राष्ट्रिय गौरवको आयोजना हो माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यस ठाउँ जलविद्युत आयोजना मात्र होइन, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले पनि सुन्दर मानिन्छ। दोलखा जिल्लाकै ठूलो समथर भूभाग लामाबगर, ठाउँ ठाउँमा भोर्ले झरना, छ्योतछ्योत झरनाले पर्यटकको मन नतान्ने कुरै भएन।
यिनै सुन्दर ठाउँको यात्रा तय भयो पत्रकार चिरञ्जीवी मास्के र केदार शिवाकोटीसँग। चरिकोटबाट गाडीमा गोंगर खोलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पावर हाउसमा पुग्यौं। यहाँ बिहानको खाना खाएपछि पुनः अघि बढ्यौं। लामा बगरसम्म मात्र गाडीमा गयौं। चरिकोटबाट लामा बगरसम्म ६८ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ। स्योल्दुङ पुल तरेर हामी हिँड्न थाल्यौं। केही समय हिँडेपछि खोर्दिङ लामा बगरबाट पैदलमार्ग सुरू भयो। ठूला ठूला भिर कापेर निर्माण गरेका थिए पैदलमार्ग। पदमार्गीलाई सहजताको लागि छेउ साइडमा बलिया बलिया रेलिङ राखिएका थिए।
नजिकै तामाकोशी नदी बगिरहेको छर्लङ्ग देखिन्थ्यो। माथि हेर्दा टोपी नै खस्ने भिर। भिरको बीचबाट कोपेर बनाएका १८० मिटर चौडा बाटो हुँदै अघि बढेँ। बीच बीचमा सुन्दर दृश्यले तानिँदा कहिले भिडिओ, कहिले फोटो कैद गर्न पाइन्थ्यो। एक्लै पर्दा डर डर पनि लाग्ने। त्यसैले छिटो छिटो साथीसँगै हिँड्नुपर्ने। आधा घण्टा जति हिँडेपछि सानो जंगलको बीचमा कामदारहरू सुत्ने, खाने ठाउँ देखेँ। कोही भेटिन्छ कि भनेर पस्यौं। तर कोही देखेनौं। सबै काममा लागेका रहेछन्। सानो गोठ बनाएर बसेका रहेछन् भिर र जंगलको बीचमा।
ठूलो भिरको बीचमा ज्यानलाई जोखिममा राखेर काम गरिरहेका थिए करिब ११/१२ जति। मलाई चाहिँ रमाइलो लागिरहेको थियो दायाँ-बायाँको दृश्य नियाल्दा।
बाहिरी देशको भिडिओ, फोटो हेरेको थिएँ भिरको बीचमा बस्ने गरेको। त्यहीँ सुत्ने, त्यहीँ खाने भिडिओ हेर्दा मलाई पनि आफ्नो ठाउँमा रहेको यस्ता भिरमा त्यस्तै खालको संरचना बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यहाँको दृश्यले मलाई कताकता त्यस्तै झल्को दिइरहेको थियो। यहाँबाट रिकु गाउँमा जानलाई बीचमा बाटो बिग्रेको रहेछ। हामीलाई डोरी बाँधेर तारी दिनुभयो। करिब ५ मिनेटजति डोरीकै भरमा भिर तर्यौं। तलमाथि हेर्ने आँट आएन। तर यस्तो यात्रा पनि मज्जा आयो। आफूले आफूलाई नै साहसिक ठाने। दिनको ४ बज्न थालेको थियो। रिकु गाउँमा पुग्दा अझ मन प्रफुल्ल भयो। सानो चिटिक्क परेको मन्दिर, नजिकै रिकु उर्गेन छ्योलिङ गुम्बा, चिटिक्क परेका घरहरू। भूकम्पपछि र गाउँको नजिकै निर्माण हुन लागेको रोल्वालिङ हाइड्रोपावरको अडिट वानले गाउँको मुहार फेरिएको मैले महसुस गरेँ। रिकुमा २२ घरधुरी क्षेत्री र तामाङको। पदमार्ग निर्माणपछि पर्यटकको पर्खाइमा निर्माण गरेका रहेछन् चिटिक्क परेका घरहरू। घरको वरिपरि साग, मुला, लसुनले अझ घर र बस्तीको सुन्दरता थपिएको थियो। यहीबाट च्छोरोल्पा हिमताल जानलाई नजिक पर्ने रहेछ।
काठमाडौं या चरिकोटबाट च्छोरोल्पा हिमताल घुम्न हिँडेका पर्यटकलाई एक रात यहीँ बास बसाल्न रिकुबासी पर्खाइमा देखिन्थे। रिकुबासीको आफ्नै बारीमा उत्पादन भएका तरकारी, फलफूल र अन्नबाली अर्गानिक भएकाले पर्यटकले रूचाउँछन् भन्ने उनीहरूको बुझाइ छ। यहाँबाट नजिकै गौरीशंकर हिमाल देखिन्छ। पर्यटकलाई भिरपाखा पनि दृश्य अवलोकन गर्न पाइने भएकाले हाल निर्माणाधीन पैदलमार्ग बहुउपयोगी मानिन्छ। 'एक तीर दुई सिकार' भनेझैं यहाँबाट घुम्न आउने पर्यटकले माथिल्लो तामाकोशी जलविद्युत आयोजना लामाबगर र भिरको पैदलमार्ग गर्न पाइने भएकाले पर्यटकको संख्यामा वृद्धि आउनेछ भन्ने मैले महसुस गरेँ। यदि पर्यटकले रूचाएमा च्छोरोल्पा घुमेर फर्किंदा सिँढी हुँदै च्छोत्छ्योत बजारमा निस्कन सकिन्छ।
तस्बिरहरू: