द कन्भरसेसन– ४५
सिनेमा होस् वा उपन्यास वा समाचार-फिचर; त्यो एउटा निश्चित ढाँचामा लेखिएको हुन्छ।
त्यसमा सुरूआत हुन्छ, जहाँ पात्र वा घटनाको पृष्ठभूमि बुनिन्छ।
मध्य हुन्छ, जहाँ पात्रको उद्देश्यमा अवरोध आउँछ; घटनाक्रमहरूबीच संघर्ष हुन्छ।
र अन्त्य हुन्छ, जहाँ पात्रको जीवन वा घटनाक्रम एउटा टुंगोमा पुग्छ।
लेखनको यो ढाँचालाई 'थ्री एक्ट स्ट्रक्चर' भन्ने चलन छ।
मान्छेको जीवनयात्रा पनि लगभग यही ढाँचामा अगाडि बढ्छ।
अभिनेता राजेश हमालसँगको सवा दुई घन्टा अन्तर्वार्ता पनि यही लयमा भयो।
मैले उनको जीवनको पहिलो अध्यायबाट कुराकानी सुरू गरेँ — राजेश हमाल आज जे छन्, जस्ता छन्, त्यस्ता किन छन्?
राजेशको सुरूआती जीवन हेर्ने हो भने आमनेपालीको भन्दा बिल्कुलै फरक छ। उनी पाल्पाको गाउँमा जन्मे। केही महिना नबित्दै काठमाडौं ल्याइए। र, केही वर्ष नबित्दै पाकिस्तानको इस्लामाबाद पुर्याइए। त्यहाँबाट भारतको दिल्ली पुगे, अनि दिल्लीबाट तत्कालीन सोभियत संघको मस्को।
उनका पिता परराष्ट्र मन्त्रालयको कूटनीतिक सेवामा थिए। विभिन्न देशका दूतावासमा उनको सरूवा हुन्थ्यो। जागिरले बुबालाई जहाँ जहाँ लग्यो, राजेश त्यहीँ त्यहीँ पुगे।
घुमन्ते पर्यटकजस्तो एक देशबाट अर्को देश पुगेका राजेशले कम उमेरमै फरक फरक संस्कृति र फरक फरक परिवेशसँग घुलमिल हुने मौका पाए। त्यसले उनको चेतनाको दायरा फराकिलो बनायो। उनले किशोरावस्था पुग्दासम्म ती सबै किसिमको समाज भोगिसकेका थिए, जुन समाज देख्न वा भोग्न मान्छेले जीवन बिताउनुपर्छ।
उदाहरणका लागि —
राजेश ९ देखि १४ वर्ष उमेरसम्म तत्कालीन सोभियत संघको राजधानी मस्कोमा बसे। त्यहाँ उनको पढाइ अमेरिकी तथा बेलायती कूटनीतिक नियोगका पदाधिकारीले आफ्ना केटाकेटी निम्ति खोलेको स्कुलमा भयो। उनले अमेरिकी र बेलायतीहरूसँग संगत गर्न पाए। त्यसले उनलाई खुला समाज कस्तो हुन्छ, फराकिलो सोच भनेको के हो भन्ने सिकायो।
अर्कातिर मस्कोमा उनका थुप्रै रूसी साथीहरू पनि थिए। रूसीहरूसँगको संगतले सोभियत संघको कम्युनिस्ट शासन र साम्यवादी सिद्धान्त नजिकबाट देख्ने र चिन्ने मौका दियो।
नयाँ कुरा सिक्ने र जान्ने भर्भराउँदो उमेरमा राजेश दुइटा एकदमै फरक समाजसँग घुलमिल हुँदै हुर्के। उनले बन्द कम्युनिस्ट समाज पनि देखे, उदार अमेरिकी समाजबारे पनि बुझे।
त्यो बुझाइले राजेशको व्यक्तित्व निर्माणमा कस्तो भूमिका खेल्यो होला? आज उनी जहाँ छन्, जस्ता छन्, त्यसमा त्यो हुर्काइको हात कति होला?
मेरा यी प्रश्नमा राजेशले सविस्तार बयान गरेका छन्। उनले बाल्यकालीन भोगाइ मिहिन केलाउँदै त्यसलाई आजको जीवनसँग जोडेका छन्। र, भनेका छन्, 'फरक फरक समाज र संस्कृतिको अनुभवले मेरो सोच फराकिलो बनायो। मलाई हरेक कुरा सन्तुलित ढंगले सोच्ने क्षमता दियो। कुनै पनि वाद वा व्यवस्था आफैमा राम्रो वा नराम्रो हुँदैन भन्ने प्रत्यक्ष देख्ने-जान्ने अवसर दियो।'
राजेशभित्रको कलाकारलाई सिँचित गर्न त्यो फराकिलो सोचको हात पक्कै होला!
सुरूआती जीवनकै कुरा गर्दा, मैले सोधेँ — हामी सानो छँदा आमासँग नजिक हुन्छौं, बासँग दुरी हुन्छ, डर हुन्छ। के तपाईंको पनि यस्तै अनुभव रह्यो?
जबाफमा राजेशले भने, 'मलाई त आमाको पुच्छर नै भनिन्थ्यो।'
यति भनेर उनले आमासँगको निकट सम्बन्ध र बासँगको दकसबारे लामो वर्णन गरे।
मस्कोमा पढ्दाको एउटा घटना पनि सुनाए, जब उनलाई बदमासी गरेको भन्दै पाँच दिन स्कुलबाट निष्कासन गरियो। त्यो कारबाहीको सूचना बासम्म कसरी पुग्यो? सूचना पाएपछि बाले के भने र कस्तो सजाय दिए? त्यो घटनाले राजेशको जीवनमा कस्तो दूरगामी प्रभाव पार्यो?
बासँगको सम्बन्ध झल्काउने त्यो रोचक संस्मरण राजेशले अन्तर्वार्तामा बाँडेका छन्।
मैले यो पनि सोधेँ — कूटनीतिक परिवारमा जन्मिनुभयो, तपाईं आफू चाहिँ कत्तिको कूटनीतिक हुनुहुन्थ्यो वा हुनुहुन्छ?
जबाफमा राजेशले स्कुल/कलेजदेखि फिल्मी करिअरका केही घटनाक्रम सुनाए, जब उनले आफ्नो सुझबुझको बलमा गम्भीर समस्याको पनि हल खोजेका थिए। रिसाएर मुक्कामुक्कीमा ओर्लेका आफ्ना साथीहरूबीच सुलह गराएका थिए।
एकचोटि झापामा फिल्म सुटिङ भइरहँदा एक व्यक्ति रिसले मुर्मुरिँदै हातमा नांगो खुकुरी बोकेर राजेशको कोठाभित्र छिरेछन्। ती व्यक्ति राजेशप्रति किन त्यति आक्रोशित थिए? किन उनी मर्न-मार्न तयार भएर राजेशकहाँ पुगेका थिए? यो घटनामा राजेशको प्रतिक्रिया के रह्यो?
झापाको यो संस्मरणले राजेशले बाबुबाट विरासतमा पाएको कूटनीतिक चेतको झलक दिन्छ।
हामीलाई कहिलेकाहीँ पुराना साथीहरू अनायासै याद आउँछन्। ती साथीहरू, जोसँग हाम्रो भेटघाट वा कुराकानी नभएको वर्षौं भइसक्यो। राजेशले यो अन्तर्वार्तामा आफ्ना त्यस्ता पुराना साथीहरूलाई सम्झेका छन्। त्यस्ता साथीलाई सम्झेका छन्, जसको उनलाई नाम त याद छ, अनुहार छ्यांग छैन। उनी भन्छन्, 'मान्छेको अनुहार बिर्से पनि त्यो बेलाका साथीहरूको नाम याद आउँदो रहेछ।'
उनले कलेजका साथीहरूलाई पनि सम्झेका छन्, जोसँग महिना-दुई महिनामा भेट भइरहन्छ। उनीहरू फरक फरक करिअरमा छन्। राजेशको करिअरसँग उनीहरूको लेनादेना छैन, उनीहरूको करिअरसँग राजेशको लेनादेना छैन। उनीहरू के गफ गर्छन्? केमा हाँस्छन्? के भन्दै एकअर्कालाई उडाउँछन्?
राजेशको यो संस्मरणले उनीभित्रको 'साथी' मन चिनाउँछ।
मैले राजेशसँग स्कुल वा कलेज दिनका केही प्रेमिल सम्झनाको पनि कुरा गरेको छु। कुनै त्यस्तो क्षणबारे सोधेको छु, जब कुनै केटीलाई देख्दा राजेशको मनमा झंकार उठेको होस्।
जबाफमा उनले एउटी केटीको सम्झना गरे र उनीसँग जोडिएको प्रेमिल सम्झना सुनाए।
राजेशले यो अन्तर्वार्तामा आफू दिनहुँ गइरहने ठमेलको रेस्टुरेन्ट र त्यहाँ दिनहुँ भेटिरहने सडक बालबालिकालाई पनि सम्झेका छन्।
अन्तर्वार्ताको दोस्रो चरणमा हामीले उनको फिल्मी करिअरबारे कुरा गर्यौं। असफलताबाट सुरू भएको फिल्मी करिअर कसरी सफलताको उत्कर्षमा पुग्यो र कसरी उनले झन्डै दुई दशक नेपाली चलचित्रमा राज गरे भनेर विस्तारपूर्वक वर्णन गरेका छन्। त्यो समयको सम्झना गरे, जब राजेश हमालबिना नेपाली फिल्मको कल्पना पनि गर्न सकिँदैन थियो।
यही क्रममा उनले आफ्नो परिचयसँग जोडिएको त्यो यादगार संवाद सम्झेका छन्, जब उनी दाहिने हात अगाडि तेर्स्याएर चर्को स्वरमा 'हे...' भन्छन्।
करिअरकै कुरा गर्दा उनले आफ्ना प्रशंसकहरूको रोचक संस्मरण बाँडेका छन्। यस्ता घटना सुनाएका छन्, जुन सम्झिँदा उनी आज पनि भावुक हुन्छन्।
मैले उनलाई यो पनि सोधेको थिएँ — तपाईंका प्रशंसक त धेरै छन्, तर कहीँ आफूलाई म राजेश हमाल हुँ भनेर चिनाउनुपरेको छ?
उनले ३५ वर्षको करिअरमा आफ्नो अभूतपूर्व सफलताले नेपाली फिल्म क्षेत्रमा के प्रभाव पार्यो भनेर पनि अन्तर्वार्तामा चर्चा गरेका छन्। आफूबाट भएका गल्ती र कमी-कमजोरी पनि सुनाएका छन्।
राजेशले चाहेका भए नेपाली फिल्मको गुणात्मक विकास हुन्थ्यो भनेर धेरै आलोचना हुन्छ। उनले आफ्नो करिअरको उत्कर्षमा खासै राम्रो फिल्म खेलेनन्, राम्रो भूमिका गरेनन्; गरेका भए नेपाली फिल्मले उनकै समयमा उचाइ छुन्थ्यो भन्ने आलोचकहरूको भनाइ छ।
उनी त्यो आलोचनासँग सहमत/असहमत के छन्?
अन्तर्वार्ताको अन्तिम चरणमा हामीले उनीसँग जिन्दगीको सुख-दु:ख, फर्केर हेर्दा जिन्दगी कस्तो लाग्छ भन्ने विषयमा कुराकानी गरेका छौं।
उनले लामो समय आफ्नो व्यक्तिगत जीवन 'लो–प्रोफाइल' मा राखे। सुटिङ सकिएपछि कहाँ जान्छन्, के गर्छन्; कसैलाई अत्तोपत्तो दिएनन्। अहिले उनी हरेक बिहान चुकन्दरको जुस खान्छु भनेर सामाजिक सञ्जालमा भिडिओ हाल्छन्। खुलेर कुरा गर्छन्। आफ्नो व्यक्तिगत जीवन दर्शकसँग बाँड्छन्।
उनले व्यक्तिगत स्वभावमा आएको आनका तान परिवर्तन पनि अन्तर्वार्तामा केलाएका छन्।
बलिउड अभिनेता शाहरूख खानको एउटा संवाद छ — फिल्ममा जस्तै जिन्दगीमा पनि आखिरमा सब राम्रो हुनुपर्छ। राम्रो भएन भने सम्झिनू- पिक्चर अभी बाँकी है मेरे दोस्त!
मैले यही संवाद सम्झाउँदै उनीसँग जेठ ९ गते रिलिज हुन लागेको 'नरसिंहा' बारे कुरा गरेँ।
यो राजेश हमालको आठ वर्षपछि रिलिज हुन लागेको फिल्म हो। के राजेश यो फिल्मबाट 'पिक्चर अभी बाँकी है मेरे दोस्त' भनेर साबित गर्दै छन्?
त्यस्तै, जेठ २६ गते जन्मदिनको अवसरमा उनको आत्मकथा सार्वजनिक हुँदैछ। राजेशले आत्मकथा लेखनको अनुभव पनि बाँडेका छन्। त्यो आत्मकथामा फिल्म बन्यो भने उनी कसलाई राजेश हमालका रूपमा देख्न चाहन्छन् भनेर पनि भनेका छन्।
राजेशकै अघिल्लो फिल्म 'बागमती' मा एउटा संवाद छ — नेपाल अब पहिलेको नेपाल रहेन, त्यो मलाई थाहा छ; तर राजेश त्यही राजेश हो।
यही संवादमा टेकेर मैले सोधेँ — सक्रिय जीवनको साढे तीन दशकमा तपाईंले नेपाली समाजमा के परिवर्तन महसुस गर्नुभयो?
जबाफमा उनले पछिल्लो दुई-तीन दशकमा नेपाली समाज कसरी परिवर्तन भयो भनेर लामो व्याख्या गरे।
यति मात्र होइन, अहिलेका राजनीतिक दलहरूले समाजलाई बेथितिबाट बाहिर निकाल्न सक्दैनन्, यसको निम्ति संवैधानिक राजा चाहिन्छ भनेर चलिरहेका आन्दोलनबारे राजेशले आफ्नो टिप्पणी पनि गरेका छन्।
सामाजिक र राजनीतिक प्रसंगमै मैले सोधेँ — के तपाईंमा पनि राजनीतिमा आउने आकांक्षा छ?
अन्तर्वार्ताको आखिरीमा हामीले राजेशमाथि बनेका जोक र मिमहरूबारे कुरा गर्यौं।
पछिल्लो समय उनी 'मिम स्टार' का रूपमा चर्चित छन्। इन्टरनेटमा उनीमाथि बनेका जोक प्रशस्त उपलब्ध छन्। ती जोकलाई राजेश स्वयं कसरी लिन्छन्? कुन जोकले उनलाई सबभन्दा बढी हँसायो? उनी आफै आफूमाथि जोक बनाउनुपरे के बनाउलान्?
मैले राजेश हमालसँगको यो अन्तर्वार्ताका लागि १८-१९ वर्षका केही युवासँग कुरा गरेको थिएँ। उनीहरूले राजेशका फिल्म एउटा पनि हेरेका थिएनन्, तर नाम सुनेका थिए। जोकहरू हेरेका थिए। उनलाई राम्ररी चिन्थे पनि।
मैले अन्तर्वार्ताको आखिरीमा राजेशसँग सोधेँ — के तपाईं यो पुस्ताको निम्ति पनि महानायक बन्न चाहनुहुन्छ?
हेर्नुहोस् राजेश हमालसँगको भिडिओ अन्तर्वार्ता, सेतोपाटी कन्भरसेसनमा —