जिन्दगी विगतका कैयौ मोड र सम्झनाका घुम्तीहरूले लपेटिरहेको हुन्छ । त्यतै कतै उब्जिन्छन् कयौ प्रश्नहरू । देखिन्छन् जिन्दगीका कैयौ चौतारीहरू। भेटिन्छन् कैयौ प्रतिक्षालयहरू । जिन्दगी आफैमा एक यायावर बनिसकेपछि हिड्नुमै आनन्द छ । घुम्नु मै मस्ती छ । आखिर जिन्दगीको सुर्यास्त भएपछि पुनः कहाँ भेटिन्छ र जिन्दगी । शायद यस्तै कुराहरू मनन गरेर बनाइरहेका होलान लेखक तथा पत्रकार अमृत भादगाउँलेले पूर्वदेखि पश्चिमसम्म घुम्ने योजनाहरू । उनले घुम्न बाँकी जम्मा दुई जिल्ला मात्रै छन रे। यस पटक पनि काठमाडौंदेखि खप्तडसम्मको एकहप्ते सामुहिक भ्रमणको योजनाकार पनि उनै थिए।
यात्राको नाम राखेका थिए – खप्तड काब्य यात्रा । आयोजक संस्था थियो कन्सेप्ट नेपाल काठमाडौं। गंगादशहरामा खप्तडमा मेला लाग्छ त्यो मेला हेर्ने सोचले तय भएको थियो यात्राको मिति पनि। यात्राका विषयमा सुरुका दिनदेखि नै छलफलमा सरिक रहेका पर्यटन व्यवसायी अमर बहादुर शाही र कबि भोजराज न्यौपाने घरायसी कारणले गर्दा हामीसँग यात्रामा सरिक हुन सकेनन । दुबै जनालाई यात्राभर मिस गरिरह्यौं।
जेठ ६ गते दिउँसो बालाजु चोकबाट बस छुटेको थियो सुदूरपश्चिम धनगढीको लागि। बिभिन्न कारणले गर्दा कलंकी पुगुन्जेल अपरान्हको चार बजिसकेको थियो । राष्ट्रगानका लेखक ब्याकुल माइला लगाएतका केही साथीहरू बसको पर्खाइमा थिए।
बिस्तारै गाडीले आफ्नो गति बढाइरह्यो चार जना साइकल यात्रीसहित १३ जनाको टिमलाई बोकेर । मुग्लिङबाट थपिए दमौली र पोखराबाट केही साथीहरू। निकै नै उल्लासमय ढंगले त्रिशूलिमा सेती मिसिएझै मिसिएका थिए पोखरातिरबाट आएका साथीहरू। सागर उदासले हातमा बोकेको रेडियोमा जब गुञ्जियो राष्ट्रगान सबै जना उठे आ-आफ्नो सिटबाट। साथमै थिए राष्ट्रगानका रचयीता ब्याकुल माइला। त्यतिबेला लागेको थियो एउटा सिंगो देश बोकेर गुडिरहेका छौं कतै टाढाको देशतिर।
उसो त उहिले उहिले सुदूरपश्चिमबासीले काठमाडौंलाई नैपाल भन्थे नै। काठमाडौबाट आएकालाई नैपालबाट आएका भन्थे। हो त्यही नैपालबाट यात्रा सुरु गरेका थिए कवि, लेखक, पत्रकार र साइकल यात्रीहरूले भूस्वर्ग भनेर चिनिने त्यही खप्तडसम्म।
छुट्टै रौनक छाइरहेको थियो बसभित्र । गीतको मुहान फुट्न थालेको थियो । बसभित्रै कम्मर मर्काउँदै नाच्नेहरू उत्तिकै थिए। त्रिशूलीको किनारै किनार झ्यालबाट भित्रै छिरेर स्पर्स गरिरहेको थियो चिसो बतासले ।
नारायणगढ पुगुन्जेल रातको ११ बजिसकेको थियो । पर्खाइमा थिए कबिहरू भूपीन, निमेस निखिल, हेमन यात्री र समालोचक उदय अधिकारी।
बस रोकेर सडकमा एक छिन गीत गाउँदै नाचेको दृश्य हेर्दै थिए वरपरका पसलेहरू पनि ।
कावासोतीमा साँझको खाना खाएपछि आआफ्नो सिटमा निदाएका यात्रुहरूले कस्तो सपना देखिरहेका थिए। लामो यात्रामा कति सकस झेलेका थिए केही थाहा भएन। तर, पनि सबै जना प्रफुल्लित मनोदशामा देखिन्थे।
भोलिपल्ट बिहान कर्णाली पुलमा फोटो खिच्न अभ्यस्त देखिन्थे सबै मनहरू । त्यो पुल बनेपछि मात्रै हो सुदूरपश्चिमेलीहरूलाई नैपाल आउन सजिलो भएको। त्यसअघि भारत भएर आउनु पथ्र्यो । ७ गते दिउँसोको १ बजेतिर धनगढीको दिनेश कटेजमा निकै नै आत्मीयतापूर्वक स्वागत गरेका थिए कैलालीका पर्यटनविद् समाजसेवी गोपाल हमालले।
त्यही दिन दिपायल पुग्नु पर्ने थियो । तराइको हपहपी गर्मीले सबै जना उकुसमुकुस भइसकेका थिए। दिनेश कटेजमा खाना खाए लगत्तै छोटो परिचयात्मक कार्यक्रम पश्चात काब्य यात्राका संयोजक अमृत भाद्गाउँलेलाई नेपालको झण्डा दिएर बिदाइ गरेका थिए गोपी दाइले।
उता वायुयान म्यूजियममा सम्पूर्ण यात्रीहरूलाई स्वागत गर्न पर्खिरहेका थिए म्यूजियम संचालक क्याप्टेन बेद उप्रेती। म्युजियममा फोटो सेसन सिद्धिए लगत्तै यात्रा सुरु भयो डोटीको लागि।
धनगढीबाट थपिएका थिए कैलाली गजलमञ्चका अध्यक्ष गजलकार टोपेन्द्र शाह रसिक र पत्रकार आर्जु हमाल ।
गोदावरीको उकालो कटेपछि पुगिन्छ खानीडाँडा। भासुको भीर छिचोल्दै पाहाडको नागबेली बाटोमा एकनासले गुडिरहेको थियो गाडी।
ठाउँठाउँमा डढेलो लागेको दृश्य क्यामेरामा कैद गर्न हतारिन्थे पत्रकार घनश्याम खड्का। रातको ९ बजेको हुँदो हो डडेल्धुराको भात्काडामा खाना खाएर सुरु भएको थियो यात्रा। डडेल्धुराको सीमा सिद्धिए लगत्तै देखिन्छ सेतीको किनार। सडकभन्दा केही तलबाट दौडिरहेकी थिइन् सेती नदी सडकमा दौडिरहेको थियो २४ जना यात्रु बोकेको बस। दुबै उस्तै हतारमा थिए आआफ्नो गन्तब्यमा पुग्न। राति करिब १२ बजे दिपायलमा बास बस्न पुगियो।
खप्तड जाने यात्रुको चापले गर्दा खचाखच भरिएका थिए दिपायलका होटेलहरू। डोटी उद्योग बाणिज्य संघले हाम्रो ब्यवस्थापनको जिम्मा लिएको थियो।
होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दीपक खड्का र डोटीका पत्रकार अरुण बमको कडा मेहनतले होटलमा केही कोठाहरू पाइएको थियो।
दोस्रो दिन अर्थात जेठ ८ गते यात्रा सुरु भएको थियो सिलगढी हुँदै बिचपानी पुग्ने।
सिलगढीमा अवस्थित प्रसिद्ध मन्दिर शैलेश्वरीको प्रांगढमा तीन जना स्रष्टालाई दस-दस हजार नगद सहित सम्मानपत्र दिई सम्मान गरियो।
सम्मानित स्रष्टाहरू मध्येका धन बहादुर मल्ल राससका उपत्यका बाहिरका पहिला पत्रकार हुन्। २०१५ सालमा परिमल स्नेही भोरलङस्वारलगाएत कयौ गायक गायिकालाई काठमाडौं पुर्याएर रेडियो नेपालमा गीत गाउन लगाएका थिए।
उनी राम्रो मूर्तिकार र चित्रकार पनि हुन्। डोटीमा बसेर शिक्षण गर्नुका साथै नाटक लेखन निर्देशन जस्ता कार्यमा पनि सरिक हुँदै आएका छन ।
सम्मानित अर्का स्रष्टा थिए ८१ वर्षका गोपाल पार्की । १८ वर्षको उमेरदेखि डेउडा खेलमा सवालजवाफ गर्न सुरु गरेका पार्की अरु युवाहरूझै भारतमा दरवानी गर्न गएनन्।
दुई तीन पटक गए घुमफिर गरेर महिना दिनमै फर्किए। त्यही डेउडा गीतप्रतिको लगावले गर्दा फर्किए। डेउडामा सवालजवाफ गर्ने क्रममा कतै हार खाएनन्। कुनैकुनै ठाउँमा डेउडा खेल्दा जितेपछि स्याबासी स्वरुप बोका मिल्थ्यो जित्ने समूहलाई। यसरी खाइएका बोकाको संख्या पनि ५३ पुगेछ। उनले कति ठाउँमा र कतिपटक डेउडा खेल खेले कुनै हिसाव नै छैन।
कहाँ कति ओजपूर्ण गीतहरू रचना गरे त्यसको पनि कतै लेखाजोखा छैन। गाउँगाउँ डुलेर डेउडाखेल खेले । आफ्नै मस्तीको जिन्दगी बाँचे। अहिले पनि कसैले पुराना दिनका डेउडाका कुरा सुनायो याद दिलायो भने मख्ख पर्छन्।
सम्मानित हुने अर्का स्रष्टा थिए पदम नेपाली। डमरू जस्तो सानो बीचको भाग साँगुरो र दुइतिर फुकेको बाजा हो हुड्को। त्यो हुड्को बजाउनेलाई हुड्के भनिन्छ। यही हुड्को बजाउदै नाच्दै बीर परुषहरूका गाथा गाइन्छन्। हुड्केलीलाई भारत पनि भनिन्छ।
यसमा मूख्य गायक एक जना हुन्छ भने अरुले लय मिलाउन साथ मात्रै दिन्छन्। पदम नेपाली हुड्केलीको त्यो मूख्य गायकको नाम हो। घरमा खान लाउनलाई निकै दुख हुँदा पनि पदम कही गएनन् कामको लागि। पेट पाल्न भारतमा गई नोकरी गर्ने समयमा उनले हुड्केली गाउन सिके।
विद्यालयको दैलो नदेखेका उनले सुनेका कुरा कण्ठ पारे र आफ्ना भाइ भतिजाहरूलाई समेत सुनाउन थाले। सिकाउन थाले। धेरै जसो ठाउँबाट लोप भैरहेको हुड्केली जोगाएर राखेका छन्। भाइ भतिजा सहितको ५ जनाको समूह बनाएर ठाउँठाउँमा भारत सुनाउन पुग्छन उनी।
जीवनभर कहिल्यै पुरस्कार र सम्मान नपाएका दलित समुदायका नेपाली र पार्कीको मुहारमा पुरस्कार पाएपछिको खुसी हेर्न लायक थियो। ती इमान्दार आर्थिक रुपले गरिबीको छायाँमुनि दिन बिताइरहेका स्रष्टाको मुहारको चमक सजिसजाउ पारिएको शैलेश्वरी मन्दिरको भन्दा कम थिएन।
सम्मानका लागि छानिएकी अर्की स्रष्टा थिइन डिक्रा बादी । उनी त्यो गला भएकी गायिका हुन जसले गाउँदा प्रकृति नै टोलाएझै लाग्छ । तर, शारीरिक अश्वस्थताका कारण उनी उपचार गर्न दिल्ली पुगेकी रहिछन् त्यतिबेला। यो खवर थाहा पाउने बित्तिकै यात्राका संयोजक अमृत भादगाउँलेले घोषणा गरिसकेका थिए चाडै नै काठमाडौंमा उनको एकल गायन कार्यक्रमको आयोजना गर्ने भनेर ।
सिलगढीको ज्ञानु होटेलमा खाना खाएर सुरु भएको थियो झिग्रानासम्मको यात्रा। सिलगढीभन्दा माथि बसको यात्रा असम्भव थियो त्यसैले झिग्रानासम्मको यात्राका लागि जीपको ब्यवस्था गरिएको थियो।
दुई घण्टाको जीप यात्रा पछि झिग्राना पुगियो।
झिग्रानामा क्याप्टेनको नेतृत्वमा शमशेर गुल्मको एक टुकडी राखिएको छ। डोटीबाट थपिएका साथीहरू र एक जना भरियासहित २९ जनाको जम्बो टिम थियो हाम्रो।
उकालो चढ्दै गर्दा अंग अंगमा स्पर्स गर्दै भाग्थ्यो सिरसिरे बतास। वरिपरि घनघोर जंगल बिभिन्न किसिमका चराचुरूंगीका आवाज र प्राकृतिक सुन्दरताले मोहनी लगाइरहन्थे।
बिश्राम गर्ने ठाउँमा अडेश लगाउदा याद आउथ्यो आठ वर्ष अगाडि यात्रा गर्दा बिस्तारै सुस्त गतिमा पधेडा गाउँ डोटीका कमल सिं बोगटीले गुन्गुनाएका डेउडाका पंक्तिहरू।
बाखरा खाएन किन गाइ खाने बाघले
सहन सकेन कैलेइ यै पेटका आगले
भरियाका दिन र गरिबी जिन्दगीको मर्म समेटिएका कैयौ यस्ता गीतहरू सुनाएका थिए त्यतिखेर कमलसिंले।
तीन घण्टाको उकालो उक्लिसकेपछि चोया काढ्ने ठाउँ पुगिन्छ। उहिले उहिले गोठालाले निगालो चिर्दै चोया बनाउँदै गरेका हुँदा यो ठाउँ चोया काट्ने ठाउँको रुपमा चिनिएको रहेछ।
बाघबुट्टे निगालाका झाडीको सौन्दर्यले शोभायमान देखिन्थ्यो त्यो ठाउँ । बिवाहित महिलाको सिउँदो जस्तो चौरको बीचमा सानो बाटो बनाएको थियो वर्षातको भेलले।
चोया काट्ने ठाउँबाट एकघण्टा हिँडेपछि बीचपानी पुग्दा रातिको १० बजेको थियो।
जहाँ आजभन्दा दस बाह्र वर्षअघि नै लाखौं रूपैया खर्चिएर निर्माण गएिको गोलघर ठिंग उभिएको थियो।
कुहिरोको पछ्यौरी ओढेर सेताम्मे भएको थियो त्यसबखत बिचपानी। एउटा सानो होटल छ त्यहाँ। होटेल मालिकले पालैपालो सबैलाई खाना खुवाइरहेका थिए।
जसोतसो पेट भरेर निदाएपछि भोलिपल्ट बिहानै पुनः तय भयो खप्तडका यात्रा।
साइकल यात्री देबेन्द्र बस्नेत, सुदिप पौडेल, रन्जन राजभण्डारी र गोपाल श्रेष्ठ अलिकति तेर्सो बाटो पाउने बित्तिकै कँदाइ हाल्थे। उकालोमा त काँधमा बोक्नुको बिकल्प नै थिएन।
करिब चार घन्टाको यात्रापछि खप्तडका पाटनहरू देखिए। टेबुलमा कचौरा घोप्ट्याए जस्तो आकृतिमा रहेको खप्तड सुदूरपश्चिमको चेरापुञ्ज नै मानिन्छ।
स्कन्दपुराणमा उल्लेख भए अनुसार यस शैलखण्डलाई भूस्वर्ग मानिन्छ । कुनै समयमा खप्तड कुवेरको राजधानी पनि थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ भन्ने सुनिन्छ।
संस्कृतिविद् शिवराज श्रेष्ठ मल्लका अनुसार दक्षप्रजापतिले यज्ञ लगाएको ठाउँ पनि खप्तड नै हो । सतिदेवीले प्राणत्याग गरेको होमकुण्ड पनि खप्तडमै थियो । महाभारतकालमा पाण्डवहरू खप्तडकै बाटो भएर कुरुक्षेत्र पुगेका थिए रे । युद्ध पश्चात मृतात्माहरूको आत्माको शान्तिका लगि यही खप्तडको त्रिवेणीमा आई तर्पण गरेका थिए भन्ने मिथकहरू सुन्नमा आउछन्।
यो क्षेत्र धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले निकै नै महत्व राख्छ। त्रिवेणीधाम, सहस्रलिंग, केदार ढुंगो, खप्तड बाबाको आश्रम, खप्तड दह, नागढंगा, घोडा दाउनी पाटन जस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउछन्।
करिब ६०० प्रजातिका वनस्पतिको आंकलन गरिएको यो क्षेत्रमा ३४५ प्रजातिको बैज्ञानिकरण भैसकेको छ।
पाँच औले, जटामसी र लोटसल्लो जस्ता दुर्लभ प्रजातिहरू यहाँ पाइन्छन्।
यस क्षेत्रमा सात प्रकारका गुँरासहरू फुल्छन् जसमध्ये बाउन्ने गुरास एक हो। यहाँ २८७ प्रजातिका चराहरू र २३ किसिमका जनावरहर पाइन्छन्। समुद्री सतहबाट ११००० फिट उचाइमा रहेको यसको क्षेत्रफल २२५ वर्ग किमि छ। बिभिन्न किसिमका फूलहरू फुल्दा बुट्टेदार गलैचा जस्तो देखिने सुन्दर पाटनहरू भएको खप्तड एउटै ढुंगामा अवस्थित छ।
५२ पाटन २२ दह भएको क्षेत्रको रुपमा खप्तड चिनिदै आएको छ। जहाँ २२ वटा ठुला पाटनहरू छन भने अन्य अरु ससाना पाटनहरू छन्।
तालमा पनि खप्तड दह, बुकि दह लगाएत ३/४ वटा मात्रै बाँकी छन् अरु सबैजसो पुरिएर गए। विश्वबजारमा मूल्यवान ठानिएको गुचिच्याउदेखि सुनजाइ, सेतो जाइ, इन्द्रकमल, रातकी रानी लगाएत बिभिन्न प्रकारका फूल र वनस्पतिहरू यहाँ पाइन्छन्।
खप्तड बाबाको आश्रम नजिक राखिएको अभ्रखले प्रष्ट पार्दछ कि यो ठाउँमा अग्रख खानी छ भनेर। जुनकुरा बझाङ्गे राजा रामजंग सिंहले राजा महेन्द्रलाई उत्खननका लागि बिन्ती बिसाएको इतिहासले पनि पुष्टि गर्छ।
राजा महेन्द्रको अनुमति अनुरुप भारतबाट उत्खनन्का निम्ति केही जनशक्ति झिकाइएको थियो रे पछि किन हो कुन्नि केन्द्रबाटै रोक लगाइएछ ।
मेलाको बेला बस्न गाह्रो भइरहेको कुरालाई मनन गरी पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घ बोगटीले खप्तडमै गाउँपालिकाको बैठक डाकी ५० लाखको ट्रष्ट बनाउने पत्रकारहरूबीच घोषणा गरेका थिए।
दीर्घ बोगटी डोटेली संस्कृतिका अध्येता पनि हुन्। उनको हाम्रो संस्कृति तथा पर्यटन नामक पुस्तक पनि प्रकाशित छ।
आगामी आर्थिक वर्षबाट काम सुरु हुने उक्त ट्रष्टमा ३५० जनासम्म यात्रु बस्न सक्नेछन्। पछिल्लो पटक पर्यटन क्षेत्रको विकासका लागि डोटीका केही सरोकारवालाले निकै नै चासो लिएका छन्। तर उता खप्तड विकास समितिका कुनै पदाधिकारीहरू देखिएनन मेलामा।
वर्षेनी करौडौको बजेट जान्छ खप्तड क्षेत्रको विकासको लागि तर खासै उपलब्धि केही देखिदैन।सरकारी तवरबाट राम्रोसँग प्रचारप्रसार नै भएको देखिदैन ।
सुदूरपश्चिम क्षेत्र प्रकृतिक सम्पदाका हिसाबले जति धनी छ त्योभन्दा बढी सांस्कृतिक दृष्टिले समृद्ध छ।
हरेक वर्ष जेष्ठ शुक्ल दशमीका दिन लाग्ने गंगादशहरा मेला हेर्न टाढा टाढाका मानिसहरू यहाँ जम्मा हुन्छन्।
गंगा दशहरा खास गरेर चेलिबेटीले मनाउने पर्व हो। यस पर्वमा रंगीचंगी कपडाका ससाना टुक्राहरूबाट पुतली बनाउने तिनको पूजा गर्ने र साँझपख पानीको मुहान नजिक ती पुतलीहरूलाई सेलाउने गरिन्छ। यो पर्वमा पुतला नाच देखाउने र गीत गाउने गर्छन्।
दशहराका दिन खप्तडका पाटनमा देखिने तीर्थालु र पर्यटकहरूको मुहारको कान्ति नै अर्कै देखिन्थ्यो । ती पाटनका किनारातिर हेर्दा लाग्थ्यो आकाशलाई कतै उफ्रेर छुन सकिन्छ कि?
अनि सैपालका चुचुराले अवलोकन गरिरहेझैं लाग्थ्यो मान्छेका क्रियाकलापहरू। हृदयमा बास बस्न आउथे नजिकैका जंगलहरू।
त्यस्तै रातभर महिला र पुरुषका सवाल जवाफले खप्तडका पाटनको शोभा बढाइरहेझैं लाग्थ्यो ।
वर्तुलाकार समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदचाप मिलाएर समूहमा लयवद्ध ढंगले गाइने र खेलिने नृत्य सहितको खेल डेउडा हो। जसका शब्दशब्दमा जिन्दगीका आलाप र आयामहरू भेटिन्छन्।
तिनै आलाप र आयामहरू प्रशनोत्तर शैलीमा प्रस्तुत गरिरहेका थिए त्यहाँका डेउडियाहरूले ।
खप्तड काब्य यात्रा २०७५ निकै नै उपलब्धीमुलक रह्यो।
हरेक यात्राहरू भविष्यमा गएर सम्झनाका सुमधुर लय बन्दछन्।
हाम्रो मस्तिष्कमा बेलाबखत तरंग पैदा गरिरहेका हुन्छन्। यात्रा गरेका क्षणहरू जति पुराना बन्दै जान्छन उति नै बढी सुमधुर र प्रिय लाग्छन्। त्यसमै पनि उस्तैउस्तै सिर्जनशील मनहरूसँगको यात्रा झन बढी स्मरणीय भैरहन्छ ।
खप्तड काब्य यात्राका सहभागीहरू प्रायजसो सर्जक नै थिए । पारस्परिक सम्वाद गायन नृत्य र ठट्टाले यात्राको रौनक बढाएको थियो । कबि भूपीनले बोल्दा पनि कतै कबिता नै वाचन गरिरहेका छन कि जस्तो लाग्थ्यो । उनका हरेक शब्दहरू बडा जतनका साथ गम्भिरतापूर्वक निस्किरहेका थिए । कबि अभय श्रेष्ठसँग लोकगीतका गम्भिर पक्तिहरूको संग्रहालय छ भन्ने कुरा मैले सोचेको पनि थिइनँ।
निकै गहिरो भाव बोकेका गीतका पंक्तिहरू जतनसाथ भण्डारण गरेका रहेछन् उनले स्मृतिपटलमा। तिनलाई उपयुक्त स्थान र समयमा पस्किन्थे।
ब्याकुल दाइसँग फोटो खिच्न लालायित थिए यात्राको दौरानका क्रममा ठाउँठाउँमा देखिएका मनहरू। हरेक ठाउँमा केही नकेही बिर्सिएकै हुन्थे ब्याकुल दाइले।
आर के अदिप्त गिरि एक फकिरझै मस्त देखिन्थे। घाटीमा क्यामेरा झुण्ड्याएर राति १२ बजेसम्म जुनेलीको आभा बोकेर खोजिरहेझै देखिन्थे जिन्दगीको लय। खप्तडका फाँटहरूमा त्यो लय भेटाए या भेटाएनन।
आर के जस्तै बिन्दास अर्का यात्री थिए सुरेन्द्र राना जो अचेल गुरिल्ला भनेर बढी चिनिन्छन । सुरेन्द्रले म्याग्दी, रोल्पा रुकुम जोड्ने पदमार्गको नामा गुरिल्ला पदमार्ग राखेका थिए। त्यसपछि उनको नामै गुरिल्ला राखिदिएछन् साथीहरूले।
यात्रामा तिनै गुरिल्लाको हितैसी बनेका अर्का मस्तराम मान्ठाको नाम हो तारानाथ पहारी। भिटोफ पोखराका संस्थापक अध्यक्ष पहारीले यात्रामा नाचे गाए प्राकृतिक सुन्दरताको भरपुर आनन्द लिए।
उनीसँगै मस्त मौलाना बनेका थिएकबि तथा पत्रकार अमृत सुवेदी र आख्यानकार गणेश पौडेल पनि । थाह छैन यो पोखराको हावापानी नै यस्तै हो या अक्षर यात्राले यी सबैलाई मस्ताना बन्न सिकाएको थियो ।
दमौलीका सागर उदाश बाटो भरी हातमा रेडियो बोकरे गीत सुनाउथे मेमोरिकार्ड सिस्टम समेत भएको हुँदा उनको रेडियोमा उनले चाहेको गीत बज्थ्यो। बाटोमा आउदा जादा खाली हात हुनु हुन्न भन्दै चिठ्ठा तान्न लगाएर केही नकेही उपहार दिने उनको शैली गजबको थियो। उपहार पनि कण्डमदेखि घडि रेडियोसम्मका थिए।
गीतका नयाँनयाँ भाका फेर्दै गाउन र कुशलतापूर्वक नृत्य गर्ने सागर यात्राका आकर्षक नै थिए। कतै सुन्दर कविताको खोजि गरिरहेका छन कि झै देखिन्थे कबि हेमन यात्री।
कबि निमेष निखिल, र क्यामेराम्यान हुमनाथको गीतसंगीतप्रतिको लगाव र यात्राका क्रमको उमङ्ग छुट्टै थियो। कैलाली गजलमञ्चका अध्यक्ष टोपेन्द्र शाह रसिक प्रफुल्लता र गाभ्मिर्यता बोकेर आफ्नै सुरमा रमाइरहेका देखिन्थे। क्यामेरामा त्यहाँका दृश्य कैद गर्न आतुर देखिन्थे।
भर्खरै भएको अपरेसनबाट तंग्रिँदै गरेका अल्पभाषी कवि दीपेन्द्रसिंह थापा मानिससँग सोधपुछ गर्न व्यस्त रहन्थे।
बेलाबखत लजालु युवती मुस्कुराएझै मुस्कुराउथे कार्यक्रम संयोजक भादगाउँले।
डोटीका पत्रकार भाइहरू लगायत त्यहाँका अन्य मित्रहरूको स्वागत र बिदाइ गर्ने शैलीमा पूर्ण हार्दिकता झल्किन्थ्यो ।
११ गते बिहान खप्तड मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको हातबाट घाटीमा लगाइएको बिदाइको खादा लिएर फर्कियौ ।
साँझ डोटीको सदरमुकाम सिलगढी नजिकैको पुन्ना गाउँको ग्रामीण विकास प्रशिक्षण केन्द्रमा मिलाइएको थियो बासको ब्यवस्था।
त्यो साँझको खाने बस्ने सम्पूर्ण व्यवस्था मिलाएको थियो डोटी उद्योग वाणिज्य संघले। भोलिपल्ट बिहानै चौरमा मेरिटेसनको कक्षा लिइरहेका थिए पत्रकार घनश्याम खड्का।
दिपायलमा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले धमारी, डेउडा, पुत्लालगायतका डोटेली लोक साहित्यभित्रका केही भाकाहरू सुनाएर सबैलाई खादा पहिराइ बिदाइ गरेको क्षण निकै नै भावपूर्ण थियो।
करिब दस बजेतिर कालागाढ नजिकैका शक्तिपीठहरू भागेश्वर र गन्धर्व पूजारी रहेको शालमुनिको दर्शन गरियो।
कालागाडमा खाना खुवाउने जिम्मा लिएका थिए पर्यटनविद् अमरबहादुर शाहीले। दाजुभाइ होटेलमा सेतीका माछासँगै निकै नै मिठो खाना खाएर यात्रारत रह्यौ काठमाडौंका लागि।
काठमाडौं फर्किएको पनि निकै दिन भइसकेछ। यतिखेर फेरि त्यही नोष्टाल्जियामा हराउँदै छु। त्यो भूमि निकै प्यारो हुन्छ जहाँ बाल्यकालका पदचापहरू छोडिएका छन्।
सिमसिमे पानीमा भिज्दै गरेका गोरेटाहरू, खप्तडका ती रमणीय पाटनहरू बाटोमा सुनिएको भैसीको घाँडोको मधुर ध्वनी सेती र कर्णालीका छालहरू, ती कुइनेटाहरू सबैलाई सम्झनामा राखेर गुनगुनाउन मन लाग्छ वर्षौ अघि सुनेका यी पक्तिहरूः
खेल्लेभे खप्तड आएइ पड्डे भे कासीजा
काँ छै मेरा रानीचडा मुसुक्क हासीजा
तस्बिहरू