अग्र्यानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि कहलिएको पश्चिम नेपालको सुन्दर गुरुङ गाउँ पित्लेक पर्यटनको पर्खाइमा छ। त्यहाँको होमस्टेमा आत्मीय व्यवहार र मिठो खाना पाइन्छ।
वालिङ नगरपालिका–५ स्याङ्जामा पर्ने पित्लेकमा तीन वटा गाउँहरु पित्लेक, आरुपाटा र पाँडथोक पर्छन्। गुरुङ, मगर, बाहुन र दलित समुदायको बसोबास भएको पित्लेक (१, ५००मिटर) रमणिय गाउँ हो।
हिमाल र कृषि कर्म अवलोकनका साथै तन र मन रिफ्रेस बनाउन पित्लेक सुन्दर गन्तव्य बन्न सक्छ। गाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे« लगायत हिमाल देखिन्छ। विसं ०६६ देखि गाउँमा गुरुङका ७ घरमा होमस्टे सुविधा छ। गाउँका अगुवा भुपेन गुरुङका अनुसार एक हजार रुपैयाँको प्याकेजमा स्वागत खाजा, डिनर, बेड, साँस्कृतिक कार्यक्रम, ब्रेकफास्ट र लन्च सुविधा हुन्छ।
गाउँमा हेर्न लायक आरुपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोप वे, क्होंबो, कालिका मन्दिर लगायत सम्पदा छन्। त्यसैले दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ। होमस्टे सुविधा भएका कुनै पनि गाउँमा जाँदा पहिल्यै खबर गर्नु जरुरी हुन्छ।
होमस्टेमा बसेर गाउँ डुल्न आइपुग्ने पर्यटकहरुले अग्र्यानिक तरकारी, फलफुल र मह कोसेली लैजाने गरेका छन्। भिटोफ पोखराले पित्लेकको प्रवद्र्धन गर्दै आएको छ। भिटोफ पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारी भन्छन्, हामीले पित्लेक जस्ता तीन दर्जन सुन्दर गाउँहरु प्रवद्र्धन गर्दै आएका छौं।
पित्लेक पुग्न काठमाडौं–पोखरा २१० किमि बसमा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रा। त्यसपछि पोखरा–मिर्दी ६० किमि बसमा। सिद्धार्थ राजमार्गको मिर्दीबाट पित्लेक जाने दुई बाटा छन्। एउटा मिर्दी, पाँडेथोक हुँदै पित्लेक ५ किमि। अर्को मिर्दी, जगतभञ्ज्याङ, आरुपाटा हुँदै पित्लेक ११ किमि। पोखराबाट जगतभञ्ज्याङसम्म सार्बजनिक बस चल्छ। जगतबाट एक घन्टा पदयात्रामा पित्लेक। गाउँसम्म जीप र मोटरबाइक लान सकिन्छ।
पित्लेक घुम्न सम्पर्क- भुपेन गुरुङ–९८२३०४१४६७, महेश गु्रुङ– ९८४६१३५३५१