गुड फ्राइडे सिनेमा
यो कथाको सुरूआत एउटा अनपेक्षित घटनाबाट हुन्छ।
एक प्रहरी चौकीमा कार्यक्रम हुन लागेकाले स्थानीय र पत्रकारहरू आएका हुन्छन्। एकाएक विनोद कुमार नाम गरेका प्रहरी अधिकारीको चौकीभित्र, कुर्सीमा बसिरहेकै बेला मृत्यु हुन्छ।
विनोदको मृत्यु घटनाले धेरै नै हलचल मच्चाउँछ।
उनको छातीमा तीन गोली लागेको हुन्छ।
घटना छानबिनका लागि तत्कालै एक तीक्ष्ण प्रहरी अधिकारी प्रमोदलाई बोलाइन्छ। प्रमोद मृतक विनोदकै जुम्ल्याहा दाजु हुन्।
प्रमोद विनोदलाई एकटक हेर्छन् र गहिरिएर अनुसन्धान थाल्छन्— के विनोदको मृत्यु एक दुर्घटना हो? कि कुनै योजनाबद्ध हत्या? वा आत्महत्या?
जसै अनुसन्धान अगाडि बढ्छ, कथा गहिरिँदै जान्छ।
सोही थानामा कार्यरत तीन प्रहरी अधिकारीहरू शंकाको घेरामा आउँछन्। उनीहरूको पृष्ठभूमि कथाले पनि आशंका बढाउँछ। तर प्रमोदलाई उनीहरू अपराधी हुन् भन्ने लाग्दैन।
कथा तब झन् भयानक मोडमा पुग्छ, जब एउटा बालकको उपस्थितिले सबै अनुमान उल्ट्याउँछ।
ती बालक को हुन्? उसले के देखेका थिए?
जब प्रमोदले सत्य थाहा पाउँछन्, के उनले आफ्नो परिवारको रहस्य सार्वजनिक गर्छन्?
विगतमा यी दुई भाइबीच केही भएको थियो? उनीहरूको खराब मान्छे हुन् वा सज्जन?
के भूतकालले भविष्यको निर्णय परिवर्तन गर्छ?
मलयालम क्राइम थ्रिलर फिल्म 'इरट्टा' ले यी सबै प्रश्नको जबाफ दिन्छ।
रोहित एमजी कृष्णनले निर्देशन गरेको फिल्म इरट्टा तनावपूर्ण र रहस्यमयी छ।
प्रमोद र विनोदको भूमिकामा देखिएका जोजू जर्जको अभिनय उत्कृष्ट छ। जुम्ल्याहा पात्रहरूको भिन्नता— शरीरको चालढालदेखि बोली, दृष्टिकोण र भावनासम्म उनले उत्कृष्ट ढंगले देखाएका छन्।
समीक्षक र दर्शक दुवैबाट सकारात्मक पाएको यो फिल्मको क्लाइमेक्स दृश्यले धेरैलाई स्तब्ध बनाउँछ।
इरट्टाले सुरूमा सीमित हलहरूमा प्रदर्शन पाएको थियो। ओटिटी रिलिजपछि यसको चर्चा व्यापक भयो। बक्सअफिसमा ब्लकबस्टर नभए पनि दर्शक र समीक्षकको प्रशंसाले यसलाई कालजयी फिल्म बनाएको छ।
आज सेतोपाटीको गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं, हेर्नुहोस् हिन्दी डबमा।