धेरै समय पहिलेदेखिको रहर थियो प्याराग्लाइडिङ गर्ने। काठमाडौंको व्यस्त जीवनबाट सजिलै छुटकरा पाउन कहाँ सकिन्छ र? अलि लामो बिदा मिलाउनै मुश्किल तर पनि यसपटक भने जसरी पनि आकाशबाट पोखरा नियाल्छु भन्ने मेरो उत्साह र रहरलाई पूर्णता दिने प्रयास पनि गरेँ।
लामो समयको मनुसनपछि खुलेको पोखरा त्यसमाथि प्याराग्लाइडिङको मज्जा रमाइलोको त कुरै नगरौं। यसै त सराङकोटबाट देखिने पोखराको दृश्यले मनै फुरुङ हुन्छ अझै आकाशबाटै पोखरा नियाल्दा कस्तो होला? मनमा प्रश्न उब्जिएको थियो।
सुरूमा उड्ने बेलामा केही डर लाग्नु स्वभाविक रहे पनि उडिसकेपछिको मज्जाले सबै कुराहरू बिर्साइदिन्छ।
प्याराग्लाइड टेक अफ हुनका लागि हावाको वेग र उड्ने दिशाको तालमेल मिल्नुपर्ने रहेछ त्यसकै लागि पाइलटले पहिले नै सुझाउने रहेछन्।
जब पाइलटले टेक अफ गरे अनि सुरू भयो पोखरालाई आकाशबाट नियालेर मज्जा लिने क्रम।

हिमालहरूको पृष्ठभूमिमा उड्दै फोटो, भिडिओ खिच्नु मेरो लागि रोचक अनुभव बन्यो। पाइलटले पहिले नै क्यामराका बारेमा जानकारी दिएकाले केही मिनेट भिडिओ र थुप्रै फोटोहरू खिचेपछि मन प्रफुल्ल भयो।
प्याराग्लाइडिङ गरेर आफूले त मज्जा लिनु नै थियो साथीभाइ र आफन्तजनलाई पनि फोटो र भिडिओ देखाएर उत्साहित बनाउनुको मज्जम पनि बेग्लै हुन्थ्यो। आकाशबाट तल नियाल्दा विभिन्न भूभाग र विविध पक्ष बुझ्न म निक्कै उत्साहित थिएँ।
आफूलाई जान्न मन लागेका कुरा पाइलटलाई उत्सुकतापूर्वक सोध्थें।
मेरो पूरा मन र ध्यान वरपर देखिएका सेता हिमाल, तल देखिएको हरियो वन र पोखराको विशाल बस्ती र मनमोहक फेवाताल हेर्नमै व्यस्त थियो।
प्याराग्लाइडिङबारे पहिला पहिला नसुकेको हैन।साथीहरूमाझ कुरा हुँदा यस्तो डरलाग्दो काम मान्छेले कसरी गर्न सक्छन् भनेर सातो जान्थ्यो। तर आफैंले अनुभव गर्दा फरक अनुभूति हुँदोरहेछ।
आफूभन्दा तल उडेका स सना चराहरू देख्दा लाग्थ्यो चरा भन्दा पनि माथि उडिएछ।
अब त अझै धेरै साहसिक खेल खेल्न सक्छु भन्ने हौसला जुट्यो। शिथिल र थकानबाट उम्कन नसकेको ज्यानलाई यस्ता साहसिक गतिविधिमा संलग्न गराउँदा राहत मिल्ने अनुभव मैले गरें। त्यसबाहेक पोखराको सौन्दर्य साँच्चै लोभलाग्दो देखियो।
पहिला पनि पोखरा नघुमेको होइन तर केही यस्ता देखिए जसले गर्दा मन चसक्क भयो।

आन्तरिक वा बाह्य दुवै पर्यटकहरूका लागि प्याराग्लाइडिङको मुख्य गन्तव्य भनेको पोखरा नै हो। चाहे पोखराको आकाशबाट होस् चाहे सडकबाटै पोखरा घुम्दा होस् स–सना हेलचेक्राईंले पोखरालाई कुरुप बनाउँदै लगेको छ।
पोखरालाई आकाशबाट मात्र होइन यसपालि करिब २ दिन पोखरा नै घुम्ने अवसर पनि जुट्यो। आकाशबाट मनमोहन देखिने फेवाताल जहाँ पोखरा पुगेका जो कोही पर्यटक पनि झुम्मिने गर्छन्। तर त्यही फेवातालमा जताततैबाट ढाकिएको झारले निकै कुरूप देखिएको छ। मनमोहक तालको सौन्दर्यता हेर्न आएका विदेशी पर्यटकलाई त्यो तालले कसरी लोभ्याउँला र अन्तर्राष्ट्रिय क्षेत्रमा सुन्दर पोखराको कस्तो छाप पर्ला?
सरकारी निकायबाट बेलाबखत झार फाल्ने अभियानका खबर नआएका होइनन् तर पनि फेवातालको सरसफाइ हुन नसक्नु दु:खद् पक्ष हो।
यसैगरी पोखराको अस्तव्यस्त सहर, जथाभावी पार्किङ, गाडीको चाप, सडकको जीर्ण अवस्था, बसपार्क नहुनु लगायतले पनि सुन्दर पोखरालाई गिज्याइरहेको भान हुन्छ।

अझ नेपाल सरकारले भव्य रूपमा मनाउन लागेको ‘‘भिजिट नेपाल –२०२०’’ लाई यी र यस्ता कुराले कतिको असर गर्ला सहजै अनुमान लगाउन सकिन्छ।
यहाँ उल्लेख गरिएका कुराहरू त केही मुख्य बुँदा मात्र हुन् भिजिट २०२० मा हजारौं विदेशी पर्यटन भित्राउनका लागि सुधार गर्नुपर्ने कुरा प्रशस्त छन्। त्यसप्रति केन्द्रीय र स्थानीय सरकार दुवैको ध्यान जानु जरुरी छ।
पर्यटनका अन्य सम्भावनाहरूको खोजी गर्नुको सट्टा भएका संरचनाहरूकै ख्याल नगर्नाले सरकार आफ्नो योजनामा आफैं चुकेको हो कि!

