गत नोभेम्बरमा मेरा पूर्व सहकर्मी विलियम शुभर्टले मलाई एउटा योजना सुनाए। उनकी श्रीमतीले बच्चा पाउनुअगावै अन्नपूर्ण पदयात्रा जान चाहन्छिन्। चिनियाँ मूलकी उनकी श्रीमतीको ‘जानै पर्ने ठाउँको सूची’ मा अन्नपूर्ण रहेछ।
अमेरिकाको सन फ्रान्सिस्को सहरको रेस्टुरेन्टमा विलियमको कुरा सुनेपछि सम्झिएँ– धौलागिरि हिमाल सेरोफेरोमा जन्मे पनि छेवैको अन्नपूर्ण हिमा नजिकै पुग्ने मौका मैले पाएको थिइनँ।
‘एक वर्षभित्रै थ्रोंगपास गर्ने योजना छ। रमेश, तिमी पनि हामीसँग जान भ्याउँछौं, उसले कफीको चुस्कीसँगै भन्यो।
‘सक्छुहोला,’ मैले भनेँ।
विलियम यसअघि पनि नेपाल आएको थियो। एकपटक भुइँचालोबेला, अर्कोपटक भारतीय नाकाबन्दीबेला। दुवैपटक समय यस्तो थियो, उसलाई खुवाउन पनि हामीलाई घरमा हम्मे–हम्मे परेको थियो।
यो दुवै अनुभवले शुभर्ट दम्पत्तीलाई नेपाल आउने रहर मार्न सकेन। दुई जोडी भएर जाने योजना बन्यो। श्रीमती मिनाक्षीलाई भनेँ। तर दुई वर्ष पनि नपुगेकी छोरी एक्लै छाडेर जान मिनाक्षीले मन गरिनन्।
म जाने भएँ। बाबु न परेँ। आमाभन्दा कमै चिन्ता हुनेरैछ कि कुन्नि, म रोकिइनँ। विलियमकी श्रीमतीको बच्चा पाउने योजनाले मेरो अन्नपूर्ण जाने सपना सकार हुने भो।
छ महिनाअघिको यो योजना अप्रिलमा पूरा भयो। एक जोडी लिएर हिँडेको भए पनि म एक्लै जस्तो पो भएँ।
फोटोग्राफर साथी नविन बराललाई फोन गरेँ। बेसीसहरे भएकाले उसलाई सब थाहा थियो। गज्जबका फोटा खिच्छ। उसँग धेरैपटक कथा खोज्न हिँड्दा अलिअलि डीएसएलआर क्यामरा चलाउन सिकेको छु। लहलहैमा लागेर किनेँ पनि। अहिलेसम्म एउटा फोटो खिचेर बेचेको छुइनँ, नविनले फोटोबाटै जिविकोपार्जन गर्छ।
‘तीनपटक चढिसकेको छु। तिमीहरू जानेभए म समय निकाल्छु। सँगै जाउँला,’ उसले गफैगफमा भन्यो। म खुसी भएँ। ६–७ दिनसम्म एउटा गतिलो कुरा मिल्ने साथी भएन भने त गार्हो पो हुन्छ। त्यो चिन्ता मेटियो।
मनमनै सोचेँ हामी पुग्ने कहाँ हो?
५४१६ मिटर अर्थात झण्डै १७ हजार फिट। आन्तरिक जहाजमा उड्नुअघि एयर होस्टेसले ‘हाम्रो विमान १६५०० फिटको उचाइमा उड्ने छ’ भनेको सम्झेँ।
जहाज उड्ने उचाइमा हामी हिँडेरै पुग्ने, अरे क्याबात!
हिमालको यो उचाइमा पहिलोपटक पुग्दैछ यो ‘माउन्टेन म्यान’।
विदेस जाँदा परिचय दिएपछि मलाई बेलाबेला साथीहरू भन्छन्, ‘लेट्स् आस्क माउन्टेन म्यान।’ म पर्वतमा जन्मेको, काठमाडौंमा हुर्केको।
तर यहाँ माउन्टेन अर्थात हिमालका आ–आफ्नै परिभाषा छन्। हाम्रा सामान्य पहाड कतिपय देसका मान्छेका लागि हिमाल हुन्। समुन्द्री सतहभन्दा मुनि बस्ने नेदरल्याण्ड्सका मान्छे त काठमाडौंलाई नै ठूलो माउन्टेन भन्छन्।
बंगालीहरु पनि उस्तै मान्छन्।
भन्छन्, ‘हैन तिमीहरू कसरी हिँड्छौ यार ती अग्ला पहाड?’
इटाली र फ्रान्सको सीमास्थित मोन्ट ब्लाकं,एल्प्स हिमाल श्रृंखलाकै अग्लो हो। यसको उचाइ ४८१० मिटर अर्थात १५ हजार ७ सय ८१ फिट छ। हामी त त्योभन्दा पनि दुई हजार फिट अग्लो ठाउँ पुग्दै छौं।
‘गाह्रो होला,’ हिँड्ने बेला मिनाक्षीले भनेकी थिइन्।
‘हुन्न खासै बस्दै बस्दै जाने हो,’ मैले सब थाहा भएझैं भनेर टारेँ।
गाह्रो त पक्कै थियो। लेक लाग्न सक्छ। दुई वर्षअघि त्यही ठाउँमा दर्जनौं मान्छेको खराब मौसमका कारण मृत्यु भएको थियो। ‘नजाऊ’ भन्लिन् भनेर परिस्थिति सहज बनाएको थिएँ।
यति उचाइमा हिँडेर जान लागेको पहिलोपटक थियो। दुई पटक सगरमाथा वेसक्याप्प जानेबाटोमा पर्ने लगभग चार हजार मिटरमा रहेको स्यांगबोचेसम्म पुगेको थिएँ। जान सकिएला त आफैलाइ प्रश्न गरेँ।
‘हिमाललाई कम आँक्न हुन्न’– २१ पटक सगरमाथा चढेका आप्पा शेर्पाले केही वर्षअघि भेटमा भनेको सम्झेँ।
एक जोडी अमेरिकी र हामी एक जोडा नेपाली तयार भयौं। दुई जना अमेरिकी साथी एक साताअघि नै घर आइपुगेका काठमाडौंको धुवाँधूलो खाएर बलिया भए। अब हिमालतिर गएर भर्पाइ लिन्छन्।
बेसीसहरतिर जाने खासै राम्रा बस छैनन्। अन्नपूर्ण हिमाल फन्को मार्ने यो चर्चित पैदल बाटो आजकल गाडीमय भएको छ। पाँच सय रूपैयाँमा बेसीसहर पुगिने रैछ, सिन्डीकेट भएका बेला। नभए त त्यही पैसामा राम्रै बस पाइन्थ्यो होला।
१८० किलोमिटर यात्रा पाँच सयमा गर्न एक हजार रूपैयाँको ट्याक्सी चढेर जानुपर्छ। भैंसेपाटीबाट गोंगबु बसपार्क पुगेको ट्याक्सीभाडा।
हिमाल पुग्नुभन्दा नागढुंगा पुग्नु कठिन छ आजकल। यो खाल्डो पार गर्न कम्ता सकस छैन। कलंकीमा एक घण्टा धूलो खाँदै पर्खेपछि धिमा गतिमा रक्सीले टिल परेको मानिसजस्तै हल्लिँदै नागढुंगा कटायो बसले।
दिनैभरि यस्तै हो कि भनेर विदेसी साथीले चिन्ता गर्लान् भन्ने सोचेर होला नविनले भन्यो, ‘यु विल सी रियल नेपाल नाउ।’
उनीहरू मुस्काए। तर थानकोट काटेपछि पनि ‘रियल’ नेपाल देखिने छाँटकाँट देखिएन। पृथ्वी राजमार्गकै छेउमा बग्ने त्रिशुली बाह्रै महिना धमिलै बग्छ। धमिलै थियो। केही महिनाअघि त्रिशुली नीलो भएर बग्न थाल्यो भन्ने समाचार पढेको थिएँ। होला की भनेको, के हुन्थ्यो। उस्तै।
बालुवाखानीको विगविगी छ। जथाभावी निकाल्यो, खोलैमा धोयो, बेच्यो। कमायो अनि मुख टाल्नुपर्ने ठाउँमा अलिअलि बाँड्यो। अनि कसले रोक्ने यहाँ।
नदी भन्न पनि लाज लाग्ने गरी प्रदूषित छ त्रिशुली। नेपाल आउने सबभन्दा बढी पर्यटकले देख्ने नदी हो। त्यसबाहेक हजारौं मान्छे दैनिक यही नदीछेउबाट आहोरदोहर गर्छन्।
‘न्याचुरल नेपाल वन्स इज नट इनफ’ भन्ने प्रचार देखेर वा सुनेर आएका पर्यटक निरास हुने पहिलो विन्दु बन्दैछ त्रिशुली। फोहोर व्यवस्थापन छैन तर ‘यो दिशापिसाब मुक्तक्षेत्र हो’ भन्ने बोर्ड भने सधैं हुन्छ। यी बोर्डलाई पनि लाज लागिसक्यो होला।
मान्छेहरू निर्धक्कसँग त्रिशुलीतिर फर्केर आनन्दका साथ पिसाब गरेको बग्रेल्ती देख्न पाइन्छ। देशैभरी खुला दिशापिसाव मुक्तक्षेत्र घोषणा गरिएका बोर्ड जति छन्, त्यति मात्रै पनि शौचालय बनाइदिएको भए सायद समस्या हल हुन्थ्यो।
जताततै बोर्ड– कतै हात कसरी धुने भनेर सिकाइएका, त कतै सफा पानी पिउनुपर्छ भन्ने। हात धुने सावुन र सफा पानी दिने व्यवस्था नभएसम्म बोर्डले के गर्नु!
नदीछेउका उदेकलाग्दा वस्ती र त्यसबाट हुने प्रदुषणको ठूलो कथा छ। राजमार्गको खानाको गुणस्तरको त कुरा गरिसाध्य छैन। विस्तारै देशका अन्य भाग पनि काठमाडौंमय हुँदैछन्। धुवाँधूलो, फोहोर र अव्यवस्थित वस्ती बढ्दो छ।
न्याचुरल नेपाल खुम्चिँदै छ। न्याचुरल नेपाल हेर्न अचेल थानकोट मात्रै काटेर हुन्न, टाढै जानुपर्छ।
आठ बजे भनेको बस बल्ल नौ बजे छुट्यो। एक घन्टा कलंकी चोकमै बस्नुपर्यो। विलियमले सोध्थे, ‘कतिबेला पुगिन्छ रमेश, गुगलमा त ५ घण्टा लेखेको छ।’
‘वि विल नो वन्स वि रिच,’ म भन्थेँ। उ मुसुक्क हाँस्थ्यो। यहाँ यति बजे उति बजे भनेर यात्रा गर्न पाउने सुविधा कहाँ छ र!
१८० किलोमिटर झन्डै ११ घन्टामा पार गरेर बेसीसहर पुग्दा झमझम पानी परिरहेको थियो। हिँडेर ६–७ दिन जानु छ। यसरी नै पानी दक्र्यो भने डोजरले छियाछिया पारेका पहाडको भर हुन्न!
बेसीसहरेहरू मस्र्याङ्दीलाई गंगा भन्छन्। बेसीसहर पुग्नु अगावै मस्र्याङ्दीको तिर देखाउँदै नवीनले भन्यो, ‘मेरी आमा हेलिएको त्यही ठाउँ हो।’
घरका समस्याका पीडा थेग्न नसकेपछि नाबालक दुई छोरा र छोरी छाडेर नविनकी आमा मस्र्याङ्दीमा हेलिइन्। लास पनि पाइएन। उनीहरू टुहरा भए। नविनले भन्दैगर्दा मेरा आँखा रसाइसकेका थिए।
मेरो बुबा पनि कुनै कारणले पर्वत जिल्लाको मोदी खोलामा हेलिनुभएको थियो।
अनायसै नारायण गोपालको गीत याद आयो।
आजै र राति के देखेँ सपना मै मरी गएको...
मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको, कहाँ हो कहाँ बादलभित्र म रोइरहेको....
वारि र पारि घाम र छाया, माझैमा पियार संसारमा जन्म दिएर ईश्वर वैंशमा नमार ।।।
थाहा छैन नविनकी आमाले यस्तो सपना देखिन् कि देखिनन् तर खोलामै हाम फाल्न सानो पीडाले पक्कै उकासेन होला। आफैंले आफैंलाई मार्न कति पीडा हुँदो हो!
अचेल मस्र्याङ्दी सबै ठाउँमा सुसाउँदैन। कतै यसलाई पहाडभित्र छिराइएको छ त कतै ताल बनाइएको छ। नेपालका नदीमध्ये सबभन्दा बढी दोहन गरिएको नदीमा पर्छ यो।
उत्तरमा मनाङको जार्साङ र खार्साङ नदी मिसिएपछि बन्ने मस्र्याङ्दी लगभग १५० किलोमटर लामो छ। मुग्लिनमा यसले लाङटाङ हिमालतिरबाट दुःखझेलो गर्दै, कतै टनेलभित्रै छिर्दै त कतै धमिलिँदै आइपुगेको त्रिशुली भेट्छ र नारायणी बन्छ।
पोखरातिरबाट आएको सेती बाटोमा थपिन्छ। मुग्लिङ–नारायणगढ खण्डमा र देवघाटमा कालीगण्डकी मिसिएपछि नारायणी गंगा दक्षिण नेपालको यात्रा गर्दै गंगा नदीमा मिसिन्छिन् र बंगालको खाडी पुग्छिन्। बाफ बनेर फेरि बादल रुप धारण गरी हिमालतिर ठोक्किन आइपुग्छिन्।
नदीप्रणालीको महत्वपूर्ण यही मस्र्याङ्दीको वारिपारि र किनार हुँदै हिँडेर हामी केही दिन यात्रा गर्नेछौं। थ्रोंगपास कटेपछि अर्को नदी भेटिन्छ, कालीगण्डकी। त्यसको तिरैतिर गाडीमा हुँइकेर पोखरा पुगेपछि बल्ल अन्नपूर्ण हिमालको फन्को मारिनेछ।
मर्स्याङ्दीलाई बलात्कृत नदीका रुपमा पनि चित्रित गरिन्छ। नदीभन्दा बढी यो बाँधहरूको संजालले चिनिन्छ। हाम्रा सबैजसो नदीको भविष्य यस्तै देखिन्छ। ७० मेगावाटको मध्य मस्र्याङ्दी, ६९ मेगावाटको तल्लो मस्र्याङ्दी र ५० मेगावाटको अपर मस्र्याङ्दी चालु छन्। अरु ६०० मेगावाट निकाल्न तयारी छ। लमजुङभन्दा उत्तर मनाङसम्मै आयोजना बनाउने तयारी छ।
ठाडोपना नै नदीका लागि अभिशाप बनेको छ।। जति तेजले धेरै भिरालो बाटो छोटो समयमा बग्न सक्यो उति नै त्यसको आकर्षण बढ्छ। लगानीकर्ता आउँछन्। सस्तो र राम्रो माल देखेपछि बाँध बाँधिदिन्छन् र बिजुली निकाली दिन्छन्। भिराला खोला पहिले मासिन्छन्।
बिजुली निकालेर जीवन सहज बनाउने हो तर नदीखोलाको काम बिजुलीउत्पादन गर्नेमात्र होइन। यसको पर्यावरणीय र पारिस्थितिक प्रणालीमा योगदान हुन्छ।
तर हाम्रा अधिकांश नदीखोला एकातिर बाँध अर्कोतिर डम्पिङ साइटले भरिएका छन्।
नविनकी आमा र मेरा बाबुसँगै मस्र्याङ्दी सोच्दासोच्दै गाउँसहर पुगियो। बसीसहर भन्दा ७ किलोमिटर माथि।
‘गाउँपनि सहर पनि कसरी,’ मैले नविनका दाइ खुशी बराललाई सोधेँ।
‘पहिलापहिला लम्जुङे राजा यशोबर्धन शाह गर्मीमा गाउँमा बस्थे र जाडोमा बेसी सर्थे,’ उनले बुझाए, ‘त्यसैले माथि गाउँ सर भो, तल बेसी सर भयो।’
यही पछि गएर बेसीसहर र गाउँसहर भएको रहेछ।
बेसीसहरको उखर्माउलो गर्मी छल्न आधाघण्टा माथि काउलेपानी गाउँ पुगे भइहाल्ने रैछ। सुन्दर गुरुङ गाउँ। उत्तरपट्टि लमजुङ र अन्नपूर्ण हिमाल, पुर्वोउत्तरमा मनास्लु, हिमालचुली र हर्क गुरुङ पिक लगायतका हिमश्रृंखला।
काउलेपानीको होमस्टेमा कोदोको सेलरोटी, घरपाला कोदोको रक्सी (नारेपा) खान पाइयो।
‘गुरुङ भाषामा नारे भनेको कोदो, पा भनेको रक्सी,’ हामीलाई सिरानघरे देव बहादुर गुरुङ दाइले अर्थ लाइदिए।
बिदाइ गर्नेबेला तीन सुरुप रक्सी खुवाउने चलन रैछ। बेसारमा मोलेको धागो लगाइदिए। ‘थ्रोंगपासको यात्रा सफल होस्,’ त्यो धागो हो जस्तो लागेपनि मनमा थोरै विश्वास आइहाल्ने रैछ। जिन्दगी विश्वासमै चल्ने त हो।
‘यो धागोले रक्षा गर्छ चिन्ता गर्नै पर्दैन,’ देव बहादुर दाइको मुस्कान सहितको शुभकामना बोक्यौं। धागो घाँटीमा बेर्यौं।
‘श्रीमानश्रीमती मात्रै घरमा छम्। बा–आमा, छोराछोरी, नातिनातिना सबै पोखरातिर छन्। हामी यहाँ घर कुरेर बस्याछम्,’ श्रीमती गुरुङले उस्तै मुस्कानसहित भनिन्।
बेसीसहरबाट चामे झन्डै ६० किलोमिटर छ। ८०० मिटरमा रहेको बेसीबाट २७०० मिटरमा पुग्ने हो एकैदिनमा। गाडीको सुविधा भएपछि धेरै मान्छे गाडीमा गएर चामेबाट मात्रै हिँड्न थालेछन्। झन्डै ७ दिन हिँडाइको बाटो एकैदिनमा काटिने भो।
गाडीमा गुड्दा ठाउँ त चिनिने भयो, समाज चिन्न–बुझ्न सकिन्न। यहाँ भिरपाखामै अचेल गाडी गुड्न थालेछन्। मान्छेसँग फुर्सद पनि हुन छाडेछ।
बोलेरो जीप लिएर चालक आइपुगे। उनको नाम पनि नविन नै। अब नविन साथी र चालक नविन भाइ पहिले पनि हप्तौं सँगै हिँडेका रहेछन्।
‘म त छोडेर आएँ दाइ त्यो चाइनिजको काम,’ उसले एकै सासमा सुनायो, ‘साह्रै एकोहोरा हुँदारैछन् ती चाइनिज त।’
‘माथि च्याम्चेको भिरतिर हाइड्रोपावरको काम गर्न आका रे। साहुले जा भनेर गाको, घरिघरि त खोलातिर गाडी फाल्दिमजस्तो हुनेगरी रिस उठाउँथे,’ हाँस्दै भन्यो, ‘बदाम र भात खान लगाए ५ दिनसम्म। त्यस्तो खाएर बस्दिनँ भनेर फर्केँ।’
चिनियाँसँगको नविन भाइको अनुभव तितै भएछ।
उसको कुरा सुन्दै गर्दा साथी नविनले भन्यो, ‘अब फेरि चाइनिज नभन है।’
विलियमकी श्रीमती।
‘फेरि मेरैबारेमा कुराकाटे भन्लिन्।’
अन्नपूर्ण यात्राका लागि एक्याप परियोजनाका कर्मचारीसँग अनुमति रुजु गराएर हामी चामे हानियौँ। विदेसीको लागत राख्नुपर्ने हाम्रो भने नपर्ने रैछ। ‘हामी हराए वा केही भए के मतलब हैन सर,’ नविनले जिस्क्याउँदै भन्यो। ‘यो आफ्ना नागरिकलाई माया गर्ने राज्य त पक्कै होइन तर विदेसीसँग जाँदा कम्तिमा उनीरूको देशका सरकारले हामीलाई पनि उद्दार गर्लान् की,’ मैले हाँस्दै भनेँ।
खुदी काटेपछि भुलभुले नजिकै हाइड्रोपावर आउँछ– अपर मस्र्याङ्दी ए।
अबका केही दिन जताजता मस्र्याङ्दी, उतैउतै हामी। कतैकतै हिँड्ने बाटो छ, नभए सडक जिन्दाबाद।
चर्चित ट्रेकिङ रुट आजकल गाडी चल्ने बाटोले तितरवितर छ। यसो चराको आवाज सुनेर पर्खिबस्यो धूलो उडाउँदै र हर्न बजाउँदै गाडी आइपुग्छ। क्यामरा तेर्साउन नपाउँदै चरा उड्छन्, धूलो नाकसम्म आइपुग्छ अनि डिजेल–पेट्रोल ह्वास्स गनाउँछ।
विकासको एक सुरुप पारेर बाटो लाग्नुबाहेक विकल्प छैन। गाडी ओहोर–दोहोर गर्दा सजिलो बाटो पर्यो भने दुई चालक यसो थकाइ मार्न कता, कहाँ, कतिबेला जस्ता छोटा तर मीठा कुरा गर्न भ्याइहाल्छन्। नभए कम्तिमा एकपटक हर्न बजाउँछन्।
पहाडमा सुरुङ खन्ने अनि सरर गाडी रेल चढ्ने गफ काठमाडौंमा सुन्दै आएको। छोटो भएपनि सुरुङ यात्रा भुलभुलेमा गर्न पाइन्छ। जलविद्युुत परियोजनाले बनाएको यो टनेल अहिलेसम्म सार्वजनिक यातायातले प्रयोग गर्ने एकमात्र सुरुङमार्ग हो। सुरुङमार्गमा यात्रा गर्न लमजुङ जानुस्, रेल चढ्न जनकपुर!
बेसीसहरबाट पुर्वोउत्तर मस्र्याङ्दीको किनारैकिनार गुडेपछि खुदी खोला भेटिन्छ। उत्तर हानिदै, अन्नपूर्ण फन्को मार्ने हो।
आहा कति रमाइला!
जता हिमाल त्यतै उत्तर। हिमाल नै हाम्रो उत्तरी सीमाना हुन् भन्ने धेरैलाई लाग्छ। हिमालपारि जिल्ला पुगेपछिमात्रै छर्लङ्ग हुन्छ। उसो त मनाङ–मुस्ताङ जाँदा दक्षिणतिर पनि हिमाल देखिन्छन्।
हिमालको देशमा जन्मने, हिउँ देख्ने तर खेल्न नपाउने धेरै नेपाली छन्। २००७ तिर नगरकोटमा फास्सफुस्स परेको हिउँ खेलेको थिएँ। स्वदेसी हिउँ खेलेको एकमात्र अनुभव।
पछि सन् २००९ मा डेनमार्कमा रमाइलोसँग हिउँ खेलेको थिएँ। बल्ल अनुभव भएको थियो हिउँको सामिप्यता।
हिमालको देसमा हुर्केका हामी हिउँभन्दा कति टाढा रहेछौं भन्ने अनुभव गर्न हिमाल नजिकै जानुपर्दो रहेछ।
हामीलाई त खासमा हिउँ र हिमाल ‘ल्ह्सामा सुन छ, मेरो कान बुच्चै भनेजस्तो।’
चामे, दुई पहाडबीचको सानो वस्ती। घाम पनि चर–चरबाट छिरेजस्तो लाग्ने। दुबैतिर अग्ला चट्टानी पहाड। टोपी खस्नेगरि हेरे पनि टुप्पो देख्न गाह्रो।
पूर्वतिर दुई पहाडबीचबाट देखिने मनास्लु हिमालमा डुब्दै गरेको घाम। बास खोज्दै हिँडेका थकित यात्री। बास बस्न लागेका कुखुरा। पाक्दै गरेका खानेकुरा। सुसाइरहेको मस्र्याङ्दी तर अत्यासलाग्दो।
दुईतिर डरलाग्दा पहाडबीचका साना घरमा सुत्न अलि सकस नै हुनेरैछ। ‘
धेरै परिवर्तन भइसक्यो दाइ चामे त आजकल,’ नविनले भन्यो।
डबल बेड भएका कोठा, एट्याच बाथरुम। तातोपानी, चिसोपानी पाँच सय रुपैयाँमै।
विलियमलाई नविनले भने जस्तो न्याचुरल नेपाल विस्तारै देखिँदैथियो। तर जहाँ–जहाँ गाडी जान्छ, त्यहाँ विस्तारै ‘अनन्याचुरल’ चिजबिजले थिचिहाल्छन्। सानो खोलाको पुलमुनि फोहोरको थुप्रो, छरिएका प्लाष्टिक।
‘लौ अब न्याचुरल खोज्न अझै माथि जानुपर्ला जस्तो छ। विकास पुगिसकेछ यहाँ पनि,’ मनमनै भनेँ।
होटल पनि रोजीरोजी, खानेकुरा पनि। छिरिङ दोर्जी लामाको रोयल गार्डन होटलमा बास पाइयो।
‘मेरा हजुरबा बाठा रैछन्। बुढा त्यो बेलामै अंग्रेजी बोल्ने। प्रधानपन्च खाए बुढाले। हामी त टिबेटन हो। म तेस्रो पुस्ता हुँ,’ छिरिङले फरर्र कथा सुनाए, ‘पोहोर तिब्बत जाने भनेर कोराला गाको थिएँ। कट्टु पनि खोलेर चेक गर्यो।
दलाइ लामाको चेला भनेर शंका गर्छ। लामा भयो भने शंका गर्छ। बरु मेरो बुढीलाई सजिलो छ। गुरुङ भयो भने खासै वास्ता गर्दैन नत्र त गाह्रो छ।’
उनका हजुरबा तिब्बततिरबाट भागेर आएका रहेछन्। यतै घरजम गरे। छिरिङ सुनाउँदै थिए। पशु विकास मन्त्रालयका प्राविधिक रहेछन् तर काम चाहिँ छैन रे आजकल। ‘संघीयता आएपछि त कामै भाछैन, के गर्ने पनि थाहा छैन, काम पनि छैन आजकल त,’ उनी हाँसे।
ट्रेकिङको पहिलो दिनको गन्तव्य– मनाङको पिसाङ गाउँ। सबैजना बिहानको खाना खाएर लौरो बोकेर उकालो लाग्यौं।
तर्पयाँ तर्पायाँ बाटो। सल्लोको छहारी। टल्केका हिमाल अनि विश्वका विभिन्न देशबाट पसिना चुहाउने मनसायले हिँड्न आएका पर्यटक।
नेपाली धेरै कम, विदेसी बढी। फरक देशका फरक मान्छे, फरक अनुभव। ‘यात्रा गर्दा अरु नबोले आफूले ‘हेलो’ मात्रै पनि भन्नुपर्छ,’ मेरा एकजना मित्रले भनेका थिए, ‘अनि कुरा सुरु हुन्छ। गफगाफ हुन्छ। साथी बन्छन्। साथी बनाउने धागो नै त्यही हो। दुई शब्द र मुस्कान।’
उकालो चढ्दै गर्दा दुई महिना भारत घुमेर नेपाल आएकी बेलायती महिला भेट भइन्। न्युजिल्याण्डको रेस्टुरेन्टमा काम गर्ने रैछिन्।
‘नेपाल कति बस्ने नि,’ सोधेँ।
‘थाहा छैन। धित मर्नेगरी बस्ने हो,’ उत्तर फर्काइन्।
‘मानिसहरु घुम्न होइन, छुट्टि मनाउन आउँछन्। घुमे पो मज्जा आउँछ। म त कहिल्यै योजना बनाएर हिँड्दिन। जहाँ पुगिन्छ त्यहीँ बस्ने हो। जे पाइन्छ त्यही खाने हो। रमाउने हो,’ उनी गफिइन्।
सानो गितार आफ्नो झोलासँगै बाँधेकी घुमन्ते, गज्जब रमाइली। बाटामा भेटे जतिलाई हेलो भन्ने, मुसुक्क हाँस्ने।
‘दुई महिना भारत घुमेँ। धेरै कम मान्छे मुसुक्क हाँसेको देखेँ। तर जुन दिनदेखि नेपाल आएँ, जो पनि मुसुक्क हाँसेको देख्छु। जो पनि केही सहयोग चाहियो कि भनेर सोधिहाल्छन्। म त दंग छु। यस्तो लाग्छ यतै जिन्दगी बिताउँ,’ उनले अनुभव सुनाइन्।
अलिमाथि एक अष्ट्रेलियाली दम्पत्ती भेटिए। उनी कुरा गर्न थालिहालिन्।
‘तिमीलाई कस्तो गीत मनपर्छ,’ केटोले सोध्यो।
उनले जवाफ दिनुको साटो गितार निकालेर गाउन थालिन्। हामीले थपडी बजायौ। माहोल नै अर्कै भो। कस्तो रमाइला!
यात्रा रमाइलो गराउन पनि जान्नु पर्ने रहेछ। गीत सकिएपछि अगाडि बढ्यौं। खास उकालो थिएन।
‘अलिअलि गर्दै चढ्ने हो पहाड। सक्छु भनेर हस्याङफस्याङ गर्दै नहिँड है। पछि लेक लाग्छ,’ नविन बेलाबेला सम्झाउँथ्यो।।
विस्तारै गए दौड पक्कै जितिन्छ भन्ने कथा हामीले बच्चा हुँदै खरायो र कछुवाको दौड प्रतियोगिताबारे पढेकै हौं। यसलाई प्रयोग गर्न मिल्ने गज्जबको ठाउँ पहाडको यात्रा हो।
फेरि उनी गफिन थालिन्।
‘किन होला है मान्छेले हाँस्न नजानेको? मुसुक्क हाँसेर, एकदुई शब्द बोल्दा के जान्छ? मान्छेहरू कति कन्जुस भएका,’ उनी भन्दै गइन्, ‘खास गरेर भारतमा त मैले मुस्कानको खडेरी नै देखेँ। यहाँ आउँदा त स्वर्गै आएजस्तो।’
उनका रमाइला कुरा अनि घरिघरिका गीतमा अरु पनि रमाइरहेका थिए। सँगै हिँडेका अमेरिकी जोडी साथी भने अलि फरक प्रकृतिका थिए। विलियम त धेरै नै बोल्थ्यो तर उसकी श्रीमती न केही सोध्थिन्, न कसैलाई साथी बनाउँथिन्, न श्रीमानसँग बाहेक कसैसँग बोल्थिन्।
‘चीनमा हुर्केकी र अमेरिकीसँग बिहे गरेर हाइब्रिड भइछ की क्या हो,’ म बेलाबेला हाँसो गर्थे नविनसँग। मेरो यात्रा अनुभव आधारमा भन्ने हो भने धेरै कम चिनियाँ साथी भएका छन्। सँगै हप्तौं बिताएका मान्छे पनि छुट्नेबेला सम्पर्क ठेगाना पनि माग्दैनन्। कयौं चिनियाँसँग भेटियो तर तीमध्ये एकाधबाहेकसँग सम्पर्कै छैन। उनीहरू न धेरै कुरा सोध्छन् न आफ्ना धेरै कुरा भन्छन्।
ढिकुरपोखरीमा खाना खाएको चार सय पर्छ। भरपेट दालभात खान पाइन्छ अरु के चाहिन्छ भनेजस्तो। एउटा विदेसीले भनेको टुक्कै रैछ ‘दालभात पावर ट्वान्टी फोर आवर।’
कतैकतै यही लेखिएको स्टिकर टाँसेको पनि देखियो। ढिकुरपोखरीको भात पेटमा हालेर तेर्सैतेर्सै अन्नपूर्ण २ लाई देब्रे पारेर मस्र्याङ्दी तरेपछि पिसाङ गाउँ पुगिन्छ।
हरेक घर होटल हुन्। जहाँ छिरे पनि हुन्छ। अक्टोबर महिनामा त कोठा पाउन गाह्रो। अहिले भने ठीकै थियो। सबै होटलमा एट्याच बाथरु। तातोपानी चाहिँ बाहिरपट्टि एक ठाउँमा मात्रै। पालैपालो नुहाउनुपर्ने।
अन्नपूर्ण २ हिमाल त यसो उडेपनि पुगिएला जस्तो। हामी बाटैको एउटा होटलमा बस्यौं। दिउँसै थियो। हाम्रा बाटामा भेटिएका अष्ट्रेलियाली जोडी र ती न्युजिल्यान्डकी महिला माथिल्लो होटलमा बसेका रैछन्। गीत गाएको आवाज सुनियो। लौ गीत सुरु भइसकेछ। हामी पनि केहीबेर मिसियौं।
खाना खाएर विलियमका दम्पत्ती सुत्न गए। हामी साढे दस बजे राती क्यामरा बोकेर निस्कियौं। तारामण्डल र हिमालसँगै खिच्ने मौका यही हो।
जून लागिरहेको थियो। पुर्वोउत्तरमा स्वर्गद्वारी हिमालको टुप्पोमुनि छापेको जस्तो एकसरो हिउँ थियो। उत्तरपश्चिममा अन्नपूर्ण २ मा छपक्कै हिउँ। भएभरका कपडा लगायौं र झन्डै आधाघण्टा प्रयास गरेपछि बल्ल एउटा राम्रो
फोटो खिचियो।
क्यामरा हुँदैमा फोटो खिच्न जानिन्न। जान्दैमा राम्रो फोटो खिचिन्न। ‘मोमेन्ट क्याच’ गर्न जान्नुपर्यो, धैर्य र जाँगर हुनुपर्यो।
हामी ११ बजेतिर फर्केर सुत्यौं। राती २ बजेतिर नविन फेरि क्यामरा लिएर निस्कियो।
‘तारामण्डल अघिभन्दा झन् राम्रो छ। म त खिचेर आउँछु,’ भनेर गयो। मसँग त त्यत्रो जाँगर थिएन। त्यही फोटो हेरेर चित्त बुझाउँला भन्दै बसेँ। त्यो जाडोमा फेरि आधाघण्टा! भो बाबा म त सक्दिनँ।
ट्रेकिङको दैनिकी प्रायः एउटै हुन्छ। ब्रेकफास्ट गर्ने, सकेजति हिँड्ने, खाना खाने, फेरि हिँड्ने। साँझ नपर्दै बास खोज्ने र भोलिका लागि शारिरीक–मानसिक रुपमा आफूलाई तयार पार्ने। सके कपडा खोलेर सुत्ने नसके कपडैसँग पल्टने।
एकजोर पसिनाले नभिजेका कपडा राखिराख्ने। दिनभरि हिँडेपछि नभिजेका कपडा फेर्ने र सुत्ने। हरेक दिन त्यही कपडा लगाएर सुत्ने। अन्तिममा सबै कपडा सकिएपछि नवाइधुवाइ गरेर त्यो कपडा लगाउने र अन्तिम दिनको यात्रामा घर आइपुग्ने।
यति गरे धेरै कपडा बोक्न पर्दैन। यात्रा जति हलुंगो गर्यो उति राम्रो। यात्रा गर्न पनि धेरै कुरा सिक्नुपर्ने हुन्छ। हामी नेपालीले त पोको पारेका कपडामध्ये आधाउधी प्रयोग नै नगरी घर फर्काउँछौ। मेरो पनि पहिला–पहिला आधा कपडा त्यसै घर फर्कन्थे। पछि सकेसम्म कम कपडा बोक्ने र लगेका सबै प्रयोग गर्ने तरिका सिकेँ। आजकल लगेका लगभग सबै सामान प्रयोग हुन्छन्।
उपल्लो पिसाङबाट घ्यारु पुग्ने ठाडो उकालो अर्को दिनको मुख्य चुनौती हो। सिधै मस्र्याङ्दीको तिरैतिर गए हुम्डे हुँदै उपल्लो मनाङ पुगिन्छ। तर हिँड्ने मान्छे ठाडो उकालो दुई घण्टा चढेर घ्यारु हुँदै नावलको बाटो जान्छन् र फेरि झर्छन्। तागत र आँट भएका उकालो लाग्ने, नसक्नेहरू तेर्सो। हुम्डेको पिच गरेको विमानस्थल जहाजको पर्खाइमा छ। आजकल जहाज चल्दैनन्। उडुवा विकास छैन गुडुवा विकास चाहिँ पुगिसकेको छ।
बाटामा अनेक खालका कथा भेटिन्छन्। तपाईंसँग बोल्ने इच्छा र कथा सुन्ने चाहना हुनुपर्छ।
चार–पाँचा जना पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा सिभिल इञ्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत भाइ भेट भए। उनीहरु ‘हुरुरु’ समूहका थिए। हल्ला गर्दै हिँड्ने तर खासै वरिपरिका कुरामा चासो नदिने। मैले उनीहरुको नामै हुरुरु राखिदिएँ।
अलि माथि गएपछि एकजनाले ‘दाइ अलिकति पानी खान्छु है’ भनेर मसँग पानी मागे। मैले ‘ल भाइ मुखमात्रै भिजाऊ है’ भन्दै दिएँ। अब कुरा अगाडि बढ्यो। कता, कसरी, कहिले, के गर्छौ आदि।
घुम्नु भनेको त्यो ठाउँको महत्व पनि बुझ्नु हो। त्यहाँका परिवर्तन बुझ्न त्यहाँका मान्छेसँग कुरा गर्नु पनि हो। अनि पो समाज बुझिन्छ।
आजभोलि त धेरै मान्छे फोटो खिच्न मात्रै गएजस्तो गर्छन्। मोबाइलले यस्तो बनाइदिएको छ, धेरै मान्छे सेल्फी हान्न मात्रै आएका हुन् कि जस्तो लाग्ने।
‘मेरा बाबै कति आफ्नै फोटो खिचेका, कहाँ राख्ने होला, के गर्ने होला ती?’
हामी जोमसोमबाट बेनी आउँदै थियौं। बीचतिर रुप्सेको झरना पर्छ। कम्तिमा १० मिनेट हामी त्यहाँ बस्यौ। त्यसैको फेदमा कालीगण्डकी नदीमा विश्वकै सबभन्दा गहिरो खोँच छ। दस मिनेटमा १० वटाजति गाडी त रोकिए होलान्। मान्छे गाडीबाट क्यामरा अन गेरर निस्कन्थे, २–४ सट र सेल्फी हान्थे अनि गाडी चढेर कुदिहाल्थे।
केटाकेटीसँग गएका बाबुआमा हुन् वा साथीभाइ मिलेर गएका, कसैलाई त्यो रुप्सेको झरना एकछिन हेरेर टोलाउने फुर्सद थिएन।
‘त्यसको महत्व के हो, त्यसको उचाइ कति होला। त्यति राम्रो झरनाबीच सिमेन्टको मन्दिर किन बनाएको होला, वरिपरिको भुगोल कस्तो छ’ अहँ कसैलाई वास्ता छैन। तलपट्टिको खाँेच हेर्न जाने त झन् निकै कम। झरना हेर्न रोकिएकाहरू तल गएनन्। मोबाइल क्यामराले मान्छेलाई पट्टु नै बनाइदियो। रुप्सेको झरनामा आ–आफ्ना सुरमा सेल्फी हानिरहेकाहरूको मैले एउटा फोटो खिचेँ। एकछिन बस्यौंँ। खोचतिर गयौं र फर्कियौं।
भर्खर बोलचाल सुरु भएको पुल्चोके युवाहरूलाई यी हिमालको महत्वबारे खासै थाहा रहेनछ। वास्ता पनि छैन। तिनीमध्येका एकजना कट्टर धार्मिक रहेछन्। अरुले पकाएको नखाने, बिहान उठेर, नुहाएर मात्रै खाने।
‘यो दवाडी अब बोल्दैन दाइ,’ उनका एकजना साथीले भने। घ्यारु पुग्नुअघि एउटा बिसौनीमा सानो चियापसल अगाडिको धारामा ती भाइले झ्यामझुम लुगा फुकाले। धोती फेरे, नुहाए र मन्त्र जप्न थाले। त्यस्तो जाडोमा पनि!
‘झोलाभरी खानेकुरा छ दाइ, अरुले पकाको खाँदैन दवाडीले। अजिबकै छ दाइ,’ अर्कोले भन्यो।
टुप्पी पालेका र झोलाभरी आफ्नै घरबाट पकाएर खानेकुरा बोकेर हिँडेको इञ्जिनियरिङ पढ्ने युवा! विरलै भेटिन्छन् आजकाल।
‘यो भाइ सय वर्ष बाँच्छ,’ नविनले भन्यो।
‘बाँच्दैन दाइ। यसले धेरै धुवाँ उडाउँछ,’ अर्कोले जवाफ फर्काइहाल्यो, ‘त्यसैले यसलाई सिध्याउँछ चाँडै नै। ल केटा हो दवाडीको आजलाई बोल्ने कोटा पुगिसक्या छ। यो अब बोल्दैन। हामी सबै हास्यौं।
नुवाएका दवाडी भाइ कपडा फेरेर, ध्यान गरेर फर्के र उकालो लागे।
‘घुम्दा अलिअलि समाज, वातावरण पनि बुझ्दै हिँड्नुपर्छ है भाइ हो,’ मैले भनेँ, ‘तिमीहरुलाई थाहा छ कि छैन, तर ती पारिका हिमाल पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिमालय श्रृंखलाको एक भाग हो। झन्डै २७०० किलोमिटर लामो यो श्रृंखला विश्वका झन्डै डेढ अर्ब मान्छेलाई चाहिने पानीको स्रोत हो। यी सेता हिमालको काम हाम्रो क्यामरामा कैद हुने मात्रै होइन। त्यसैले यस्ता हिमश्रृंखलामा हिउँको मात्रा घटिरहेको छ भनेर चिन्ता बढ्दै छ।’
‘ओहो दाइ, हो र? मलाई त थाहा थिएन,’ एकजनाले भने।
हामी घ्यारु कटेर नावल पुग्दै थियौं। बाटामा एकहुल नाउर भेटिए।
‘अब हिउँचितुवाको बासस्थान आयो,’ नविनले भन्यो।
‘के हो हिउँचितुवा? कसरी थाहा भो बासस्थान आयो भनेर,’ एकजनाले प्रश्न गरे।
‘हिउँचितुवा विश्वकै दुर्लभ बन्यजन्तु हो। नेपालको हिमालमा पनि यो पाइन्छ। खासगरेर मनाङ त्यसका लागि प्रख्यात छ। हिउँचितुवाले नाउर खान्छन्। त्यसैले नाउर पाइने ठाउँमा हिउँचितुवा पाउने सम्भावना बढी हुन्छ,’ हामीले उनका प्रश्नको उत्तर दियौं।
‘ए हो है दाइ,’ उनीहरूले अचम्म माने।
मनाङमा पहिलोपटक हिउँचितुवाको प्रत्यक्ष फोटो खिच्ने टासी घलेसंग भेट्ने योजना छ। उनी स्कुलशिक्षा पनि पूरा नगरेका वन्यजन्तु वैज्ञानिक हुन्। खासमा फोटोग्राफर घले अहिले हिउँचितुवा संरक्षणमा काम गर्छन्। हिउँचितुवा लगायत जनावरका भिडियो–फोटो खिच्ने क्यामरा ट्रयाप राख्छन् र अनुसन्धानकर्तासँग मिलेर खोज अनुसन्धान गर्छन्।
‘मलाई त हिमालतिर गएपछि आनन्द लाग्छ। अरुले ध्यान गरेजस्तै, खेल खेलेजस्तै म हिमालतिर गएर वन्यजन्तुको अनुसन्धान गर्दा आनन्दित हुन्छु,’ टासी सुनाउँदै थिए। मनाङमा होटल चलाएर बसेका उनी प्रायः अनुसन्धानमै व्यस्त हुन्छन्। उनकी श्रीमतीले धानेकी छन् सबै काम।
प्रायजसो मान्छे मनाङमा दुई रात बिताउँछन्। त्यसो गर्दा उचाइसँगै ज्यानलाई अनुकूलन गराउन सकिन्छ। गंगापूर्ण हिमताल छेउमा बसेको उपल्लो मनाङमा ठूलै वस्ती छ।
यो गाडी पुगेको अन्तिम मुख्य बजार हो। हाम्रोमा विकास भनेको बाटो हो। गाडी चलोस्–नचलोस् त्यो अर्को कुरो। डोजरले खोस्रेर रेखी लाएपछि त्यो ठाउँ विकसित मानिन्छ।
यो भन्दा माथिमात्रै खासमा न्याचुरल नेपाल छ। गाडी छैनन्, घोडा छन्। योभन्दा माथि विकासको धुवाँ खानुपर्दैन। उकालो चढ्दै याकखर्क हुँदै थ्रोंगफेदी पुग्ने हो।
यात्राअनुरुप हामी याकखर्कमा बस्नुपर्ने थियो। तर खानेबेलैमा याकखर्क पुगेका हामी अलि जान्ने भयौं र आफूलाई बलिया ठान्यौं। थाकिएको छैन यति चाँडै बास बस्ने र भन्दै पहाडलाई जित्ने उत्कट चाहना आयो। नविनले त नजाउँ भन्दै थियो तर चारजनाको टोलीमा तीन जना जाने भएपछि अल्पमतमा परिहाल्यो। प्रजातान्त्रिक व्यवस्था!
त्यसैदिन थ्रोंगफेदी पुग्यौं। बेलुकी ५ बजिसकेको थियो। घाम अस्ताइसकेको अनि फिरफिर हिउँ परिरहेको।
थ्रोंगफदीमा तीनवटा मात्रै होटल छन्। हामी दोस्रोमा बस्यौं। यस्तो लाग्थ्यो मान्छेहरू त्यहाँ लेक लाग्नेबाहेकको कुरै गर्न जान्दैनन्। तीनजना चिनियाँ वान्ता भएपछि हेलिकप्टर मगाएर गए रे। केही अरु लसुनको सुप खाँदैछन्।
केही चाहिँ लेक लाग्दा खान खाने डाइमक्स नामको औषधी खाँदै थिए। अस्पताल जस्तो लाग्ने होटल त।
हाम्रो पनि बाठोपनको नकारात्मक असर देखिन थालिसकेको थियो। विलियमकी श्रीमती बिरामी भइ। ‘धमिलो देखेँ, टाउको पनि दुखिराछ’ भन्न थाली। दुइटा डाइमक्स खान दियौं। होटलका साहुजीलाइ पर्यो भने जुनेली रातमा घोडा चढाएर भए पनि तल झारिदिनुपर्छ है भनेर बाचाकबुल गरायौं।
‘आजको रात कसरी काट्ने?राती केही हुने हो कि’ भन्ने डर भो। फोन लाग्दैन, बत्ती छैन। लेक लागे तुरुन्तै तल झार्ने हो। यही हो उपचार।
नविन पनि निन्याउरो भइसकेको थियो। ‘मलाई पनि टाउको एकदम दुखिराछ,’ उसले पनि भन्न थाल्यो।
अर्को फसाद!
तीनचार चोटी थ्रोगंपास गरेको उसलाई पनि गार्हो भो। म र विलियम ठीक थियौं। विलियमकी श्रीमती केही खान पनि मान्दिन र आँखा पनि खोल्दिन। विलियमलाई ढाढस् दिदैँ ‘केही परे मेरो कोठामा ढकढक्याउनु है’ भनेर हामी सुत्न गयौं।
निद्रा पर्ने त कुरै भएन। सुतेजस्तो मात्रै हो गरेको। बिहान उठ्ने बित्तिकै नविनले भन्यो, ‘म त अहिले नै तल नझरे मर्छु। मेरो झोला प्याक गर्देऊ न यार मैले सकिनँ,’ ऊ जुत्ता लगाएर हिँडिहाल्यो। भरिया सबै बिहानै थ्रोंगपास गइसके। घोडा पनि गइसके। अब फसाद पर्यो।
‘विस्तारै जाँदै गर। म तिम्रो झोला पठाउने काम गर्छु,’ भनेर उसलाई पठाएँ। एकजना भरियालाई बल्लबल्ल मनाएर २ हजार रुपैयाँ दिएपछि झोला झारिदिन राजी भए।
‘जहाँ उसलाई भेट्छौ, त्यहीसम्म यो झोला पुर्याइदिनु र उसलाई बोकाइदिनू’ भनेर पठाएँ।
हाम्री महिला साथी तंग्रिएकी देखिइन्।
विलियमलाई सोध्न लगाएँ, ‘उकालो जाने कि ओरालो?’
उसले ‘ठीकै छु, हाइक्याम्पसम्म विस्तारै जान सक्छु होला’ भनी। विस्तारै उकालो लाग्यौं। थ्रोंगपास गर्ने आस बाँकी नै थियो तर एकजना साथी छाड्नुपर्दा भने बेखुसी थियौं।
‘पहाड वेवास्ता गर्दै ऊ जसरी हिजोअस्ति हिँडेकी थिइ, त्यसमा उसलाई पछुतो भो रे!’ विलियमले मलाइ खुसुक्क भन्यो, ‘मलाई लाग्छ उसले अब बल्ल हिमाललाई धेरै सम्मान गर्नेछ। यो रातभरिको सिकाइ हो। स्लो एन्ड स्टिडी विन द रेस। सी विल फलो नाउ अनवार्डस्।’
बिहानै थ्रोंगपास गएको घोडा ९ नबज्दै आइपुग्यो। गोर्खातिरका एकजना भाइ काम गर्न होटलमा बसेका रैछन्।
‘परिवारसँग नबोलेको २ महिना भइसक्यो। त्यसैले घोडा लिएर दुई घन्टा माथि थ्रोंगपास नजिकै एकठाउँमा टावर टिप्छ। फोनमा बोलेर आको,’ यसो भनिरहँदा उनको मुहार हँसिलो भयो।
दुई महिनामा जहानपरिवारसँग बोल्न पाउँदा कसलाई खुसी नलागोस्। आजकल खाडीबाट बरु दिनदिनै फोन गर्न मिल्छ, छेवैको मनाङबाट गोर्खा मिल्दैन।
हाइक्याम्प पुग्न ठाडो दुई घण्टा उकालो छ। एउटामात्रै होटल छ। ‘खाए खा नखाए घिच’ भनेजस्तै हो। जो पहिला पुग्यो, कोठा उसैले पायो। ढिलो पुग्ने किचन वा जहाँ ओत पाइन्छ, त्यहीँ पल्टिने।
भोलि हिमाललाई जित्ने हो। अन्तिम उकालो पार गर्ने हो। जहाज उड्ने उचाइमा हिँडेरै पुग्ने हो।
तर, भोलिको चिन्ता, फर्किएको साथी, परिवारसँग सम्पर्कबिहीन र भर्खर विरामी भएर उठेकी सहयात्री देख्दा मन भारी थियो। दिनभर कालो चिया र लसुनको जुस खाएर बिताइयो। रात भने घन्टा गनेर कटाएँ।
नविन पुग्यो की पुगेन, सहयात्री भोलि हिँड्नसक्ने हो की होइन, आफैंलाई राती लेक लाग्ने पो हो की!
चकमन्न रातमा छोरीले बोलाएको सम्झेँ। पल्लो खाटमा हिजोसम्म साथी हुन्थ्यो, आज छैन, कता पुग्योे होला। फ्याट्ट एकछिन मोबाइलमा टावर आइदिए त दुई कल गरिहाल्न हुन्थ्यो।
टावरले के सुन्थ्यो मेरा मनको आवाज!
हिमाल हेर्दा मनमोहक देखिन्छ, झेल्न भने कम्ता गाह्रो छैन। दुई बजे रातीबाट बुट बझेका आवाज सुनिन थाल्यो। मान्छे हिँडिसके। हामी भने ५ बजेतिर हिँड्यौं। घुमाउरो अनि उकालो। कतै हिउँले पुरिएका बाटा त कतै जमेका हिउँ। कचक–कचक हिउँ टेक्दै हिँड्नुको मजै बेल्लै।
५४१६ मिटरमा थ्रोंगपास देखियो।
‘तपाईंलाई बधाइ छ!’ ढुंगामा लेखेको ब्यानर छेउ फोटो खिच्नेको भिड छ। पालो पर्खेर आफ्नो फोटो खिचेपछि हर्षित मन लिएर ठाडो ओरालो झरिन्छ। उकालोमा अत्तालिएको मन ओरालो लागेपछि मात्तिन्छ।
‘यस्ता हिमाल त चढिहालिन्छ नि’ मनमनै आफैंलाई भनेँ। कतिचाँडो बिर्सेको त्यो डर र चिन्ता। उकालोमा सुँइसुँइ गरेका भरिया दौडिदैछन्, अरु पनि दंग छन्। अब धौलागिरि र निलगिरि हिमालबीचको मुस्ताङ जिल्लाको कालीगण्डकी उपत्यका झरेपछि हिँडाइ सकिन्छ। अनि विकास चढेर बेनी, बाग्लुङ, पर्वत हुँदै पोखरा। त्यसपछि झनै विकसित काठमाडौं।
ठाडो ओरालो तीन घन्टा लगातार झरेपछि मुक्तिनाथ आइपुगिन्छ। विकास देख्न पाइन्छ। हामी पनि लोकल विकासमा दुई घन्टा लगाएर मुक्तिनाथबाट जोमसोम आइपुग्यौं। दुई बजे चढेको ४ बजे मात्रै छुट्यो।
मिनिबसभित्र दुई घन्टा लाउन्जमा बस्यौं। ठूलोस्वरमा गीत बजिरहेको छ। सिटमुन्तिर प्वाल छ, भुइँ नै देखिन्छ। मान्छेहरू चढ्ने–झर्ने गरेकै छन्। घरघरै रोकिन्छ।
कागबेनी पुगेपछि एकजोडी पर्यटक थपिन्छन्। साँघुरा घुम्तीमा बस कालीगण्डकीतिर हुत्तिने हो की जस्तो गरी घुम्छ। हल्लाखल्ला छ। कालीगण्डकीको तिरैतिर हल्लिँदै जोससोम आइपुग्यो।
थकित ज्यान कता पल्टिमजस्तो भइसक्यो। हावा वेगले चलिरहेको छ। एक गिलास बियर ज्यानमा पर्दा त नसा–नसामा पुगेजस्तो भयो। अहो! यो वियर भन्ने पनि के बनाएछन् मान्छेले ज्यान पुलकित छ।
जोससोमै बजारमा बाह्र बजे हावा सरर भनेको त जतिखेर पनि हावा सरर रैछ। ५ बजे पनि हावा सरर नै थियो।
बिहानै धेरै पैसा तिरेर रिजर्भ गरेको विकास चढेर पोखरा हानिन्छ। सरकारले जता पनि बाटो कोतरेकै छ। जताततै डोजर छन्। चालक भाइलाई कहाँकहाँ गाडी रोकिन्छ थाहा छ।
‘बाटो बन्दैछ दाइ, त्यसैले ११ बजेअघि लेते काट्नपर्छ’ उनी कस्सिराछन्। हाम्रो विश्वास उनैमा छ।
‘लौ गाडी फसेछ,’ उनले सुनाए।
एउटा टाटासुमोलाई क्रेनले तान्दैरैछ। कही बस र जीप पर्खेर बसेका छन्। हाम्रो पालो त्यसपछि छ। बाटो थलथल हल्लिराछ।
माटोले पुरेको बाटोमा तल पानी पलायो रे, बाटो त लिचिकलिचिक नै छ।
त्यसैलहरमा गाडी हुल्ने हो, काटे काटियो नत्र क्रेनले तानेर ल्याउँछ। हाम्रा भाइ जब्बर रैछन्, एकसटमै कटाए। हामी मख्ख। बाटो बढ्दै छ। कोरालासम्मै उत्तर दक्षिण जोड्ने सबभन्दा भरपर्दो बाटो। मस्र्याङ्दी पछ्याउँदै
उकालो लागेको ज्यान कालीगण्डकी पछ््याउँदै ओरालो झर्दैछ।
पोखरा पुग्दा पानी झमझम थियो। नविन फर्केर उही बाटो बेसीसहर पुग्दा हामी पनि थ्रोंगपास गरेर मुस्ताङबाट पोखरै पुगेका थियौं।
भालिपल्ट फेवाताल घुम्ने योजना छ। हरेक वर्ष पोखरा पुग्दा फेवाताल साँघुरिएकै देखिन्छ।
एकजोडी पर्यटक तालवाराही मन्दिर जानेबाटोबाट पामेतिरको तिरपट्टिको ताल छेउकै एउटा रेष्टुरेन्टमा एउटा फरक खालको बाजा बजाएर मजाले गीत गाउँदै छन्। राम्री केटी अनि चट्ट परेको केटो।
अमेरिकी जोडीलाई आफैं घुम भनेर हामी दुई जना क्यामरा बोकेर नेपाली पारामा घुम्न निस्क्यौं। जहाँ पुग्यो, त्यहीँ बस्ने। जे पायो, त्यही खाने वाला घुमाइ।
एकजोडी भेट्यौं, त्यही बस्यौं। दक्षिण अमेरिकी देश पेरुको ठिटो अनि रुसी ठिटी मायाजालमा परेछन्। केटाको नाम भ्यालिन्टिनो रहेछ। नेपाल आएको ४ महिना भो रे। केटो संगीतकार केटी स्रोता। हाम्रो सारंगीजस्तै तर एकपट्टि सीतारको जस्तो डल्लो परेको बाजा थियो। पेरुको बाजा रहेछ। चारंगो भन्दा रहेछन्। कताकता हाम्रो सारंगीसँगै मिल्दोजुल्दो नाम।
उसले गीत बजाउँदा उसकी रुसी प्रेमिका छेउमै गमक्क परेर बस्थी। गज्जब सहुाएको। सिमसिम परिरहेको पानी, बचेखुचेको फेवाताल अनि गज्जबको गीत संगीत, अरे वाह!
ती क्याम्पसका दिन याद आए। एमएससी पढ्दा फेवातालको गहिराइ नापेका थियौं, दसक नाघिसक्यो। अहिले कति पुरियो होला?
फेवाताल सबै पुरियो भने कतिको मायाको चिनो पुरिन्छ? मेरो पनि।
बिहे पछि धेरै नेपालीको हनिमुन जाने ठाउँ अझै पनि पोखरै हो। यही फेवातालको सेरोफेरोमा पोखराको सुन्दरता छ। यही पुरिए पोखरा कस्तो होला? मान्छेहरूले मायापिरतीका कुरा गर्न कहाँ जालान्? यी जोडीले यसरी गीत गाउन पाउलान् की नपाउलान्?
‘मलाई केही राम्रा गीत सिकाइदेऊ न,’ पेरुभियाली केटोले आग्रह गर्यो। हामीले उस्को ट्याब्लेटमा नेपथ्यका केही गीत देखाइदियौं।
‘अहो यस्तै हो मैले खोजेको,’ उसले दक्षिण अमेरिकी लवजको अंग्रेजीमा भन्यो, ‘खासमा घुम्न जान्नु मात्रै पर्छ। पैसा बाधक हुँदैन। मैले पैसा कमाएको छैन तर गत ४ वर्षदेखि गाउँदै हिँडिरहेको छु। मलाई पुगेकै छ। यहाँ गीत सिक्छु अरु देशमा गएर गाउँछु। फरक देसबाट सिकेका गीत फरक देसमा गाउँदै मनोरन्जन दिन्छु।’
अरु देसका गीत गाएर सुनायो।
‘मैले भर्खर सिकेको गीत सुन्ने हो,’ उसले सोध्यो।
‘सुन्ने,’ भन्दै हामीले त्यो जोडीलाई एउटा वियर अफर गर्यौं। वियरको सुर्की मार्दै पेरुको ठिटो गाउन थाल्यो– सुन साइली, सुन साइली, परदेशबाट म आउँला, सुन साइली साइली, चालिस कटेसी रमाउँला। सुन साइली साइली, कालिस कटेसी रमाउँला।
कतै लय, कतै शब्द बिर्सेर चालिसमा कालिस मिसाइएको उसको गीतले हाम्रो हप्तादिनको थकाइ मर्यो।
उसको गीत सुन्दा रमाइलै भए पनि, मर्म मरेको थियो। जसरी न्याचुरल नेपालको मरेको छ। पहिले थानकोट कटेपछि देखिने न्याचुरल नेपाल देख्न अब उपल्लो मुस्ताङ काट्नुपर्ने!
के थाहा, यही ठिटो केही वर्षपछि नेपाल आउँदा यस्तो पो गाउला कि– सुन साइली, सुना साइली, न्याचुरल नेपाल कता छ?