लालीगुराँस फूल्ने मौसममा पहाड नउक्ली मनै मान्दैन। गत साल फागुनमा दुई पटक इच्छाकामनाको पहाड चढेको थिएँ। यही फूलसँग रमाउन। यसपालि पनि बेलैमा चाँजो मिल्यो।
यसपालि भने इच्छाकामना होइन राप्तीको पहाड उक्लने निधो भयो, त्यो पनि चार दिनका लागि। चितवन र धादिङ जिल्लाको सीमाना बनेर खडा भएको महाभारत पर्वतको चुचुरै चुचुरो पार गरेर राप्तीलाई एक चक्कर लगाउने योजना बन्यो।
यो यात्रामा देखिने समथर भूभाग, चुरे पर्वतदेखि हिमश्रृंखलाका सुन्दर दृष्य अनि बनै राताम्य हुनेगरी फूलेको लालीगुराँससँगको स्पर्श, आहा∕ सोच्दै कति आनन्द। सँगै महाभारत क्षेत्रमा बसोबास गर्दै आएका सीमान्तकृत चेपाङ समुदायको अवस्था बुझ्ने र उनीहरूको समस्यालाई सम्बन्धित निकायसम्म पुर्याइदिने काम त हामीले वर्षौदेखि गर्दै आएका छौं।
ती सबै दृष्यलाई कैद गर्ने उद्देश्यले क्यामरा, मोबाइल, व्यापअप चार्जर सबैको बन्दोबस्त केही दिन अघि नै मिलाइसकेको थिएँ।
फागुन २६ गते राप्ती नगरपालिकाको हेडक्वाटर भण्डाराबाट उकालो चढेर २९ गते छिमेकी नगरपालिका कालिकाको शक्तिखोर हुँदै भरतपुर फर्कने तयारी हाम्रो थियो। निर्धारित तालिकाअनुसार दिउँसो १ बजे म अनि चितौने पत्रकारहरु रमेशकुमार पौडेल, दिपेन्द्र अधिकारी र राजु चौधरी भण्डारा पुग्यौं।
भण्डारालाई मलेखुसँग जोड्ने चेपाङ मार्गको ट्रयाक खुलेको केही वर्ष भयो। बोलेरो गाडीहरूले त्यो मार्ग पूरै छिचोल्छन्। करिब आधा बाटो त बस नै चल्न थालेका छन्। हामी चाहिँ बोलेरोमा जाने भयौं।
गाडी चालक सन्तोष चेपाङ गाउँबाट आएको अर्डरअनुसारको सामान लोड गर्दै रहेछन्। हामी त्यही सामानको माथी बसेर गाउँ जाने भयौं। गाडी चल्न केही समय लाग्ने भएपछि झोला राखेर टहलिन थाल्यौं।
नगरपालिका कार्यालय नजिकै रहेको भण्डारा चोकमा सरकारी नम्बर प्लेटको गाडी रोकियो। गाडीमा उपमेयर इमान सिंह लामा रहेछन्। मलाई उनी वास्तवमै ‘इमान’ भएको नेता लाग्छ। उनी कोरोना भाइरसको महामारीले देश लकडाउनमा गएको समयमा कहिले नगरपालिकाको त कहिले आफ्नो गाडीमा बिरामीलाई अस्पताल पुर्याउँथे। दीर्घरोगीको सूची नै तयार पारेर उनले बिरामीको सेवा गरेका थिए। यस बारेमा मैले त्यही समयमा विस्तृत समाचार लेखेको थिएँ।
पत्रकारको समूह नै देखेपछि उनले चासो राखे। हामीले आफ्नो योजना सुनाएपछि उनले ‘मलाई भनेको भए सबै व्यवस्थापन मिलाइदिन्थें, थाहै भएन नि’ भने। मैले उनलाई धन्यवाद भनें, उनले अर्को पटक पुनः आफूले गरेका काम देखाउन पहाड लैजाने बताए।
उपमेयर लामा भन्दै थिए गाउँमा विकासको लहर चलेको छ। प्रायः गाउँमा मोटर बाटो पुगिसकेको छ, बाँकी केही गाउँमा पनि छिट्टै पुग्दैछ।
त्यतिकैमा हाम्रो गाडी अघि बढ्ने संकेत देखियो। च्यूराको बोरा देखाउँदै चालकले त्यसै माथि बस्न भने, त्यसै गरियो।
भण्डारा देखि करिब १० किलोमिटरको सडक कालोपत्रे भइसकेको छ। कतै ढलानै भएको छ। त्यसपछि १०–१२ किलोमिटर कच्ची भएपनि राम्रै बाटो छ। त्यो सकिएपछि भने साँघुरो र धुलाम्मे सडकको यात्रा गर्नुपर्छ। यस्तै यात्रा गर्दै हात्तीढाप, कालिटार हुँदै हामी साँझ स्यामराङको फेदीमा पुग्यौं।
त्यहाँ पुग्दा आकास कालै भएको थियो। गड्याङ् गुडुङ् आवाजसँगै पानी पनि पर्न थाल्यो। ओत लाग्नका लागि एउटा सानो झुप्रो रहेछ तर त्यहाँ हामी चार जना पनि सजिलै अटाइएन।
हामीलाई अब करिब आधा घण्टाको बाटो ठाडै उकालो उक्लनु थियो। अँध्यारो भइसक्दापनि पानी नरोकिने छाँट देखेपछि हामी रुझ्दै उकालो लाग्यौं।
स्यामराङ गाउँको सबैभन्दा तल विद्यालय छ, दुङबाङ आधारभूत विद्यालय। २०७२ सालमा महाभूकम्प जाँदा यहाँको विद्यालय क्षतिग्रस्त बनेको थियो। मलगायत चितवनका पत्रकारहरु मिलेर बनाएको ‘हामीले नगरे कसले गर्ने’ नामको संस्थाले संकलन गरेको सहयोगले यहाँ विद्यालयको नयाँ भवन बनाइएको थियो। अहिले त अर्को भवन पनि बनेछ सरकारी बजेटमा।
त्यतिखेरका केही रात हामीले क्षतिग्रस्त भवनमै बिताएका थियौं। यसपटक भने विद्यालयका प्रधानाध्यापक अतिवल प्रजाले हाम्रो लागि स्थानीय सन्तलाल चेपाङको घरमा बस्ने व्यवस्था मिलाएका रहेछन्। खाना खाइवरी हामी त्यहीँ सुत्यौं।
त्यो बिकट गाउँको शिरमा एउटा सुन्दर पहाड छ, स्थानीयले त्यो पहाडलाई ‘सोलीघोप्टे’ भन्छन्। ठ्याक्नै सोली घोप्टाइएको जस्तै आकार छ त्यो पहाडको। घाँसबाहेक कुनै बुट्यान नदेखिने त्यो पहाडको टुप्पोमा यहाँका बासिन्दा र सीमा जोडिएको धादिङको स्यादुलका बासिन्दा मिलेर महादेवको भव्य मन्दिर बनाएका छन्।
२७ गते विहान उठेर हेर्दा सोलीघोप्टे डाँडो र मन्दिरमा घाम टल्किन थालिसकेछ। केही घण्टामा हामीले स्यामराङ गाउँका स्थानीयसँग गफ गर्दै त्यहाँका समस्या रेकर्ड गर्ने टिप्ने काम सकायौं।
यो रात कान्दामा बस्ने तालिका थियो हाम्रो। कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले हामीलाई बाटो देखाउन सार्लिङका मनबहादुर चेपाङलाई स्यामराङ पठाइदिएका रहेछन्।
हामी उनैको पछि लाग्न थाल्यौं। स्यामराङबाट कान्दा पुग्न महाभारत श्रृंखलाको शिरलाई पच्छ्याउनुपर्छ। लालीगुराँसले भरिएको महाभारतको जंगल अनि त्यहाँबाट देखिने अन्य दृष्य कैद गर्ने उत्कण्ठ निकै बढेको थियो।
तर मेरो त पहिलो गासमै ढुंगा लाग्यो। स्यामराङबाट आधा घण्टाको उकालो हिँडेपछि पुगिन्छ सेलाभाँजा डाँडो। केही वर्ष अघि त्यहाँ पुग्दा डाँडै लालीगुराँसले राताम्य थियो। मैले कैयौं मिनेट लालीगुराँसको बोटमा चढेर सेल्फी खिच्दै मिठो हावासँग स्पर्श गरेको थिएँ। अहिले त्यो ठाउँमा लालीगुराँसको रुख पनि रहेनछ।
मनबहादुरले सुनाए–‘मोटरबाटो आउन थालेपछि रुखहरु मासिन थाले, अन्य रुखसँगै लालीगुराँस पनि ढले।’ उनको कुरा सुनेर मन खिन्न भयो।
सडक खन्दा झरेको पहिरोले कुरुप देखिन थालेका छन् पहाडहरु। ती पहिरोसँगै कति अमूल्य सम्पत्ती बगेर हराए होलान्। गाउँका लागि विकास त ठूलो आवश्यकता हो तर विकासका दौरान गुमेका सम्पत्ती अब कहिल्यै फर्कने छैनन्।
केही वर्ष अघि चढेर सेल्फी खिचेको त्यो रुखको जरै उखेलेर गाडी कुँद्नेछ अबको केही समयमा।
मनबहादुरले यहाँ नभेटेपनि केही पर पुगेपछि गुराँस भेटिने बताए। त्यो गुराँस भेट्ने अभिलाषाले महाभारतको शिरमा पाइला लम्काउन थालियो। उनको गाउँ सार्लिङको नजिकै भिरमा दुई/चार बोटमा गुराँस फूलेका त रहेछन् तर टुप्पामा।
त्यो भिरमा गुराँसका बोटहरु काटिएका छैनन्। भएका बोटमा भने खासै फूलेका रहेनछन्। मनबहादुरले यसपाली लालीगुराँस निकै कम फूलेको सुनाए। ‘मौसमका कारण हो कि के हो थाहा भएन, यसपाली गुराँस असाध्यै कम फूलेको छ,’ उनले भने, ‘पोहोर साल यो भिर गुराँसले राताम्य थियो, यो साल नफूले पनि अर्को साल फुल्छ कि।’
यो दिनको अर्को ‘व्याडलक’ महाभारत पर्वत श्रृंखलाबाट देखिने हिमश्रृंखला देखि तराईका फाँटहरु बादलले छेकिएका थिए। खिच्नका लागि ठिक्क पारेका क्यामराले कामै पाएनन्।
मनबहादुरको गाउँमा हाम्रो भेट शंखराम चेपाङसँग भयो। बालकृष्ण सरले शंखरामलाई हामीलाई त्यहाँबाट कान्दा सम्म पुर्याउने जिम्मा दिएका रहेछन्। मनबहादुरले अर्को चोटी आफ्नो गाउँमा बास बस्नेगरी आउन निम्ता दिए। हामी स्वीकारेर उनीसँग बिदा हुँदै अघि बढ्यौं।
मैले शंखरामलाई सुरुमै भनें गुराँस फूलेको ठाउँ भएर लैजानुपर्छ है। हामी हिँडिरहेको बाटो वास्तवमा बाटो थिएन। भिरको टेक्न मिल्ने जमिनलाई बाटो बनाउँदै शंखराम अघि लागे। हामी पच्छ्याउँदै गयौं।
केही पर पुगेपछि डडेलोले कालै भएको एउटा भिर आइपुग्यो। डडेलो लगाएको ठाउँमा घाँसको नयाँ पालुवा पलाउँछ, स्थानीयले गाईबस्तुलाई घाँसको जोहो गर्न आगो लगाएका रहेछन्। तर डडेलोसँगै कैयन बुट्यान डडेर कालै भएकोमा भने चिन्ता देखिएन। डडेका रुख, बिरुवामा कैयन लालीगुराँस थिए।
शंखरामले यसलाई पहिले देखिको चलन बताए। ‘यति गर्दा पनि पोहोरसम्म त राम्रै फूलेको थियो गुराँस, यसपाली त उजाडै देखियो,’ उनले सुनाए।
यात्राका क्रममा वनमा कैयौं लालीगुराँसका बोट काटिएका, कैयौं काट्न आँटिएका भेटिए। विकासकाक्रममा मात्रै होइन स्थानीयका आवश्यकताका लागि पनि लालीगुराँसको बोट काट्नेक्रम बढेर गएछ।
शंखरामले आफ्नो घरमा खाजा तयार पार्न लगाएका रहेछन्। बालकृष्ण सर कान्देश्वरी विद्यालयमा लक्ष्मी प्रतिष्ठानले चलाउँदै आएको छात्राबासका प्रमुख मनोज श्रेष्ठलाई लिएर त्यहीँ आइपुगेछन्। खाजा खाइवरी हामी साँझ कान्दाको छात्राबासमा पुग्यौं।
त्यो साँझ त्यहाँका शिक्षक लक्ष्मीप्रसाद जोशीको बिदाई कार्यक्रम पनि रहेछ। विद्यालय, छात्राबासका शिक्षक, कर्मचारी, विद्यार्थीले हामीलाई स्वागत र जोशी सरलाई बिदाई एकैसाथ गरे।
कान्दा त्यही ठाउँ हो जहाँ २०६७ सालमा विषालु च्याउ खाएर एकै परिवारका ७ जनाको मृत्यु भएको थियो। मोटर चल्ने बाटोबाट सबै भन्दा छोटो बाटो खोजेर जाँदा पनि मुस्किलले ४–५ घण्टा हिँडेर पुगिने त्यो अनकन्टार गाउँलाई राज्यले त्यसपछि मात्रै चिन्यो भन्दा पनि फरक नपर्ला।
अहिले कान्दा धेरै बदलिएको छ तर राज्यका कारण होइन। विषालु च्याउ खाएर धेरै मान्छे मरेको समाचार सञ्चारमाध्यममा आउन थालेपछि सामाजिक संस्थाहरु त्यहाँ पुगेका थिए। म पहिलो पटक २०६८ मा कान्दा पुगेको थिएँ। त्यतिखेरसम्म पनि त्यहाँको अवस्थामा खासै परिवर्तन थिएन।
मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठान नामक सामाजिक संस्थाले विद्यालयको व्यस्थापनलाई सहयोग गर्दै बालकालिकालाई आबासीयरुपमा शिक्षा दिने देखि स्थानीयबासीलाई जीविकोपार्जनमा सघाउँदै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने कार्यक्रम चलाएपछि कान्दा रुपान्तरण हुँदैछ।
२८ गते हामीले कान्दाको विद्यालय, छात्राबास, वरपरका ठाउँको अवस्था, समस्या सुन्नमा खर्च ग¥यौं। २९ गते विहान ४ बजे उठेर कामिनचुली पहाड उक्लने तालिकाअनुसार मोवाइलमा अर्लाम लगाएर हामी सुत्यौं।
अब हाम्रो मिसनको अन्तिम बिन्दु ‘कामिनचुली’ बाँकी थियो। चार बजे अर्लाम बज्यो। आधा घण्टामा तयारी पुरागरी चुली उक्लन तयार भयौं। विद्यालयका शिक्षक अनिल किशोर श्रेष्ठ र छात्राबासका प्रमुख मनोज श्रेष्ठ पनि उठेर बिदाई गरे। बालकृष्ण सर हामीसँगै चुली जाने भए।
त्यो औंसीको रात थियो, चकमन्नै। हामीसँग दुईवटा टर्च लाइट थिए। अनि अर्को साहरा सबैका हातमा लौरी थिए। हामीलाई कामिनचुलीबाट ‘सनराइज’ पनि हेर्नु थियो।
बालकृष्ण सरलाई सनराइज हेर्ने हाम्रा चाहना नौलो लागेछ। भन्दै थिए, ‘तपाईहरुको मेहनतका कारण अब ८–९ बजेसम्मका सुत्ने अल्छीहरुले पनि बिहानको घाम देख्न पाउने भए।’ उनको कुराले त्यो सुनसान रातमा चर्को हाँसो गुञ्जियो।
आधा उकालो उक्लिएपछि हामी स्थानीय कानेबहादुर चेपाङ र दिनेश चेपाङको घरमा पग्यौं। उनीहरुले कामिनचुली पुग्ने गोरेटो चिन्ने ठानेर बालकृष्ण सरले दुबै जनालाई उठाएर हाम्रो गाइड बनाए।
६० वर्षीय कानेबहादुर हिँड्नमा तगडा रहेछन्। ठाडै उकालो जंगलको बाटो टुईं–टुईं हिँड्न थाले। थकाई लागेर टेको लाग्न खोज्दा कानेबहादुर हाम्रो मुखमा हेरेर मुसुमुसु हाँस्थे। उनलाई लाग्यो होला, ‘शहर बस्ने यी ठिटाहरु भन्दा त मै बलियो रहेछु।’
पौने ६ बजेतिर उज्यालो हुन थाल्यो। बल्ल चिनिन थाले रुखहरु। म हिँडेको बाटोमा त सर्लक्कै लालीगुराँसका बोट पो रहेछन्। तर फूलेका भने असाध्यै कम। अप्ठेरो ठाउँका रुखका टुप्पामा हाँसिरहेका देखिन्थे लालीगुराँस। जसलाई स्पर्श गर्नु मेरो लागि सम्भवै थिएन। फोटोसम्म खिचियो।
कानेबहादुरले पनि उही कुरा दोहो¥याए–‘मौसमै त्यस्तो भएर होला यसपाली गुराँस फूलेन।’ मैले उनलाई सडक बनाउँदा पहाडका धेरै लालीगुराँस मासिएको देखेको सुनाएँ। उनले शहर तिर सडक बनाउँदा करोडौं रुपैयाँ खर्चिएर बनाएका घरहरु भत्काइएको सुनेका रहेछन्। मेरो कुरालाई उनले ठूलो मानेनन्। भने– ‘बाटो आए त यताको रुख पनि काटिएला नि।’
साढे ६ बजे हामी कामिनचुलीको चुचुरोमा पुग्यौं।
अर्को ‘व्याडलक’, बादलले घामलाई छेकिदियो। मेरो क्यामराले कामिनचुलीको ‘सनराइज’ पनि खिच्न पाएन।
पत्रकार रमेशकुमार पौडेल भने सनराइज खिच्न नपाए पनि खुसी थिए। कामिनचुली पुग्ने उनको इच्छा १४ वर्ष देखिको रहेछ। ‘ढिलै भएपनि इच्छा पुरा गरियो तर सोचे झैं रहेनछ कामिनचुली, स्थानीय तह, पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुले केही पनि गरेको देखिएन,’ उनले भने।
केही बेर त्यो टुप्पोमा बिताएपछि हामीलाई ठाडै ओरालो भिरको बाटो शक्तिखोर झर्नु थियो। लामो हिँडाईले दुखेका मेरा गोडा चाहेका कुरा पुरा नभएको तनाबले झनै फतक्कै गलेका थिए।
सँगै गएका युवक दिनेश चेपाङले हाम्रो गाइडको काम गर्ने भए। दिनेशले केही परको कुई भिरमा लालीगुराँस देखाउने बाचा गरे। त्यो बाचाले पाइला बढाउन सहयोग ग¥यो।
तर यसपालि कुई भिरले पनि मलाई राहत दिएन। २०६८ सालमा कुई भिरको बाटो झर्दा ढकमक्क लालीगुराँसलाई पृष्ठभूमीमा राखेर फोटो खिचाउने प्रतिष्पर्धा नै चलेको मलाई राम्रोसँग याद छ।
यसपाली भने कुई भिरका लालीगुराँसका बोट पनि बुच्चै रहेछन्। केही बोटमा भने बल्ल कोपिला लाग्दै रहेछन्। ‘फूल्ने मौसम पनि पछाडी धकेलिँदै गएछ जस्तो छ,’ दिनेशले सुनाए, ‘फागुनमा फूल्ने गुराँस त अब बैशाखमा पो फूल्ने भए क्या हो।’
त्यहाँबाट उचाई घट्दै गयो, लालीगुराँसका बोट पनि हराउँदै गए। सिद्धीको चित्राम झरना, रेलिमाई, चिउदिङ, थुम्लिङ आइपुग्दा गोडा चल्नै नसक्ने अवस्थामा पुगिसकेका थिए। धन्न त्यहाँ अटो रिक्सा भेटाइयो, पैदल दुई घण्टा लाग्ने बाटो आधा घण्टामै कटाइयो।
अंग्रेजीमा ‘रोडोडेनड्रन’ भनिने लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको थियो। नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ। नेपालको निशान छापमासमेत लालीगुराँसलाई समावेश गरिएको छ।
यतिमात्रै होइन नेपाली पाँच सय र एक हजार रुपैयाँको नोटमा लालीगुराँसको चित्र छ। नेपालमा ३३ प्रजातिका गुराँस पाइन्छ भने संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइने रहेछ।
समुद्री सतहबाट एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइन्छ यो फूल। चितवनको सबैभन्दा उचाई मान्ने गरिएको सिराइचुली १ हजार ९ सय ५० मिटरमा छ। हामी पुगेको कामिनचुलीको उचाई पनि सिराइचुलीको जत्तिकै मान्ने गरिएको छ तर अहिलेसम्म आधिकारिकरुपमा नापिएको भने छैन।
लालीगुराँस हेर्दा जति सुन्दर छ यसको विशेषता उस्तै महत्वपूर्ण मानिन्छ। पोषक तत्वले भरिपूर्ण मानिने यसको प्रयोग आयुर्वेद औषधिहरूमा पनि हुने गरेको छ। गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुने आयुर्वेदका जानकारहरु बताउँछन्।
यतिमात्रैले यसको गुण सकिँदैन, ग्रामीण क्षेत्रमा गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता पनि छ। घाँटीमा कुनै चिज अड्किँदा गुराँस शब्द उच्चारण गर्दैमा पनि निको हुने मान्यता मान्छेमा अझै छ।
लमजुङको बाहुनडाँडामा जन्मे, हुर्केको म र लालीगुराँसको सामिप्यता बच्चै देखिको हो। भिरपुस्तुनमा लाग्ने चैते दशैं मेलामा गुराँससँग खिचिएको फोटो बेला–बेलामा हेर्ने गर्थें। यसका विशेषता बरु ढिलो मात्रै थाहा पाएँ।
यसपालिको पहाड घुमाइले मन चसक्कै बनायो। लाग्यो यो सुन्दर, गुणकारी लालीगुराँस जोगाउन सकिएन भने पछिल्लो पुस्तालाई के देखाउने? मोबाइलमा कैद भएको त्यो सेल्फी फोटो देखाएर हाम्रो राष्ट्रिय फूल चिनाउनु पर्ने अवस्था पनि आउने भयो कि क्या हो।
यही सोच्दै घर आइपुगेर पुरानो एल्बम खोलें। सानोमा लालीगुराँसको बोटमा चढेर खिचाएको फोटोमा पनि टाटो बस्न थालेछ।
त्यो रातो लालीगुराँस खुइलिएर फिक्का हुन थालेछ। ठ्याक्कै रंग हराएको महाभारत पर्वत जस्तो।