प्राय: फिल्म हेर्दा म त्यसमा आफूलाई पाउँदिनँ।
उपन्यासका पात्रहरूमा यदाकदा म हुन्छु, तर फिल्म? अहँ! म त्यहाँ कहीँ पनि हुन्न।
म, अर्थात् मैले प्रतिनिधित्व गर्ने नयाँ पुस्ता — जेन-जी।
हाम्रो पुस्ताको सोचाइ फरक छ। हाम्रो पुस्ताको सपना फरक छ। हाम्रो पुस्ताको शैली पनि फरक छ। तर फिल्महरूले न हाम्रो सोचाइ झल्काउँछ, न सपना देखाउँछ, न शैली उतार्छ।
फिल्ममा जेन-जी पात्रहरू हुँदै नभएका होइनन्। तर ती पात्र त्यही किलोमा बाँधिएका हुन्छन्, जुन किलोमा हामीलाई सधैं बाँध्न खोजिन्छ।
हाम्रो पुस्ता कुनै पनि बन्धनबिना स्वतन्त्र उड्न चाहन्छ। तर फिल्मले हामीलाई उड्न दिँदैन।
हाम्रो पुस्तालाई सहाराको खाँचो छैन। हामीलाई बुबाआमाको साथ चाहिएको छ, सहारा होइन। हामीलाई प्रेमीको साथ चाहिएको छ, सहारा होइन। तर फिल्मले हामीलाई बुबाआमाको काखमा लुट्पुटिने बालखा बनाउँछ। प्रेमीको अंगालोमा बाँधिएर भावुक हुने गुडिया बनाउँछ।
हामी आफ्नै खुट्टामा उभिने सामर्थ्य राख्छौं। आफ्नो लडाइँ आफै लड्न सक्छौं। तर फिल्मले हामीलाई पुरूषको भरमा उभ्याउँछ। हाम्रो निम्ति लड्न पुरूषहरूलाई नै अघि सार्छ।
हामी चाहे काली हौं वा गोरी, मोटी हौं वा पातली, अग्ली हौं वा होची; हामीलाई हामी जे छौं, त्यही प्यारो छ। तर फिल्मले हामीलाई हाम्रो पहिचान बदल्न सिकाउँछ। गोरी हुनु मात्र राम्रो हो, सुलुत्त पातलो ज्यान हुनु मात्र राम्रो हो, अग्ली हुनु मात्र राम्रो हो भन्ने पाठ पढाउँछ।
यो नेपाली फिल्मको मात्र समस्या होइन। भारतीय, कोरियन वा हलिउड फिल्मको मात्र समस्या होइन। संसारभरका फिल्ममा सामान्यतया मेरो पुस्ताको प्रतिनिधित्व एकदमै कम छ।
तर पछिल्लो समय हेरेको एउटा फिल्मले मेरो यो धारणामा जबर्जस्त धक्का दियो।
कम्तिमा यो एउटा फिल्मले मलाई वा मेरो पुस्तालाई त्यस्तै देखायो, जस्तो हामी छौं।
म कुरा गर्दैछु — डिज्ने मुभिजको 'मोआना' को, जसमा मैले आफ्नो सोचाइ, आफ्नो सपना र आफ्नो शैली देखेँ।
म यो स्टोरीमा मोआनाको प्राविधिक गुण-दोष केलाउँदिनँ। त्यो मेरो क्षमताभन्दा बाहिरको कुरा हो। म यो फिल्मले कसरी हाम्रो पुस्ताको दृष्टिकोण झल्काएको छ, त्यसबारे मात्र तीन बुँदामा चर्चा गर्न चाहन्छु।
पहिलो, शताब्दियौंदेखि हाम्रो समाजलाई जकडेको रंगभेदमाथि यो फिल्मले जोडदार प्रश्न उठाएको छ।
अमेरिका हाम्रो पुस्ताको सपनाको देश हो। मेरै कलेजका धेरै साथीहरू अमेरिका वा युरोप जाने इच्छा पालेर बसेका छन्। तर हाम्रो पुस्ताले ठूलो सपना देखेको अमेरिका कति रंगभेदी छ भने, आज पनि त्यहाँ अश्वेत (कालो/खैरो) वर्णको समुदायलाई दोस्रो दर्जाको नागरिक मानिन्छ। उनीहरूलाई समाजले दिएको दोस्रो दर्जा सिनेमामा पनि प्रशस्तै झल्किन्छ।
यसको उदाहरण डिज्नेकै एनिमेसन फिल्महरू हुन्, जहाँ अक्सर गोरी किशोरी नै मुख्य पात्र हुन्छिन्। अश्वेतहरू या त हुँदै हुँदैनन्, भए पनि कमजोर हुन्छन्। त्यसले मान्छे राम्रो हुन श्वेत (गोरो) हुनुपर्छ भन्ने भावनालाई नै बल पुर्याउँदै आएको छ।
'मोआना' मैले हेरेको पहिलो एनिमेसन फिल्म हो, जसको मुख्य पात्र गोरी छैनन्। हुन त यसअघि पनि डिज्नेले अश्वेत राजकुमारीका फिल्महरू नबनाएको होइन। तर नेपालका सिनेमा हलमा गएर मेरो पुस्ताले सहजै हेर्न पाएको मोआना नै होला।
यो फिल्मको कथा एक टापूकी आदिवासी राजकुमारीको वरिपरि घुम्छ। उनी अश्वेत छिन्, खैरो वर्णकी। उनको कपाल कैलो र सिधा छैन, कालो र घुम्रिएको छ।
गोरो छाला वा सर्लक्क कपाल नभएकी केटी पनि राजकुमारी हुन सक्छिन् भनेर यो फिल्मले संसारलाई देखाएको छ। कसैको सुन्दरता छालाको रङ, कपालको स्वरूप, शरीरको बनावट जस्ता कुराले निर्धारण गर्दैन भन्ने यसले देखाउन खोजेको छ।
यहाँ मोआनालाई यस्तो पात्रका रूपमा उभ्याइएको छ, जसबाट सबै केटाकेटी वा किशोर-किशोरी प्रेरित हुन सक्छन्। जिन्दगीमा आउने हरेक किसिमका चुनौती सामना गरेर अघि बढ्न यिनै राजकुमारीले सिकाउँछिन्।
यस अर्थमा यो फिल्मले मानिसको रङ, रूप र बनावटका आधारमा गरिने भेदभावलाई चुनौती दिएको छ।
त्यही रङ, जसका कारण कयौं मानिसले आफ्नो आत्मविश्वास गुमाएका छन्।
त्यही रूप, जसका कारण कयौं मानिसले अरूको हेपाइ सहनुपरेको छ।
त्यही बनावट, जसका कारण कयौं मानिस पछि परेका छन्।
तपाईंहरूको भोगाइ पनि यस्तै छ भने एकपटक 'मोआना' हेर्नुहोस्। यसले केटाकेटी वा किशोर-किशोरीलाई आफ्नो छालाको रङ जस्तो भए पनि त्यसमै गर्व गर्न प्रेरणा दिन्छ। उनीहरू आफ्नो अनुहारको रङलाई लिएर दु:खी हुने छैनन्। मान्छेको सौन्दर्य अनुहारको रङमा होइन, चेतना र चरित्रमा हुन्छ भन्ने बुझ्न र वास्तविक सौन्दर्य चिन्न सक्ने छन्।
दोस्रो, मोआनाले केटीहरूलाई स्वतन्त्र जीवन बाँच्न र आफ्नो उद्देश्य पछ्याउन सिकाएको छ।
यसअघिका पुराना डिज्ने फिल्महरूमा महिला पात्रलाई सामान्यतया दरबारको शानशौकत र रमझममा मस्त देखाइन्थ्यो। उनीहरू भुइँसम्म लत्रिने राम्रा-राम्रा पोसाकमा सजिएका हुन्थे। सौन्दर्यले भरिएका गुडिया हुन्थे। यस्तो गुडियो, जसको जीवनको कुनै उद्देश्य छैन। जसको जीवनको सार भन्नु नै रमझममा रमाउनु हो।
तर मोआनाको चरित्र त्यस्तो छैन। उनको जीवनको उद्देश्य छ। र, उनी आफ्नो उद्देश्य पूरा गर्न जुनसुकै संकट सामना गर्न तयार छिन्।
फिल्ममा एक राक्षसले समुद्री टापूमा बस्ने मान्छेहरूलाई श्राप दिएका हुन्छन्। त्यही श्रापका कारण ती मानिस एकअर्कासँग भेट्न नपाउने गरी छुट्टिन्छन्। ती मानिसलाई श्रापमुक्त गर्ने जिम्मेवारी मोआनाले लिन्छिन्। उनको जीवनको उद्देश्य ती समुद्री टापूका मानिसको उद्धार गर्नु हो। यसको निम्ति उनी ज्यानको मतलब नगरी राक्षससँग लड्न जान्छिन्।
यो लडाइँमा उनलाई केही साथीहरूले सहयोग त गर्छन्, तर लडाइँको नेतृत्व मोआनाकै हातमा हुन्छ।
फिल्ममा मोआनालाई निडर राजकुमारी देखाइएको छ। उनलाई नेतृत्वमा रूचि छ। नेतृत्व गर्ने क्षमता पनि छ। उनी पल-पलमा आफ्नो नेतृत्व क्षमता देखाउँछिन्। र, आफ्नो उद्देश्यमा सफल भइछाड्छिन्।
तेस्रो, विगतका डिज्ने फिल्म हेर्ने हो भने सामान्यतया एउटा राजकुमार र एउटी राजकुमारी हुन्छन्। हरेकचोटि राजकुमारीलाई आपत पर्दा राजकुमार आएर उसको ज्यान बचाउँछन्। राजकुमारी आफै लड्न-भिड्न सक्दिनन्। फिल्ममा उनको काम भन्नु राजकुमारसँग जिस्किने, उसलाई भरपुर माया गर्ने र संकट पर्दा राजकुमारका अगाडि गएर दु:ख बिसाउने मात्र हुन्छ।
फिल्मको आखिरीमा पनि राजकुमारी पूर्ण रूपले राजकुमारप्रति आश्रित भएर जीवन बिताएको देखाइन्छ। र, त्यसैलाई 'ह्याप्पी एन्डिङ' का रूपमा प्रस्तुत गरिन्छ।
एक महिलाको आत्मविश्वास चकनाचुर पारिएको त्यस्तो एन्डिङलाई के 'ह्याप्पी एन्डिङ' भन्नु!
यस्ता फिल्मले सानैदेखि हाम्रो दिमागमा गलत कुरा भरिदिएका छन्। केटाहरू शारीरिक र मानसिक रूपले बलिया हुन्छन् र केटीहरूले सधैं केटामै निर्भर रहनुपर्छ भन्ने सिकाउँछन्। हामी केटीहरूलाई मायामा लुटपुटिने र सानो सानो कुरामा भावुक भइहाल्ने कमजोर पात्रका रूपमा देखाउँछन्। केही फिल्मले त राम्रा लुगाफाटाको निम्ति मरिहत्ते गर्ने नक्कली पात्रका रूपमा पनि हामीलाई उभ्याउँछन्।
हामी केटीहरूको सामर्थ्य, आत्मविश्वास र क्षमतामाथि नै प्रश्न उठाउने यस्ता फिल्मलाई मोआनाले गलत साबित गरिदिएको छ।
यो फिल्मले राजकुमारी मोआनालाई यति शक्तिशाली र यति आत्मविश्वासी देखाएको छ, उनलाई देखेर हामी केटीहरूको मनमा साहस भरिएर आउँछ।
मोआना आफ्नो उद्देश्यमा अघि बढ्न कसैको सहारा खोज्दिनन्। एक्लै हिँड्छिन्, साथ दिनेहरू उनको पछि लाग्छन्। हामी केटीहरू आफ्नो ज्यान आफै बचाउन सक्छौं र आफ्नो उद्देश्य आफै पूरा गर्न सक्छौं भन्ने सन्देश मोआनाले दिन्छ।
हो, फिल्ममा मैले खोजेको महिला पात्र यस्तै हो — मोआनाजस्तै।
यही डिसेम्बर ११ मा रिलिज भएको यो फिल्म मोआना शृंखलाको दोस्रो भाग हो। तपाईंहरू धेरैले यो फिल्म हेरिसक्नुभयो होला। नहेरेको भए हेर्न सिफारिस गर्छु। खासगरी केटीहरूले त आफूलाई मानसिक रूपले बलियो बनाउन पनि यो फिल्म हेर्नैपर्छ।
बुबाआमाहरूलाई पनि मेरो विशेष अनुरोध छ — तपाईंहरू छोरी कसरी हुर्काउने भनेर सिक्न यो फिल्म अवश्य हेर्नुहोला। र, साथमा आफ्ना छोरीहरूलाई पनि देखाउन लैजानुहोला।
किनभने, यो फिल्मले हामी छोरीहरूलाई आफू भएर बाँच्न सिकाउँछ। सपना देख्न सिकाउँछ। र, त्यो सपना पछ्याउने तागत दिन्छ।
***