वैशाख महिनाको उखरमाउलो गर्मी, कार्यालयमा काम गर्ने कर्मचारी मात्र होइन सेवाग्राही समेत निथ्रुक्क भिजेका छन् पसिनाले।
कार्यालय कम्पाउण्डमा रहेको समीको चौतारामा बसेका छौं हामी, सबभन्दा बढी अक्सिजन दिने बिरूवाको शीतल छहारीमा यो रापबाट केही राहत हुन्छ कि भन्ने आशामा।
अहँ फिट्टिकै चलेको छैन हावा लाग्छ कि हाम्रो सहनशीलताको परीक्षण गर्दै छिन् प्रकृतिले।
कुरा हुँदै छन् त्यही बढ्दो गर्मीका र गर्मी छल्ने उपायहरूका बारेमा। उपायहरू सुन्दा लाग्छ सबैले गर्मी छल्ने उपायहरूका बारेमा पिएचडी नै गरेका छन्। छेउमा बसेर मुसुमुसु हाँस्दै छन् मण्डलजी। उनैले एक उपाय निकाले भोलि शनिबार ठोरी जाऔं र त्यहाँको रमणीय प्रकृतिको आनन्द लिँदै चितवन राष्ट्रिय निकुन्जको शितल हावा खाएर फर्कौं। प्रस्ताव गहकिलो मात्र होइन मुखै रसाउने खालको थियो त्यसैले अस्वीकृत हुने अवस्था नै थिएन र तुरून्त सदर भयो।
-1753449543.JPG)
भोलिपल्ट मण्डलजी हामीलाई गर्मीबाट त्राण दिनको लागि बिहान १० बजे आफ्नो गाडी लिएर अफिस अगाडि हाजिर भए। अनि उनीसहित हामी ५ जनाको टोली वीरगंजबाट पश्चिमतर्फ गुड्यौं।
वीरगञ्जबाट विन्दवासिनी मन्दिर, जगरनाथपुर, सेढवा, निर्मलबस्ती हुँदै लगभग ५० किमि दुरी डेढ घण्टामा पार गरी हाम्रो गाडी बिहानको खाना खानको लागि ठोरी जंगल रिसोर्टमा रोकियो।
बिहान ९ बजे खाना खाने बानी परेका हामी सबै जनालाई राम्रै भोक लागेको थियो। जुन प्रत्येकको नियाउरो अनुहारले देखाइरहेको थियो। तर उक्त रिसोर्टको साजसज्जाले सबैको मन उज्यालो बनायो। ठोरी जंगल रिसोर्टले पाहुनालाई जंगलको अनुभूति दिन कुनै कसर बाँकी राखेको थिएन।जंगलमा पाइने पुराना रूखका जरादेखि त्यही विचरण गर्ने चराका गुँडसम्मलाई कलात्मक तवरले सजाएको थियो। हामीले त्यहाँको रमणीय वातावरणको अवलोकन गर्दैगर्दा होटलको भाइले खाना तयार भएको सूचना दिए। जस्तो होटलको साजसज्जा थियो, त्यस्तै थियो खाना पनि। लोकल कुखुराको झोल, २, ३ थरीका तरकारी, अचार र दही सहितको विशुद्ध नेपाली स्वादको खाना खाँदा आँत नै हरर भयो। त्यस होटलको मुख्य ग्राहक भारतीयहरू रहेछन्। जुन कुरा त्यहाँको पार्किङमा रहेका भारतीय नम्बरका गाडी र त्यहाँ फोटो सेसन गरिरहेका भारतीय पर्यटकहरूको हुलले बताइरहेको थियो।
खाना खाएर एकछिन सुस्ताउँदै गर्दा अवधेश सरले 'यहाँसम्म आइयो अब माडी पनि जाने हो कि?' भन्ने प्रस्ताव राख्नुभयो। सबै जना तयार भइहालियो। माडीको कुरा आउने बित्तिकै प्रधानमन्त्री केपी ओलीज्यूले भगवान रामको जन्मभूमि अयोध्यापुरी भारतमा नभएर नेपालकै चितवनको माडीमा रहेको भन्नुभएको कुराले मेरो दिमाग तरङ्गित बनायो। मन त्यसै त्यसै प्रफुल्ल भयो अनि वीरगंजतर्फ गुड्नुपर्ने हाम्रो गाडी लाग्यो चितवन राष्ट्रिय निकुन्जको जंगलतिर।
राप्तीको बगरको एकछिनको यात्रापछि हामी निकुन्जको जंगलभित्र प्रवेश गर्यौं। निकुन्जको जंगल यात्रा, दुर्लभ जनावरहरू देखिन्छन् कि भन्ने ठूलो आशा मनमा पलायो। नभन्दै २०० मिटर जति के गुडेका थियौं बाटो पारिबाट एक हुल चित्तलको बथान उफ्रँदै हाम्रै बाटोतर्फ आउँदै गरेको देखियो।
-1753449544.JPG)
सबै जनाको मुहार उज्यालो भयो। एकछिन गाडी नै रोकेर उनीहरूलाई जान दियौं। त्यसपछि गाडी अगाडि बढ्यो। अरू जनावरहरू पनि देख्न पाइन्छ कि भनेर सबैका आँखा चनाखा थिए। जंगलमा मन्द मन्द हावा बहिरहेको थियो। त्यो हावामा वीरगंजको जस्तो कुनै औद्योगिक रसायनको गन्ध थिएन न त थियो धुलो र धुवाँको समिश्रण। त्यो हावा स्वच्छ थियो, प्राकृतिक थियो र हामीलाई उखरमाउलो गर्मीबाट त्राण दिने शितल थियो।
त्यो चित्तलको बथानपछि अहँ कुनै जनावर यहाँसम्म कि चराहरू समेत देखिएन। हामी निराश भयौं। त्यही निराशालाई साथ दिने लगभग २० किलोमिटरको घना जंगलको यात्रापछि अलिअलि उज्यालो देखियो र सँगै देखियो अयोध्यापुरी माडी पनि।
माडीको क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ भेटिएको पहिलो भाइलाई हामी सबैले एकैचोटि सोध्यौं, 'राम मन्दिर कता पर्छ?'\
भाइले ठाउँ बताएपछि फेरि उसलाई नै माडीमा रहेका अन्य घुम्न लायक स्थानहरूको बारेमा पनि सोध्यौं।
भाइले राम मन्दिरको अलावा बैकुण्ठधाम, बैकुण्ठताल र त्यहाँका होमस्टेहरूका बारेमा समेत बताए। अनि भाइलाई धन्यवाद दिएर लाग्यौं, सबभन्दा पहिला राम मन्दिरतर्फ।
भर्खरै प्रयागराजको महाकुम्भ मेलामा गएका बखत भारतको अयोध्या समेत घुमेर त्यहाँको भव्यता देखेका हामीलाई माडीको राम मन्दिर हेर्न निकै कौतुहलता जागेको थियो।
भाइलाई सोधेको स्थानभन्दा लगभग २ किमी जति टाढा माडी बजारभन्दा अलि बाहिर नै रहेछ मन्दिर। मूल बाटोबाट अलिकति भित्र रहेछ। बाटोमा नै बनाइएको राम मन्दिर प्रवेशद्वारबाट हामीभित्र छिर्यौं। भित्र प्रवेश गर्ने बित्तिकै सबैको मुहार नियाउरो भयो। असली राम मन्दिर चिनाउनका लागि त्यहाँ धेरै गर्नुपर्ने देखियो। त्यहाँ एउटा मन्दिर, केही थान सिमेण्टका बेन्च र सेड मात्र रहेछ र निलो रंगको साइन बोर्डमा माडी नै राम जन्मभूमि अयोध्या हुनुका प्रमाणहरू १३ बुँदामा उल्लेख गरिएका रहेछन्। तर प्रचार प्रसार धेरै गर्नुपर्ने देखियो। हामीले त्यहाँ एकछिन बसेर भगवान रामको दर्शन गर्यौं अनि त्यही रहेका पुजारीसँग केहीबेर गफ गरेर त्यहाँबाट सशरीर बैकुण्ठधामतर्फ प्रस्थान गर्यौं।
-1753449544.JPG)
पर्यापर्यटनको रूपमा विकास गर्न लागिएको बैकुण्ठधाम माडी बजारबाट लगभग ५ किलोमिटरको दुरीमा रहेछ। बैकुण्ठधाम पहाडको बीचमा शान्त र आनन्ददायक ठाउँमा रहेछ। त्यहाँ पुग्दा शरीर र मन दुवै शितल भयो। बैकुण्ठधामबाट लगभग ६०० मिटरको दुरीमा बैकुण्ठताल रहेछ।बैकुण्ठधामबाट बैकुण्ठताल पुग्न अलिकति उकालो चढ्नुपर्दो रहेछ। त्यस्तो उखरमाउलो गर्मीमा पनि जंगलको चिसो हावा, चराहरूको चिरविर र मनमोहक प्राकृतिक दृश्यहरूले उकालो कटेको पत्तै भएन र हामी बैकुण्ठ ताल पुग्यौं।
वरिपरि डाँडाहरूले घेरिएको बैकुण्ठ ताल र झरनाको कलकल आवाज साँच्चिकै मनमोहक थियो, आनन्ददायक थियो। सायद शनिबार भएकोले होला, त्यहाँ मानिसहरूको भीड थियो। तर पानीको निकास नभएकोले ताल केही फोहोर देखिन्थ्यो। हामीले पनि केहीबेर ताल र झरनाको आनन्द लिएर बस्यौं। सम्झनास्वरूप केही थान तस्वीरहरू लियौं। हिन्दु मान्यता अनुसार आत्मा मात्र पुग्नुपर्ने बैकुण्ठधाममा हामी जीवितै पुग्यौं र त्यहाँबाट फर्कियौं।
पर्यटनको प्रचुर सम्भावना बोकेको माडी बजारमा थुप्रै होमस्टेहरू रहेछन्। हामी कार्यव्यस्तताको कारण त्यहाँ बस्न सकेनौं र मोटरबाट नै माडी बजारको दृश्यावलोकन गर्दै वीरगञ्ज फर्कनको लागि भरतपुरतर्फ मोडियौं।
माडीबाट भरतपुर फर्कँदा पनि बाटोमा चितवन राष्ट्रिय निकुन्ज भएर यात्रा गर्नु पर्दो रहेछ। तर ठोरी तिरबाट आउने बाटोभन्दा यहाँको बाटो राम्रो रहेछ र मोटरसाइकल तथा अन्य सवारी पनि धेरै नै चल्दा रहेछन्।
पहिले नै निरास बनाएका जनावरहरूले यहाँ पनि हामीलाई हेर्न चाहेनन् र उनीहरू देखा नै परेनन्। लगभग १२ किमी जति जंगलको यात्रा गर्ने क्रममा मलाई राम मन्दिरको अझ राम्रो विकास गरेर प्रचारप्रसार गर्न सके यो माडी क्षेत्र धार्मिक पर्यटनको साथसाथै पर्यापर्यटनको पनि राम्रो गन्तव्य हुन सक्छ जस्तो लाग्यो। तर यस सँगसँगै हामीले हाम्रो रमाइलोको लागि ती जंगलका जनावरहरूको रमाइलोमा हानि पुर्यायौं कि भन्ने सोचाइ पनि आयो। यिनै यावत कुराहरू सम्झँदै गर्दा भरतपुर अइपुगेको पत्तै भएन।
-1753449545.JPG)
भरतपुर पुगेपछि पो झल्याँस सम्झेँ नेपालको इतिहासको एक वीभत्स स्थान बाँदरमुडे हेर्न चाहिँ भुसुक्कै बिर्सिएछ। त्यसमा चाहिँ मनमा थकथक लाग्यो।
अब फर्कन सम्भव पनि थिएन। फेरि कुनै बेला मौका मिल्यो भने आउँछु भनेर मन बुझाएँ।
-1753449546.JPG)
-1753449545.JPG)
-1753449543.JPG)