चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ सुरु भएको छ । महोत्सवको भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले उद्घाटन गरेका थिए। उद्घाटन अघि विविध झाकीसहितको शोभा र्याली निकालिएको थियो ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी (खिचरा) पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो । यसैको अवसरमा केहिवर्षयता प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहित सुरु भएको महोत्सव माघ ८ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ ।
थारु सँस्कृतिको संरक्षण र प्रर्वद्ध गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
यो पटक महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप काठको पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ।
यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु रहनेछन् । स्टल निर्माणदेखि मञ्च व्यवस्थापन, बाल उद्यान निर्माणको काम समेत पुरा भएको प्रचार–प्रसार समिति संयोजक कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो । महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतीक प्रस्तुती रहने छ ।
साँस्कृतिक संयोजक जयस चौधरीका अनुसार गायक प्रमोद खरेल, शिव परियार, गायिका मिलन अमात्यक, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, संजय चौधरी, अमित सिंह चौधरी लगायत दर्जनौं राष्ट्रिय तथा स्थानीय कलाकारहरु आउने तय भइसकेको छ ।
सबै जातजाती, धर्म, सँस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियोः मन्त्री दहितभुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले हरेक जातजाती, भाषा र सँस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताएका छन्।
थारु जातीको माघी पर्व (खिचरा)को अवसरमा आजदेखि चितवनमा सुरु भएको ‘पाँचौ खिचरा महोत्सव–२०७४’ को समुद्घाटन गर्दै मन्त्री दहितले एउटा जाती, भाषा, सँस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलिाय नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताए। उनले भने–“हरेक जाती, भाषा, संरक्षण गर्नु राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो पार्छ, एउटा भाषा, सँस्कृति राष्ट्रिय एकता बलियो बन्दैन्, सरकार यसप्रति ढृढ संकल्पका साथ लागि परेको छ ।”
मन्त्री दहितले आजै मात्र वर्तमान सरकारले मन्त्री परिषद् मार्फत मुस्लिम समुदायका लागि काठमाडौंको स्वयम्भुमा जामे मस्जिद निर्माणार्थ दश रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। उनले खिचरा महोत्सवले सबै जातजातिको सँस्कृतिलाई उजागर गर्न सहयोग गरेको भन्दै यस्ता महोत्सवहरु आयोजना गर्न आवश्यक रहेको बताए।
समुद्घाटन समारोहमा प्रदेश सभा चितवन क्षेत्र नं.३ (ख)का साँसद रामलाल महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।