यति बेला तिहारको रौनक छ।
यो तिहार कलाकारहरूले कसरी मनाउने सोचेका छन् त? अनि तिहार भन्नेबित्तिकै उनीहरू कस्ता सम्झना ताजा भएर आउँछन्?
हामीले यही कुरा केही कलाकारलाई सोधेका छौं।
वरिष्ठ अभिनेता हरिवंश आचार्यको तिहार काठमाडौंमा बित्दैछ।
सेतोपाटीसँगको भिडिओ कुराकानीमा उनले भने, 'एक जना दिदी अस्ट्रेलियामा हुनुहुन्छ। उहाँसँग भर्चुअल टीका हुन्छ। माइली दिदीको घरमा गएर टीका लगाउँछु। पहिलेजस्तो देउसी-भैलो खेल्न जाने उमेर मेरो छैन। घरपरिवारसँग बस्ने, रमाइलो गरेर तिहार मनाउने योजना छ।'
सहरीकरणसँगै तिहारको पहिलेको जस्तो रौनक अहिले नपाइने गरेको बताए।
'पहिले प्रकृतिसँग रमाउँथ्यौं। अहिले मेसिनसँग रमाउँछौं,’ आचार्यले भने।
अभिनेत्री लक्ष्मी बर्देवाका लागि यस वर्षको तिहार थप विशेष बन्दैछ। उनले दिदीबहिनीहरूसँग टीका लगाउँदै आएकी छन्।
'धेरै वर्षदेखि कान्छी बहिनी र म आपसमा टीका लगाउँदै आएका थियौं। यसपालि विदेशमा रहेकी माइली बहिनी पनि आएकी छ,’ उनले भनिन्, 'तीनजना दिदीबहिनी भएर टीका लगाउँछौं।'
त्यस्तै आफूहरूले सेल, रंगोली बनाउने, रमाइलो गर्ने, घर सजाउने लगायत तिहार-विशेष कामहरू गर्ने उनले बताइन्। देउसी-भैलो खेल्न नपाएको भने केही वर्ष भएको उनले बताइन्।
त्यस्तै अभिनेता नाजिर हुसेनले काठमाडौंमा तिहार मनाउने बताए।
'मामाका छोरीहरू (दिदीहरू) काठमाडौंमै बस्नुहुन्छ। टीकाको दिन उहाँहरूकहाँ जान्छु। बाँकी दिन फिल्म प्रचारमा बितिरहेको हुन्छ,' उनले भने।
मुस्लिम समुदायमा जन्मिएका उनी दुइटा धर्म मान्छन्। दुइटा संस्कार र संस्कृति अपनाउँदा आफू भाग्यमानी भएको महसुस हुने उनी बताउँछन्।
गायिका देवी घर्तीले भने यसपालि टीका लगाउने छैनन्।
'टीका नभए पनि, खान नपाए पार रमाइलो चाहिँ हुन्छ,’ उनले भनिन्, 'घर बागलुङतिर जाने सोचेका छौं।’
तिहार भन्नासाथ गाउँघरको याद आउने उनी बताउँछिन्। बाल्यकालमा राँको बालेर देउसी-भैलो खेल्न हिँडेको खुबै सम्झना आउने उनले बताइन्। लक्ष्मीपूजादेखि भाइटीकासम्मका दिनहरू उनलाई रमाइलो लाग्छ।
अभिनेता जितु नेपालले यसपालि बिहिनीसँग मात्र टीका लगाउँदै छन्। उनकी एक दिदी हाल विदेशमा छिन्। उनी तिहारले छुट्टै उमंग र उत्साह लिएर आउने बताउँछन्।
'झिलिमिली, देउसी-भैलोले वास्तवमै घरमा लक्ष्मी आउन लागेको हो कि जस्तो लाग्छ। तिहारमै मखमली फुल्छ। सयपत्रीको बासना आउँछ। तिहारलाई वास्तवमै रमाइलो चाडका रूपमा लिन्छु,' उनले भने।
अभिनेत्री सृष्टि श्रेष्ठ तिहार भन्नासाथ परिवार, झिलिमिली, सेलरोटी इत्यादीको याद आउने बताउँछिन्। आफ्नो फिल्म रिलिजको तयारीमा रहेकाले यसपालि भने परिवारसँग समय बिताउन नपाउने उनले बताइन्।
'फिल्म प्रमोसनमा समय दिनेछु,’ उनले भनिन्, 'सोही कारण परिवारसँग समय बिताउन नपाउने भएँ।’
गायक खुमन अधिकारीले गृहजिल्ला स्याङ्जामा तिहार मनाउनेछन्।
'घरमा आमा पनि गीत गाउने, दुइटी दिदी पनि गीत गाउने, दाइ पनि गीत गाउने,’ उनी भन्छन्, 'सबै परिवार एकै ठाउँमा जम्मा भएर नाच्ने, गाउने गरेर रमाइलो गर्ने योजनामा छु।’
हेर्नुहोस् कलाकारहरूसँगको कुराकानी पूरा भिडिओमाः