शाकाहारी परिवारका लागि दूध नभै नहुने खाद्यपदार्थ हो। तर, काठमाडौँ उपत्यकामा बसेर शुद्ध दूध खान पाउनु भनेको चाहिँ लगभग असम्भव लाग्यो।
मेरो हालको बसाइ सल्लाघारी कटुञ्जेमा छ। यहाँ बस्न थालेदेखि नै स्थानीय डेरीबाट दूध र दही किनेर खाने गरिरहेका थियौँ। यता डिडिसिको दूध पाइँदैन। डेरी सञ्चालक काभ्रेतिर कतैका मानिस हुन्। दूध तताउँदा पहेँलो तर लाग्नु सामान्य हो तर त्यसमा पहेँलोपन निकै असामान्य पहेँलो हुन्छ र दूधको स्वाद पनि बेग्लै हुन्छ।
कुनै कुनै दिन खानै नहुने गरी गन्हाएको हुन्छ। हिजो त बेलुकी ताजा दूध किनेर ल्याएको, दूधमा केही फाटेको जस्तो देखियो। र तताउँदा यस्तो सेतो ल्यासल्यास परेको ठोस पदार्थ निस्कियो जुन दूधमा हुनै सक्तैन। डेरीवालाहरूले पैसैका लागि मानिसहरूलाई केके ख्वाइरहेका छन्। अनुगमन कसले गर्ने ? हामीले कहाँ भन्ने ?