जेठ महिनाको उखरमाउलो गर्मी। अग्ला पहाडले घेरिएको नागबेली बाटो।
दाङबाट हाम्रो यात्रा बिहान ८ बज्दा सुरू भएको थियो।
‘कुपिन्डे दह’को सुन्दरताबारे मैले सुनेको थिएँ। त्यहाँ जान लालायित थिएँ। बेला–बेला तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार विमल रिजाल त्यहाँको वर्णन गर्न थाक्दैनथे। संयोग हामी दुवै यात्रामा भेट भयौं।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध छ, ‘के नेपाल सानो छ?नेपाल सानो छ,तर स्वर्ग छ, अल्प छ,तर आँखो छ।’
तुलसीपुर बजारदेखि ७/८ किलोमिटर उत्तरको यात्रा तय गर्नेबित्तिकै सुन्दर र हलियाली जंगल भेटियो।
यति छोटो दूरीमा मौसम पनि भिन्दै बन्दैथियो। जति उकालो चढ्यो ज्यानलाई विस्तारै चिसो महशुस हुँदै गयो। पुर्खाहरू दाङमा औलो लाग्ने त्रासले गर्मी दिनमा पहाड उक्लन्थे रे।
दाङ उपत्यकामा खेतका गह्रा र सिँचाइ कुलोको नक्सा तयार पार्ने आदिवासी थारु समुदाय हो। पछि उर्बरभूमि दाङ उपत्यकामा बाहुन, क्षेत्रीको बसाइँसराइँ तीव्र बन्दै गयो। धर्तीपुत्र मानिने थारुहरूले विस्तारै जमिन जोड्दै गए। दाङ हुँदै थारु समुदाय बाँके,बर्दिया,कैलाली, कञ्चनपुर जिल्लामा फैलिए। हाल थारु बाहुल्य जिल्ला दाङमा पहाडी समुदायको पनि उत्तिकै बाक्लो बस्ती विकसित हुँदै गएको छ।
राप्ती राजमार्ग अन्तर्गत पातुखोला किनारैकिनार सुरू भएको हाम्रो यात्रा एकैपटक तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्री मोडमा पुगेर रोकियो।
मनमा हुटहुटी थियो– कुपिन्डे दह छिट्टै भेट्ने। कान्तिकपुरकर्मी भुवन पाण्डेले तुलसीपुरदेखि नै ६०/६५ को आसपासमा बाइकको काँटा घुमाइरहेका थिए। हाम्रो पछिपछि फोटो पत्रकार राजेश खत्री थिए। उनले हेलमेटमा क्यामेरा फिट गरेका थिए।
रोडको क्षमताभन्दा कैयौं गुणा बढी भार बोकेर दौडिने टिपर र कपुरकोटबाट तरकारी बोकेर दौडिने ट्रकले राप्ती राजमार्ग बर्बाद भइसकेको रहेछ। रोल्पाको सिमेन्ट उद्योगमात्रै हैन दाङमा हाल सञ्चालनमा रहेका तीन वटा सिमेन्ट उद्योगले चुन ढुङ्गा महाभारत पर्वतबाटै धमाधम उठाउँदै आएका छन्। पानीको लागि बैंक समान मानिने चुनढुङ्गाको यही गतिमा उत्खनन् जारी रहे केही वर्षभित्रै पहाड उजाडिने भन्न सकिन्न।
दाङ खण्डको सडकमा भने टालटुल गरी मर्मत भइरहेको रहेछ। २०४९ सालमा तुलसीपुर नगर घोषणा हुँदादेखि नै सल्यानसँग सीमाना जोडिएको हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री, कल्लेबल्ले नगरमै गाँभिएका थिए। हालसम्म यहाँ बाटो, बिजुली, खानेपानी, इमेल इन्टरनेटको पहुँच पुग्न सकेको छैन। राम्रीको मूलको पानी खाएर वर्षौंदेखि तुलसीपुरवासीले आफ्नो प्यास मेटाउँदै आएका छन्।
हामी निरन्तर अगाडि बढिरहेका थियौं। सल्यानको सीमाना सुरू हुनेबित्तिकै सडक जताततै भत्किएर ध्वस्त देख्यौं। नाम मात्रैको कालोपत्रे। धूलोले ढपक्कै छोपेको। कपुरकोट बजारभन्दा केही मुन्तिरसम्म बाटो त्यस्तै बिग्रेको।
२४/२५ किलोमिटरको यात्रापछि हामी कपुरकोट पुग्यौं। बाटोमा केही खाइवरी फेरि हामी बाटो लाग्यौं ।
सल्यानका डाँडा पाखामा निख्रदै गरेका काफल र सुकेर ओइलाउँदै गरेका लाली गुँरासका फूलहरू जताजतै देखिन्थे।
यात्रा निरन्तर अघि बढिरहेको थियो। बाटो बाटोमा रोकी मन र क्यामरामा राम्रा दृश्य कैद गर्यौं।
केहीबेरको यात्रापछि लुहाम बजार आइपुगियो। त्रिवेणी गाउँपालिका । शारदा नदी किनारको एउटा बजार । शनिबारको दिन थियो । सबै पसल बन्द थिए । तै बजारमा मानिसको बाक्लो जमघट थियो । पछि थाहा भयो ट्याक्टर दुर्घटनाले गर्दा रहेछ। चालकको मृत्यु भइसकेको रहेछ। शव पोष्टमार्टमपछि ल्याउँदै गरेकोले मानिसहरू जमघट भएका रहेछन्।
लुहाम बजारदेखि एक डेढ किलो मिटरको यात्रा पछि शारदाको पुल आयो । पुल पार गरेर फेरि तस्वीर र भिडियो खिच्न लाग्यौं।
हामी शंखमुल, घोप्टे अम्राई हुँदै अगाडि बढ्यौं । बीचमा शारदा नदीमा माछा मार्दै गरेका महिलाका दृष्यहरू कैद गर्यौं। सुन्दर लागेका फाँट र डाँडा पाखा पनि।
सल्यानको श्रीनगरमा खाना खाइवरी हामी खलंगा लाग्यौं। श्रीनगरको केही माथिबाट सडक छुट्टिन्छ। राप्ती राजमार्गको दायाँतर्फ लागे रुकुम पुगिन्छ। बायाँ लागे खलंगा।
श्रीनगरबाट त्यहाँको दूरी ९ किलोमिटर जति छ। सोही दिन नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको समापनको दिन रहेछ । बाटोमा कांग्रेसका झन्डा बाँधेका युवा मोटरसाइकल र्यालीमा भेटिए।
खलंगा डाँडामा पुग्दा हामीले दाङदेखि पहाडै पहाडको झन्डै ६० किलोमिटर यात्रा छिचोली सकेका थियौं ।
कुपिन्डे दह पुग्न अझै २३ किलोमिटर यात्रा छिचोल्नु थियो।
तुलसीपुदेखि झन्डै ८३ किलोमिटर यात्रा गरेर हामी गन्तव्यस्थल पुग्यौं।
कुपिन्डे दह।
बनगाँड कुपिन्डे नगरपालिका वडा नं. ८ अन्तरगतको घना जंगलको बीचमा निलो र सुन्दर ताल देख्दा आश्चर्य लाग्यो । कस्को रचना हो यति सुन्दर ठाउँ ? केही वर्ष अगाडि मात्रै मुगुको राराको भ्रमण गरेको मलाई स्मृतिमा फेरि त्यही राराको झ्वाट्ट याद आयो । जस्लाई राजा महेन्द्र अप्सराको संज्ञा दिएका थिए ।
कुपिन्डे दहको पनि ठीक त्यस्तै मोहनी रूप । चुपचाप बसेकी परी समान । सफा र नीलो आकाश धर्तीमा आए जस्तो । स्वर्गीय अनुभूति । झ्वाट्ट देख्ने बित्तिकै झ्वाँम्मै हाम फालेर अंकमाल गर्ने इच्छा जागेको थियो । मनमनै भने,‘राराकी बहिनी’ यहाँ पो लुकेर बसेकी रहिछन् ।
साथीहरू फोटो खिच्न तछाडमछाड गर्दै थिए म भने तिम्रो स्वरूप देखेर संमोहित भएँ। एकटकले हेरिरहे मात्र।
सुनेको भन्दा बिल्कुलै फरक दृश्य आहा!
कुपिन्डे तालको विशेषता
कुपिन्डेताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरका अनुसार २०६७ सालमा मात्रै यो तालको अस्तित्व चर्चा सुरू भएको हो। सेफोक्सुन्डो मिडिया प्रालिले गत साल मात्रै यसको गहिराइ नापेको थियो। उसले कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ १ हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको उल्लेख गरेको छ। तालले कति क्षेत्रफल ओगटेको छ भन्ने यकिन नभएको उनले बताए।
कुपिन्डे दहको अनौठो विशेषता छ।
वरिपरि घना जंगल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैं किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ। वरिपरि घना जंगल भए पनि तालमा एउटा पनि पात भेटिँदैन। यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान हो।
तालको पानी सधैं नीलो र सफा रहन्छ। वर्षामा वरिपरिको बाढी पस्दा पनि पानी कहिल्यै धमिलो हुँदैन। माघ फागुन महिनामा यो तालको रंग परिवर्तन भएर खैरो र रातो बन्छ। वर्ष दिनमा तीन पटक तालको पानीले रंग बदल्ने अध्यक्ष कुँवरले बताए।
झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिन्छ यो ताल। पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन। यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन। तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यद्यपी, सेफोक्सुन्डो मिडिया प्रालिले तालको बीचमा एउटा मुहान रहेको तथा पश्चिमतर्फबाट भित्रभित्रै पानी बग्ने गरेको उल्लेख गरेको छ।
यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जंगलको भित्रभित्रै पानी रसाएर जाने गरेको अध्यक्ष कुँवरले बताए। नगरको वडा नम्बर ७ र ८ मा त्यो भित्रभित्रै रसाएर जाने पानीले खेती हुने गरेको छ। त्यसैले, यो ताल किसानका लागि रिजर्भ पानी ट्याङकीजस्तै उपयोगी बनेको छ।
अध्यक्ष कुँवरले वर्षामा तालमा पानी धेरै भण्डारण हुने भएकाले तलतिरको भू-भागमा पानीको मुहान पनि ठूलो हुने र त्यसबाट किसानलाई खेतबारीमा सिँचाइ गर्न सजिलो हुँदै आएको जानकारी दिए। तालको आयस्रोत डुङ्गाबाहेक केही छैन। डेढ वर्षपहिले तालमा जम्मा दुइटामात्रै डुङ्गा थिए। कुँवर अध्यक्षमा चयन भएपछि उनले डुङ्गाको संख्या बढाएर हाल २१ वटा सम्म पुर्याएका छन्।
डुङ्गाबाट मासिक ३ सय ५० रुपैयाँ समितिले भाडा उठाउँछ। त्यसबाट तालको मासिक कमाइ जम्मा ६ हजार ३ सय जतिमात्रै हुने गरेको अध्यक्ष कुँवरले जानकारी दिए।
स्थानीयले व्यक्तिगत रूपमा पनि तालमा डुङ्गा सञ्चालन गर्दै आएका छन्। उनीहरूले समितिमा मासिक साढे तीनसय जम्मा गर्नुपर्छ। त्यो बाहेक दुइटा समिति पनि छन्।
यसपटक भएको अर्को महत्वपूर्ण काम भनेको तालको माथिबाट साढे तीन सय मिटर बाटो खनेर मन्दिरसम्म पुर्याउनु पनि हो। प्रदेश सरकारको ४० लाख रुपैयाँबाट बाटो खनिएको रहेछ।
अध्यक्ष कुँवरका अनुसार त्यो बाटो खनेपछि बालबालिका र अशक्तहरूलाई दहसम्म पुग्न सजिलो भएको छ। बाटो खनेपछि दह हेर्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको उनले बताए।
सुर्खेत, दाङ, बर्दिया, बाँके, जाजरकोट लगायत जिल्लाबाट धेरैजसो पर्यटक तालको अवलोकनको लागि आउने गरेका छन्। हामी पुगेको दिनमा दह हेर्न भारतका नागरिक पनि गाडीमा आएका थिए। प्रचारप्रसार बढेसँगै कुपिन्डेदहमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन्।
बाटो खन्नुको मुख्य उद्देश्य भने पहाडबाट भू-क्षय भएर पुरिएको दहको भाग उकास्नका लागि भएको उनले बताए।
‘यो पानी नभएको माटो र ढुङ्गाले पुरिएको भाग बाहिर लैजान तथा तालको सतह बढाउनका लागि बाटो खनिएको हो,’ अध्यक्ष कुँवरले भने।
बाटो खनेपछि बेफाइदा पनि धेरै भएको छ।
पिकनिक तथा बनभोज खान जानेहरूले फोहोर गर्दा ताल भविष्यमा फोहोरले भरिने चिन्ता बढेको छ।
यो दहमा बाह्रै महिना बराह देवताको पूजा हुँदै आएको छ।
यहाँ आएर पूजा र स्नान गरे चिताएको कुरा पुग्छ र निःसन्तानलाई सन्तान प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ।
दहमा बराहको विशेष पूजा भने महासंक्रान्तिमा हुँदै आएको छ। यहाँ तिहारलगत्तै मंसिर पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ।
यो तालमा विकासले पाइलो टेकेको भनेको हालसम्म बाटो निर्माण हुनुबाहेक केही प्रगति छैन। न यहाँ बिजुली बत्ती सुविधा छ न नै खान र बस्नलाई होटल। सुरक्षाको समेत प्रबन्ध छैन।
तालको वरिपरि ताल जाली लगाए झनै सुरक्षा हुने थियो। खानेपानीको समेत प्रबन्ध छैन। सरसफाइको लागि डुङ्गाबाट संकलन भएको रकमको प्रयोगले प्रयास भइरहेको भए पनि त्यो पर्याप्त नभएको हुँदा नगरपालिकाको गाडी समेत सरसफाइका लागि आउनुपर्ने अध्यक्ष कुँवरले बताए।
यो वर्ष सरकारले घोषणा गरेका सय वटा पर्यटकीय गन्तव्यमध्ये कुपिन्डे दह पनि एक हो।