तपाईंले आउँदो चैत १ गते प्रदर्शन सुरू हुने नेपाली फिल्म 'राजागन्ज' को टिजर हेर्नुभएको छ?
छ भने एउटा नाम पक्कै देख्नुभयो होला, जुन सिनेप्रेमीहरूको निम्ति नौलो होइन, तर उनी नेपाली फिल्ममा जोडिएको पहिलोपटक हो।
उनी हुन्, चर्चित बलिउड निर्देशक अनुराग कश्यप।
केही समयअघि मीन भाम निर्देशित 'शाम्बाला' को प्रिमियरमा भाग लिन काठमाडौं आएका अनुराग यसपालि दिपक रौनियार निर्देशित 'राजागन्ज' बाट नेपाली फिल्म निर्माणमा प्रत्यक्ष रूपले जोडिएका छन्। राजागन्जमा उनको नाम 'कार्यकारी निर्माता' का रूपमा प्रयोग गरिएको छ।
बलिउडमा मूलधारभन्दा फरक सिनेमा बनाउने अनुरागले ब्ल्याक फ्राइडे, देव-डी, ग्याङ्स अफ वासेपुर, मनमर्जियाँ, केनेडी लगायतका फिल्म निर्देशन गरेका छन्। त्यसअघि उनले लेखेको 'सत्या' लाई मुम्बई अन्डरवर्ल्डमाथि बनेको प्रतिनिधि सिनेमा मानिन्छ।
बलिउडका यी चर्चित लेखक-निर्देशक तथा अभिनेता नेपाली फिल्म निर्माणसँग कसरी जोडिए त?
हामीले यसबारे राजागन्जका निर्देशक दिपक रौनियारसँग कुराकानी गरेका छौं।
यो कथा आजभन्दा करिब ९ वर्षअघि सुरू हुन्छ, जब सिंगापुरमा दिपक र अनुरागको पहिलो भेट भयो।
त्यस वर्ष दिपकको अघिल्लो फिल्म 'सेतो सूर्य' (ह्वाइट सन) सिंगापुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उत्कृष्ट सूचीमा परेको थियो। उनको फिल्मले अवार्ड पनि जित्यो। त्यही समारोहमा दिपकले पहिलोपटक अनुरागलाई भेटेका थिए।
'म लामो समयदेखि अनुरागको प्रशंसक थिएँ। उनको फिल्म बनाउने शैली र उनले देखाउने कथाहरू मलाई एकदमै मनपर्छन्। एक किसिमले भन्दा म अनुरागलाई आफ्नो प्रेरणाका रूपमा लिन्छु,' दिपकले हामीसँगको कुराकानीमा भने, 'जसको फिल्म हेरेर मैले सिक्दै आएँ, उनलाई प्रत्यक्ष भेटेर कुरा गर्न पाउनु मेरो निम्ति खुसीको कुरा थियो।'
पहिलोचोटि भेट्दासम्म अनुराग दिपकको कामसँग परिचित थिएनन्। सिंगापुर महोत्सवमा अवार्ड जितेको 'सेतो सूर्य' पनि उनले हेर्न पाएका थिएनन्।
यो थाहा पाउनेबित्तिकै दिपकले उनलाई आफ्नो फिल्म हेर्न आग्रह गरे।
त्यसपछि अनुरागबाट पाएको प्रतिक्रिया र त्योभन्दा बढी अनुरागको न्यानो र कसिलो अंगालो दिपकले आजसम्म भुलेका छैनन्।
'उनले सिंगापुरमा जसरी मलाई कसिलोसँग अंगालो मारे र जसरी मेरो पिठ थप्थपाए, त्यो मेरो निम्ति महोत्सवमा अवार्ड जित्नुभन्दा ठूलो सम्मान थियो,' दिपकले भने।
अनुरागले त्यति बेलै 'भेराइटी' पत्रिकासँगको अन्तर्वार्तामा सेतो सूर्यको तारिफ गरेका थिए। काठमाडौं भ्रमण क्रममा पनि उनले केही नेपाली फिल्म हेरेको जानकारी दिँदै सेतो सूर्य हेरेपछि दिपक रौनियारको फ्यान भएको बताएका थिए।
'उनले मेरो कामको तारिफ मात्र गरेनन्, मिल्यो भने कुनै दिन नेपाली फिल्ममा सहकार्य गर्ने इच्छा पनि देखाए,' दिपकले भने, 'हामीले सिंगापुरमा केही समय सँगै बितायौं, लामो लामो पैदल यात्रा गर्यौं। ती यात्रामा फिल्म निर्माणसँग जोडिएका अनेक विषयमा कुराकानी भयो।'
त्यति बेला दिपक राजागन्जको स्क्रिप्ट लेख्दै थिए। फिल्मको खाका बनिसकेको थियो। जब स्क्रिप्ट तयार भयो, दिपकले राजागन्जको निर्माणमा सहकार्य गर्न अनुरागसँग प्रस्ताव राखे।
अनुरागलाई फिल्मको आइडिया मनपर्यो। उनी कार्यकारी निर्माताका रूपमा जोडिन तयार भए।
'फिल्म निर्माणमा उनले राम्रो सहयोगीको भूमिका खेले,' दिपकले भने, 'अनुरागसँगको सहकार्य मेरो निम्ति एउटा महत्वपूर्ण सिकाइ भयो।'
अनुरागले पनि राजागन्जको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै यो फिल्मसँग जोडिन पाउनु आफ्नो निम्ति गर्वको विषय भएको बताएका छन्।
![Anurag-1739258608.jpeg](https://www.setopati.com/uploads/posts/Anurag-1739258608.jpeg)
राजागन्ज दिपकको तेस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेको 'हाइवे' र 'सेतो सूर्य' ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। राजागन्जले पनि भेनिस, बुसान लगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चर्चा बटुलिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा यो फिल्म 'पूजा सर' नामले प्रदर्शन गरिएको थियो।
राजागन्ज मधेस आन्दोलनको पृष्ठभूमिमा बनेको दिपक बताउँछन्। साहसी महिलाहरूको कथा भन्ने यो फिल्ममा केन्द्रीय भूमिकामा महिलाहरू नै छन्। फिल्ममा मधेसको एक सीमावर्ति सहरबाट दुई जना बालकको अपहरण हुन्छ र त्यसमा अनुसन्धान गर्न काठमाडौंबाट प्रहरी खटाइन्छ। फिल्मको मूलपात्र पूजा तिनै काठमाडौंबाट खटिएकी प्रहरी अधिकृत हुन्।
अनुसन्धानकै क्रममा मधेस आन्दोलन चर्किन्छ। त्यसबीच अपहरित बालकहरू पत्ता लगाउन पूजाले मधेसकी स्थानीय महिला प्रहरी ममताको मद्दत लिन्छिन्।
यो फिल्मले मधेस आन्दोलनदेखि त्यहाँको राजनीति, समाज र नेतृत्व भूमिकामा पुगेका महिलाले झेल्नुपर्ने विभेदको घटना झल्काउँछ।
फिल्ममा आशा मगराती र निकिता चण्डक केन्द्रीय भूमिकामा छन्। त्यसबाहेक ऋचा शर्मा, गौमाया गुरूङ, आरती मण्डल, पशुपति राई, दयाहाङ राई, विजय बराल लगायतको मुख्य भूमिका छ।
'म सुरूदेखि नै नेपाली फिल्मको बजार विस्तार होस् र यसले अन्तर्राष्ट्रिय एक्सपोजर पाओस् भन्ने चाहन्थेँ,' दिपकले भने, 'अनुरागसँगको सहकार्यले भारतीय बजारमा नेपाली फिल्म प्रवर्द्धन गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्छ।'
नेपाली फिल्मको निम्ति भारत ठूलो बजार भएकाले राम्रो सहकार्य गर्न सके दुवै पक्षलाई लाभ हुने उनी बताउँछन्।
यही सहकार्य निम्ति दिपकले राजागन्जमा भारतीय अभिनेत्री तनिष्ठा चटर्जीलाई पनि अनुबन्ध गरेका थिए। तर फिल्मको सुटिङ केही समय ढिला भएपछि अनुष्ठाको समय मिलेन।
'भारत हाम्रो सबभन्दा नजिकको छिमेकी मात्र होइन, धार्मिक, सामाजिक र भाषिक रूपमा पनि हामी घनिष्ठ छौं। भारतको ठूलो जनसंख्या नेपाली फिल्मको निम्ति एउटा विशाल बजार र अवसरको सम्भावना हो,' उनले अगाडि भने, 'भारतीय सिनेमा जसरी सहज रूपमा नेपाल प्रवेश गर्छ, नेपाली फिल्महरू उस्तै सहज रूपमा भारत जान सकेको छैन।'
पछिल्लो समय संसारका धेरै देशसँग भारतले सह-निर्माण सम्झौता गरे पनि नेपालसँग अहिलेसम्म नभएकाले नेपाली सिनेकर्मीहरूले त्यो सम्भावना उपयोगको प्रयास गर्नुपर्ने उनी बताउँछन्।
'नेपाली सिनेमा निर्माणको सुरूआत भारतमा काम गरेर आएका फिल्मकर्मीहरूको संलग्नताबाटै भएको थियो। त्यसयता हामीले भारतसँग गहिरो सहकार्य गर्न सकेका छैनौं। सहकार्यको सम्भावना खोल्ने प्रयासस्वरूप नै हामीले अनुराग कश्यपसँग सह-निर्माणको हात बढाएका हौं,' उनले भने।
अनुरागसँग अर्को फिल्मको आइडियामा पनि छलफल चलिरहेको उनले जानकारी दिए।
'हामी भविष्यमा पनि अनुरागसँग सहकार्य गर्न इच्छुक छौं,' दिपकले भने, 'उनलाई आइडिया मन पर्यो भने हामी छिट्टै अर्को फिल्म घोषणा गर्नेछौं।'
'जसको कामको तपाईं प्रशंसक हुनुहुन्छ र जो तपाईंको काम मनपराउँछ, त्यस्तो व्यक्तिसँग मिलेर फिल्म बनाउन पाउनु मेरो निम्ति खुसीको कुरा हो। हाम्रो सहकार्यले भारतीय बजारमा नेपाली फिल्मको सम्भावना उपयोग गर्न एउटा इँटा थप्यो भने सबभन्दा ठूलो उपलब्धि त्यही हुनेछ,' उनले भने।
***