सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'पब्लिक स्पिकिङ' भनेको धेरै मानिसबीच रहेर प्रत्यक्ष रूपमा आफ्नो तर्क वा धारणा राख्नु हो। विश्वका धेरै मानिस त्यसरी बाेल्न डराउँछन्। यस डरलाई 'गलोस्सोफोबिया' भनिन्छ। एउटा अनुसन्धानले के देखाएको छ भने 'मानिसहरू भिडमा गएर बोल्नुभन्दा मर्न तयार' हुन्छन्। तसर्थ पब्लिक स्पिकिङदेखि मानिसहरू एकदम त्रसित देखिन्छन्।
म पनि त्यहीमध्ये एक थिएँ। मलाई पनि बोल्न एकदम डर लाग्थ्यो। म अगाडि गएर बोल्न त प्रयत्न गर्थेँ तर के बोल्ने र कसरी भन्ने, केही थाहा हुँदैनथ्यो। बारम्बार प्रयत्न गर्दा पनि मेरो अनुभूति त्यस्तै रह्यो। याे मेरो बसको काम हो जस्तो लागेन।
नेपाल र विदेशका विभिन्न कार्यक्रमका कार्यक्रम संचालकबाट प्रभावित भएर जागेको वक्तृतवकला र उद्घोषण कलाको तृष्णा जति गरे पनि मेटिएको थिएन। बारम्बार असफल भइरहेँ तर त्यो तृष्णा मेटिएन। मेरो विचारमा त्यो तृष्णा र आकांक्षा नमेटिनुको कारण मेरो परिवार र गुरूहरूको साथ र प्रेरणा हो। मलाई जे गरेर होस्, उद्घोषण कला र वक्तृत्वकलामा हात जमाउनै पर्ने भइसकेको थियो।
म मञ्चमा उभिएर घण्टौंसम्म आत्मविश्वास साथ बोलेको सोच्थेँ। यो सोचाइले मेरो बोलीमा अलिकति भए पनि राम्रो प्रभाव परेको देखेँ। त्यसपछि मैले अनलाइनमा आफ्नो वक्तृत्वकला कसरी राम्रो पार्न सकिन्छ भन्ने लेखहरू पढेँ। अनलाइन लेखहरू अध्ययन गर्दा यो कलाको धेरै विकास गर्न मानिसहरू आगाडि बसेर बोल्ने अभ्यास गर्न र प्रतिक्रिया लिन जरूरी रहेछ। अझ बढी प्रभावकारी बनाउन गुरूहरूको जरूरत पर्दो रहेछ।
मैले विभिन्न अनलाइन कक्षा पनि लिएँ। कुमारीपाटीस्थित एउटा संस्थाबाट २१ दिने तालिम पनि लिएँ। सबै अनलाइन कक्षा र तालिमपछि मेरो लागि आज मान्छेहरूबीच बाेल्नु सहज बनेको छ।
पहिला मलाई त्यसरी भिडमा कुशल वक्ताहरू मात्र बाेल्न सक्छन् भन्ने लाग्थ्याे। तर त्यो मेरो भ्रम मात्र रहेछ। हामी सबैभित्र यो कला लुकेर बसेको हुन्छ। हामी सबै यो कलामा सजिलै पारंगत हुन सक्छौं। यो कला सिक्नका लागि हामीले केही कुराहरूमा ध्यान दिनु आवश्यक रहेछ।
सर्वप्रथम त हामीले हाम्रो डरदेखि भाग्नु भएन। डर भनेकाे साधारण हो र त्यसलाई जीत्न सक्छु भन्ने सोचले प्रेरित हुनुपर्ने रहेछ। त्यसपछि मञ्चमा उभिएर घण्टौंसम्म आत्मविश्वासको साथ बोलेको सोचेर स्थिर अवस्थामा ध्यान केन्द्रित पारेर एक-एक विवरण याद गर्नुपर्छ। प्रत्येक दिन करिब १० मिनेटसम्म ध्यान गरेमा अत्यन्त प्रभावकारी हुन्छ। सबै प्रदर्शनको ढाँचा हुन्छ। त्यो ढाँचामा ध्यान दिनुपर्छ।
आफैंलाई ऐनामा हेरेर अनुहारको भाव, इशारा र शरीरको चालमा ध्यान केन्द्रित गरेर ३० मिनेट प्रतिदिन बोल्नुपर्छ। आफैंलाई रेकर्ड गरेर आफ्नो आवाज चिन्न जरुरी रहेछ। बोल्दा कहाँ रोक्किने भन्नेमा ध्यान दिन जरुरी हुन्छ। आफ्नो श्वासप्रश्वासको प्रकियामा ध्यान दिएर धेरै छिटो बोल्नबाट जोगिएमा पब्लिक स्पिकिङ एकदमै सहज बनाउन सकिने कुराहरू हुन्।
मैले विभिन्न अनलाइन कक्षा र विभिन्न वक्तृत्वकलाका किताबबाट सिकिरहेकाे छु। त्यसलाई व्यवहारमा प्रयोग गरेर आफ्नो डरलाई पूर्ण रूपमा हटाएकी छु। हामी सबैले यी कुरामा ध्यान दियौं भने पब्लिक स्पिकिङमा पारंगत हुन सक्छौं। यसरी बाेल्नुकाे धेरै फाइदा छ। यसले हाम्रो व्यक्तित्त्व विकास, नेतृत्व, रचनात्मक लेखन, प्रदर्शन क्षमताको विकास गर्नुका साथै भविष्यकाे विकास पनि गर्छ।
बोल्नका लागि विषयमा राम्रो पकड चाहिने भएकाले यसले हाम्रो ज्ञान पनि बढाउँछ। यति मात्र नभई आत्मविश्वासी, लगनशील बनाएर हाम्रो बौद्धिक क्षमताको विकास पनि गर्छ। आजको प्रतियोगीताको युगमा मानिसले आफ्नो धारणा राख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ।
भनाइ नै छ नि- बोल्नेको पिठो नि बिक्छ, नबोल्नेको चामल नि बिक्दैन।
यस भनाइले वक्तृत्वकलाको महत्त्व बुझाउँछ। हामी बोल्न नसकेपछि हामीभित्रको प्रतिभा त्यसै हराएर जान्छन्। बोल्न नसकेमा हामी अरूको अगाडि डराएर बस्न बाध्य हुन्छौं। तसर्थ, हामी सबैले वक्तृत्वकलामा राम्रो पकड बनाउनुपर्छ। म मेरा भनाइ रोब ब्राउनकाे प्रसिद्ध वाक्यबाट टुंग्याउन चाहन्छु:
'यदि तपाईं बोल्न सक्नुहुन्छ भने, तपाईं प्रभाव पार्न सक्नुहुन्छ। यदि तपाईं प्रभाव गर्न सक्नुहुन्छ भने तपाईं जीवन परिवर्तन गर्न सक्नुहुन्छ।'
(आस्था रिमाल जावलाखेल, ललितपुरस्थित फ्युचर स्टार स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]