गायक तथा संगीतकार उज्ज्वल सागरको पहिलो कन्सर्ट हुने भएको छ।
आउँदो वैशाख ६ गते शनिबार झम्सिखेलस्थित 'मोक्ष' मा उज्ज्वल सागर एण्ड द ब्यान्डको लाइभ प्रस्तुति हुने भएको हो।
'ब्यान्डसँग लाइभ प्रस्तुति दिनु मेरो सपना थियो तर केहि कारणबस यो पूरा हुन सकेको थिएन। गीतहरू रचना गर्ने र गाउने यात्राको निरन्तर्तासँगै विभिन्न कलाकारहरूसँग सहकार्य गर्दै आइयो, अन्ततः यसपालीदेखि लाइभ कन्सर्टको पनि सुरूवात हुने भयो,' गायक सागर भने।
रैला प्रोडक्सनको आयोजना र आइडिया हबको सञ्चालनमा हुन गइरहेको उक्त कार्यक्रमलाई टुबोर्ग बियर र मन्त्र गिटारले प्रायोजन गरेका छन्।
कन्सर्टमा मुख्यतः गायक उज्ज्वलकै लोकप्रिय गीतहरू गुन्जिनेछन् भने केहि अग्रज कलाकारहरूको सम्मानमा उनीहरूका गीतहरुपनि प्रस्तुत हुनेछन्।
'सुनन, तिमी खुसी त छौ नि?, सुनाखरी, दैलो, सन्नाटा, मिर्मिरे, छायाँ, धून' आदि उनका लोकप्रिय गीत हुन्।
गायनमा उज्जवल सागरलाई गायिका प्रवृत्ति राईले साथ दिने छिन्। त्यस्तै गिटारमा नरेन मोक्तान र विश्व अधिकारी, ड्रम्समा रिदम बोगटी, बाँसुरीमा रूपेश शाक्य, किबोर्डमा निल घतानी, बेस गिटारमा जय लामा दोङ, तबलामा आयूस धिताल, र साउण्ड ईन्जिनियरका रूपमा सबिन शाक्य रहनेछन्।
कन्सर्टको टिकट, टिकट सञ्जालमा प्री-सेलमा (अनलाईन): रू. ७००, र डोर सेलमा: रू. १००० मा उपलब्ध छ।