नेकपा (एमाले) की नेता विन्दा पाण्डेलाई पारिजात संघर्षशील महिला सम्मान २०८१ प्रदान गरिएको छ।
साहित्यकार पारिजात स्मृति केन्द्रले शुक्रबार उनको स्मृतिमा गरेको कार्यक्रममा पाण्डेलाई उक्त सम्मान दिइएको हो।
पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले संघर्षशील महिलाहरूमध्ये सांगठनिक रूपले भूमिगत कम्युनिस्ट भएर गरेको अथक राजनीतिक संघर्षको मूल्यांकनस्वरूप उक्त सम्मान पाण्डेलाई दिने निर्णय गरेको थियो।
त्यस्तै पाण्डे पार्टीको आन्तरिक लोकतन्त्रको पक्षमा उभिँदै आएकाले त्यसको कदर स्वरूप पनि सम्मानित गरेको बताएको छ।
एमाले स्थायी कमिटी सदस्य रहेकी पाण्डेलाई पार्टीले निलम्बन गरेको छ।
व्यवसायी मीनबहादुर गुरूङसँग दातव्यस्वरूप १० रोपनी १४ आना जग्गा लिने पार्टी सचिवालयको निर्णयविरूद्ध बोल्दै हिँडेको भन्दै उनलाई पुस १० गतेको बैठकले निलम्बन गरेको थियो।
सचिवालय बैठकले गरेको त्यस निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको भए पनि पत्र दिएको थिएन। उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पनि निलम्बन गरिएको थियो। दुवैले निलम्बनको औपचारिक जानकारी भने पाएका छैनन्।
पार्टीभित्र बोल्न पाउने हकको पैरवी गरेको भन्दै पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले पाण्डेलाई पुरस्कारका लागि योग्य ठहर्याएको हो।
पारिजात स्मृति केन्द्रले पारिजात सृजन सम्मान २०८१ बिना थिङलाई प्रदान गरेको छ। पारिजात बालसाहित्य सम्मान २०८१ बाल साहित्यकार तेजप्रकाश श्रेष्ठ र पारिजात कला सम्मान २०८१ चित्र तथा मूर्तिकार उत्तम डंगोललाई प्रदान गरिएको छ।
नेपाली साहित्यका कविता र कथा विधामा वर्गीय, लैङ्गिक र पहिचान पक्षधर लेखनमा गरेको योगदानको कदर गर्दै थिङलाई पारिजात सृजन सम्मान २०८१ द्वारा सम्मान गरिएको स्मृति केन्द्रले बताएको छ।
बाल साहित्यका क्षेत्रमा गरेको बहुआयामिक योगदानको कदर गर्दै पारिजात बालसाहित्य सम्मान २०८१ बाट तेजप्रकाश श्रेष्ठलाई सम्मान गरिएको पनि केन्द्रले बताएको छ।
उत्तम डंगोलले पनि चित्र तथा मूर्तिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको केन्द्रले बताएको छ।