नयाँ लुगा किनेको एक-दुई सातामै 'यस्तो पनि किन किनेछु' भन्ने प्रश्न कति जनाको मनमा आउँछ?
तपाईंको मनमा पनि यस्तो प्रश्न आउँछ भने अस्वाभाविक नठान्नु होला।
कहिलेकाहीँ त कस्तो हुन्छ भने, हामी कुनै रङको लुगा एकदमै मन पराएर किन्छौं, तर लगाएर हेर्दा जीउलाई सुहाउँदो देखिँदैन। अन्य पहिरनसँग त्यो रङ मिल्दो पनि हुँदैन। अनि हामीलाई बेकारमा किनेछु भनेर थकथक लाग्छ।
फेसनको दुनियाँमा पहिले स्टाइल, ब्रान्ड वा ट्रेन्डलाई बढी महत्त्व दिइन्थ्यो। हिजोआज रङ संयोजनले बढी महत्त्व राख्न थालेको छ। कस्तो स्टाइलको लुगा लगायो भन्दा पनि रङ संयोजन कस्तो थियो भन्नेले ठूलो अर्थ राख्छ। कुन रङको सर्ट वा टिसर्ट लगाउँदा कस्तो प्यान्ट लगाउने, जुत्ता कस्तो लगाउने, मोजा कुन रङको रोज्ने — यस्ता कुराले मान्छेको फेसन चेत मापन गर्छ।
फेसनमा रङ संयोजनको महत्त्वलाई पेन्टिङसँग दाँज्न सकिन्छ। कुनै पनि पेन्टिङमा रङको महत्त्व हामी सबैलाई थाहै छ। एउटै क्यानभासमा सबै खालका रङ मिसायो भने त्यो पक्कै राम्रो देखिँदैन। त्यसैले कुशल कलाकारले जथाभाबी रङ प्रयोग गर्दैन। विषयअनुसार रङ संयोजनमा उसले विशेष ध्यान दिन्छ।
फेसन भनेको पनि पेन्टिङजस्तै हो। रङको उचित संयोजनले उत्कृष्ट पेन्टिङ बनेजस्तै राम्रो रङ संयोजनले नै फेसनलाई आकर्षक बनाउँछ।
यो स्टोरीमा म पछिल्लो समय चलेका रङ संयोजनका पाँच वटा ट्रेन्डबारे चर्चा गर्दैछु।
१. स्यान्डविच फेसन
स्यान्डविच फेसन अहिलेका नयाँ पुस्तामा एकदमै ट्रेन्डिङ छ। नामै स्यान्डविच भएपछि यसमा रङको संयोजन पनि स्यान्डविचकै शैलीमा गरिन्छ।
जसरी स्यान्डविचमा पाउरोटीका दुई टुक्राबीच मासु, सागसब्जी, गोलभेडा, प्याज लगायत खानेकुरा राखिएको हुन्छ, यसमा पनि माथि लगाउने लुगाको रङ र जुत्ताको रङ एकै हुन्छ। बीचमा भने अर्कै रङको लुगा लगाइन्छ।
उदाहरणका लागि — माथि सेतो सर्ट लगाएको छ भने जुत्ता पनि सेतै लगाइन्छ। प्यान्ट भने कालो, निलो वा अन्य रङको लगाउन सकिन्छ।
हुन त तपाईंहरूले जानेर वा नजानीकन यसरी रङ मिलाएर लुगा लगाउनुभएकै होला, तर हिजोआज जेन-जीहरूले यसलाई स्यान्डविच फेसनको नाम दिएका छन्। टिकटकमा यो खालको फेसन एकदमै चल्तीमा छ।
यो खालको रङ संयोजनले शरीरको माथिल्लो र तल्लो भागमा सन्तुलन ल्याउँछ। हेर्दा सफा, चिटिक्क मिलेको र आकर्षक देखिन्छ। दैनिक फेसनमा यस्तो रङ संयोजनले स्मार्ट देखिन्छ। औपचारिक वा अनौपचारिक; दुवै किसिमका अवसरमा यो फेसन प्रयोग हुन्छ।
यसमा पूरै एउटै रङ हुनु जरूरी छैन। कतिले मिल्दोजुल्दो रङ पनि प्रयोग गर्छन्।

२. थ्री कलर फेसन
यसलाई फेसनको आधारभूत नियम मानिन्छ। तपाईंलाई फेसनको खासै ज्ञान छैन भने पनि यत्ति कुरा ध्यानमा राख्नुस् — तपाईंले लगाउने लुगा, जुत्ता, मोजा, ज्याकेट, स्वेटर वा टोपीको रङ तीन वटाभन्दा बढी नहोस्।
भन्नुको मतलब — तपाईं सेतो सर्ट, निलो जिन्स र कालो जुत्ता लगाउन सक्नुहुन्छ। यसमा कालै रङको ज्याकेट पनि लगाउन सक्नुहुन्छ।
तीन रङको नियममा कालो र सेतोलाई चाहिँ 'न्युट्रल' मानिन्छ। यी दुई रङका पोसाक अन्य रङसँग सजिलै घुलमिल हुने भएकाले गणना गरिँदैन।
भन्नुको मतलब — तपाईंले सेतो सर्ट, निलो जिन्स र कालो जुत्तामा हरियो ज्याकेट लगाउनुभयो भने पनि फरक पर्दैन। यहाँ चार वटा रङ प्रयोग भए पनि सेतो र कालो दुवै न्युट्रल रङ भएकाले हरियो ज्याकेट लगाउँदा नमिल्दो देखिँदैन।
यहाँ टाई, टोपी वा मोजाको रङमा पनि ध्यान दिनुपर्छ। सामान्यतया कालो मोजा लगाउँदा जुनसुकै रङको पहिरनमा सुहाउँदो देखिन्छ।
एकैचोटि धेरै रङका लुगा छ्यासमिस गरेर लगाउनु भनेको क्यानभासमा धेरै रङ पोतेजस्तै हो। त्यसले मान्छेको आउटलुक बिगार्छ। ऊ झट्ट हेर्दा रंगीबिरंगी देखिन्छ। त्यसैले आकर्षक आउटलुकका लागि तीन रङको संयोजनमा ध्यान दिनुपर्छ भन्ने मान्यता प्रचलित छ।

३. एनालोगस फेसन
तलदेखि माथिसम्म एकै खालका रङको संयोजन गरेर लुगा लगाउनुलाई एनालोगस फेसन भनिन्छ।
रङहरूको आ-आफ्नो वर्ग हुन्छ। निलो रङमा गाढा निलो, हल्का निलो गरी विभिन्न किसिमका हुन्छन्। रातो, सुन्तला र पहेँलो रङ पनि एउटै वर्गमा पर्छ। गुलाबी र बैजनीलाई एकै वर्गको रङ मानिन्छ। लुगा लगाउँदा एकै वर्गका विभिन्न खाले रङ प्रयोग गर्ने शैली यो फेसनअन्तर्गत पर्छ।
उदाहरणका लागि — हल्का निलो रङको सर्टमा गाढा निलो जिन्स र मध्यम निलो ज्याकेट एकदमै सुहाउँछ। गुलाबी स्कर्टमा बैजनी रङको टिसर्ट पनि खुब खुल्छ। यसमा तपाईं हल्का बैजनी स्कार्फ थप्न सक्नुहुन्छ।
यसरी एउटै वर्गमा पर्ने विभिन्न रङका लुगाले तपाईंको आउटलुक सहज बनाउँछ। तपाईंको लुगा फरक फरक रङको हुन्छ, तर झट्ट हेर्दा रंगीबिरंगी हुँदैन। त्यसले तपाईंलाई आकर्षक आउटलुक दिन्छ।

४. पप कलर फेसन
यो यस्तो फेसन हो, जसमा तपाईं कुनै एउटा यस्तो रङको लुगा लगाउनुहुन्छ, जसले सबैको आँखा तान्छ।
भन्नुको मतलब — तपाईंले कालो वा सेतो रङको बीचमा गाढा निलो ज्याकेट लगाउनुभयो भने त्यो निलो रङ टाढैबाट प्रस्ट छुट्टिन्छ।
त्यस्तै, कालो सर्ट र गाढा निलो प्यान्टमा सेतो जुत्ता लगाउनुभयो भने त्यो सेतो जुत्ताले एकदमै फरक आउटलुक दिन्छ।
यति मात्र होइन, माथिदेखि तलसम्म कालो लगाएर सेतो जुत्ता लगाउँदा वा कालो लुगामा रातो ब्याग बोक्दा पनि फरक आउटलुक आउँछ। यसले तपाईंलाई स्टाइलिस देखाउँछ।

५. मोनोक्रोम म्याजिक फेसन
यो फेसन एनालोगससँग मिल्दोजुल्दो हुन्छ। फरक यत्ति हो, एनालोगस फेसनमा तपाईं एउटै वर्गमा पर्ने विभिन्न रङका लुगा लगाउनुहुन्छ भने मोनोक्रोममा विभिन्न सेडको एउटै रङ प्रयोग गर्नुहुन्छ।
उदाहरणका लागि — कालो र खैरो रङको संयोजन मोनोक्रोम फेसनमा पर्छ।
गाढा सुन्तला र हल्का सुन्तला रङ पनि यसमा पर्छ। कालो र गाढा निलो रङ पनि चल्तीमा छ।

***