गुड फ्राइडे सिनेमा
चिनियाँ फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा ख्याति दिलाउने श्रेय त्यहाँका पाँचौं पुस्ताका निर्देशकहरूलाई दिइन्छ। जापानसँगको युद्ध, दोस्रो विश्वयुद्ध र सांस्कृतिक क्रान्तिजस्ता घटनाले चीनको आधुनिक इतिहासमा ठूलो उथलपुथल ल्याएको छ।
सन् १९८० दशकको मध्यतिर सक्रिय पाचौं पुस्ताले यस्तै विषयमा फिल्म बनाएर इतिहास र समाजलाई हेर्ने प्रयास गरे। क्रान्ति र परिवर्तनको उज्याला-अँध्यारा पाटाहरूलाई आम मानिसको भोगाइको कसीमा राखेर हेर्ने प्रयास गरे।
बेइजिङ फिल्म एकेडेमीबाट सन् १९८२ मा ग्र्याजुएट भएको यो पुस्ता यसअघिको समयका सर्जकभन्दा तुलनात्मक रूपमा स्वतन्त्र थिए। चीनको सांस्कृतिक क्रान्तिपछि राज्यकै पहलमा सन् १९७८ मा बेइजिङ फिल्म एकेडेमी सक्रिय भयो। त्यहीँ पढेको यो पुस्ताले चिनियाँ फिल्मलाई विदेशी दर्शक, समीक्षक र बजारसम्म पुर्याउन स्तरीय फिल्महरू बनाए।
इतिहास, संस्कृति र साहित्यको जगमा कथा भन्ने यो पुस्ताका निर्देशकहरूले संगीत, सिनेमाटोग्राफी, रङ संयोजनदेखि फिल्म निर्माणका सैद्धान्तिक र प्राविधिक पक्षहरूमा पनि नयाँ प्रयोग गरे। उनीहरूको प्रयोगको चर्चा बर्लिन, कान र ओस्करजस्ता ठूला महोत्सवसम्म पुग्यो। उनीहरूका काम पुरस्कृत हुन थाले।
पाचौं पुस्ताका निर्देशकमध्ये निरन्तरता र चर्चाका हिसाबले सबभन्दा अगाडि आउने नाम हो झांग यिमो। चीनको फिल्मलाई पहिलो पटक स्करमा पुर्याउने श्रेय उनलाई जान्छ। विदेशी भाषातर्फको उत्कृष्ट फिल्म विधामा उनका फिल्महरूले पटक पटक अस्करका लागि प्रतिस्पर्धा गरेका छन्।
चीनको कथा र कलालाई अन्तर्राष्ट्रिय बजारमा लैजान आज पनि उनी निरन्तर सक्रिय छन्। उनले २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिकको उद्घाटन र समारोह सत्रको निर्देशनसमेत गरेका थिए।
आज गुड फ्राइडे सिनेमामा हामीले यिनै झांग यिमोको 'जु डोउ' फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा अंग्रेजी सबटाइटलसहित उपलब्ध छ।
फिल्मको केन्द्रमा जु डोउ, तिउचिंग र उनका काका यांग जिन्सांग छन्। यांग जिन्सांग कपडा रंगाउने कारखानाका मालिक हुन्। तिउचिंग काममा गएकै बेला काकाले तेस्रो पत्नी जु डोउलाई किनेर ल्याएका हुन्छन्। आफ्नो उमेरभन्दा निकै सानी श्रीमतीमाथि काकाले दिने यातना तिउचिंगबाट लुक्दैन। तर उनी आफ्नो काकाविरूद्ध चूँसम्म गर्न सक्दैनन्।
बिहे गर्ने उमेर ढल्किन लागिसकेको तिउचिंगसँग आफै श्रीमती किन्ने ल्याकत छैन। बरू, उनी काकीले नुहाउने बेला लुकीलुकी चिहाउँछन्।
जु डोउलाई तिउचिंगको यो व्यवहार मन पर्दैन। तर पनि आफ्ना क्रुर श्रीमानभन्दा उनलाई तिउचिंग नै ठीक लाग्छ। बिस्तारै यी दुई पात्र प्रेममा पर्छन्।
जो डोउले तिउचिंगको बच्चालाई जन्म दिन्छिन्। उनका श्रीमान यांग र समाजको नजरमा त्यो यांगकै बच्चा हुन्छ। बच्चाको जन्मसँगै हरेक पात्रको एक अर्कासँगको सम्बन्ध के भन्ने प्रश्न तिक्खर बन्दै आउँछ।
छोरा जन्मेकोमा गर्व गर्ने यांग पहिल्यै क्रुर मान्छे हुन्। श्रीमती र भतिजको प्रेम सम्बन्धबारे थाहा पाएपछिको उनको प्रतिक्रिया कस्तो होला? प्रेम सम्बन्धबाट जन्मिएको सन्तानलाई जन्म दिँदा हर्षले फुलेकी जो डोउ श्रीमान, छोरा र समाजका नैतिक प्रश्नको सामना कसरी गर्लिन्? तिउचिंगले यो जटिलताबाट आफू र जो डोउलाई निकाल्न सक्लान्?
निर्देशकले यी पात्रबीचको सम्बन्धको जटिलता फिल्ममा नाटकीय तर रोचक शैलीमा देखाएका छन्। यो फिल्म लिउ हेंगको चर्चित उपन्यास 'फू सी, फू सी' आधारित छ।
चाहना, आकांक्षा र प्रतिशोध मिसिएको यो फिल्मले महिलाको अस्तित्व र नियतिको विडम्बनाको कथा एकै पटक भनेको छ। फिल्मको कथा जति रोचक छ, अभिनय त्यति नै सशक्त छ। निर्देशकले कपडा रंगाउने कारखानाको गतिविधिलाई कुशलतापूर्वक देखाएका छन्।
अस्करमा मनोनित यो फिल्म झांगले यांग लिंगसँगको सहनिर्देशनमा बनाएका हुन्। फिल्मले कान फिल्म महोत्सवमा लुई बुनुएल पुरस्कार जितेको थियो।
फिल्म हेर्न Watch on Youtube मा क्लिक गर्नुहोस्।