चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीसँग नेपाली कलाकारहरूले पनि एउटै स्टेजमा प्रस्तुति दिने भएका छन्।
जेठ ३ (मे १७) मा काठमाडौंमा हुन लागेको 'नोरा पतेही लाइफ इन नेपाल' मा नोरासहित नेपाली चर्चित कलाकारहरूको समेत प्रस्तुति रहने भएको हो।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था 'ह्युमन रेस्पेक्ट नेपाल' को सहयोगार्थ बौद्धस्थित हायातको चौरमा यो कन्सर्ट हुन लागेको हो।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताए।
उनले भने, 'नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो। उहाँसंगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ।'
नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र 'भ्वाइस अफ नेपाल' सिजन ६ का विजेता प्रोशेस पाण्डेसहित उत्कृष्ट ५ भित्र पर्न सफल प्रतिस्पर्धी इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य र प्रमेश राईले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए।
पत्रकार सम्मेलनमा कलाकारका तर्फबाट नृत्यांगना मगरले आफूले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिइन्।
उनले भनिन्, 'अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो। नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ। यस्ता कार्यक्रमले हाम्रो बारेमा विश्वलाई जानकारी गराउँछ।'
कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्यांगना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाएको छ।
यता नोरा फतेहीले आफू नेपाल आउन र नेपालीलाई भेट्न उत्साहित रहेको बताएकी छिन्। एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी हुन्।
'म काठमाडौं आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु,' अभिनेत्री फतेहीले भनेकी छन्।
इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्दैछ। टिकट मूल्य २, ४, ७ र १६ हजार रूपैयाँको तय छ। अनलाइनमार्फत टिकट काट्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा नोरा फतेही र दुर्गेशलाई 'दुश्मन हेरेको हेर्यै' गीतमा संगै स्टेज सेयर गराउने तयारी आयोजकको छ।
अभिनेत्री फतेहीको 'दिलबर दिलबर', 'कुसु कुसु', 'ओ साकी साकी', 'नाच मेरी रानी', 'स्नेक डान्स' लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्।