यूएई यात्रा अनुभवः
झरी परेको एक साँझ काठमाडौंको सबभन्दा लामो र सिधा धर्को हुँदै भुइँ छोडेको हुँ। जमिनको धर्को छोडेर आकाशमा एउटा ठूलो पोखरी बनाउँदा जहाजले २९ हजार फिट नाघ्यो। पोखरीमा सगरमाथा डुब्यो।
हिँड्ने बेलामा नवराज आइपुगेको थियो। नवराज सगरमाथा, सगरमाथा नवराज।
ऊ सहरको कुनै धर्कोमा गुड्दै होला यसबखत। ऊसँग अरू धेरै गुड्दै होलान्। सम्झिएर सम्झनाको धर्को कोरेँ।
संवाद पनि एक धर्को त हो।
जहाज उड्ने बेला हल्लिएको थियो। अहिले पनि हल्लिरहेको छ। ऊ हल्लिँदा एयरपोर्टको गुणस्तर थाहा हुने। गाडी हल्लिँदा बाटोको। बोली हल्लिँदा मान्छेको धरातल थाहा भए झैं।
कम्पन पनि एक मापन त हो। कसैले काँपेको बोलीमा बोलेको बोलीले जति तरंग केहीले दिएको याद छैन।
बादलमा नछिरुन्जेल जहाज उडेको जस्तो नलाग्ने रहेछ। आफ्नो वरपर भएका चिजले गति छ भनिदिने रहेछन्। जहाज बढ्दा पछाडि छोडिइरहेका बादलका धर्काहरू देखेपछि लेख्न सुरु गरेको हुँ।
सजिलो बाटोमा हिँडुन्जेल गति थाहा हुँदैन। अप्ठ्यारोमा पुगेपछि गति माथिको सन्तुलन थाहा हुन्छ। धेरै चिज अप्ठ्यारोमै दुर्घटना हुन्छन्। कतिपय बेला सजिलो बाटोमा पनि सन्तुलन दुर्घटना हुन्छ। देशमा ‘दुर्घटना’ बढ्दो छ।
बोली दुर्घटना भइरहेछन्। अनि केही बिम्बहरू। ती बिम्बमा सपना पनि मिसिएछन्। आशा भरोसा खुइय्य गर्दैछन्।
समय पनि केवल बिम्ब त हो।
लेख्दै गर्दा परको क्षितिज रातो हुँदै गएको छ। डुब्न लागेको घामले जाँदाजाँदै क्षितिजमा लामो धर्को कोरेजस्तो। त्यो रातो रङ विस्तारै-विस्तारै गाढा हुँदैछ।
रातो रङ गाढा। गाढा रातो रङ।
कुनै पनि चिज ज्यादा गाढा भयो भने कालो हुन्छ। अँध्यारो। रङ पनि एक भ्रम त हो। गाढा नहुन्जेलसम्म बाँचेको भ्रम।
भ्रममा हुनेहरू आफूलाई कहिलेसम्म रंगिन देख्लान्?
एकैछिनमा त्यो रंगिन क्षितिज गाढा हुनेछ। अनि ‘सावधान हुनेछन् आँखाहरू।’
सिटबाट क्षितिजको घेरो र जहाजको पखेटा एकैपल्ट देखिन्छ। घरिघरि एक अर्काको समानान्तर लाग्छन्। जहाजलाई कतै पुगेर बस्नुछ। घामलाई कतै पुगेर खस्नुछ। कसलाई हतार होला?
क्षितिजको केही फोटो खिच्छु। जाँच्छु। रातो क्षितिज अझै रङ फेरिरहेको छ। म उसलाई समानान्तर पारेर तलको कुहिरो र माथिको आकाश बीचमा पार्न खोज्छु। ऊ बीचमा पर्न मान्दैन।
घाम तल तल जाँदै गर्दा माथि माथि पुगेर रंगिन हुन खोज्छ।
क्यामरा आँखा होइन। आँखा क्यामरा होइन।
ठीक त्यहीबेला जहाज बेस्सरी हल्लिन्छ। मन समानान्तर। सिटबेल्टको साइन अन हुन्छ। अगाडि टर्बुलेन्स छ। टर्बुलेन्स सिट बेल्ट, सिट बेल्ट टर्बुलेन्स।
आफूलाई जित्न विमान कर्मचारीका आँखा खोज्छु। अरूको आँखामा खोजिने चिजहरू सम्झिन्छु। साहारा, दया, माया, घृणा सबै आँखामै खोजिन्छ। आँखाले जति संवाद विरलै गर्छ केहीले।
केही आँखाहरू सम्झिन्छु। ती जहाज थोरै हल्लिँदा हराइजान्छन्।
नजिकैको सिटमा पहिलोपल्ट जहाज चढेका आमाबुबा छन्। हुनसक्छ झ्यालतिर बसेकी उनकी छोरीले घुमाउन लाँदैछिन्। वा हुनसक्छ उनीहरूलाई कसैले चढाएर गयो र कोही पर्खिरहेको छ। उनीहरूको आँखामा मेरोभन्दा धेरै डर छ।
निदाउने प्रयास जहाजको सानो हल्लाइले फेरि पनि असफल भइरहेपछि जहाजको आँखामा आँखा मिसाउँछु। तल बादलको देश छ। क्षितिजको लामो धर्को लगभग नदेखिने भइसक्यो। पखेटामा उज्यालो थपिएको छ। झिमिक्क झिमिक्क गर्दैछ।
तल कुनै बस्ती देखिन्छ। बत्ती बलिरहेका छन्। बत्ती बलेको हेरेर सहर हो या गाउँ चिनिन्छ। सहरमा अलि धेरै बाटो र उज्यालो छरिएको छ। उनीहरूको उचाइमा मेरो उचाइभन्दा अँध्यारो भइसक्यो। उचाइले के देख्ने र के नदेख्ने फरक पार्ने रहेछ।
उचाइ के लाई भन्ने दुविधामा छु। भ्रममा छु।
बादलको देशभन्दा माथिको यो जहाजको देश। ठीक यतिबेला संसारभर कति जहाज उडिरहेका होलान्? उड्ने सबै मानिसको संख्या कति होला? सायद एउटा देश नै आकाशमाथि छ। महादेश नै आकाशमा छ।
आँखा खोलिरहेकै बेला तल बादलमा बिजुली चम्किन्छ। म रमाउँछु। त्यसको प्रकाश आधा धर्तीतिर र आधा मतिर आउँछ। उता कति पुग्यो? यता कति आयो?
बाल्यकालमा पुग्छु। त्यसरी नै बिजुली चम्किँदा खुसी भएर बादलतिर हेर्थेँ। बिजुली। बादल। बादल बिजुली।
त्यो उज्यालो क्षणिक हुन्थ्यो। लाग्थ्यो छिनमा आएर छिनमै गइहाल्छ। तर आज वर्षौंपछि त्यही चम्किएर मलाई बाल्यकालमा लिइगएको छ। क्षणिक चिज भन्ने बुझाइ पो गलत थियो कि। ती दिमागमा बलियो भएर बस्छन् क्यारे।
छोटो समयमा नजिक हुनेहरूलाई सम्झिन्छु।
सोच्न थाल्छु: तल कतै सानो ‘म’ केटाकेटी भएर खेलिरहेको हुँला। बिजुली चम्किएको हेरेर हाँसे हुँला। रमाए हुँला। नजिकै भएकी आमालाई कोट्याएर सोधेँ हुँला।
‘बिजुली कसरी चम्किन्छ?’
‘माथि भगवान् छन्। तीनले को-को बच्चा ज्ञानी छ भनेर हेर्छन्।’
‘म कति ज्ञानी छु त? भगवानले मलाई देखे कि देखेनन्?’
ठाउँ अनुसार बिजुली चम्किने कारण फरक-फरक हुँदो हो। भगवान् फरक-फरक हुँदा हुन्। सोध्ने बालापनले फरक-फरक बुझ्दो हो।
त्यो तलको भूगोल कुन पो होला? भारत कि पाकिस्तान? आमाले भनेको भगवान् को हुन् इन्द्र कि अल्लाह?
प्रश्नवाचक यसबेला कहाँ बसिरहेको हुँदो हो? गाउँमा कि सहरमा? बाटोमा कि घरमा? घरमा कि शरणार्थी शिविरमा?
प्रश्नवाचक हुर्किँदै जाँदा उसले सोध्ने प्रश्न पनि फेरिँदै जान्छ? प्रश्नहरू जटिल हुँदै जाँदा उत्तर दिनेहरू पनि फेरिँदै जान्छन्। ऊ उत्तर नपाउन्जेल प्रश्न सोधिरहन्छ। जवाफ नआए बिद्रोह गर्छ।
ऊ बसेको ठाउँको असमानता बिजुली चम्किँदा कस्तो देखिँदो हो? दिउँसो कस्तो देखिँदो हो? कि धेरै उज्यालोले आँखा टल्काउँदो हो?
जहाजको पखेटा हेर्छु। झिलिक झिलिक उज्यालो बलेकै छ।
अरू को-को होलान् जो सपना किन्न उडिरहेका होलान्? तिनलाई त्यो पखेटाले के भन्दो हो? मलाई त एयरपोर्टमा लिन आउने मान्छे को हो भन्ने थाहा छ। उनीहरूलाई थाहा हुँदो हो कि नहुँदो हो।
बिजुली चम्किँदा बाहेक बादलको देशमा अँध्यारो छ। तल घरिघरि बस्ती देखिन्छन् तर हराइहाल्छन्। म जहाजभित्र भन्दा बाहिर नै हेरिरहेको छु। बाहिरको कालोमा केही देखिन खोजेको जस्तो लाग्छ।
अँध्यारो रातमा निदाएको बेलामा उज्यालो सपना देखिन्छ। रात सपना, सपना रात।
म जस्ता कति धेरै शरीर बोकेर उडेको छ जहाज। कसैलाई लिएर हिँड्नेसँग जिम्मेवारी हुन्छ। छाया लिएर हिँड्नेहरूसँग झन् धेरै।
हुन त सपना पनि यात्रु हो। वा हो यात्रा। लिएर हिँडेका छौं उसलाई हामी। रोकिन्नौं। रोकिएपछि फेरि हिँड्दैनौं। नहिँडी पुग्दैनौं।
पुग्नु कति छ अझै।
तल लामो राजमार्ग देखिन्छ। लहरै बत्तीहरू बलेका छन्। वरपर अँध्यारो भइसकेको जमिनलाई चिरेर ऊ कतै हिँडिरहेको लामो रेलजस्तो लाग्छ। रेल बिम्ब पनि हो। त्यहाँ गुडिरहेका हरेक चिज र त्यसलाई चलाइरहेका हरेक मानिसलाई सम्झिने हो भने ऊ लार्भा हो। लार्भा पुतली हुनु छ। पुतली हुन उपयुक्त मौसम चाहिन्छ।
देशको लार्भा राजमार्ग सम्झिन्छु। ऊ पुतली कहिले बन्ला?
त्यो लामो धर्कोको फोटो खिच्न असफल हुन्छु। वरपर अँध्यारो धेरै छ। राजमार्गको प्रकाश क्यामराको सेन्सरलाई भेट्न असफल हुन्छ। अनि ऊ छुट्छ। निक्कै पर। त्यहाँ भएका सबै थोक नजरबाट छुट्छन्।
टाढा हुँदै गएपछि धेरै चिज आँखाबाट छुट्छन्। मनबाट पनि छुट्छन्।
मैले लेखिरहेको ल्यापटपको उज्यालो झ्यालतिर जान्छ। म झ्यालमा आफ्नै उज्यालोको प्रतिबिम्ब हेर्छु। बाहिर अँध्यारो र भित्र उज्यालो हुँदा झ्याल ऐना हुनेरहेछ। बाहिर अँध्यारो भएपछि ऐना भएर हिँडेकाहरू सम्झिन्छु। झ्याल र ऐना आफैंमा विरोधाभास बाँच्छन्। सिंहदरबारले कति बेला बाहिर हेर्दो हो?
हिजोसम्म झ्याल हुनेहरू ऐना कसरी भए? तीनको ‘सवारी’ मा आफ्नै अनुहार किन देखिएको?
अहिले तल कनिका झैं ताराहरू बसिरहेको लाग्छ। सानो सानो समूहमा बाँडिए झैं। तिनको उज्यालो राजमार्गको जस्तो चम्किलो छैन। तर राजमार्गमा भन्दा धेरै मान्छे छन्। ती साना साना सहरलाई छोडेर जहाज पनि हिँडिसक्यो। राजमार्ग पनि हिँडिसक्यो। क्षितिज पनि हिँडिसक्यो।
छुट्नेहरूले गुनासो त गरेनन्?
पछाडि छुटेको राजमार्गलाई एकपल्ट हेरिहेर्छु। ऊ पनि छुटिसक्यो। पहिला जे देखेको थिएँ अब त्यो छैन। अब जे देखिरहेको छु त्यो पहिला थिएन। हावामा पनि देशको सिमाना हुँदो रहेछ।
तल भर्खरै अर्कै उज्यालो देखिएको छ। त्यो उज्यालो अरूतिरको भन्दा बढी छ। तारको छेउमा जुन जस्तै। त्यो सायद कुनै धाम हो। वा हो कुनै सेलिब्रेसन।
वरपरको उज्यालो निभेकाले चम्किलो भएको हो वा साँच्चै बढी चम्किलो हो? उसलाई कसैले उज्यालो त दिएन? सबैभन्दा गाह्रो चिन्नु हो।
फेरि लेख्न थाल्छु।
आकाशमा लेखिएका यी शब्द अरुबेला लेखेकाभन्दा कति फरक होलान्? सायद मुड फरक होला। जहाज हल्लिँदाको डर यिनमा पसेको छ। बाहिर देखिने दृश्यको रोमान्चकता आँखाबाट सिधै औंलामा पुगेर टाइप भएका छन्।
उचाइबाट गरिएको कल्पनाशीलता पनि खुसी भएको छ लेखुन्जेल।
जहाज ओर्लिन थालेको थाहा हुँदैछ। जमिन नजिक नजिक हुँदैछ।
अब देखिएको सहर भव्य छ। ऊभन्दा चम्किला बाटोहरू छन्। बाटो सहर। सहर बाटो। सहर बनाउनेहरू ती बाटोमा अझै पनि हिँड्दै होलान्? कि अर्कै बाटो लागिसके? विश्वभर कति बाटो बन्दै होलान् यस बेला?
सिटबेल्टको साइन बलेको छ। मलाई ल्यापटप थन्क्याउनु छ।
काठमाडौंबाट हिँड्दा लगभग ५ बजेको थियो। अब दुबई ओर्लिँदा समय २ घण्टा १५ मिनेट ढिलो भइसक्नेछ। दुबईको सबभन्दा लामो ठूलो धर्कोमा यो जहाजको धर्को टुंगिनेछ। म उत्रिनेछु। र अघि देखिएका उज्याला बाटो भएर कतै जानेछु।
तपाईं हाम्रो भेट अर्को धर्कोमा हुनेछ।