बर्खायाम खास लाग्छ- जता हेर्यो हरियाली!
धानखेतका फाँट पनि हरिया छन्। मलाई त बर्खामा बाल्यकालका याद पनि आउँछन्।
जस्तै- मकैबारीमा डुलेको। साथीहरू सँग मिलेर अरूका बारीमा सुटुक्क पसेर काँक्रा खाएको यस्तै यस्तै।
बर्षातको याम भएकोले माछा मार्न ढडिया थाप्ने पनि गरिन्छ। प्राय: थारू समुदायका मानिस ख्वाँङ्गे ढडिया बुनेर माछा छोप्न खेतका आलीमा राख्ने गर्दछन्।
युवाहरू भने अर्काले थापेको ढडिया हेर्दै माछा चोर्ने पनि गर्दथे। यस्तो बेला चप्पल लगाउँदा खेतका आलीमा हिड्न नमिल्ने जुत्ता लगाउँदा भिज्ने गर्छ। त्यसैले खालि खुट्टै मानिसहरू माछा मार्न जान्छन्।
म पनि धेरैपटक यसैगरी माछा छोप्न गएँ, अहिले सम्झिँदा पनि रमाइलो लाग्छ।
एकपटक बेलगनारको गनारीमाख्वाङ्गे चोर्न गएको बेला अनौठो बस्तु देखियो। भुतभुत भनेका थिए हो कि होइन! मध्यरात थियो। हाम्रो दृष्टिभ्रम हो कि के हो थाहा भएन। अहिले पनि त्यो सम्झिँदा डर पो लाग्छ त! त्यसबेला पनि डरले म धानखेतमा लुकेको हुँ। पछि साथीहरू मलाई खोज्दै आए। हामीलाई माछा चोर्न युवाहरू नै उक्साउथें, त्यसबेला।
माछा चोर्न गएका बेला मेरो साथी जोनशन शाह लडेको थियो। उ हिजोआज जापान छ। धानखेतमा ऊ लडेको हिजोझैं लाग्छ। जब खेत देख्छु पुरानो कुरा दिमागमा ताजा भएर आउँछन्।
हामी हुर्केको दाङ उपत्यका हो।
समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म यो फैलिएको छ। यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाउन सक्ने हो भने उत्पादन बढ्ने निश्चित छ।
तर के गर्नु ठूला आयोजनाका कुरा नेताले चुनावका बेला मात्रै गर्छन्। सल्यानीशारदा र प्यूठानकी माडी डाइभर्सनबाट दाङमा सिँचाइ ल्याउने आश्वासन दिएर भोट मागेकाहरू अहिले कहाँ पुगे!
राप्ती, बबईजस्ता ठूला जलाधार यसैको काखबाट बगिरहेका छन्। दर्जनौ खहरे खोलाहरु उत्तर दक्षिण बगिरहेका छन् ।
सल्यान, रोल्पा र प्यूठानजस्ता जिल्लाहरु ती खोलानालाका उद्गम स्थल हुन्। जो वर्षामा उर्लिन्छ।
यस्ता खहरेमा ड्याम बनाएर दाङ उपत्यकामा सिँचाइ गर्न सकिँदो हो नि! तर कसले गरिदिने? यहाँका नदीजन्य पदार्थ बेचेर राजश्व संकलन गर्ने सरकार त चुप छ।
सिँचाइ पुर्याउने हो भने खाद्यान्नबालीको उत्पादन बढ्छ। छिमेकी देशसँग भर पर्नुपरेन। किसानको जीवनस्तर पनि उकासिन्छ। तर के गर्नु किन्छु भन्दा पनि यसपालि मल पाएनन् किसानले।
यो दु:खका कुरा छाडौं।
शनिबार भनेपछि घुम्न मज्जा आउँछ। हिजोआज पो कोरोना छ र! नभए त सहर छाडेर यसो गाउँ पस्नेवित्तिकै शान्त वातावरण देखिन्छ।
यसपाली बर्खामा निकै वर्षा भयो। पहाडमा मुल फुटेका छन्। मुलको पानी अग्लो पहाडबाट तल झर्दा बनेको झरनाले मन नै लोभ्याउँछ।
दाङ– सल्यान सडक खण्डकै कुरा गरौं न, छ/सात वटा झरना देख्न पाइन्छ। तुलसीपुरको रानागाउँभन्दा केहिमाथि त्यस्तै एउटा झरनामा मानिसहरू रमाइरहेका हुन्छन्।
कोही त टिकटक पनि पो बनाउँछन् त। म केही अगाडि त्यहाँ पुग्दा युवतीहरू टिकटक बनाउँदै थिए। बालबालिका पनि झरनामा पानी खेल्दै थिए।
यहाँमात्र हो र, साततलेमा नजिकै पनि ठूलो झरना छ। हिउँदमा पानी सानो हुने र वर्खामा पानी बढ्ने भएकोले झरनाको सुन्दरता बर्खामै देखिने रहेछ।
यो झरना अवलोकन गर्ने मानिस बढेका छन्। व्यवस्थापन समितिका कोषाध्यक्ष शेरबहादुर कठायतले दिनमा पाँच सय जनासम्म मानिस झरना हेर्न आउने गरेको बताए।
झरनाको चर्चा सुनेका संघीय संसदका सांसद हिराचन्द्र केसी पनि गत साउनमा त्यहाँ पुगेका थिए। झरना हेर्न त पैसो लाग्ने रहेछ- प्रतिव्यक्ति रू २०। बाइक पार्किङको पनि शुल्क रे, १० रूपैयाँ।