गुड फ्राइडे सिनेमा
आज गुड फ्राइडे सिनेमामा हामी तपाईंहरूलाई हालै जन्मोत्सव मनाएको फिल्म सिफारिस गरेका छौं। मंगलबार बीस वर्ष पूरा गरेको यो फिल्म उत्कृष्ट हिन्दी फिल्ममध्ये एक हो।
सत्य घटनामा आधारित यो फिल्म पुरानो भए पनि यसको सान्दर्भिकता र चर्चा अहिले झनै बढी छ। यसलाई समीक्षकहरूले कालजयी फिल्म मानेका छन्।
हामी कुरा गर्दैछौं प्रेरणादायी फिल्मको सूचीमा अग्रस्थानमा पर्ने फिल्म 'स्वदेश' को।
पछिल्लो समय संसारभर बसाइसराइ र बिदेसिने प्रवृत्ति बढ्दै जाँदा यो फिल्मको चर्चा झन् बढी हुन थालेको हो।
यो फिल्ममा त्यस्तो के छ त?
यसको कथा मोहन भार्गवबाट सुरू हुन्छ। गैरआवासीय भारतीय नागरिक मोहन अमेरिकाको नासामा काम गर्ने एक होनहार वैज्ञानिक हुन्। उनी आफ्नो करिअरको उत्कर्षमा हुन्छन्।
त्यही बेला उनको मनमा भने एक किसिमको सन्नाटा छाइरहेको हुन्छ। दुर्घटनामा धेरै पहिले आमाबुबा गुमाएका उनलाई आफू आफन्तहरूबाट टाढा भएको महसुस हुन्छ। आफूलाई पाल्ने हजुरआमा कावेरी अम्मालाई भेट्ने उनलाई मन हुन्छ।
उनी नासाको कामबाट बिदा मागेर भारत आउँछन्। कावेरी आमालाई खोज्दै उत्तर प्रदेशको चरनपुर गाउँ पुग्छन्। त्यहाँ बसोबास गरिरहेकी कावेरी अम्मासँग भेट्ने क्रममा मोहनले गाउँको सामाजिक र आर्थिक समस्याहरू नजिकबाट अनुभव गर्छन्।
गाउँमा व्याप्त जातीय विभाजन, गरिबी र आधारभूत सुविधा अभावले उनलाई गाउँप्रतिको जिम्मेवारीबोध गराउँछ। गाउँका समस्या सम्बोधन गर्दै लघु जलविद्युत परियोजना स्थापना गरेर गाउँलाई उज्यालो बनाउँछन्। यस क्रममा उनी आफ्नी बाल्यकालकी साथी गीतासँग भावनात्मक रूपमा नजिकिन्छन् पनि।
अब गाउँमा यसरी भिज्न थालेका मोहन के गर्छन्?
के उनी नासामा काम गर्न अमेरिका फर्केलान्? वा समस्याहरूबीच गाउँमै बस्छन्?
उनको प्रेम कथाले कुन मोड लेला?
यी सबै जान्न फिल्म नै हेर्नुपर्छ।
'स्वदेश' समाजका चिरपरिचित समस्यासँग जुध्न प्रेरणा दिने फिल्म हो। शिक्षा, सामाजिक एकता र ग्रामीण विकासको महत्त्व उजागर गर्ने यो फिल्मले मानिसहरूलाई आफ्नो समुदाय र मातृभूमिप्रतिको जिम्मेवारीबोध गर्न उत्प्रेरित गर्छ।
मोहन भार्गवको भूमिकामा शाहरूख खान छन्। उनको जीवन्त प्रस्तुतिले फिल्म दमदार बनाएको छ। गायत्री जोशीले गीताका रूपमा शिक्षित, सशक्त र उद्देश्यप्रति समर्पित महिलाको भूमिका निर्वाह गरेकी छन्।
निर्देशक आशुतोष गोवारिकरको कुशल निर्देशन, एआर रहमानको उत्कृष्ट संगीत, कलाकारहरूको सशक्त अभिनय र सामाजिक सन्देशका कारण 'स्वदेश' सदावहार र कालजयी फिल्म बनेको छ।