रंगकर्मी एवं नाटककार राम के एसीको लेखन निर्देशनमा नाटक यशस्वी भवः मञ्चन भएको छ।
आजदेखि मञ्चन भएको उक्त नाटक शिल्पशाला कुञ्ज नाटकघर, थापा गाउँमा पुस ६ गतेसम्म चल्नेछ।
नाटकमा अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबीचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तर्सम्बन्धको विषयलाई उठान गरेको के.ए.सी.ले बताए।
मानिसमा क्षीण हुँदै गइरहेको अध्यात्म (दृष्टि) सँगै आधुनिकताले आफ्नो आकार र आयातन तीव्र गतिमा वृद्धि गर्दैगर्दा त्यही मानिसहरूले देखाउने नाता सम्बन्धहरूप्रतिको गैर–जिम्मेवारपूर्ण व्यवहार र अभिव्यक्तिले सभ्य समाजको मानचित्र यस्तै हो त? भन्ने गम्भीर प्रश्न नाटकले उठाएको छ।
नाटक यशस्वी भवः सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा निर्माण भएको हो। नाटकमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरको अभिनय रहेको छ।
हरेक दिन बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई सो मञ्चन हुने यस नाटकको अवलोकनको लागि बुकिङ खुला भइसकेको छ। इच्छुक विद्यालयहरू कलेज लगायत अन्य दर्शकहरूको लागि समेत अवलोकन गर्न खुला गरिएको नाटकको टिकट दर ३०० र ५०० रुपैयाँ राखिएको छ।