यदि अवस्था सामान्य हुन्थ्यो भने यतिबेला युट्युबमा हरेक दिन दसैं विशेष गीतहरू सार्वजनिक हुन्थे। थुप्रै कलाकारहरूले दसैंको अवसर पारेर अन्य सदाबहार गीतहरू पनि सार्वजनिक गर्थे।
जानकारहरूको अनुमानअनुसार सामान्य अवस्थामा दैनिक १० वटाभन्दा बढी गीत युट्युबमा सार्वजनिक हुन्थे। तर पछिल्ला घटनाक्रमले देशव्यापी असर पार्दा त्यसको प्रभाव नेपाली संगीत क्षेत्रमा पनि पर्यो।
सामाजिक सञ्जाल प्रतिबन्धका कारण रिलिजका लागि तयार थुप्रै गीतहरू रोकिएका थिए। त्यसपछि जेनजी आन्दोलन र त्यसबाट उत्पन्न असहज परिस्थितिले गर्दा तयार भइसकेका गीतहरू पनि सार्वजनिक हुन पाएनन्। नयाँ गीतहरू रेकर्डिङ हुने क्रम पनि ठप्प थियो। अब भने अवस्था क्रमशः सामान्यतर्फ फर्किन थालेसँगै रोकिएका गीतहरू सार्वजनिक हुन थालेका छन् भने गायक–गायिका पनि स्टुडिओमा फर्किन थालेका छन्।
१० दिनअघि नै सार्वजनिक हुने तयारीमा रहेको सुजन चापागाईँको स्वरमा रहेको गीत 'यो ज्यान बलिदान' मंगलबार मात्रै सार्वजनिक भयो। त्यस्तै, तृष्णा गुरूङको रोकिएको गीत 'लै बरी लै बरी' आउँदो शुक्रबार सार्वजनिक हुनेछ।
खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको 'गास कहाँ होला' पनि मंगलबार नै दर्शक तथा श्रोतामाझ आएको छ। प्रताप दास, समीक्षा अधिकारी, शान्तिश्री परियारलगायतका चर्चित गायक–गायिकाका कतिपय गीतहरू अझै रोकिएका छन्।
कलाकारहरू अहिले पनि मुलुकको राजनीतिक घटनाक्रममा सबैको ध्यान केन्द्रित रहेको महसुस गर्छन्। यसले गर्दा तयार भइसकेका गीतहरू पनि निर्धक्क भएर सार्वजनिक गर्न सकिरहेका छैनन्। कलाकारहरूको युट्युबसहितका सामाजिक सञ्जाल व्यवस्थापक र सल्लाहकारका रूपमा काम गर्दै आएका राजेन्द्र अर्याल अपलोडका लागि तयार थुप्रै गीतहरू रोकिएको बताउँछन्। 'मसँग जोडिनुभएका ७/८ जना कलाकारहरूका गीत रोकिएका छन्,' अर्यालले भने, 'अब एक–दुई दिनमा क्रमशः सार्वजनिक होलान्।'
जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका रेकर्डिङ स्टुडिओहरू खुलिसकेका छन्। त्योसँगै गायक–गायिका पनि रेकर्डिङमा फर्किन थालेका छन्। पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफू रेकर्डिङको काममा फर्किएको बताइन्। उनले वेभ नेपाल स्टुडियोमा एउटा दसैं गीत रेकर्ड गराएकी छन्।
'कश्मिरे पछ्यौरी', 'मायालाई पानको पात' जस्ता सुपरहिट गीतकी गायिका दीपिका वयाम्बुले पनि आफू रेकर्डिङमा फर्किएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। रेकर्डिङका काम सुरू भए पनि पहिलेको जस्तो माहोल भने बनिसकेको छैन।
मालाश्री रेकर्डिङ स्टुडिओका प्रबन्ध निर्देशक शम्भु कुँवरले भने, 'हाम्रोमा आन्दोलनले बन्द हुनुअघि धमाधम दसैं गीतको काम बढी भइरहेको थियो। अहिले स्टुडिओ खुलेपछि पेन्डिङमा रहेका तिनै गीतको काम भइरहेको छ। कतिपयले तिहार गीतको समेत काम थाल्नुभएको छ।' स्टुडिओ खुलेपछि नयाँ दसैं गीतको काम भने खासै नभएको उनले बताए।
गायक हेमन्त शर्मा देशको अहिलेको परिस्थितिले सोचमग्न अवस्थामा रहेको बताउँछन्। 'पेशागत मर्यादा र रोजीरोटी जोडिएका कारण सांगीतिक गतिविधिमा फर्किनुपर्यो,' उनी भन्छन्, 'तर निर्धक्क भएर गीत ल्याइहाल्ने अवस्था चाहिँ बनिसकेको छैन। यस्तो अवस्थामा खुलेर काममा फर्किन पनि सकिँदो रहेनछ।'
गत वर्ष दसैंमा शर्माको गीत 'आउँथ्यो दसैं' सर्वाधिक चर्चामा थियो। यसपालि पनि उनले अफिसियल दसैं तिहार गीत ल्याउने योजना बनाएका थिए। 'गीत रेकर्डिङका लागि तयार थियो। तर त्यहीबेला सामाजिक सञ्जाल प्रतिबन्ध र त्यसपछि आन्दोलन सुरू भयो,' उनले भने, 'अब यसपालि अफिसियल दसैं गीत नल्याउने निर्णयमा पुगें।' आन्दोलनअघि भिडिओसहित तयार आफ्नो स्वरमा रहेको एउटा गीत पनि केही दिनमा सार्वजनिक हुनसक्ने शर्माले सुनाए।
अहिलेका व्यस्त कोरियोग्राफर तथा निर्देशक मौसम हिमाली म्युजिक भिडिओ छायांकनको काम पनि सुरू हुन लागेको बताउँछन्। उनी एउटा भिडिओ छायांकनका लागि बिहीबार मुस्ताङ जाने तयारीमा छन्।
'थुप्रै भिडिओको काम पेन्डिङमा छ। अब काम गरौं है भनेर सम्बन्धित गीतका कलाकारहरूले भनिरहनुभएको छ,' उनले भने।
एकाध गीत सार्वजनिक भए, तर चर्चाविहीन बने
पछिल्लो समय युट्युबमा गीतहरू खासै सार्वजनिक भएनन्। एकाधले सार्वजनिक गरे पनि अपेक्षित चर्चा पाउन सकेनन्। नेपाल आइडल ६ विजेता गंगा सोनामको स्वरमा १० दिनअघि ‘गुनासो’ बोलको गीत सार्वजनिक भएको थियो। तर, उक्त गीतले राम्रो भ्युज पाउन सकेको देखिँदैन।
६ जना चर्चित लोकगायकको स्वरमा ११ दिनअघि ‘साथी’ बोलको गीत सार्वजनिक भएको थियो। कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा, राजु गुरूङ, अर्जुन सापकोटा, घनश्याम रिजाल, प्रकाश पराजुलीले स्वर दिएको उक्त गीतले १ लाख पनि भ्युज पाउन सकेको देखिँदैन।
केही दिनको सामाजिक सञ्जाल प्रतिबन्ध र त्यसपछि जेनजीको आन्दोलनको असर गीतको भ्युजमा समेत परेको देखिन्छ। दिनेश श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा रहेको 'यो दसैं त रम्म र झम्म' को भ्युज पनि निराशाजनक छ। कतिपयले यसअघि अपलोड भइसकेको दसैं गीत फेरि सार्वजनिक गरेका छन्। गायिका विष्णु माझीले समेत विगतको दसैं गीत 'परदेशी मेरो परदेशी' यसपालि पुनः युट्युबमा अपलोड गरेकी छन्।
जेनजी आन्दोलनको असर सांगीतिक कन्सर्टहरूमा समेत परेको छ। कतिपयले कन्सर्टहरू स्थगित समेत गरेका थिए।