'नाम के हो थाहा छैन तर यसको फोटो १०० दिराममा पनि छापिएको छ,' गुडिरहेको मेट्रोबाट एउटा बिल्डिङलाई देखाउँदै सूर्य दाइले भन्नुभयो।
मैले उत्सुक भएर आँखा लम्काउन नपाउँदै त्यो छेलियो। झलक्क मात्र देखेँ। एकैछिनमा वरपर अरू अग्लाअग्ला बिल्डिङ उभिए। त्यो लहरमा संसारकै सबभन्दा अग्लो बुर्ज खलिफा पनि मिसियो। मुटुको धड्कन देखाउने रिपोर्टमा देखिने उपल्लो धड्कन जस्ता हारहरू।
'दुबईमा पहिलोपल्ट यति अग्लो उभिएको बिल्डिङ!'
मैले ऊ कटेको ठाउँतिर फर्किएर हेर्न खोजेँ। देखिएन। पहिलोपल्ट अग्लो उभिएको ऊ अहिले देखिने गरी अग्लो छैन। सहरको सबैतिरबाट हेर्न सकिने बुर्ज खलिफासँग संवाद कसरी गर्दो हो?
घर पुगेर खोजेँ। १९७९ मा ३९ तला अग्लो उभिएको रहेछ। नाम वर्ल्ड ट्रेड सेन्टर। बनेको ११ वर्षसम्म उसको वरपर कोही पनि उभिएनन्। वा अरूलाई उभिने बनाउन उसले ११ वर्ष पर्खियो।
अग्लो उभिएर उसले अरूलाई पनि तान्यो होला। उचाइबाट देखिएको क्षितिजको रमाइलो किस्सा भुँइतिर सुनायो होला। 'मैले देखेभन्दा माथि अझै राम्रो दृश्य छ खोज्नु', हौस्यायो होला।
अक्षर नचिनेकी हजुरआमाले सधैं पढ-पढ भनिरहेजस्तो।
पछि त अरूले उचाइमा जितिगए। तर हरेक उचाइलाई प्रभावित पार्ने र बाटो देखाउने ऊ सधैंका लागि अग्लो भएर १०० दिराममा उभिएको छ।
त्यहाँ ऊ मात्र छ।
अरूलाई अग्लिन प्रेरित गर्नेहरूको कद कहिल्यै पनि छोटो हुँदैन।
गुगलमा पुरानो फोटो हेर्छु। ऊ एक्लै उभिएको भन्दा अहिले सामूहिक उभिएको तस्बिर सुन्दर छ। ऊ छेलियो तर साथ पनि पायो।
अग्लो उभिनेहरूले एक्लै उभिएको सुहाउँदैन।
उसको कथामा उनिएसँगै म दुबईको विगततिर बाँधिन थालेँ। वर्तमान देखेर रमाइरहेको बेला सहरको विगतले आफूतिर बोलायो।
आफ्नो कथा भन्न कसैले बोलाए नाइँ भन्नुहुँदैन।
मान्छे जस्तै हो सहर पनि। मान्छेलाई चिन्न उसको विगत जान्नुपर्छ। सहर जान्न ऊ आएको बाटो हेर्नुपर्छ। बाटो जान्ने गरी हिँड्न लामो समय सङ्गत गर्नुपर्छ। मसँग त्यति समय छैन।
कोल्टे फेर्ने बेला सोचेँ, उसो भए बाटो कसले देखाउला?
घाम लागेको भोलिपल्टको बिहान। हातमा गुगल म्याप खोलेको मोबाइल। त्यसको आवाजले घरि दायाँ घरि बायाँ भनिरहेको। नयाँ ठाउँमा अरूले देखाएको बाटो नै सही बाटो हो। अरूलाई गरेको विश्वास नै सही विश्वास।
१५ मिनेट कुनै विश्वास गरेको मान्छेले आँखा छोपेर हिँडाएझैं हिँडेर रोकिन्छु। आँखा अगाडि सहरको आकृति भन्दा भिन्नै स्वरूपको पर्खाल उभिएको छ। त्यसको नजिकै छ काठले बनेको पुरानो स्वरूपको डुङ्गा। गेटको ठीक पारिपट्टि एउटा मान्छेको अनुहारसहित दुबई १०० वर्ष पुगेको खुसीयाली मनाउँदै छ पोस्टर।
म दुबईको संग्रहालय आइपुगेको छु।
'तपाईंलाई कति वटा टिकट दिऊँ?' काउन्टर भित्रबाट अफ्रिकन महिलाको लवजले सोध्छ।
'एउटा' एसियन लवजले जवाफ फर्काउँछु। पर्यटनले दुई भिन्नै महादेशका दुई भिन्न मानिसलाई संवाद गराइदिएको छ। मलाई संवाद मन पर्छ।
भित्र छिर्नासाथ आउँछ एउटा चोक। वरपर केही पुराना चक्का भएका हतियार राखिएका छन्। डुङ्गा छ। नजिकै पुरानो दुबईमा मानिसहरूले गुजारा चलाउन प्रयोग गर्ने आरामस्थल छ। एउटा मूर्ति बनेको मान्छे खरले छाएको घरभित्र त्यो पुरानो स्वरूपको आराम गर्ने ठाउँ रुँगेर बसेको छ।
ती बेलाका मान्छेले गुजारा चलाउने बेलाको कथा यो। त्यहाँबाट उठेर अहिले दुबई लाखौं मानिसको गुजारा बनेको छ। गुजारादेखि गुजारासम्म।
गुजारा त उही हो। अहिले मानिस फेरिएका मात्र हुन्।
वरपर हेर्छु। बिल्डिङको कुनाबाट अलि पर मस्जिदको टावर देखिन्छ। अग्लाअग्ला घर हुन थालेपछि उसलाई पनि अग्लिन कर लागेको हुँदो हो। सहरको उचाइ पछ्याँउदै भगवानले पनि तला थपेका होलान्।
संग्रहालयको पुरानो भित्तोको घुठीक पारिपट्टि अग्लो बिल्डिङको भित्तो छ। यो भित्तो र त्यो भित्तो एकैसाथ हेर्छु। यो होचो छ। त्यो अग्लो छ। यो सादा छ। त्यो रङ्गिन छ। यो पहिलाको। त्यो अहिलेको।
वर्ल्ड ट्रेड सेन्टरको बिल्डिङ सम्झिन्छु। त्यसको भित्तो र त्योभन्दा परको अर्को बिल्डिङको भित्तो। एकपछि अर्को भित्तो। संसारभर भित्तोहरू बढ्दा छन्। भित्तोहरूमा विविधता छ। संसारभर भित्तोहरू लड्दा छन्। भित्तोहरूमा विरोधाभास छ। भित्तो। मान्छे। मान्छे। भित्तो।
यो सहर बनाउने क्रममा कति छातीका भित्तोहरू धड्किए होला? कति रोकिए होलान्?
रोकिएका छातीहरूले नरोकिएका धेरै छातीहरूमा भुइँचालो ल्याउँछन्। त्यसको कम्पन एक ठाउँ मात्र पुग्दैन। पराकम्पन एकपल्ट मात्र आउँदैन।
मुटुको धड्कन देखाउने रिपोर्टमा झैं उभिएका यी सहरका लहरै भवनहरू र तिनलाई उभ्याउने मान्छेका मुटुका धड्कनहरू कानमा एकैपल्ट धड्किन्छन्। ती उस्तै सुनिन्छन्।
यति बेला एयरपोर्टको आगमन कक्षमा कति नेपालीको मुटु धड्किरहेको होला? ती चाँडै यो सहरको मुटु बन्दछन्। यससँगै धड्किनेछन्।
केही मानिसहरूको खल्याङमल्याङ हल्लाले तानिन्छु। ती पुरानो इनार नजिकै फोटो खिचिरहेका छन्। इनारलाई मानिसको तिर्खा थाहा छ। तिर्खाएको मान्छेको अनुहार उसले देखेको छ। तिर्खाको लागि मानिसले गरेको सङ्घर्ष चिनेको छ। पानी तान्ने चिज कसरी फेरिँदै गए? पानी तान्ने हात कसरी फेरिँदै गए? पानी तान्ने छाला कसरी फेरिँदै गए?
मरूमूमिको इनारलाई त अझ धेरै कुरा थाहा छ। सोच्छु, अहिले फोटो खिच्ने भनेर नजिकै गएका मानिसहरूलाई उसले कस्तो देख्दो हो?
अगाडि बढ्छु। केही पुराना सिक्का छन्। दुबई पुग्नासाथ सबभन्दा पहिला परेको समस्या पैसा चिन्न। नयाँ ठाउँमा गर्नुपर्ने सबभन्दा पहिलो काम पैसा चिन्नु। नेपालबाट हिँड्ने बेलामै पनि एकपल्ट प्रयास गरेको थिएँ। १००० दिरामदेखि १०० दिरामसम्म त चिन्ने भएको पनि हुँ। तर आवश्यकताले खुद्रा मूल्य बढी तोक्दो रहेछ। नयाँ ठाउँले सबभन्दा पहिला 'चेन्ज' पैसा माग्ने रहेछ। बस्दै जाँदा ठूलो पैसा सकिँदो रहेछ।
चेन्ज पैसाबाट ठूलो पैसा, ठूलो पैसाबाट चेन्ज पैसा। मलाई पैसा चिन्न जहिल्यै गाह्रो लाग्छ।
अब बाटो अन्डरग्राउन्ड जाँदैछ। १९३० देखिको दुबई देखाउने भनेको छ बोर्डले। सहरको संग्रहालय र त्यो पनि अन्डरग्राउन्ड। मलाई यो कन्सेप्ट गज्जब लाग्छ।
दुबई जति जति माथि उभिएको छ त्यति त्यति नै तल पनि दबिएको छ। मुटुको धड्कन देखाउने रिपोर्ट माथि पनि जान्छ, तल पनि जान्छ।
अहिले विश्वको आर्थिक मुटु बनिसकेको दुबई लाखौं मुटुहरूको सामूहिक धड्कन भएको छ।
त्यही धड्कनको तल्लो लेयर हेर्न ओरालो लाग्दै छु। हिजो देखेको वर्तमान सहर आँखामा छ। उसको विगत आँखामा आउनेवाला छ।
दुबई सुरुवात हुँदादेखिका मानिसको रहनसहन, व्यवसाय, तथा यात्रालाई देखाइएको छ संग्रहालयमा। ऊ यहाँ आइपुग्यो किनकि उसले भइरहेको हुनुलाई स्वीकार गरेन। बेरंग समुद्र किनारको मरुभूमिमा सीमित भएन। ऊ हिँड्यो। ऊ यहाँ नआइपुग्न पनि सक्थ्यो तर पनि रोकिएन। हिँड्यो।
बाटो भुल्नेहरूसँग बताउने चिज केही पनि हुँदैन। बाटो भेट्नेसँग नबताउने चिज केही पनि हुँदैन।
संग्रहालयमा धातु बनाइरहेका मानिस छन्। म विश्व सुन बजारको हब दुबई सम्झिन्छु। ठूलो डुङ्गा निर्माण गरिरहेका कामदार छन्। समुद्रको छालमा दौडिरहेको डुङ्गाजस्तो लाग्ने संसारकै ठूलो होटल बुर्ज अल अरब सम्झिन्छु। व्यवसाय गरिरहेका मानिस छन्, विश्वको सपिङ सेन्टर बनिसकेको दुबई सम्झिन्छु।
त्यहाँबाट यहाँ आएको कथा भन्न उत्सुक साधनहरू। उसले विगत बिर्सिएको छैन। आफूले बनाएका संरचनामा प्रभावित भएर टाँसिएको छ।
काठमाडौंमा अहिले बनिरहेका संरचना सम्झिन्छु। सांस्कृतिक सम्पदामा त्यति धनी त्यो खाल्डोमा बनेका कुनै पनि नयाँ चिजमा पुरानो चिजको प्रभाव भेट्दिनँ। जसले पुरानो चिजको प्रभाव बिर्सिन्छ त्यसले प्रगति गरेको छैन। काठमाडौं र पाटन जस्तो ऐतिहासिक सहर जोड्ने पुलहरू त्यति सपाट किन छन्? विश्व सम्पदा सूचीमा पुर्याउने गल्ली त्यति लाचार किन छन्?
मनमनै प्रश्न गर्दै गर्दा कसैले पछाडिबाट हतार लाउँछ। म अगाडि बढ्छु।
भर्खरै टेकेको भुइँ अघिको जस्तो छैन। नरम छ। बालुवा। बालुवाको छेउमा उभिएको छ ऊँटको मूर्ति। नजिकै छन् त्यसलाई डोर्याउने मान्छेहरूका मूर्ति। दुबई बालुवाको बाटो हिँडेर अहिलेको बाटोमा आइपुगेको बताउँछन् ती।
ती निर्जीव मूर्ति त्यो सहरको सजीव कथा भन्न बसेका छन्। मलाई शहीद गेटमा बसेका मूर्तिको सम्झना हुन्छ। मूर्तिसँग पनि सुनाउँदा गर्व लाग्ने र सुनाउँदा लाज लाग्ने कथा हुन्छन् सायद। लाज लाग्ने कथा सुनाउन नसकेका मूर्ति शान्त हुन्छन्।
दुबईको कोसेली किन्ने ठाउँ आइपुग्यो। मलाई कोसेलीमा शब्द पुर्याउनु छ।
बाहिर निस्किँदा उही सहर पर्खिरहेको छ। तल घुमेका ठाउँको ठीक माथि पुग्न मन लाग्छ। त्यहाँ एउटा डुङ्गा छ। नजिकै मानिसहरू फोटो खिचिरहेका छन्। मलाई पनि खिचूँ लाग्छ।
कसले खिचिदिन्छ फोटो?
वरपर भएका सबै मान्छे खिचिदिने हुँदैनन्। संवाद हुनसक्ने मान्छेसँग मनले पहिला नै संवाद गर्छ। भर्खरै त्यही डुङ्गामा पोज दिएर फर्किएको एउटा भारतीय जोडीलाई अनुरोध गर्छु।
'टाइटानिक पोज दिनु न' महिला आवाज हाँस्छ।
'टाइटानिकमा त जोडी छ नि त' म जिस्किन्छु।
उनीहरू जान्छन्। म निस्किन्छु।
अब अघि आएको बाटो नौलो छैन। गुगल म्याप चाहिने छैन। घाम अलि माथि पुगिसकेको छ। भवनको उचाइलाई छोड्न छोड्न खोज्दै छ।
दिनदिनै आकाशमा फैलिइरहेको यो सहरको यो आकृति घामलाई कस्तो लाग्दो हो? पहिला आफू पुग्ने ठाउँमा यी घरका जग छन्। तिनलाई मिस गर्दो हो कि नगर्दो हो? कस्तो छ भनेर सोध्दो हो नसोध्दो हो?
फर्किन्छु।
नाम मात्र थाहा भएको साथीसँग भेटेर लामो समय कुराकानी गरे झैं भएको छ।