भन्छन्, अन्तिममा बनाएको घुम्न जाने योजना प्रायः सफल हुन्छ। यादगार पनि।
नत्र महिना–हप्ता दिनअघि योजना बनायो, अन्तिम क्षणमा 'क्यान्सिल' हुन्छ। क्या बोर!
काभ्रेस्थित बेथानचोक-नारायणथानको पनि एकैछिनमा बनेको यादगार यात्रा हो। जहाँ गए पनि एक दिन (२४ घन्टा) मै फर्किन मिल्ने ठाउँ खोज्दै जाँदा बेथानचोक हाम्रो गन्तव्य बन्यो। रमाइलो त के भने, यात्रामा मैले चिन्ने भन्दा नचिन्ने साथीहरू धेरै थिए।
फेसबुकमा मसहित ९ जनाको नयाँ ग्रुप च्याट बनेको थियो। शुक्रबार साँझ चार बजे रत्नपार्कस्थित पुरानो बसपार्क भेट्ने निर्णय भयो। गुगल म्याप हेर्दा पुरानो बसपार्कबाट बेथानचोक ८५ किलोमिटर रहेछ।
गन्तव्यको पहिलो खुड्किलो सार्दै हामीले बसपार्कबाट पनौतीको गाडी समात्यौं। काठमाडौंको जाम छिचोल्दै अरनिको राजमार्ग भएर हामीले झन्डै दुई घन्टा यात्रा सार्वजनिक बसमा गर्यौं। ६० रूपैयाँ भाडा तिरेर बेलुकी ६ बजेतिर हामी पनौती पुग्यौं।
पनौतीबाट ढुन्खर्क पुग्नु थियो। तर ढुन्खर्क जाने अन्तिम गाडी साढे पाँच बजे नै छुट्ने रहेछ। हामीले गाडी छुटायौं। हाम्रो टोली पनौती बसपार्कको बीच सडकमा अलपत्र उभियौं।
जसरी भए नि ढुन्खर्क त पुग्नु थियो।
अब विकल्पका रूपमा गाडी रिजर्भ गर्ने सोच आयो। अलमलमा उभिएका हामी ठिटाठिटीलाई सहयोग गर्न स्थानीय प्रहरीहरू तम्सिनुभयो।
धन्न एउटा जीप भेटियो। दुई हजार रूपैयाँमा पनौतीबाट ढुन्खर्क रिजर्भमा पुर्याउन तयार भए। अर्थात् एक जनाको २२० रूपैयाँ। सार्वजनिक गाडीको भन्दा झन्डै चार गुना महँगो। तर विकल्पको विकल्प पनि त थिएन।
अर्को एक घन्टा संगीतमा रम्दै जीप हुइँकियो। खाल्डाङखुल्डुङ, धूलोमग्न त कतै पक्की बाटो रहेछ। दिउँसो भएको भए जाने बाटो राम्ररी ठम्याउन सकिन्थ्यो होला। अँध्यारोले बाटो खाइसकेको थियो। गन्तव्य सम्झिँदै हामी भने उज्यालिएका थियौं। साथीहरू गीत गाउँदै हल्ला गर्दै थिए। कति चाँडै ढुन्खर्क पुगियो, पत्तै भएन।
ढुन्खर्क चोकमा हामीलाई होम-स्टेबाट लिन आइसकेका रहेछन्। बेथानचोक पहाडमा कुनै पसल छैनन्। त्यही थाहा पाएर होम-स्टे जानुअघि हामीले नजिकैको किराना पसलबाट केही खानेकुरा किन्यौं– पानी, चाउचाउ, चक्लेट, आदि।
गाउँको खेतबारी, आली, भिरपाखा, जंगल कट्दै ४० मिनेट माथि चिटिक्क परेको होम-स्टे थियो। साँझ झपक्कै परिसकेको भए पनि हामीलाई स्वागत गर्न दिदीहरू ढोकामै हुनु हुन्थ्यो।
होम-स्टेभित्र झोला राख्दा मलाई भने मामाघरै पुगेको अनुभव भयो। रातो माटोले लिपेको घर, माटाकै चुलो, काठको भर्याङ, स-साना कोठा र कुखुराका चल्लाको चाइँचुइँ। मन नै फुरुंग भयो।
यता दिदीले चिसो मौसममा तातो चिया ल्याइदिइन्। उता अर्को भाइले आँगनमै आगो दन्काइदिए। चिसो मौसममा हामी तातो चिया र आगोको रापसँगै तात्दै गयौं। खाना पनि पाकेछ। ठूलो परिवारमा एकैसाथ खान बसेका झैं हामी खाना खान थाल्यौं। बारीको तरकारी र घ्यूले सादा खाना पनि स्वादिलो लाग्यो।
टन्न खाना खाएर हामी फेरि आगो ताप्न आँगन आयौं। मुक्तक भन्ने, अन्ताक्षरी खेल्ने र पुराना घुमफिरका कुराले रात बदलिँदै गयो।
बसेको ठाउँबाट बेथानचोक जान स्थानीयलाई २ घन्टा जति लाग्ने रहेछ। हामी विस्तारै हिँड्नेलाई झन् कति समय लाग्ने हो?
कम्तीमा ४ घन्टा लाग्दो होला नि?
बिहानै बेथानचोक पुग्ने निधो गरेका हामीले राती नसुतिकनै २ बजे हिँड्ने योजना बनायौं। साथीहरूसँग रमाइलो गर्दै बस्दा बिहानको दुई कति बेला बज्यो थाहै भएन। हिँड्ने बेला भएछ।
होम-स्टेमा बसेको खर्च एक जनाको एक हजार रूपैयाँ रहेछ। त्यसमा एक दिनको खाना, बस्न र आगो ताप्न पाइने। खर्च तिरेर हामी राती नै जंगलको बाटो लम्कियौं।
आधा रातमा बाटो कहाँ देखिनु फेरि? मोबाइलको लाइट बालेर एक-एक जना गर्दै हिड्यौं। गाउँको गोरेटो बाटो हुँदै बाँयातर्फको जंगलको बाटो समात्न होम-स्टेकी दिदीले भन्नुभएको थियो। तर हामी हरायौं।
अचानक अँध्यारोमा लखरलखर सानो कुकुरको छाउरो हामीलाई बाटो देखाउन आइपुग्यो। अगाडि बल्ल साइनबोर्ड देख्यौं। सिधा गएर बाँया जानु पर्ने रहेछ।
हामी फेरि हिड्न थाल्यौं। अघिको छाउरो भने हामीलाई पछ्याउँदै आइरहेको रहेछ। हराएका बेला हामीलाई साथ दिएकाले उसलाई पनि यात्रामा सामेल गरायौं।
सल्लाको पात झरेर बाटो हल्का चिप्लो भएको रहेछ। कहिले ठाडो उकाली, कहिले ढुंगैढुंगाकोको बाटो हुँदै हामी निरन्तर अगाडि हिडिरह्यौं। हिँडेको झन्डै डेढ घन्टापछि फेरि बाटो झुक्कियौं। बाटो देखिएन। वैकल्पिक बाटो नि थिएन। बिहानको साढे तीन बजेको थियो।
कुनै सीप नलागेपछि हामी बसेको होम-स्टेमै फोन गर्यौं।
धन्न फोन उठाउनुभयो। बाटो पनि बताउनुभयो। हामी ठीक बाटो नै रहेछौं। रात परेकाले अगाडि केही नदेखिएको मात्र रहेछ।
रातमा हिँड्नुको मज्जा नै बेग्लै। खुला आकाशका अनगिन्ती तारा हेर्नुमा जुन मजाको दृश्य देखिन्थ्यो घरको छतबाट कहाँ देख्नु!
हामी अझै जंगलकै बीचमा थियौं। जंगली जनावरको डर भने खासै रहेनछ। अझ भित्री जंगल पुग्दै गयौं। ओडारमा केही बेर थकाइ मार्यौं र फेरि हिँड्यौं। जति माथि जाँदै थियौं, त्यति रमणीय हुँदै थियो बिहान।
ओहो! हामीलाई त ठ्याक्कै चार घन्टा पो लाग्यो!
बल्ल केही उज्यालो देख्न थाल्यौं। घाम उदाउन लागेको रहेछ। हामी त्यही हेर्न त अँध्यारैमा हिँडेका थियौं।
घाम नउँदाउदै टुप्पोमा पुग्न हतारियौं। केही बेरमा सररर चलेको हावाको बहाव कानमा पर्यो। टुप्पो पुगेको महशुस भयो। बिहान छ बजेको रहेछ।
एउटा ढुंगामा उभिएर पल्लो पहाड हेरेको, हेरेको हेर्यै भइयो। कस्तो लोभलाग्दो!
अब त झन् माथि टुप्पोमा पुग्न हतार भयो। एकपछि अर्को खुड्किला चढ्दै हामी सिधै बेथानचोकको सबभन्दा अग्लो चुचुरो धाउन लाग्यौं। ती बाँकीका हजार-दुई हजार खुड्किला हिँडे झैं लागेन।
'फाइनल्ली…पुगियो टुप्पो,' माथि पुगेर लामो सास फेर्दै मन मनै भनेँ।
थकित, प्यासी, भोकले रन्थनिएको शरीरलाई त्यहाँबाट देखिएको दृश्यले ऊर्जा थप्यो। दुखेका खुट्टा बेथानचोकका हावाले सञ्चो पार्दिएझैं भयो। भारी जीउ भुटेको मकैझै हलुंगो थियो। आँखा चम्किए– चम्किला हिमाल, सूर्यका किरण र बादलले।
वाह! क्या दामी!
साँच्चै नेपालको सुन्दरता मनमोहक र अद्भूत छ।
टुप्पोबाट देखिने बादल, हिमालका टाकुरा, हरियो पहाड-वनजंगल, बेंसीसहर सबै कुरा एकै ठाउँबाट देखियो। डाँडामा पहिलेदेखि नै मान्छेहरू टेन्ट टाँगेर बसेका रहेछन्। तिनकै बीचमा थियो नारायणथान मन्दिर। बाहिर रातो भित्तामा सुनको गजुर र भित्र सजिएको मूर्ति।
मन्दिरमा पूजा गरेर हामी फोटो खिच्न थाल्यौं। केही बेर थकाइ मार्यौं। झोलामा बचेखुचेका खानेकुरा खायौं। बेथानचोकको हावा र दृश्य क्यामरा र मनभरी साँच्यौं। धेरैबेर त्यहाँ बितायौं।
हामीलाई फेरि तल झर्नु थियो। मन थिएन। अर्को दिन त्यहीँ बिताउन समय पनि त थिएन।
ए साँच्ची, हामीसँगै यात्रा गर्दै कुकुरको छाउरो पनि माथि पुगेको थियो। हामीले उसलाई ‘हाइक’ नामाकरण गर्यौं। हामी जस्तै अरूले पनि उसलाई कति नाम दिए होलान् नि?
११ बजेतिर बिस्तारै हामी ओरालो लाग्यौं। झर्दा ती हरेक खुड्किला यादले भरिएर भारी भएका थिए। राती हिँड्दाको बाटो फर्किँदा छर्लंग देखियो। हराएका ठाउँ सम्झिएर रमाइलो लाग्यो। साढे तीन घन्टा ओरालो झरेर हामी फेरि उही होम-स्टे पुग्यौं।
थकाइ लागेको त थियो। तर घर फर्कन हतार। ढुन्खर्क होम-स्टेका दिदीहरूसँग बिदा माग्दै हामी ढुन्खर्क बसपार्क लाग्यौं।
साढे चार बजेको अन्तिम गाडी हाम्रै पर्खाइमा रहेछ सायद! धन्न यो पटक नि गाडी छुटेर अर्को विकल्प खोज्नु परेन।