गुड फ्राइडे सिनेमा
एक अनाथ बालक सत्या अरूको घरमा काम गर्न बसेका हुन्छन्।
एक दिन उनका मालिकले श्रीमतीको हत्या गर्छन् र आरोप सत्यालाई लगाएर फसाउँछन्। सत्यालाई बाल सुधार गृह पठाइन्छ। त्यहाँ उनले एक वार्डेनसँग मित्रता गर्छन्।
तिनै वार्डेनको मद्दतमा सत्या प्रहरी बन्छन्।
सत्या बाल सुधार गृहका वार्डेनबाट सिकेका इमानदारीका पाठहरू सम्झिरहन्छन्। प्रहरी सेवामा पनि त्यही मार्ग अपनाउँछन्। उनको कार्यालयका अन्य प्रहरीहरू घुस खान्छन्।
सत्या इमानदार भएकाले उनी त्यो समूहमा हुँदैनन्। उनी प्रायः चुपचाप एक्लै बस्छन्। उनलाई विभागमा कसैले मनपराउँदैनन् पनि।
यी सबका बाबजुद सत्या आफ्नो बाटोबाट विचलित हुँदैनन्। उनी आफू प्रहरी भएकामा गर्व गर्छन् — कमजोरहरूलाई सुरक्षा दिन्छन्, अन्याय विरूद्ध उभिन्छन्।
उनको जीवन यसरी नै सामान्य तरिकाले चलिरहेको हुन्छ।
एक दिन बस चढेका बेला उनको बन्दुक हराउँछ। उनी चोरलाई पछ्याउँदै जान्छन्, तर फेला पार्न सक्दैनन्।
त्यस दिन हराएको त बन्दुक मात्र थियो। त्यसले बढीमा सत्या जागिरबाट निलम्बित हुन सक्थे। तर त्यसो हुँदैन। बन्दुकसँगै सत्याको इमान, करिअर र नियतिको दिशा पनि हराउँछ।
केही दिनमै सहरको एक शान्त बैंकमा लुटपाट हुन्छ। लुटेराहरूले सबै कुरा योजनाबद्ध तरिकाले गरेका हुन्छन्। तर त्यहाँ अचानक लुटपाटसँगै एक जनाको हत्या हुन्छ।
अनि सुरू हुन्छ कथाको रोचक र भयानक मोड।
यहाँ सत्या र लुटेरा समूहको कथा सँगसँगै अगाडि बढ्छ।
के सत्याले आफ्नो बन्दुक फेला पार्छन्?
सत्या र लुटेराबीच आखिर केही सम्बन्ध हुन्छ?
उनलाई सानोमा हत्या आरोपमा फसाएका व्यक्तिको के हुन्छ?
यो सबै थाहा पाउन लागि तमिल फिल्म '८ थोट्टक्कल' हेर्नुहोला। थोट्टक्कलको अर्थ हो बन्दुकको गोली।
फिल्मको नाम ८ वटा बन्दुकको गोली किन राखियो भन्ने थाहा पाउन पनि यो क्राइम थ्रिलर फिल्म नै हेर्नुहोला।
फिल्म हेर्न Watch on Youtube मा क्लिक गर्नुहोला।