राजनीतिक दलका नेता,सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश ६ को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासंघ र प्रदेश नं. ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो’ विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता जनाएका हुन्।
उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको विकास, जनचेतना अभिवृद्धि, सकरात्मक सोच र व्यवस्थापनमा जोड दिन आवश्यक रहेको औल्याए।
प्रदेश ६ का पर्यटकीय गन्तव्य रारा, शे फोक्सुण्डो, छायाँनाथ, काक्रेविहार, बुलबुले, पञ्चकोशी, हिल्सालगायतका क्षेत्रमा पूर्वाधारको निर्माण कम भएको तथा व्यवस्थापनमा पनि कमजोरी रहेकोले प्रदेश सरकारले जोड दिने माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए।
शाहीले प्रदेश ६ को पर्यटनको विकासका लागि धेरै बहसभन्दा पनि कार्यक्रममै देखाउने बेला आएको उल्लेख गर्दै कर्णालीका जिल्लालाई पहिचानयुक्त जिल्लाको विकास गरी पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाए। शाहीले भने, ‘रक क्लाइम्बिङ, हाइड्रो टुरिजम, एग्रो टुरिजम, हर्बल टुरिजमको विकास गर्न सकिन्छ, त्यसका लागि सकरात्मक सोच र आत्मकेन्द्री सोचमा परिवर्तन आवश्यक छ।’
कार्यक्रममा बोल्दै एमाले नेता प्रकाश ज्वालाले पर्यटन र कृषि नै प्रदेश ६ को विकासमा भूमिका निर्वाह गर्ने उल्लेख गरेका थिए। प्रदेश ६ का १० वटै जिल्ला पर्यटकीय गन्तव्य भएका क्षेत्र भए पनि प्रचारप्रसारको अभावले पनि पर्यटक आर्कषित हुन नसकेको बताए। ‘सुरक्षित सडक, नियमित हवाई उडानको समस्याका कारणले अहिले पर्यटनको विकास हुन सकेको छैन, अब गन्तव्यको विकासमा यी दुवै प्राथमिकतामा पर्छ तर हामी सबै मिलेर जानुको विकल्प छैन,’ ज्वालाले भने।
त्यसैगरी, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिक भन्दा पनि वाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने धारणा राखे । देशको जिडिपीमा योगदान पुर्याउने गरि पर्यटनको विकास गर्नुपर्ने उल्लेख गदै शाहीले भारत र चीनका पर्यटकलाई आर्कषित गर्न सक्दा पनि देशको जीडिपीमा योगदान पुग्ने बताए। तर, यसका लागि दीर्घकालीन,मध्यकालीन र अल्पकालीन योजना आवश्यक पर्न शाहीको भनाइ छ । ‘सडक,विमानस्थल, स्वास्थ्यक केन्द्र, उद्दार टोलीको व्यवस्थापन पर्यटकका लागि आधारभूत आवश्यकता हुन त्यसमा पहिला जोड दिनुपर्नेछ।’
कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुख सचिव सुरेश प्रधानले प्रदेश ६ मा पर्यटकहरुको तथ्यांक समेत नभएकोले पहिला होटल, पर्यटकको लगत आवश्यक रहेको उल्लेख गरे। प्रदेश ६ मा पर्यटन विकासको आधार नै बनि नसकेकोले प्रदेशसभाले पहिला आधार बनाउनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का संयोजक पदम शाहीले पर्यटन विकासका लागि वीरेन्द्रनगरमा विमानस्थलको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गरे। त्यसैगरी, सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष प्रकाश अधिकारीले पनि पूर्वाधार विकासमा जोड दिएका थिए।
विरेन्द्र नगर नगरपालिका प्रमुख देव सुवेदीले समग्र प्रदेश न ६ को पर्यटन गुरुयोजना आवश्यक छ। पर्यटककालाई चाहिने आधारभूत आवश्यकता तयार गर्न जरुरी छ।
सुर्खेतको काक्रेविहारदेखि मानसरोवरसम्मको गुरूयोजना बनाउन जरुरी छ। समग्र पर्यटन विकासका लागि मात्र नभएर सरकारको नीति नै परिवर्तन जरुरी छ। त्यस्तै मनघरी फाउण्डेशन सल्लाहकार डा. रवीन खड्काले पर्यटनका अथाह सम्भावना रहेको भन्दै यसको उचित लाभ लिनुपर्नेमा जोड दिए।
मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले प्रदेश नम्बर ६को समृद्धीको आधार पर्यटन र जडीबुडी नै भएकाले यस तर्फ सबै एक जुट हुन आव्हान गरे।