सुदूरपश्चिममा बाजुराबाहेक सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।
२०७४ को चुनावमा कम्युनिष्ट दलले वर्चश्व जमाएको यो प्रदेशमा यसपालि कांग्रेसले धेरै सिट जितेको छ।
अघिल्लो पटक एमालेले जितेका दार्चुला, कैलाली ४, कैलाली ५, कञ्चनपुर २, कञ्चनपुर ३ र अछाम २ मा कांग्रेसले जितेको छ।
यस्तै २०७४ मा एमालेले जितेको बझाङ, डोटी र अछाम १ मा एकीकृत समाजवादीले अहिले जिते हात पारेको छ।
२०७४ मा एमालेले जितेको कैलाली २ नागरिक उन्मुक्तिले जितेको छ।
२०७४ मा ११ सिट जितेको एमालेले यसपालि अहिलेसम्म २ सिटमा चित्त बुझाएको छ। कञ्चनपुर १ र बैतडीमा मात्र एमालेले जितेको छ।
यो प्रदेशबाट २०७४ मा माओवादी केन्द्रले प्रतिनिधि सभामा ३ सिट जितेको थियो। अहिले माओवादी सुदूरपश्चिममा प्रतिनिधि सभातर्फ शून्य भएको छ।
त्यसबेला माओवादी केन्द्रले कैलाली ३, कैलाली ४ र कञ्चनपुर १ मा जितेको थियो। अहिले कैलाली ३ मा नागरिक उन्मुक्तिले, कैलाली ४ मा कांग्रेसले र कञ्चनपुर १ मा एमालेले जितेको छ।
सत्ता गठबन्धनका पाँच दल मिलेर चुनाव लडे पनि माओवादीले उठाएका उम्मेदवारले यहाँ जित्न सकेनन्। माओवादीबाट अहिले बैतडी, कञ्चनपुर १, कैलाली २ र कैलाली ३ मा चुनाव लडेका उम्मेदवार पराजित भए।
एमाले फुटेर बनेको एकीकृत समाजवादीमा भने तीन सिटमा पाँच दलीय गठबन्धनका तर्फबाट उठाएका उम्मेदवारेले जितेका छन्। एकीकृत समाजवादीले डोटी, अछाम १ र बझाङमा जित निकालेको हो।
२०७४ मा सुदूरपश्चिमका १६ मध्ये एक सिट मात्र जितेको कांग्रेसले अहिले सात सिट जितेको छ। त्यसबेला कांग्रेसका सभापति शेरबहादुर देउवाले मात्रै चुनाव जितेका थिए। अहिले कांग्रेसले कैलाली ४, कैलाली ५, कञ्चनपुर २, कञ्चनपुर ३, डडेल्धुरा, अछाम २, र दार्चुलामा नतिजा आफ्नो पक्षमा पारेको छ।
यसै वर्ष चुनावमा होमिएको नागरिक उन्मुक्ति पार्टीले एमाले, कांग्रेस र माओवादीले जितेका एक, एक सिट खोसेको छ। उसले प्रतिनिधि सभा तर्फ कैलालीका क्षेत्र नम्बर १, २ र ३ मा जितेको छ।
अघिल्लो चुनावमा तत्कालनि राष्ट्रिय जनता पार्टीबाट कैलालीको क्षेत्र नम्बर १ मा रेशमलाल चौधरी विजयी भएका थिए। अहिले मधेस केन्द्रीत दलले पनि सुदूरपश्चिमबाट प्रतिनिधि सभामा उपस्थिति जनाउन सकेनन्।
यसरी हेर्दा अघिल्लो चुनावमा कम्युनिष्टमय भएको सुदूरपश्चिममा अहिले प्रत्यक्षतर्फ कांग्रेस पहिलो भएको छ। एमालेले अघिल्लो चुनावमा जितेका नौ सिट गुमाएको छ।
सुदूरपश्चिम प्रदेश सभातर्फ पनि एमालेले ठूलो क्षति भोगेको छ। अघिल्लो चुनावमा ३२ मध्ये प्रदेश सभातर्फ प्रत्यक्षमा १७ सिट जितेको एमालेले अहिले ३ सिट मात्रै जितेको छ।
यस्तै माओवादीले १० सिट जितेको थियो भने अहिले ८ वटा सिटमा खुम्चिएको छ।
एकीकृत समाजवादी प्रदेशमा दुई सिट जितेको छ।
नेपाली कांग्रेसले अघिल्लो चुनावमा प्रदेश सभामा प्रत्यक्षतर्फ ४ सिट जितेकोमा अहिले ११ सिट जितेको छ।
२०७४ मा राजपाबाट कृष्ण चौधरीले प्रदेश सभामा १ सिट जितेका थिए। अहिलेको चुनावमा मधेसवादी दलको प्रत्यक्षमा उपस्थिति देखिएन।।
बाजुरामा चुनावको दिन भएको विवादका कारण मतगणना सुरू भएको छैन। त्यहाँ चुनाव नै के हुने भन्ने निर्णय भएको छैन। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका बद्री पाण्डे र एमालेका कर्ण थापा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्। यी दुई दलमध्ये जसले त्यहाँ चुनाव जित्छ उसैको पार्टीमा एक सिट थप हुनेछ।