कुरा बनाउनुपर्छ भनेर उनले स्थानीय तहहरूलाई सम्झाउने गरेको उनले बताए।
‘म त यो क्षेत्रमा खर्च गरेर केही कुरा बनाउने हो भने सिंजालाई चिनाउने कुरा बनाऔं भन्छु, कसैले त सहजै मान्छन् पनि,’ उनी भन्छन्, ‘कसैले आफ्नो जिद्दी छोड्दैनन्, मेरो काम चित्र बनाउने हो, उहाँहरूले भनेकै पनि बनाईदिन्छु।’
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार खम्बीलाल सार्की चित्रमार्फत सिंजा सजाउने मुख्य मान्छे हुन्।
‘खम्बीलालको कलाकृतिले सिंजा सजिएको छ भन्न पनि मिल्छ, जति बनाउनुपर्ने हो त्यति त हामीले बनाउन सकेका छैनौं,’ अध्यक्ष धितालले भने, ‘उहाँको कलाकृति उत्कृष्ट भएर हामीले अहिले बनाएका प्रतिमा उहाँलाई नै बनाउन दिएका थियौं, राम्रो बनाउनुभयो।’
उनका अनुसार सिंजा क्षेत्रमा रहेको पवित्र धार्मिक स्थल केदारनाथमा ढुंगाबाट मुर्ति र धाराहरू पनि खम्बीलालले नै बनाएका छन्।
खम्बीलालले हिमा गाउँपालिका वडा नम्बर २ को चिउडीस्थित हिमा नदीमा बनेको पुलमा पनि प्रतिमा बनाएका छन्। सिंजा उपत्यकामै पर्ने हिमा गाउँपालिकाले उनलाई प्रतिमा बनाउन बोलाएको थियो। ती पुलमा उनले सशस्त्र द्वन्द्वका सहिद, द्वन्द्वका नायक नेता लगायतका प्रतिमा बनाए। यससँगै उनले खस सभ्यता झल्काउन पहिरनसहितको महिला र पुरूषको प्रतिमा पनि त्यही पुलमा बनाएका छन्।
काठका सामग्रीबाट प्रतिमा बनाउँदा उनले आधुनिक मेसिन तथा औजारको प्रयोग गर्दैनन्। उनीसँग पुरानै औजारहरू छन्।
‘मैंले आधुनिक औजारको प्रयोग अहिलेसम्म गरेको छैन, मसँग भएका पुरानै औजारबाट अहिलेसम्म कलाकृति गरिरहेको छु,’ खम्बीलालले भने, ‘यिनैबाट मेरो परिवार चलेको छ, यहाँ हुने यस्ता काममा मजस्ता स्थानीयलाई नै काम दिएकाले सजिलो पनि भएको छ।’
सिंजामा भदौको पहिलो सातादेखि कृष्णजात्रा सुरू हुन्छ। यो जात्रा लामो हुन्छ। यसमा ढाल, खुकुरी, तरबार नचाएर लाखे नाँच देखाइन्छ। जात्रामा प्रयोग हुने ढाल, खुकुरी र तरबार खम्बीलालले काठबाटै बनाइरहेका छन्। २० वटा ढाल र १० वटा खुकुरी बनाइसकेको उनले बताए।
यो काम गर्न थालेको उनले एक महिना भयो। उनलाई यसका लागि अर्डर भने आएको थिएन।
‘सकेसम्म गाउँपालिकाले सहयोग गरिहाल्छ, नभए म नि: शुल्क काम गर्छु भनेर बनाउन थालेको हुँ,’ उनले भने, ‘अहिलेको जात्रामा मैले बनाएका सामान प्रयोग गरेर लाखे नाचिन्छ, यसमै खुसी छु।’
सिंजा क्षेत्रका धार्मिक क्षेत्रमा पनि मूर्तिलगायतका कलाकृति उनैको सीपबाट सजिएको गाउँपालिका अध्यक्ष धितालले बताए। खम्बीलाल ले भान्सामा प्रयोग हुने अम्खोरादेखि पहिरनका रूपमा प्रयोग हुने पोते, सिक्काको माला, तिलहरीसम्म काठबाटै बनाएका छन्।
उनले सिंजा क्षेत्रभन्दा बाहिर पनि आफ्नो कलाकृति देखाइसकेका छन्। भर्खरै कालीकोटको जुबिथामा बनेको मन्दिरमा पुरातात्त्विक संस्कृति झल्किने गरी काठको कलाकृति बनाएर सकेका छन्।
अहिले मौलिकता झल्किने कलाकृति पस्किइरहेका खम्बीलालको भावी योजनाचाहिँ काठकै रोबर्ट बनाउने छ। एक दिन उनले रोबर्ट बनाएर हिडाउँने अठोट लिएका छन्। सकेसम्म खस भाषा बोल्ने यन्त्र रोबर्टमै राख्ने सोच उनको छ।
‘रोबर्ट बनाउन त अहिले पनि सक्छु होला, तर त्यसमा चाहिने मेसिन किन्नुपर्छ,’ खम्बीलालले भने, ‘काठकै हिँड्ने रोबर्ट बनाएर त्यसले हाम्रो खस भाषा बोल्न सक्ने गरी काम गर्ने योजना छ।’