सन् २०१७ मा करिब साढे ९ लाख विदेशीले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१७ मा कूल ९ लाख ४० हजार २१८ जना विदेशीले नेपाल भ्रमण गरेका हुन्।
सन् २०१६ मा ७ लाख ५३ हजारमात्र विदेशीले नेपाल यात्रा गरेकोमा यो वर्ष २४ प्रतिशतले पर्यटकको संख्या बढेको छ। सन् २०१५को भूकम्प र नाकाबन्दीको कारण खस्किएको पर्यटन क्षेत्रमा पछिल्लो समय पूर्वाधार निर्माण र प्रबद्र्धनको कारण नेपाल घुम्नेको संख्यामा बढेको अधिकारीहरुको भनाइ छ।
व्यवस्थित तथ्यांक राख्न सुरु गरिएको सन् १९६१ मा ९ हजार विदेशी नेपाल आएका थिए भने त्यसपछि सन् २०१२ मा ८ लाख विदेशी पर्यटक भित्रिएका थिए।
पर्यटनको इतिहासमै यो वर्ष सबैभन्दा बढी विदेशीले नेपाल यात्रा गरेका छन्।
१० लाख पर्यटक ल्याउने लक्ष्यसहित प्रचारप्रसार अभियान चलाएको पर्यटन बोर्डको लक्ष्य भने केही नपुग्ने देखिएको छ।
सन् २०२०मा २० लाख पर्यटक ल्याउने महात्वकांक्षी योजनामा रहेको सरकारले पूर्वाधार निर्माण तथा प्रबद्र्धनमा ध्यान नदिए संख्यालाई निरन्तरता दिननसकिने कतिपयको भनाइ छ।
पर्यटक नेपालमा आएर घुम्ने र बस्ने ठाउँको लागि पूर्वाधारमा निजी क्षेत्रको उल्लेख्य सहभागिता देखिएपनि सरकारले बनाउने भनिएका यातायातका पूर्वाधार नहुँदा यो बृद्धिदर कायम हुनेमा पनि उत्तिकै आशंका छ।
पर्यटकको प्रवेशद्वार मानिएको एकमात्र अन्तर्राष्ट्यि विमानस्थल साँघुरो बन्दै गएको छ। विमानस्थल अधिकारीहरुका अनुसार थप एयरलाइन्सलाई स्लट दिनै नसकिने अवस्था छ। बैकल्पीकरुपमा हेरिहएको गौतमबुद्ध विमानस्थलको निर्माणमा निकै ढिलाई भइरहेको छ भने पोखरा विमानस्थलको निर्माण भर्खरै सुरु भएको छ।
त्यस्तै देशभित्रै पनि सडक यातायात गतिलो नभएको, भएको ठाउँमा धुलोधुँवामात्र भएको भन्दै पर्यटन व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
अध्यागमनकाअनुसार याे वर्ष सबैभन्दा धेरै भारतबाट १ लाख ६० हजार ८३२ अाएका छन्। त्यस्तै चीनबाट १ लाख ४ हजार ६६४ र श्रीलंकाबाट ७९ हजार १४६ जना अाएका छन्।